नेपालमा यस वर्ष पहिरोले धेरै मानिसको ज्यान लियो। पहिरोमा २९५ जनाले ज्यान गुमाए र ६४ जना अझै बेपत्ता छन् जो जिउँदा हुने सम्भावना रहेन। २२३ जना घाइते भए जसमध्ये केहीले जीवनभर अपाङ्गता बेहोर्नु पर्नेछ। एक दर्जनभन्दा बढी बालबालिकाहरू टुहुरा भएका छन्। बैशाखदेखि असोज २४ गतेसम्ममा बिभिन्न जिल्लामा भएका ५ सय ८० घटनामा ५१४ घर बाढी पहिरोमा परेर क्षति भएको देखिन्छ। सरकारले सहयोग गर्ने वचन दिएको छ तापनि आफन्त र सम्पत्ति गुमाएर बाँचेकाहरूलाईसुरक्षित ठाउँमा स्थापित ग़र्न चाहिने जमिन र जीविकाको तादात्म्यता मिलाउन निकै कठिन हुनेछ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले हालसालै गरेको जोखिम लेखाजोखाले त्यस जिल्लाका १२ गाउँ/नगरपालिकाका ३४७ बस्तीका ११ हजार १०९ घरपरिवार जोखिमयुक्त स्थानमा रहेका र तत्कालै अन्यन्त्र सुरक्षित ठाउँमा सार्न पर्ने औंल्याएको छ । यस्तै पर्वत, बाग्लुङ, म्याग्दी, अछाम, कालिकोट, जाजरकोट, गुल्मी, पाल्पा, स्याङ्जा, भोजपुर लगायतका दर्जनौं जिल्लामा गरी हजारौं बस्ती पहिरोको जोखिममा छन्।

भिरालो जमिनमा पहिरो जाने संभावना सधैं रहिरहन्छ। तापनि बिगत केही बर्षदेखि नेपालमा पहिरो एक नियमित नियति भएको छ। अत्यधिक बर्षाका कारण यी सबै पहिरो गएको भन्ने उल्लेख भएको पाइन्छ। २०७२ सालको भूकम्पले बढी असर गरेका जिल्लाहरूमा गएका पहिरो त्यही भूकम्पकै कारण हो भन्ने ब्याख्या पनि पाइन्छन्। जमिनको अनुपयुक्त प्रयोग र अव्यवस्थित विकास निर्माणले पनि पहिरोका घटना बढ़ेका भन्ने पनि विश्लेषण छन्।

एकातिर पहिरो जानुमा माथि उल्लिखित प्राकृतिक अवस्था र तिनलाई बिगार्दै लैजाने मानवीय कारणहरूको कुनै न कुनै भूमिका देखिन्छ । अर्कोतर्फ, सबै पहिरोले एकै खाले मानिसहरूको ज्यान लिएको र धनमाल ध्वंश गरेको पाइन्छ । केही घटनाहरूका खबर हेरौं ।

-२०७५ साल साउन २० गते जाजरकोटको सदरमुकाममा गएको पहिरोमा ९ जनाको मृत्यु भयो । दैनिक ज्यालादारी गरेर जिउ पाल्ने गरिबहरू सस्तो भाडामा बस्नुपर्ने बाध्यताले झुपडीमा बसेका थिए । माथिल्लो जग्गाको धनीले भिरालोमा घडेरी खार्‍यो, झुपडीहरू भन्दा माथि कच्चा पर्खाल लगाएर छेउमा माटो थुपार्‍यो र कुनातिर घर बनायो । घरआँगनको पानी त्यही पुरुवा माटोमा छोडिदियो । फलतः त्यो पुरुवा र पर्खाल भत्केर बगाउँदा ८ जना लोहार र १ जना बोहोरा थरका मानिसहरूको ज्यान लियो ।

-२०७६ साल साउन ६ गते राति गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो जाँदा १३ जनाको मृत्यु भयो । जस मध्ये १० जना विश्वकर्मा र ३ जना मगर थिए । २ जना घाइते भए । लिम्घा र लुम्पेकमा गरी ६ सयभन्दा बढी बिस्थापित भए जसमा अधिकांश दलित थिए । समाचारहरूमा आएका आँकडा अनुसार सत्यवतीमा करीव ६ सय परिवार सुरक्षित ठाउँमा सार्नुपर्ने छ । जस मध्ये धेरैजसो आर्थिक हिसाबले गरीव छन् र त्यही कारणले सामाजिकरूपमा सीमान्तकृत छन् ।

-३१ जेठ २०७७ मा पर्वत कुश्मा – ३ को दुर्लुङ्गमा पहिरोमा परेर तीन परिवारका ९ जनाको ज्यान गयो । २ घर कामीहरू त परिवारका सबै सकिए । यस बर्षात्‌मा पर्वतका बिभिन्न ठाउँमा गएका पहिरोले १० जना मारिए, २५ घर बिस्थापित भए भने १०० भन्दा बढी घर जोखिममा छन् । जसमध्ये अधिकांश आर्थिकरूपले विपन्न र सामाजिकरूपले अर्घेलिएका छन् ।

-२०७७ असारमा जाजरकोटको बारकोट गाउँपालिकाको सार्की गाउँमा पहिरो जाँदा २ सार्की परिवारका १२ जना मारिए ।त्यहाँ २ हजारभन्दा बढी परिवार सुरक्षित ठाउँमा सार्नु पर्ने खवरहरू छन् ।तर तिनीहरू गरीवीका कारण अन्यत्र आफै बास र जीविकाको जोहो गर्न सक्ने अवस्थामा छैनन् ।

-२०७७ असोज ८ गते पाल्पाको फोक्सिङकोटमा ५ जना मगरहरू मारिए । उनीहरू आर्थिक कारणले नै जोखिमयुक्त ठाउँबाट अन्यत्र सर्न सकेका थिएनन् । त्यही दिन स्याङ्जाको वालिङमा पहिरोले सात महिनाका बच्चादेखि ६० बर्षसम्मका एकै परिवारका ९ जनाको ज्यान लियो । उनीहरू पनि आर्थिक-सामाजिकरुपमा सीमान्तकृत हुन् । उनीहरूको घरभन्दा माथिबाट बाटो खनिदिएको हुनाले पहिरो गएको थियो । पहिरोको जोखिम थाहा हुँदाहुँदै पनि गरीवीका कारण सुरक्षित ठाउँमा जान सकेनन् ।

जोखिमतिर धकेल्ने शासकीय पद्धति, संस्थागत संरचना र अर्थव्यवस्था जस्तामूल जडकारणहरू नउखेलेसम्म साथै जथाभावी निर्माण, गलत भू-उपयोग जस्ता हर्कत बन्द नभएसम्म सीमान्तकृत र गरीवहरूका दुर्भाग्य बर्षेनी बढ्दै जाने निश्चित छ ।

माथिका पहिरोमा पर्नेहरूमा गरीव र सीमान्तकृत मानिसहरू बढी छन् । घटनाका पीडितहरूको समरूपीतीनवटा प्रारूपछन् – (१) पहिरोमा परेकाहरू आर्थिक-सामाजिक कारणले जोखिम भएका ठाउँमा बस्न बाध्य हुन्छन्, (२) जोखिम भएका ठाउँबाट आफै सुरक्षित ठाउँमा जान सक्दैनन् र (३) प्राकृतिक हिसाबले तुलनात्मकरूपमा सुरक्षित ठाउँहरू सडक, खेती, चरिचरण जस्ता विकास र जीविकोपार्जनका काममा जमिनको उपयोग गर्दा जोखिमको ख्याल नगरेको हुँदापहिरो निम्तिएका पाइन्छन् । अब प्रश्‍न उठ्छ, किन केही खास अवस्थाका मानिसहरू प्रकोप जोखिममा धकेलिन्छन् वा त्यसबाट बाहिर निस्कन सक्दैनन् ?

पियर्स ब्लाकी, टेरी क्यानन, इयन डेभिस र वेन विस्नरले सन् १९९४ भनेका थिए – आर्थिक, राजनीतिक र सामाजिक कारणहरूले गर्दा मानिसहरू असुरक्षित अवस्थामा धकेलिँदै प्रकोप उन्मुख हुदै जान्छन् । मानिसहरूलाई प्रकोप सम्मुख पुर्‍याउनमा प्राकृतिक प्रकृयाका साथसाथै शासकीय पद्धतिका राज्यसंरचना, राजनितिक-सामाजिक सँस्कार, आर्थिक संरचना रतिनका आडमा गरिने राज्यशक्तिको दुरुपयोग जिम्मेवार हुन्छन् ।

प्राकृतिक प्रकृया र मानवीय कृयाकलापहरूका कारण पहिरो सिर्जना भएको हो । जलाधार व्यवस्थापन विज्ञानले पहाडी भेगमा भू-क्षय हुने र पहिरो जाने प्राकृतिक र मानवीय दुवै कारण हुन्छन् भन्ने ब्याख्या गरेको छ । भिरालोपन, जमिनमुनिको भू-बनोट वा भूगर्भ र यसको विचलन, धेरै बर्षा, जल प्रवाह एवं निकास, वनस्पतिको सम्मिश्रणआदि मुख्य प्राकृतिक कारणहरूहुन् । खेतीपाती, सडक, कुलो/नहर, बसोबास आदि भौतिक संरचनाको जथाभावि निर्माण, चरिचरण, वन विनास मुख्य मानवीय कारणहरूहुन् । जलाधारमा हुनेप्राकृतिक र मानवीय कृयाकलापहरूको अन्तर्कृयाले पहिरो जाने अवस्थामा पुर्‍याउँछन् ।

अधिकांश पहिरोका घटनामा पीडितहरूका तथ्याङ्क र अवस्था विश्लेषणले दलितहरू जोखिममा धकेलिँदै जाने वा जोखिमयुक्त ठाउँबाट बाहिर आउन नसकेर विपद्‌मा परेको देखाउँछन् । प्रभावित अरुको आर्थिक-सामाजिक हैसियत पनि दलितकै जस्तै कमजोर पाइन्छ । त्यसैले, सामाजिकरूपमा सीमान्तकृत गरिएकार आर्थिकरूपमा दुर्वल भएकैले सीमान्तकृतहरू असुरक्षित अवस्थामा धकेलिन्छन् र अन्ततः प्रकोपको मुखमा पुग्छन् । गरीव र सीमान्तकृत मानिसहरू असुरक्षित ठाउँमा बसोबास, असुरक्षित काम/दैनिकीमा भित्ता लाग्न बाध्य हुन्छन् र अन्ततः प्रकोपको चपेटामा पर्छन् भन्ने उदाहरण जाजरकोट, वालिङमा गएको पहिरोका घटनामा प्रष्ट देखिन्छ ।

अर्कोतर्फ, आर्थिक अवसरका कारण पनि मानिसहरूं जोखिम भएका ठाउँमा जान्छन् । जस्तैः- कोदारी लगायतका राजमार्गको किनारामा पहिरोको जोखिम भएको स्थानमा बजार विस्तार भएका छन् । त्यहाँ बाध्य भएर भन्दा मानिसहरु आर्थिक अवसरहरूका कारण आकर्षित भएर गएका हुन्छन् । उचित नियमन नभै त्यस्ता जोखिमयुक्त ठाउँबाट मानिसहरू हत्पति सर्दैनन् वा खाली भएपछि फेरि नयाँ मानिसहरू जान्छन् ।

जोखिमतिर धकेल्ने शासकीय पद्धति, संस्थागत संरचना र अर्थव्यवस्था जस्तामूल जडकारणहरू नउखेलेसम्म साथै जथाभावी निर्माण, गलत भू-उपयोग जस्ता हर्कत बन्द नभएसम्म सीमान्तकृत र गरीवहरूका दुर्भाग्य बर्षेनी बढ्दै जाने निश्चित छ । प्रकोपहरू प्राकृतिक हुन सक्छन् तर बढ्दो विपद्‌ जोखिमका लागि हाम्रो आर्थिक-सामाजिक प्रथा र शासकीय संरचना जिम्मेवार छन् । हामी विपद् क्षतिको गणना गर्छौं तर विपद्‌ किन भयो भन्ने कारणहरू केलाउँदैनौं। ठूलो बर्षा, भिरालो जमिन आदिलाई दोष दिएर पञ्छिन मिल्दैन । विपद्‌का सही र सबै कारण भन्नै नरुचाउनेहरू निर्णायक हुँदासम्म विपद् जोखिम कम हुँदैनन् ।


Your Views
Related News