संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ।राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल पुन: ३ वर्षका लागि सदस्यमा निर्वाचित भएको हो। सन् २०२१- ०२३ सम्मका लागि नेपाल निर्वाचित भएको हो।यसअघि सन् २०१८-०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन्।तीनवर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ। एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य चुनावी प्रतिस्पर्धाबिनै निर्वाचित भएका हुन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।
READ MORE NEWS

बंगलादेशमा बलात्कारविरुद्ध मृत्युदण्डको व्यवस्था

ढाका, (एजेन्सी)

बंगलादेश सरकारले बलात्कारीविरुद्ध मृत्युदण्डको व्यवस्था गर्न लागेको छ। मुलुकमा महिलाविरुद्ध हुने गरेका यौन हिंसाविरुद्ध लामो समयदेखि भइरहको विरोध प्रदर्शनपछि सरकार यो कदम चाल्ने निर्णयमा पुगेको हो।कानुनमन्त्री अनिसुल हकले राष्ट्रपतिले मंगलबार एउटा विशेष आदेश जारी गर्दै यसलाई कानुनी मान्यता दिने जानकारी दिएका छन्।गत साता एकजना ३७ वर्षीया महिलामाथि निर्मम ढंगले भएको सामूहिक बलात्कारको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि बंगलादेशभरि आक्रोशको लहर फैलिएको थियो।

मानव अधिकारवादी अभियन्ताका अनुसार अधिकांश महिलाले बलात्कारको घटना सार्वजनिक भएपछि समाजमा बदनाम हुने भएकाले घटनालाई गुपचुपै राख्ने गरेको दाबी गर्छन्। यस्तो घटना प्रहरीमा उजुरी गर्नेको संख्या निकै न्यून रहेको छ।पछिल्लो जनप्रदर्शनले बलात्कारी अन्य प्रकारका यौन हिंसा गर्नेविरुद्ध छिटो र कडा कानुनी कारबाहीको व्यवस्थाका लागि आवाज उठाएका हुन्।बंगलादेशको राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानबाट भाइरल भिडियोमा देखिएकी ती महिलालाई दक्षिणपूर्वी नोखालिम जिल्लामा लामो समयदेखि डर धम्की देखाइ पटक–पटक बलात्कार हुँदै आएको रहस्य पत्ता लगाएको छ। उक्त काण्डमा आठजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

कोरोनामुक्त भएका प्रहरीको अनुभव : ‘सबैभन्दा ठूलो कुरा आत्मबल रहेछ’

काठमाडौँ — कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की विराटनगर (रानी) स्थित क्वाटरभित्रै १५ दिन ‘आइसोलेसन’मा बसे । भदौ २४ मा संक्रमण पुष्टि भएका उनले आइसोलेसनमै बसेर मोबाइल, टेलिफोन र रेडियो सेटबाट सुरक्षा कमान्ड गरे । दुई सातापछि पुनः परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि डीआईजी कार्की नियमित काममा सक्रिय छन् ।

कोरोनामुक्त भएका एक नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की र गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याल

भदौ १८ मा गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई संक्रमण पुष्टि भयो तर उनमा कुनै लक्षण थिएन । संघीय प्रहरी इकाइ कार्यालय गण्डकीका एसएसपी नरबहादुर केसीमा संक्रमण देखिएपछि अर्याल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । एसएसपी केसीलाई उच्च ज्वरो र शरीर शिथिल हुनेलगायत लक्षण थियो । उनको परिवारका सदस्यलाई पनि संक्रमण देखिएको थियो । ३ साताभन्दा बढी आइसोलेसनमा बसेका केसी निको भइसकेका छन् ।

डीआईजी अर्यालले क्वाटरभित्रैको आइसोलेसनमा बसेर फोन र रेडियो सेटबाटै जनशक्ति परिचालनमा कमान्ड गरे । संक्रमण देखिएको १२ दिनपछि पुनः परीक्षण गराउँदा पनि रिपोर्ट पोजिटिभ आयो । आइसोलेसनको बसाइ लम्बियो । १० दिनपछि परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएपछि असोज ११ गते उनी कोरोनामुक्त भए । अहिले अर्याल नियमित काममा फर्किसकेका छन् ।

भदौ तेस्रो साता नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट हेडक्वाटर सरुवा भएका डीएसपी पवन भट्टराईले कार्यरत युनिट छोड्नुअघि स्वाब परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो । त्यसको केही दिनमै श्वासप्रश्वासमा समस्या भएपछि प्रहरी अस्पताल महाराजगन्जमा भर्ना गरियो । उनलाई ज्वरो, रुघाखोकी, शरीर दुःख्नेलगायत लक्षण पनि देखिएको थियो । २० दिन जति आईसीयूमै बसेपछि उनको स्वास्थ्य अवस्था सामान्य भयो । भट्टराई संक्रमणमुक्त भई काममा फर्किसकेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएका डीएसपी रुगम कुँवरलाई भदौ २२ मा अचानक जीउ दुःख्ने, ज्वरो आउनेलगायत लक्षण देखियो । शंका लागेर २३ गते स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ देखियो । दोस्रोपटक परीक्षण गराउँदा पनि कोरोना देखिएपछि कुँवर केही आत्तिए तर चिकित्सकको सल्लाहअनुसार मन बलियो बनाएर बसे । २२ दिनपछि पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी सामान्य अवस्थामा फर्किए ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्की भदौ अन्तिम साता संक्रमण पुष्टि भएसँगै वृत्तकै क्वाटरमा बसे । हल्का जीउ दुःख्ने, थकाइ लाग्ने र टाउको दुख्नेबाहेक अरू लक्षण नदेखिएकाले क्वाटरकै आइसोलेसनबाटै कमान्ड सम्हाले । अग्रभागमा रहेर नियमित शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिने क्रममा संक्रमण पुष्टि भएका तर हाल निको भएर काममा फर्किइसकेका माथि उल्लिखित सबै प्रहरी अधिकृतको एउटा समान धारणा छ, ‘आत्मबल बलियो बनाउने र चिकित्सकको सुझाव पालनाका साथै खानपिनमा ख्याल राख्नु नै सबैभन्दा ठूलो उपचार हो ।’ संक्रमण देखिएका करिब २ हजार प्रहरी अधिकृत तथा जवान अहिले पनि होम आइसोलेसन तथा अस्पताल र सरकारले तोकेका अन्य आइसोलेसनमा छन् । कतिमा संक्रमणको लक्षण देखिएको छ । धेरै लक्षणबिनाका संक्रमित छन् ।

करिब ३ हजार २ सय प्रहरी संक्रमणमुक्त भएर नियमित काममा पनि फर्किइसकेका छन् । संक्रमणको जोखिम उच्च भए पनि प्रहरी शान्तिसुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान र नियन्त्रण तथा बेलाबखत हुने विरोध, धर्ना र जुलुस नियन्त्रण गर्न पनि खटिनुपर्छ । राजधानीका थुप्रै प्रहरी यस्तै काममा खटिँदा संक्रमण सरेको आशंका छ । हालसम्म देशभर कार्यरत प्रहरी जनशक्तिमध्ये करिब ८ प्रतिशतमा संक्रमण देखिइसकेको छ ।

संक्रमित प्रहरीमा कस्तो कस्तो लक्षण ?

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी कार्कीलाई सुरुमा जीउ दुख्ने, हल्का ज्वरो आउने तथा बिस्तारै स्वाद र गन्धको शक्ति कम हुँदै गयो । ‘सास फेर्न चाहिँ कठिन भएन तर सुँघ्ने र स्वादको शक्ति बिस्तारै हराउन थालेपछि अलिअलि डर चाहिँ लाग्यो, फेरि रिकभर नहुने हो कि भन्ने त्रास हुने रहेछ,’ उनले कान्तिपुरसँग भने, ‘कहिले सन्चो/भिक्स नाकमा दल्थेँ, कहिले जडीबुटीजन्य पदार्थ मुखमा लगाउँथेँ । संक्रमणमुक्त भइसकेपछि पनि ३/४ दिनसम्म पनि स्वाद र सुँघ्ने शक्ति पूरै फर्किएको थिएन ।’ मन बलियो बनाउनुका साथै चिकित्सकले दिएका सल्लाहसुझाव पालना, तातोपानी पिउने र दैनिक बाफ लिने जस्ता घरेलु उपचार पनि निकै सहयोगी भएको उनको भनाइ छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याललाई भने कुनै लक्षण नै देखिएन । ‘लक्षण नदेखिए पनि चिकित्सकका सल्लाहसुझाव अनि खानपानमा ख्याल राखेँ, आत्मबल सबैभन्दा ठूलो कुरा रहेछ,’ उनले भने । हतोत्साहित नभई लक्षणअनुसार औषधोउपचार हुन्छ, निको भएर सामान्य अवस्थामा फर्किन्छु भन्ने भावना राखे यसको त्रासबाट बाहिर आउन सकिने उनको अनुभव छ ।

२० दिन प्रहरी अस्पताल महाराजगन्जको आईसीयूमा बसेका डीएसपी भट्टराई श्वासप्रश्वास निकै जटिल भएपछि आत्तिएका रहेछन् । ‘सास फेर्न गारो हुँदा त मन निकै डराएको थियो तर अर्कोतर्फ चिकित्सकको निगरानीमा छु, आईसीयूमा राखेर उपचार भइरहेको छ भन्ने सम्झिँदा चाहिँ छिट्टै घर फर्किन्छु भन्ने भावना पलाएको थियो,’ उनले भने, ‘संक्रमण सकभर कसैलाई नलागोस् भन्ने हो तर लागिहाले डराएर होइन, खानपान, हिँडडुल र एकअर्काबीच दूरी कायमलगायत आत्मानुशासन, चिकित्सकको सल्लाहलगायतलाई सबैले पालना गर्नुपर्छ ।’ सबैभन्दा ठूलो कुरा आत्मबल र आत्मानुशासन रहेको उनको बुझाइ छ ।

संक्रमणमुक्त भएका डीएसपी कुँवर घरकै आइसोलेसनमा २२ दिन बसे । जीउ दुख्ने, टन्सिल हुने, खाना खान मन नलाग्ने र कोही मान्छे देख्नेबित्तिकै रिस उठ्नेलगायत लक्षण देखिए । ‘श्रीमतीले खाना ल्याउँदा पनि रिस उठ्थ्यो, पटक्कै खान मन लाग्दैनथ्यो,’ कुँवरले भने, ‘मलाई श्वासप्रश्वासको समस्याबाहेक सबै लक्षण देखियो तर खानपानमा ख्याल गर्ने, दैनिक व्यायाम र चिकित्सकको सल्लाहअनुसार अघि बढ्ने हो भने संक्रमणमुक्त भइन्छ भन्ने साहस बढ्यो ।’

प्रहरी प्रधान कार्यालयले पनि संक्रमणका कारण अस्पताल, आइसोलेसन र घर/क्वाटरमा बसेर उपचार गरिरहेका अधिकृत तथा जवानहरूलाई उच्च मनोबलका साथ रहन र नआत्तिन भनेको छ । ‘लक्षणबिनाका संक्रमितलाई ब्यारेक र अन्य स्थानमा बनाइएका आइसोलेसनमा बस्न र समस्या भए अस्पतालमा तुरुन्त आईसीयूमा भर्ना गर्ने गरी व्यवस्था हुन्छ, कुनै पनि हालतमा नआत्तिन भनेका छौं,’ प्रधान कार्यालयका एक अधिकारीले भने । अन्य सुरक्षा निकायको तुलनामा प्रहरीमा संक्रमण बढी छ तर संक्रमणमुक्त भएकालाई भने केही दिनको आरामपछि नियमित जिम्मेवारीमा खटाइने गरिएको छ ।

 


Your Views
Related News