नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक कृषि एवं पशुपक्षी पालन नै हो । विश्व मानव सभ्यताको विकाससँगै पशुपक्षी मानिससँग रहदै आएका छन् । यसर्थ, यी मानव सभ्यता र विकासका सहयात्री हुन् । नेपालको पनि उत्पत्तिसँग पशुपक्षी साथमै रहेका छन् । तथापि, पशु विकास तथा पशु स्वास्थ्य सेवाको औपचारिक आरम्भ भने १९७८ सालमा कृषि अड्डा खुलेपछि भएको मानिन्छ । १९८२ सालमा सिहंदरबार परिसरभित्र कृषि प्रवद्र्धन फार्म खडा गरियो भने १९९४ सालमा कृषि परिषद् गठन गरियो । यसैगरी, १९९८ सालमा काठमाडांैको त्रिपुरेश्वरमा भेटेरिनरी अस्पताल खुल्यो ।

यस क्षेत्रको विकासक्रमलाई हेर्दा २००४ सालमा परवनीपुरमा अनुसन्धान फार्म खडा भयो भने २००८ सालमा कृषि विभाग स्थापना गरियो । २०१० सालमा कृषि विभागमा पशु सेक्सन खडा गरियो र २०१४ सालमा १० जिल्लामा पशु अस्पताल खडा गरियो । यसै क्रममा २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग स्थापना भयो । मुलुकमा संघीयता लागू हुनपूर्व सबै जिल्लामा जिल्लास्तरीय पशु स्वास्थ्य कार्यालय, गाउमा सेवा केन्द्र, विभिन्न स्थानमा प्रयोगशाला र फार्महरू स्थापना भए । हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पशुपक्षी विकाससम्बन्धी विविध काम भइरहेको छ ।

मुलुकको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गर्नुपर्छ । हाम्रो मूल ध्येय पशुपक्षी पालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउनु नै हो । यसले खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा प्रत्यक्ष सघाएको छ । गाईभंैसी, चौरी, बाखालगायतको पालनबाट हामीलाई दूध प्राप्त भइरहेको छ । हाल नेपालमा बर्सेनि २२ लाख १३ हजार २०२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसलाई वृद्धि गरी पाउडर दूध कारखाना सञ्चालनमा ल्याउनुपर्छ । दूधबाट बन्ने घिउलगायत मिठाईका परिकारमा पनि आत्मनिर्भर हुनुपर्छ । साथै, चकलेटलगायतका कारखाना खोल्नुपर्छ । दूध पिउनका लागि मात्र नभएर यस्को बहुप्रयोगमा जान सके मात्रै मिल्क होलिडेको समस्याबाट मुक्त हुनेछौं ।

हामीसँग पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि छ । जस्ले पशुपक्षी, पशुजन्य पदार्थ तथा पशुपक्षी उत्पादन सामग्रीको स्वस्थ्य उत्पादन, बिक्रीवितरण र उपभोगको मापदण्ड निर्धारण गरेको छ । यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । हामीले विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपक्षीको व्यवस्थापन गर्नुपर्छ । पशुपक्षीमा बेलाबखत आइपर्ने संक्रमणको महामारीले ठूलो आर्थिक क्षति हुने गरेको छ । यसको न्यूनीकरण गर्नुपरेको छ । मूल कुरो, पशुपक्षीमा देखापर्ने महामारी नियन्त्रणको भरपर्दो उपाय कार्यान्वयन गर्न नसकुन्जेल यस क्षेत्रमा अपेक्षित लगानी भिœयाउन सकिँदैन ।

राज्य प्रणालीबाट आकर्षक नीति, बीउ पुँजी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा जोड दिनुपर्छ

यसर्थ, पशुपक्षीमा लाग्ने रोगहरूको सर्भिलेन्स, अन्वेषण, पहिचान, रोकथाम, नियन्त्रण र अनुगमन गर्ने दह्रो प्रणाली हुनुपर्छ । भेटनरी औषधि तथा जैविक पदार्थ, पशुपक्षी फार्म, ह्याचरी र पशु नश्ल सुधारको काम गुणस्तरीय हुनुपर्छ । कतै म्याद नाघेको औषधिको बिक्रीवितरण एवं उपयोग भइरहेको छ कि ? कतै पशुपक्षी फार्म र ह्याचरीको सञ्चालनमा तोकिएको मापदण्डको पालना भएको छैन कि ? भनी भेटनरी निरीक्षकले नियमित निरीक्षण गर्नुपर्छ । नियामक निकायसँग पशुपक्षी पसल, पशुपक्षी फार्म, ह्याचरी, मासु पसल, बधशाला, हाटबजारलगायतको तथ्य÷तथ्यांक दुरुस्त हुनुपर्छ । पशु वस्तुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न होस् वा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न होस्, सम्बन्धित निकायहरू चनाखो हुनुपर्छ । यसैगरी, सुँगुर, बंगुर र बदेलमा लाग्ने क्लासिक स्वाइन फिभर र बंगुरको हैजा, गाईभैंसीमा लाग्ने भ्यागुते र चरचरे रोग तथा स्थानीय कुखुरामा फैलिने रानिखेत रोग नियन्त्रणका लागि पनि सम्बन्धित निकायहरू चुस्त र दुरुस्त हुनुपर्छ । यसरी, पशुपक्षीमा लाग्न सक्ने सम्भावित रोगसँग मुकाविला गर्न सक्ने संस्थागत विकास गर्नुपर्छ ।

पशुपक्षीमा लाग्ने रोगहरूको रोकथामका लागि खोप दिने र रोगी वस्तुको उपचार हुने सुनिश्चितता कायम गर्नुपर्छ । जसको कारण पशुपक्षीको व्यावसायिक पालनमा आकर्षण वृद्धि हुनेछ । मानिसले अत्यन्त खुसीका साथ कुकुर र बिरालो पाल्ने गर्दछन् । तर, यी जनावर बहुलाएर मानिसलाई टोक्दा रेविज हुने गदर्छ । यसर्थ, रेविज भ्याक्सिन बैंकको व्यवस्थापन पनि गर्नुपर्छ । साथै, कुकुर बन्ध्याकरणको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ । साथै, यस्ता विषयमा जनचेनता पनि फैलाउनुपर्छ । विशेषगरी, पशुपक्षीको स्वास्थ्य र विकास सम्बन्धमा आवश्यक सूचना दिन आमसञ्चार माध्यमको समुचित उपयोग गर्नुपर्छ । साथै, फेसबुक, ट्वीटर र भाइबरलगायतबाट पनि सूचना प्रवाह गर्न सकिन्छ ।

हाल, मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ । यसैगरी, प्रजननयोग्य राँगा वा साढे हुर्काउने स्रोत केन्द्रहरू सञ्चालनमा छन् । भूकम्प प्रभावित १४ जिल्लामा पशुपक्षी राहत तथा पुर्नस्थापन कार्यक्रम सञ्चालन भएको छ । सरकारले गोठ सुधार कार्यक्रममा किसानलाई अनुदान दिएको छ । यसैगरी, पशु बिमामा सरकारले ७५ प्रतिशत बिमा रकममा अनुदान दिएको छ । सरकारले घासेबालीको व्यावसायिक बीउ उत्पादन कार्यक्रम पनि सञ्चालन गरेको छ । साथै, सरकारले युवा र एकल महिला लक्षित पशुपक्षी पालन कार्यक्रम पनि सञ्चालन गरेको छ । यस्ता कार्यक्रममा आम किसान र बेरोजार युवा आबद्ध हुनुपर्छ ।

यस अतिरिक्त, सरकारले कोरली पाडी हुर्काउने कार्यक्रम सञ्चालनमा छ । हामीसँग खर्क सुधार कार्यक्रम पनि छ । सरकारले गाईभंैसीलाई सुत्केरी आहार भत्ता अनुदान पनि दिएको छ । विभिन्न पालिकाहरूले पनि विविध कार्यक्रम सञ्चालनमा ल्याएका छन् । तथापि, पशुपक्षी पालन व्यवसायमा न त आम किसानको ध्यान गएको छ, न त लगानीकर्ताहरूले अपवादमा केही गाई फार्म, अस्ट्रिच पालनको कार्यबाहेक कुनै मेघा प्रोजेक्ट नै सञ्चालनमा आउन सकेको छ । यसर्थ, हामीले यस क्षेत्रमा अझै धेरै गर्न बाँकी छ भन्ने महशुस गर्नुपर्छ । राज्य प्रणालीबाट आकर्षक नीति, बीउ पुँजी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा जोड दिनुपर्छ ।

मुलुकलाई माछा र मासुमा आत्मनिर्भर बनाउनुपर्छ । हाल नेपालमा मासुको वार्षिक उत्पादन ३ लाख ७२ हजार २२६ मेट्रिक टन छ भने माछाको वार्षिक उत्पादन ९३ हजार मेट्रिक टन छ । यो उत्पादन हाम्रो वार्षिक खपतको एक चौथाइ पनि होइन । हामी पोल्ट्रीमा आत्मनिर्भर छौं । क्रमशः माछा र मासु पनि छोटो अवधिमा आत्मनिर्भर हुने तत्कालीन कार्ययोजना लागू गर्नुपर्छ । तराईका फाँटमा ठूला ठूला माछापोखरीको निर्माण गर्नुपर्छ भने हिमाली र पहाडी क्षेत्रको चिसो पानीमा ट्राउट माछाको फार्मिंग गर्नुपर्छ । हिमाली क्षेत्र, पहाड र तराईका निश्चित क्षेत्रलाई चरन क्षेत्र घोषणा गरी व्यापक रूपमा मासुजन्य वस्तुको फार्म सञ्चालन गर्नुपर्छ । ती स्थानमा ठूलाठूला स्लटर हाउस स्थापना गरी गुणस्तरीय मासु निकासी गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । नेपाल सरकारले वर्ड प्mलुको क्षतिपूर्ति दिएको छ । यसैगरी, सबै पशुधनमा क्षतिपूर्ति दिने प्रणाली लागू गर्नुपर्छ ।

हामीले पशुको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्नुपर्छ । हाल, नेपालमा नश्ल सुधार भएका गाइको अंश केबल १२ प्रतिशत मात्रै छ भने भैंसीको अंश २८ प्रतिशत छ । हामीले पशुपालनको विकासका लागि घास खेती प्रवद्र्धन गर्ने र वैकल्पिक पशु आहारको उत्पादनमा पनि जोड दिनुपर्छ । हिउँदमा पशु आहार कम हुने गर्दछ । जसको कारण पशु कुपोषणको समस्या पनि छ । यस अवस्थामा सिजनमा हरियो घाँसलाई साइलेज बनाई संरक्षण गर्न साइलो पीट निर्माण कार्यक्रमलाई व्यापकता दिनुपर्छ । यो कार्य किसानका लागि सरल, सहज र मितव्ययी हुनुपर्छ ।

हामीले पशु कल्याण प्रवद्र्धनका केही सीमित काम गरेका छौं । यस अलावा हामीले पशुअधिकारको पनि संरक्षण गर्नुपर्छ । तिनलाई कुटपिट गर्ने वा तौल बढाउन अखाद्य वस्तु खान दिने वा पासविक ढंगले ओसारपसार गर्नेलाई कडा दण्ड गर्नुपर्छ । हामीले भेडा बाख्रा प्रवद्र्धन कार्यक्रमबाट लाभ लिनुपर्छ । मुख्य कुरो, लाइभस्टक गुणस्तर व्यवस्थापनमा आम किसानलाई अनिवार्य रूपमा तालिम दिनुपर्छ । हामीले मिल्किङ पार्लर स्थापना गर्नुका उपलब्ध सबै विकल्पहरूको उपयोग गरी मिल्क होली डे हुन नदिने तथा बिक्री नभएर किसानले दूध फुक्नुपर्नेजस्ता अवस्थाबाट मुलुकलाई मुक्त राख्नुपर्छ ।

पशुपक्षीको कारोबारमा पनि बिचौलियाबाट किसान लुटिएका छन् । यसको नियन्त्रण गर्नुपर्छ । तीनै तहको सरकारले कृषि उत्पादनको साथमा पशुपालनलाई पनि अघि बढाउनुपर्छ । तीन रोपनी जमिनको आम्दानी र एउटा गाईपालनको आम्दानी समान छ भनी बुझ्नु र बुझाउनुपर्छ । पशुपक्षी पालनले हामीलाई दूध, अन्डा, मासु, कम्पोस्ट मल मात्रै दिएको छैन, यिनको छाला, रौंलगायतको पनि उच्च मूल्य प्राप्त भइरहेको छ । पशुपक्षी पालनले मानिसलाई एकलकाट्टे हुनबाट जोगाउछ । घोडा र खच्चडले हामीलाई यातायातको साधनका रूपमा सघाइरहेका छन् भने राँगा र गोरुले हलो जोत्ने तथा बयल गाढा चलाउने कामका सघाएका छन् । कुकुर हाम्रो सुरक्षामा खटिएका छ भने बाख्राका पाठापाठीले हाम्रो घरआँगनमा नयाँ रौनक थपेका छन् । यसरी, पशुपक्षीको बहुउपयोगमा जानुपर्छ ।

हामीले पशुपक्षीको आवश्यक सम्मान पनि गर्नुपर्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । डाफे हाम्रो राष्ट्रिय पक्षी हो । हामीले विभिन्न चाडपर्वमा पनि पशुपक्षीको पूजा गर्ने गरेका छौ । यसरी मानव सभ्यताको विकाससँगै पशुपक्षीको विकासमा पनि हामी सधैं क्रियाशील हुनुपर्छ । व्यावसायिक पशुपक्षीपालनले हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा हामीलाई पु¥याउन मद्दत गर्नेछ । यर्थाथमा, नेपालमा व्यावसायिक पशुपक्षी पालनको पूर्ण सम्भावना छ । यसर्थ, लाभ लागतको आधारमा कृषि र पशुपालनमध्ये पशुपालन लाभदायक छ भन्ने कुरा बुभ्mन ढिला गर्नुहुँदैन । नेपालमा ठूला ठूला व्यावसायिक पशुपक्षी फार्म किन स्थापना हुन सकिरहेका छैन । हरियो तरकारीका थोक बिक्री स्थलझैं पशुपक्षीको थोक बिक्री स्थल पनि किन सञ्चालनमा आउन सकिरहेका छैनन् ? भनी घोत्लिनुपर्छ ।

देशको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गर्नुपर्छ

पशुपक्षी विकास र तिनलाई स्वास्थ्य सेवा प्रवाह गर्न नेपालमा प्राविधिक जनशक्तिको अवस्थामा सुधार गर्नुपर्छ । यस विधाको शिक्षामा आकर्षण गर्न छात्रवृत्ति प्रदान गर्नुपर्छ । युवा, बेरोजगार वा वैदेशिक रोजगारीबाट फर्किएको व्यक्ति वा स्वरोजगारको खोजीमा रहेकालाई पशुपक्षी पालनमा उत्प्रेरित गर्न तालिम दिने र बीउ पुँजी उपलब्ध गराउने अभियान सञ्चालन गर्नुपर्छ । समग्रमा नेपालमा पशुपालनको सम्भावना र भावी दिनको रोडम्याप सार्वजनिक गर्नुपर्छ ।

नेपालमा डेरी उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी भएको छ । यसमा ५ लाख किसान परिवार संलग्न छन् । दूध उत्पादनकै कारण नेपालमा क्रमशः आइसक्रिम उद्योग, पनिरको उत्पादन र खपत बढ्दै गएको छ । हामीले चिज, बटरलगायतको उत्पादन पनि जोड दिनुपर्छ । भ्यालुचेनमा रहेका किसान, सहकारी, प्रशोधनकर्ता र बिक्रेता सबैले गुणस्तरीयता उत्पादन गर्नुपर्छ । याक चिज हाम्रो निच प्रडक्ट हो । स्कुलका विद्यार्थी र सुरक्षाकर्मीलाई दूध पिउन उत्प्रेरित गर्न सके पनि नेपालमा दूध उत्पादन प्रोत्साहित हुने थियो ।

हाल नेपालमा ७६ लिटर प्रतिव्यक्ति प्रतिवर्ष दूधको खपत छ । यसलाई ९१ लिटर पु¥याउने लक्ष्य छ । मासु १३.५ किलो प्रतिव्यक्ति प्रतिवर्षको खपत छ । यसलाई १४ केजी तुल्याउनुपर्छ । सार्कमा नेपालको अवस्था राम्रो छ । दूध कुल उत्पादनको ५० प्रतिशत घरघरमा खपत हुन्छ, जुन राम्रो हो । इजिप्टको मोडलअनुसार पशुपालनदेखि डेरी उत्पादनको सबै काम गर्न सकिन्छ । यस क्षेत्रको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नुपर्छ । हामी क्रमशः छाला उद्योग र वधशालामा पनि जानुपर्छ । नेपालको पोल्टीमा करिब १ खर्ब १५ अर्ब लगानी भएको अनुमान छ । मानिसको जनसंख्याभन्दा दश दोब्बर पशुको संख्या भएका देश पनि छन् । यसर्थ, यस क्षेत्रमा निर्धक्कसँग लगानीका लागि उत्प्रेरित गर्नुपर्छ ।

आगामी, सन् २०२५ मा नेपाल खोरेतरहित मुलुक हुनेछ । यसपछि, बजार सुनिश्चित भएमा मेघा प्रोजेक्ट आउन सक्छ । जसको कारण यो क्षेत्रको सुनौंला भविष्यमाथि चिन्तन गर्न सकिन्छ । मूल कुरो, मुलुकको अर्थतन्त्र निर्माणमा महŒवपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गर्नुपर्छ । हाम्रो मूल ध्येय पशुपक्षी पालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउने हुनुपर्छ । यसका लागि पशुपक्षीको व्यवस्थापन, पशुजन्य पदार्थ तथा पशुपक्षी उत्पादन सामग्रीको स्वस्थ्य उत्पादन, बिक्रीवितरण र उपभोगसम्बन्धी राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । हाललाई आम किसानलाई कृषि पेसाको साथै पशुपक्षी पालनमा पनि उत्प्रेरित गर्नुपर्छ । जसबाट सर्वसाधारण जनताको आय वृद्धिमा टेवा पुग्नेछ ।

Your Views
Related News