खानपान सम्बन्धी कतिपय सामान्य कुराहरुको हेक्का नहुँदा हामीले अनेकन स्वास्थ्य समस्या झेल्नुपर्छ । जस्तो कति खानेकुरा यस्ता हुन्छन्, जसलाई आपसमा एकसाथ खाँदा त्यो विषाक्त बन्छ । त्यसैगरी कति खानेकुरा खाली पेटमा खानु उचित हुँदैन । खानपानका यी सामान्य ज्ञान भएमा कतिपय संभावित जटिलताबाट बच्न सकिन्छ ।

दही

दही स्वास्थ्यका लागि अत्यान्तै उपयोगी पेय हो । क्याल्सियम र प्रोटिनको भरपुर स्रोत हो यो । दहीले पाचन सम्बन्धी समस्या कम गर्न र शरीरमा उर्जा बनाइराख्न सहयोग गर्छ । गर्मीको याममा यसले शरीरलाई शितल बनाइराख्छ । तर, दही सेवनमा केही सर्त पालना गर्नु जरुरी छ । अक्सर दही रातको समयमा खानु हुँदैन । त्यसैगरी खाली पेट पनि दही खानु उचित हुँदैन । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्न सक्छ ।

गोलभेडा

तरकारीमा मिसाउन होस्, अचार बनाउन वा सलादको रुपमा खान, गोलभेडा उपयोगी हुन्छ । त्यसो त हाम्रो भान्सामा गोलभेडा अनिवार्य जस्तै हुने गर्छ । गोलभेडा आफैमा स्वस्थ्यवद्र्धक पनि मानिन्छ । यसमा एन्टिअक्सिडेन्ट पर्याप्त हुन्छ । यसले उच्च रक्तचाप, मुटु रोगको जोखिम कम गर्छ । साथै गोलभेडामा भिटामिन सि, पोटासियम तथा फोलेट पनि पाइन्छ । यति गुणी गोलभेडा खाली पेटमा भने खान उचित हुँदैन । खाली पेटमा गोलभेडा खाँदा पत्थरी, ग्याष्ट्रिक तथा अल्सरको जोखिम बढाउँछ ।

केरा

सदाबहार फल हो, केरा । उत्तिकै गुणी पनि । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । यद्यपि खाली पेटमा केरा खानु रोग निम्त्याउनु बराबर हो । खासगरी माइग्रेन, एसिडिटीका समस्या भएकाले खाली पेटमा केरा खानै हुँदैन ।

अमिलो फलफुल

भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । विशेषगरी, जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हने गर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ  । त्यसैले, विशेषज्ञहरु यस्ता फल सेवन गर्न सल्लाह दिने गर्छन् ।

कफी

धेरैको बानी हुन्छ बिहान कफी वा चिया पिउने । त्यस्तै दिक्कलाग्दो समय कटाउन होस् वा कुनै खुसी मेट्न, कफीको साथ खोजिन्छ । कतिपयमा कफीको लत नै हुन्छ । यद्यपि बिहान खाली पेटमा कफी पिउनु उचित मानिदैन । यसले अपच, एसिडिटीदेखि अल्सरको समस्या समेत निम्त्याउने जोखिम हुन्छ ।

पिरो र मसलेदार खानेकुरा

हामीलाई अमिलो, पिरो र मसलेदार खानेकुरा देख्नसाथ लोभ लाग्छ । मुखमा पानी आउँछ । कतिपयले हरेक छाकमा यस्तै स्वाद खोज्ने गर्छन् । यद्यपि खाली पेटमा पिरो वा मसलेदार खानेकुरा खानु भनेको अल्सरको जोखिम बढाउनु हो । एसिडिटी, ग्याष्ट्रिकदेखि पाचन यन्त्रको रोग बढाउनु हो ।

खाली पेटमा के खाने ?

बिहान उठ्नसाथ मनतातो पानी पिउनु जरुरी छ । यसले पाचन तन्त्रलाई निकै फाइदा गर्छ । खासगरी तामाको जग एवं भाडामा राखिएको पानी पिउँदा अन्य किसिमको लाभ पनि मिल्छ । यसैगरी मनतातो पानीमा मह मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ ।

यसैगरी मेवा पनि खाली पेटमा खाँदा धेरै फाइदाजनक हुने बताइन्छ । खरबुजा खाली पेटमा खानु लाभदायक हुन्छ । ड्राइ फ्रुट्स पनि खाली पेटमा सेवन गर्दा बढी फाइदा मिल्छ ।

READ MORE NEWS

प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि

कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ ।शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका छन् ।केही विद्यालयले लकडाउनकै अवधिमा पनि वैकल्पिक माध्यमबाट राम्ररी विद्यार्थीलाई पढाएका थिए । मन्त्रालयले लकडाउन हटेपछि वैकल्पिक विधिको पढाइलाई अनिवार्य बनाए पनि बहाना बनाएर जिम्मेवारीबाट पन्छिन खोज्ने थुप्रै विद्यालयमा पढाइ हुन सकेको छैन ।

विद्यार्थीको सिकाइ अवरुद्ध भएका विद्यालयबारे मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अध्ययन गरिरहेको छ ।सरकारले शैक्षिक सत्र खेर जान नदिन चैतभित्रै पढाइ सकेर अन्तिम परीक्षा लिने निर्णय गरिसकेको छ । यो अवस्थाले पढ्न पाउने र नपाउने विद्यार्थीबीच खाडल खडा गरेको छ ।यसबाट चैतभित्र पढाइ सकेर परीक्षा लिइसक्ने सरकारी योजना सफल नहुने देखिन्छ । असल अभ्यास गर्न उत्सुक विद्यालयले लकडाउनमा पनि बहाना नबनाई विद्यार्थीको सिकाइलाई निरन्तरता दिएका थिए । चाहना नै नगर्ने विद्यालयलाई अहिले पनि कोरोना महामारीले छोइरहेको छ ।

‘मैले अध्ययन गर्दा दोलखामा केही विद्यालयले टेलिफोनबाट विद्यार्थीलाई सम्पर्क राखेर पढाउन थालेका छन् । कपिलवस्तुका विद्यालयले विद्यार्थीलाई बारअनुसार समूह बनाएर पढाइरहेका छन् । उनीहरूले बिहान ८ बजेदेखि नै पढाउन थालेका छन्’, शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘लमजुङमा एक विद्यालयले पनि यसरी नै पढाइरहेको छ । तर, सँगै रहेको अर्को विद्यालयले विभिन्न बहाना बनाएर पढाइलाई निरन्तरता दिन सकेको छैन ।’ यस्तो असमान व्यवस्थाले विद्यार्थी र अभिभावकमा मानसिक तनाव सिर्जना गर्ने कोइरालाको भनाइ छ ।

मन्त्रालय तथा मातहतका निकायका कमजोरीका कारण यो अवस्था आएको हो । विद्यालय तहसम्मको शिक्षाको अधिकार पाएका स्थानीय तह पनि पढाइ र विद्यार्थीको भविष्यप्रति गम्भीर देखिएका छैनन् ।काठमाडौंका चन्द्रागिरि, तारकेश्वरलगायत नगरपालिकाले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै समूहमा बोलाएर पढाउन थालेका छन् । उपत्यकाबाहिरका विद्यालयमा पनि यो पद्धति अपनाइएको छ ।स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रत्येक विद्यालयमा वाईफाई व्यवस्था गरिदिएको छ । विद्यार्थी भाग लगाएर शिक्षकको जिम्मा लगाइदिएका छन् । पढाइबाट भाग्ने विद्यालयहरू कहिले क्वारेन्टाइन त कहिले संक्रमण फैलिएको बहाना बनाएर बसिरहेका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेलले अनलाइन, रेडियो, टीभी तथा पाठ्यपुस्तक उपलब्ध गराएर पढाइरहेको जानकारी दिए ।यतिले पनि नपुगेर शिक्षकलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड दिएर विद्यार्थीलाई नियमित निगरानी राख्न निर्देशन दिइएको प्रधानाध्यापक कँडेलले बताए ।अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पढाइ व्यवस्थित गर्ने सन्दर्भमा शिक्षा मन्त्रालय र मातहतका नेतृत्व असफल भएको आरोप लगाए। विद्यालय तहमा कक्षा १ देखि १० सम्म मात्रै ६० लाखभन्दा बढी विद्यार्थी छन् ।शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले वैकल्पिक माध्यमको पढाइ भनिए पनि कति प्रभावकारी छ भन्ने विषयमा अस्पष्ट रहेको बताए ।‘सबै विद्यार्थी स्कुल आऊ, किताब लगेर पढभन्दा त आउँदैनथे । अहिले त वैकल्पिक माध्यम भनिएको छ । कतिको पहुँचमा रेडियो, टीभी नै छैन । कतिको हातमा मोबाइल भए पनि स्मार्ट मोबाइल छैन होला’, महानिर्देशक अर्यालले भने, ‘अहिलेकै अवस्थालाई विश्लेषण गरेर भन्नुपर्दा प्रभावकारी भयो भन्न सकिँदैन । तर सकारात्मक वा नकारात्मक वास्तविकता जे भए पनि स्पष्ट अध्ययन चाहिँ गर्छौं ।’


Your Views
Related News