जाडो मौसम शुरु हुनै लाग्दा कोरोनाभाइरस संक्रमण झनै बढ्न सक्ने र श्वासप्रश्वाससम्बन्धी रोगका अन्य बिरामीलाई थप स्वास्थ्य जटिलता हुनसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबारसम्म मुलुकमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५५६ नयाँ संक्रमित थपिएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ भने ६६३ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै वागमती प्रदेशमा २३ हजार ६८३ छ। काठमाडौं जिल्लामा मात्र १६ हजार ८७६ सक्रिय संक्रमित छन्। अहिले २३९ संक्रमितको आईसीयू र ५५ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। मंगलबार थपिएका काेरोना संक्रमितको तथ्यांकलाई मात्र आधार मान्दा मुलुकमा कोरोना संक्रमण दर २२.८२ प्रतिशत छ।यसरी कोरोना संक्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला आउँदो जाडो नेपालका लागि थप चुनौतीपूर्ण र खतरानाक बन्ने चेतावनी विज्ञहरूले दिएका छन्। जाडो महीनामा कोरोनासँगै अन्य रोगका बिरामी पनि बढ्ने भएकाले स्वास्थ्य उपचार र हेरचाहको राम्रो बन्दोबस्त नमिलाए ठूलो क्षति निम्तिन सक्ने भएकाले सरकारले त्यसो हुन नदिन तयारी थाल्नुपर्ने उनीहरूको भनाइ छ।

जाडो महीना यसकारण खतरनाक 

एक अस्ट्रेलियन अनुसन्धानले कोरोनाभाइरस ४० डिग्री सेल्सियस तापक्रममा कपासमा १६ घण्टाभन्दा कम समयसम्म, सिसा, स्टीनलेस स्टील, कागज र प्लाष्टिक नोटको सतहमा २४ घण्टासम्म जीवित रहने देखाएको छ। उक्त अनुसन्धानका अनुसार कोरोनाभाइरस २० डिग्री तापक्रममा कपासमा १४ घण्टाभन्दा कम र सिसा, स्टीनलेस स्टील, कागज र प्लाष्टिक नोटको सतहमा ७ दिनसम्म जीवित रहन्छ। (हे.इन्फो) यस्तै, ३० डिग्री सेल्सियस तापक्रममा कोरोनाभाइरस कपासमा तीन दिनसम्म, सिसा, स्टीनलेस स्टील र प्लाष्टिक नोटमा सात दिनसम्म र कागजको नोटमा २१ दिनसम्म रहन्छ। अध्ययनले कोरोनाभाइरस कम तापक्रममा विभिन्न वस्तुको सतहमा बढी तापक्रम हुँदाभन्दा धेरै समयसम्म रहिरहने देखाएको छ। यसकारण आउन लागेको जाडो मौसम नेपालका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको मेडिसिन विभागका प्रोफेसर डा. अर्पना न्यौपाने जाडो मौसमले कोरोनाभाइरसलाई असर नगर्ने भएकाले लामो समयसम्म जीवित रहिरहने र यसैकारण संक्रमणको जोखिम बढ्ने बताउँछिन्। तर, जाडोमा काेरोना मात्र नभएर अन्य भाइरस पनि वातावरणमा लामो समयसम्म रहन्छन्। ती भाइरसले पनि लामो समयसम्म संक्रमण गराउँछन्। त्यसैले कोरोनासँगै अन्य भाइरस जाडोमा स्वाभाविक रुपमा बढी समय सक्रिय हुने डा. न्यौपाने बताउँछिन्। “जाडोमा गुम्म भएर एउटै कोठामा धेरै जना बस्ने र चिसोका कारण हात पनि कम धुने भएकाले यस्तो वेला शरीरमा भाइरसको वृद्धि विकास हुन मद्दत्त पुग्छ”, उनी भन्छिन्, “कोरोना जस्तै इफ्लुएन्जा भाइरसका संक्रमितहरु जाडोमा बढ्छन्।” जाडोमा भाइरस संक्रमण हुँदा मानिसको रोग प्रतिरक्षा प्रणालीमा असर पर्ने र त्यसले निमोनियाको समस्या बढाउने उनको भनाइ छ। जाडोमा कोरोना संक्रमण बढ्ने मात्र नभएर संक्रमित व्यक्तिहरुमा जटिल स्वास्थ्य समस्या देखिने जोखिम पनि हुन्छ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिंडडुल गर्दा पनि स्याँस्याँ हुने, मांशपेशी दुख्ने जस्ता समस्या निम्तिने काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको मेडिसिन विभागका प्रोफेसर डा. न्यौपाने बताउँछिन्। उनका अनुसार भारत लगायत केही मुलुकमा कोरोना निको भइसकेकाहरूमा फोक्सोको समस्या देखिएको छ। “लक्षण देखिन थालेको सातदेखि आठ दिनसम्ममा शरीरमा भाइरसको विकास हुन्छ। त्यसपछि भाइरसलाई शरीरमा उत्पन्न भएको एन्टीबडीले मार्न थाल्छ”, उनी भन्छिन्, “यसैक्रममा भाइरसलाई शरीरले बाहिर निकाल्न खोज्दा शरीरका अन्य अंगमा असर पार्न थाल्छ। र, स्वास्थ्यमा जटिलता निम्त्याउँछ।”

डा. न्यौपाने कोरोनाका कारण सामान्य संक्रमित बनेका व्यक्तिलाई निम्तिन सक्ने जोखिमबाट बचाउन विभिन्न अध्ययनहरूले देखाएको एन्टिभाइरल ‘फाभिरपिराभिर’ जस्ता औषधि दिन सकिने बताउँछिन्। “मैले विभिन्न अनुसन्धान प्रतिवेदनहरू अध्ययन गर्दा यसले शरीरमा कोरोनाको वृद्धि विकास हुनबाट रोक्न र थप स्वास्थ्य जटिलता ल्याउन नदिन भूमिका खेल्ने गरेको थाहा पाएकी छु” उनी भन्छिन्, “नेपालकै कम्पनीले उत्पादन गरेको यस्ता औषधिलाई सरकारले आवश्यक अध्ययन अनुसन्धान गरेर चलाउन अनुमति दिंदा राम्रो हुन्छ।” जाडो मौसममा अस्पतालमा कोरोनाका बिरामीको चाप झनै धेरै बढ्ने भएकाले सरकारले अहिल्यै शय्या थप्नुपर्ने हुन्छ। तर सरकारले अहिलेसम्म शय्या थप्न तयारी नगरेको उनको भनाइ छ।

चपेटामा दीर्घरोगी 

जाडोमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मुनरी डिजिज (सीओपीडी) जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य रोगका बिरामीहरूमा कोरोना संक्रमणको सम्भावना उच्च रहन्छ। उनीहरूमा संक्रमण भइहाले ज्यानै जाने जोखिम हुन्छ। स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन अनुसार मुलुकमा पछिल्ला वर्ष सीओपीडीका बिरामी बढिरहेका छन्। आर्थिक वर्ष २०७२/७३ मा दुई लाख एक हजार २२९ सीओपीडीका बिरामी उपचारका लागि अस्पताल भर्ना भएका थिए, जबकि यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ मा दुई लाख ४५ हजार ७६८ पुगेको छ। आर्थिक वर्ष २०७५/७६ मा सीओपीडीका बिरामीको संख्या सबैभन्दा धेरै वागमती प्रदेशमा रहेको देखिएको छ। उक्त आर्थिक वर्षमा वागमती प्रदेशमा ७८ हजार ३५० व्यक्ति सीओपीडीबाट बिरामी  भएका थिए।

यस्तै, स्वास्थ्य विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर तीव्र श्वास प्रणाली संक्रमण (एक्युट रेस्पेरेटरी इन्फेक्सन) का नौ लाख ४८ हजार ८३० बिरामीले बहिरंग विभागमा भर्ना भएर उपचार गराएका थिए। डा. न्यौपाने जाडो महीनामा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरूमा संक्रमणको उच्च जोखिम रहने र संक्रमण भइहाले थप जटिलता निम्तिएर ज्यानै जाने जोखिम हुने बताउँछिन्। टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोलाका अनुसार जाडो शुरु हुनुअघि नै सीओपीडीका बिरामीहरूमा कोरोना संक्रमण भएर निमोनियाको समस्या देखिन थालेको छ। उनीहरु अक्सिजनसहितको उपचारका लागि अस्पताल भर्ना हुन थालेका छन्।

उनका अनुसार जाडोमा शरीरमा सुख्खापन हुन्छ। यस्तो बेलामा शरीरको श्वासप्रश्वास प्रणालीमा हुने कोषिकाहरू कम सक्रिय हुँदा शरीरमा लामो समयसम्म कोरोनाभाइरस रहिरहन मद्दत गर्छ। “यी सबै कारणले शरीरको प्रतिरोध क्षमता पनि जाडोमा अरु बेलाभन्दा कमजोर नै हुन्छ” उनी भन्छन्, “जाडोमा कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुन्छ। त्यसैले कोरोना संक्रमणको जोखिम र यसले निम्त्याउने जटिलता बढ्छ।” आउँदो जाडोमा अन्य वर्षहरूमा जस्तै इन्फ्लुएन्जा (एचवान एन वान र एचथ्री एन टु) र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्ने निश्चित छ।  यस्तो समयमा खासगरी बृद्धबृद्धाहरु दम जस्ता रोगबाट शिकार हुन्छन्। यो वर्ष कोरोना संक्रमितहरुको उपचारका कारण अन्य रोगका बिरामीलाई शय्या अभाव हुने संभावना छ। त्यसकारण उपचार नपाएर उनीहरूको ज्यान जाने जोखिम रहेको छ।“आउन लागेको जाडो महीनामा कोरोनालगायत अन्य संक्रामक रोगको उपचारका लागि ठूलो कठिनाइ निम्तिने देखिएको छ” डा. बास्तोला भन्छन्, “यसको तयारीस्वरुप बेड थप्ने मात्र नभएर राम्रो हेरचाहसहितको उपचार सेवा प्रदान गर्न जनशक्ति थप्नुपर्छ। त्यस्तै अक्सिजनको व्यवस्थापन र अस्पतालमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक अन्य काम गरिनुपर्छ।”


Your Views
Related News