गोरखा — बारपाक सुलिकोट गाउँपालिका–२ का दोर्जे गुरुङले एक दशकदेखि बाँझो रहेको जमिनमा यस वर्षबाट खेती थालेका छन् । पुर्ख्यौली जमिनमा खेती गर्न छाडेर बारपाकमा किराना पसल चलाएका उनी कोरोना कहरपछि फेरि खेतबारीमै व्यस्त छन् । भन्छन्, ‘आफ्नै बारीमा दुःख गरेपछि खानको सुर्ता हुन्न ।’ २५ रोपनीमा यसवर्ष कोदो र घैया धान लगाएको उनले सुनाए । साढे २ रोपनीमा आलु पनि लगाए ।

लकडाउनले व्यापार–व्यवसाय सुस्ताएको छ । भएको जमिन पनि बाँझो राख्दा छाक टार्न मुस्किल हुने उनको भनाइ छ । ‘लकडाउनपछि पसलको आम्दानीको भरै छैन,’ उनले भने, ‘जिजुबाजेले यही बारीको उब्जनीले खान पुर्‍याउँथे, कोरोनापछि पुर्ख्यौली जमिन बाँझो राख्न हुन्न भन्ने मनमा लागेर खेती थालेको हुँ ।’ गाउँका अन्यले पनि उनैले जसरी फेरि खेती गर्न थालेका छन् ।

बाँझो जमिनमा खेती गर्नेलाई गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ । गत वैशाख २४ को कार्यपालिका बैठकले अनुमोदन गरेको ‘बाँझो जग्गा उपयोग अनुदान कार्यविधि २०७७’ जारी गरी किसानलाई अनुदान उपलब्ध गराउन लागेको हो । सौरपानीका दिनेश खनखवासले पनि १४ रोपनी जमिनमा धान र कोदो लगाए । श्रमशक्तिको अभावमा चार वर्षयता धान उत्पादन हुने खेतसमेत उनले बाँझै छाडेका थिए ।६ रोपनी बाँझो जमिनमा कोदो र सिलाम खेती थालेका केशरीप्रसाद ढकाल बाँदरले दुःख दिएको गुनासो गर्छन् । ‘घरमा बूढाबूढी मात्र, खेती नगरी छाड्दा ३ वर्षदेखि बारी बाँझै थिए,’ उनले भने, ‘अहिले खेती थाल्यौँ, बाँदरले दुःख दिन थाल्यो, जमिन बाँझो रहनुको एउटा अर्थ बाँदरले दुःख दिएर पनि हो, यसको नियन्त्रणमा सहयोग गर्नुपर्‍यो ।’

बारपाक, सुलिकोटमा लकडाउनपछि ६ सय ३८ रोपनी बाँझो जमिनमा खेती भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । ५ सय ३८ रोपनीमा खाद्यान्न बाली, ३ रोपनीमा फलफूल, २७ रोपनीमा दलहन, २९ रोपनीमा मसला र २ रोपनीमा तरकारी लगाइएको कृषि प्राविधिक प्रेमप्रकाश रोका क्षेत्रीले बताए । ६ सय ३८ रोपनी मध्ये ६१ किसानलाई अनुदान उपलब्ध गराउन कृषि ज्ञान केन्द्रमा सिफारिस गरिएको छ । गाउँपालिकाले डेढ सय किसानका ३ सय १५ रोपनी बाँझो जमिनमा खेती गर्नेलाई अनुदान रकम उपलब्ध गराउने उनले बताए । खाद्यान्नमा प्रतिरोपनी ३ हजार, फलफूलमा २ हजार र दाल बालीमा २५ सय रुपैयाँ अनुदान उपलब्ध हुनेछ । ‘बाँझो जग्गामा खेती गर्ने भन्दै ५ सय किसानको आवेदन आएको थियो,’ उनले भने, ‘हामीले स्थलगत अध्ययन गरी अनुदान उपलब्ध गराउन लागेका हौँ ।’ अनुदानका लागि ९ लाख ९७ हजार ६ सय ५० रुपैयाँ वडा कार्यालयमा निकासा भइसकेको छ । खेती प्रोत्साहनका लागि गाउँपालिकाले चालू वर्ष १६ लाख रुपैयाँ छुट्ट्याएको थियो । ‘अहिले ९ लाख ९७ हजार निकासा गर्‍यौँ, वडा नम्बर ३ मा निकासा भएको छैन,’ क्षेत्रीले भने ।

अनुदान उपलब्ध गराएपछि कोभिडले रोजगार गुमाई हतोत्साही बनेकाहरूलाई पनि कृषिपेसामा लाग्न प्रोत्साहन भएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । तीन वर्ष लगातार बाँझो रहेको जमिनमा खेती गर्नेलाई मात्र अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । ‘यो कार्यक्रम निकै उपलब्धिमूलक भएको पाएका छौँ, बेरोजगार बनेकाहरूलाई पनि खाद्यान्न संकटबाट मुक्त गर्न कार्यक्रमले केही हदसम्म राहत दिनेछ,’ उनले भने ।

READ MORE NEWS

पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण हुँदै

काभ्रेपलाञ्चोक, २८ असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।

वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माणकार्य शुरु भएपछि अब यहाँका बासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन् ।सम्झौताअनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष जनम तामाङले बताउनुभयो । उहाँका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।“पुसभित्र जसरी पनि स्थानीय बासिन्दाको घरघरमा खानेपानी पु¥याउने लक्ष्य पूरा गर्नेछौँ”, तामाङले भन्नुभयो, “तोकिएको समयमा नै काम सकाउने गरी निर्माणकार्य अगाडि बढिरहेको छ ।” तीन महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ ।

यहाँका बासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आउनुभएको छ । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताउनुभयो । “अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन्”, उहाँले भन्नुभयो, “पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।”

रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्याङ्कीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका बासिन्दा लाभाविन्त हुनेछन् । रु एक करोड २३ लाख ८९ हजार ६०४ भ्याटबाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ । आयोजना जेभी कन्स्ट्रक्शनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरु गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्याङ्कीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीयवासी उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीयवासी खुशी छन् ।


Your Views
Related News