काठमाडौं । कोरोना संक्रमणको रफ्तार नेपालमा बढ्दो छ । हालसम्म एक लाखभन्दा बढी मानिसमा संक्रमण पाइएको छ भने ६४५ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमित सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् । सबैभन्दा कम मुस्ताङमा देखिएका छन् । यो तथ्यांकले कम जनघनत्व भएको क्षेत्र सुरक्षित देखिएको हो त ? भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जाएको छ ।विज्ञहरु ग्रामीण क्षेत्रमा कोरोना संक्रमण कम देखिनुको मुख्यतया तीन कारण रहेको बताउँछन् । उनीहरुका अनुसार पहिलो कारण भनेको सहरभन्दा गाउँघरमा भिडभाड तथा सम्पर्क कम हुन्छ । दोस्रो कारण, खानपिन र तेस्रो कारण भनेको उमेर हो ।

प्रदेश २ सरकारमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सल्लाहकार संयोजकको रुपमा काम गरिरहेका डा.रामकेवल साह भन्छन्, ‘सहरभन्दा ग्रामीण क्षेत्रको जनसंख्या कम हुन्छ, भिडभाड त्यति हुँदैन, मानिसहरु एक आपसमा त्यति सम्पर्कमा जाँदैनन्, अधिकांशले आफ्नो खेतबारीको कामबाटै फुर्सद पाएका हुँदैनन् । त्यही भएर एक अर्कामा संक्रमण सर्न पाउँदैन ।’सहरबजारमा हरेक कामका लागि बाहिर निस्किनु परेको हुन्छ तर गाउँमा नुन, चिनीजस्ता खाद्यवस्तु एकपटक खरिद गरेपछि कयौं दिनसम्म बजार नजाउँ भन्दा पनि चल्ने भएकाले कोरोना संक्रमणले गाउँको तुलनामा सहरलाई बढी प्रभावित तुल्याएको उनको बुझाइ छ ।

कोरोनाविरुद्ध सहरबजारमा जस्तो गाउँघरतिर त्यति सचेतता पनि अपनाएको पाइँदैन । मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्नेजस्ता आधारभूत मापदण्ड पनि गाउँघरमा अपनाएको देखिँदैन । सहरमा अरु केही नभए पनि मास्क लगाउने गरेको देखिन्छ । प्रायःले सेनिटाइजर प्रयोग गरेका हुन्छन् । घर तथा अफिसमा सेनिटाइजर अनिवार्य हुन्छ । यसका बाबजुद गाउँको तुलनामा सहरमा कोरोना संक्रमण बढी पाइएको हो ।सिरहा रेडक्रसमा कार्यरत श्रीदेव यादव भन्छन्, ‘गाउँघरमा पाँच प्रतिशतले पनि मास्क र सेनिटाइजर प्रयोग गरेको पाइँदैन । रेडियो, टेलिभिजन तथा विभिन्न संघ संस्थाले कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्ने विषयको प्रचार प्रसार गरेका हुन्छन् तर ती कुराहरुसँग स्थानीयलाई कुनै मतलब हुँदैन ।’अहिले पनि गाउँघरमा मानिसहरु साप्ताहिक हाटबजारमा गएकै हुन्छन् । विवाह, श्राद्धका कार्यक्रममा पनि सहभागी भएकै पाइन्छ । मेलापात रोकिएको छैन । यस्ता गतिविधि हेर्दा गाउँघरमा कोरोना महामारीले छोएकै छैन भन्नेजस्तो अनुभूति हुने उनको भनाइ छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘गाउँघरमा स्वतः सामाजिक दुरी कायम हुन्छ, त्यहाँ सामाजिक दुरी कामय गर्न मेहनत गर्नै पर्दैन । सहरको तुलनामा गाउँघरमा हिँडडुल कम हुन्छ, भिडभाड कम हुन्छ । त्यही भएर कोरोना संक्रमित कम देखिएका छन् ।’मेलापात, हाटबजार लागे पनि गाउँमा संक्रमण नफैलिनुको कारण एउटै समुदाय,, एउटै गाउँका, एउटै टोलका मानिस बढी हुनु मुख्य कारण रहेको उनको भनाइ छ । ‘सहरमा भने चारैतिरका मान्छे आएका हुन्छन्, विदेशीहरु पनि आएका हुन्छन्, जतिपटक बजारतिर गयो त्यति पटक नयाँ मान्छेलाई भेट्न सकिन्छ तर ग्रामीण क्षेत्रमा त्यस्तै हुँदैन,’ उनले भने, ‘जहिले पनि एउटै मान्छे हुन्छ, त्यसबाट कोरोना संक्रमण हुने सम्भावना धेरै कम हुन्छ ।’सिरहा, औरही गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख डा.उपेन्द्र यादव पनि सहरभन्दा गाउँघरमा भिडभाड कम हुने, सम्पर्क कम हुने भएकाले संक्रमण कम देखिएको बताउँछन् । उनले सहरभन्दा गाउँघरको हावापानी, वातावरण पनि स्वच्छ हुने, सहरको तुलनामा गाउँघरको खानपिन स्वच्छ हुने भएकाले पनि कोरोना संक्रमणको दरमा फरक परेको बताए ।

डाक्टर पुन भने गाउँघरमा खानपिनले गर्दा नै संक्रमण दर कम भएको हो भनेर मान्न नसकिने बताउँछन् । ‘खानपिन महत्वपूर्ण होइन, धेरै संक्रमण हुन नदिनुमा त्यो एउटा पार्ट हुनसक्छ,’ उनले भने, ‘तर त्यो नै मुख्य भने होइन ।’सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी पनि भिडभाड बढी हुने ठाउँमा संक्रमति पनि बढी हुने बताउँछन् । ‘ग्रामीण क्षेत्रमा मान्छे त्यति हिँडडुल गर्दैन, त्यसैले त्यहाँ धेरै संक्रमित हुँदैनन्,’ उनले भने, ‘सहरमा विभिन्न ठाउँबाट मान्छे आएका हुन्छन्, त्यसमध्ये कतिपय संक्रमित भएर आएका हुन्छन् र उनीहरुले कयौंलाई सारेका हुन्छन् । गाउँमा त्यस्तो हुँदैन ।’अहिले गाउँघरमा युवाको संख्या निकै कम रहेका कारण पनि संक्रमण फैलन नपाएको उनको भनाइ छ । ‘कोही वैदेशिक रोजगारमा छन्, कोही सहरतिर छन्,’ उनले भने, ‘युवाहरुको संख्या सहरको तुलनामा गाउँमा निकै कम भएकाले पनि संक्रमण फैलन नपाएको हो ।’युवामा लक्षणविहीन संक्रमण बढी देखिने गरेको र आफू संक्रमित भएको महसुस नै हुन नपाई उनीहरुले कतिपयलाई संक्रमण सार्नसक्ने खतरा रहेको अवस्थामा युवा समुदायकै कारण गाउँको तुलनामा सहरमा बढी संक्रमण पाइएको उनको भनाइ छ ।

READ MORE NEWS

नयाँ नक्साबारे दिएको कमेन्टले विवादित भारतीय सेनापति नरवाणेलाई नेपाल भ्रमणको निम्ता!

 


Your Views
Related News