बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।  दैनिकी खल्बलिनु, रोजगारी-कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड–१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६-७ जना बिरामी अस्पताल आउँछन् ।“प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ । दिग्दारीपन, आत्तिने-डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उनले बताए । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भने, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उनले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उनले भने, “कोभिड–१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।”नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाए । उनले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गरे । वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताए । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उनले भने । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए ।“शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उनले भने । अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ ।मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए । उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।“अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उनले भने, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ ।

READ MORE NEWS

रोनाल्डोविनाको पोर्चुगल स्वीडेनसँग खेल्दै

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनको आतिथ्यता गर्दैछ ।

खेल लिसवोआ रंगशालामा नेपालीसमयअनुसार राति १२ः३० बजे हुने छ । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन समेत रहेको पोर्चुगल स्वीडेनलाई हराउदै शीर्षस्थान थप पकड बनाउने योजनामा हुनेछ । नेसन्स लिगको तेस्रो चरणको खेल सकिदा पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ७ अंक नै रहेपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा छ । क्रोएसियाले ३ तथा स्वीडेनले अंक जोड्न सकेको छैन ।

तर स्वीडेनविरुद्ध कीर्तिमानी गोलकर्ता तथा कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा हुनेछैनन् । रोनाल्डोलाई मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । टोलीले प्रशिक्षण गरिरहँदा उनले भने बरन्डामा बसेर टोलीको प्रशिक्षण नियालिरहेका थिए ।
रोनाल्डो नभएपनि टोलीसँग प्रतिभावान खेलाडीहरुको बाहुल्यता रहेको छ ।

अग्रपङ्तिमा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, डिएगो जोटा र रेनाटो सान्चेज रहनेछन् । मिडफिल्डमा ब्रुनो फर्नान्डेससँगै विलियम कार्भाल्हो, ड्यानियल पेरेइरा, ट्रिन्काओ र जोओ मौटिन्हो रहनेछन् । डिफेन्समा राफयल भरान, पेपे, रुवेन नेभेस, जोओ क्यान्सिलो रहँदा पोर्चुगलको गोलपोस्ट रुई प्याट्रिसियोले सम्हाल्नेछन् ।

यता, स्वीडेन पनि अनुभवी तथा भेट्रान फरवार्ड रोनाल्डो नरहेको फाइदा उठाउदै नेसन्स लिगमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । गत महिना पोर्चुगलले स्वीडेनलाई उसकै मैदानमा २–० ले पराजित गर्दा दुवै गोल रोनाल्डोले गरेका थिए ।

स्वीडेनसँग मार्कुस वर्ग, एलेक्सान्डर इसाक, इमिल फोर्सवर्ग, क्रिस्टोफोर ओल्ससन, भिक्टोर निल्सन लिन्डेलफ र गोलरक्षक रोविन ओल्सेन रहनेछन् । यि दुई टोली पाँचौपटक भिड्न लागेका हुन् । तीन खेल पोर्चुगलले आफ्नो पक्षमा पार्दा एक खेल स्वीडेनले जितेको छ ।

रोनाल्डो बरन्डामा, बाँकी अभ्यासमा

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो कोठामै सिमित भए । आइसोलेसनमा रहेका रोनाल्डोले टोलीका अन्य सदस्यले अभ्यास गर्दा बरन्डाबाट हेरेका थिए ।

पोर्चुगल टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएन । रोनाल्डोको अनुपस्थितिले स्विडेनविरुद्ध बुधबार हुने युइएफए नेसन्स कपमा पोर्चुगललाई असर पर्ने सम्भवना छ । युभेन्ट्सका ३५ वर्षे सुपर स्टारलाई कोरोना संक्रमण देखिए पनि लक्षण भने नरहेको बताइएको छ ।

रोनाल्डोले स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्ने क्रममा आफुलाई आइसोलेट गरेका छन् । त्यसको अर्थ उनी स्विडेनविरुद्धको खेलमा हुने छैनन् । यद्दपी रोनाल्डो मैदान फर्कन आतुर रहेको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले बताएका छन् ।

‘रोनाल्डोले भनेका छन् । उनी खेल्न चाहन्छन् । कोभिड १९ का कारण कुनै खेलाडी खेल्न पाउँदै भने त्यो ठूलो घाटा हो,’ प्रशिक्षक सन्तोषले भने, ‘रोनाल्डोको अनुपस्थिति अन्य खेलाडीको भन्दा ठूलो घाटा हो । तर मलाई आशा छ जो खेल्न गइरहेका छन् उनीहरुले राम्रो गर्नेछन् ।’

रोनाल्डोको अनुपस्थितिमा पनि उस्तै योजनामा टोली उत्रने सान्तोषले बताए । ‘योजना उही नै हुनेछ । खाली केहि फरक पन हुनेछ । रोनाल्डोको आफ्नो विशेषता छ,’ उनले भने, ‘विश्वकै उत्कृष्ट खेलाडी विनाको टोली राम्रो हुन सक्दैन । तर पनि हाम्रो टोलीले आफ्नो जिम्मेवारीका साथ सामूहिक प्रदर्शन गरेको छ । मलाई आफ्ना खेलाडीमा पूरा विश्वास छ ।’

समूह एमा ७ अंकसहित पोर्चुगल शीर्षस्थानमा रहेको छ । समान अंक रहेको फ्रान्स र पोर्चुगलले गत साता गोलरहित बराबरी खेलेका थिए । अर्को खेलमा फ्रान्सले समूहको तेस्रो स्थानमा रहेको क्रोएसियाको सामना गर्नेछ ।


Your Views
Related News