अहिले नेपालमा दसैँको चहल–पहल छ । कोही खसी–बोका किन्ने तयारी गर्दै छन्, कोही च्यांग्रा र भेडा । च्यांग्राको मूल्य एउटैमा १० हजार बढेको समाचार पनि प्रकाशनमा आएको छ । सोही अनुपातमा भेडाको मूल्य पनि बढेको छ ।नेपालमा भेडा–च्यांग्राको सिजन चलिरहेका वेला स्कटल्याण्डमा महँगो मूल्यमा एउटा भेडाको किनबेच भएको छ । भेडाको किनबेच लाखमा होइन, करोड मूल्यमा भएको छ । करोड पनि एक वा दुई होइन, झण्डै ६ करोडमा बिक्री भएको छ ।

टेक्सल प्रजातिको भेडा पौने ६ करोडहाराहारी अर्थात् ५ करोड ७३ लाखमा बिक्री भएको हो । सो भेडा गत महिना स्कटल्याण्डको ल्यानार्कको स्कटिस नेसनल टेक्सल सेलमा बेचिएको थियो ।लिलाम बढाबढमा राखिएको सो भेडाको शुरुआती मूल्य १० हजार ५०० डलर थियो । एकजनाले मात्रै किन्न नसकेर सो भेडा तीनजनाले पार्टनरसिपमा किनेका थिए । लिलामीको मूल्य बढ्दै अन्ततः भेडा ४ लाख ९० हजार ६५१ अमेरिकी डलरमा बिक्री भयो । अर्थात् नेपाली मुद्रामा ५ करोड ७३ लाखभन्दा बढी मूल्यमा बिक्री भयो । टेक्सल भेडा दुर्लभ प्रजातिको भेडा हो । टेक्सल भेडालाई डबल डायमण्ड पनि भनिन्छ । यसको मूल्य निकै महँगो हुने गरेको छ ।

READ MORE NEWS

हुम्लामा चीनले सीमा मिचेको कांग्रेसको दाबी, भन्यो- ‘सरकार प्रमाण ढाकछोप गर्न तल्लीन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा सीमा मिचिएको दाबी गरेको छ। बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले हतारमा सीमा मिचिएको छैन भनेर टिप्पणी गरेको र अहिले सीमा मिचिएको प्रमाण सार्वजनिक हुँदा पनि मौन बसेको भन्दै ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।”सदरमुकाम सिमकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सीमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयमार्फत्मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो। सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं”, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज पहिलो साता गरेको स्थलगत अध्ययनको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि १४ असोजमा कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको थियो।चीनसंगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनले नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ।

“दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ”, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ।कांग्रेसले सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, दुवै अस्वीकार्य हुने बताएको छ। साथै हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय भएको र नेपाल सरकारले त्यसको ढाकछोप गर्न खोज्नु र र मौनता साँध्नु झनै आपत्ति, आश्चर्य, निन्दनीय र राष्ट्रघातको विषय भएको कांग्रेसको भनाइ छ।”नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ।

READ MORE NEWS

चीनले ‘भूमि मिचेको’ स्थापित गर्न कांग्रेस सक्रिय

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण गरी फर्केको हुम्लाको कांग्रेस टोलीले सोमबार पत्रकार सम्मेलन गरी चीनले नेपाली भूमि मिचेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गर्‍यो।प्रतिवेदन सार्वजनिक गरेको एक दिनपछि अर्थात् मंगलबार उपसभापति विमलेन्द्र निधिले ‘हुम्लामा नेपाली भूमि चीनले कब्जा गरेकै हो’ भनी ठोकुवा सहितको ट्विट गरे। निधिले गरेको ठोकुवाको आधार अघिल्लो दिन सार्वजनिक गरिएको प्रतिवेदन नै थियो। निधिले सरकारले चीनको पक्ष लिएको समेत आरोप लगाए। सरकारले तथ्य लुकाउनका लागि मातहतका निकायलाई थर्काएको समेत निधिको बुझाइ छ।‘नेपाल सरकारले झुठ बोलेर चीनको पक्ष लिएकै हो। १९ जनाको टोली ११ दिनसम्म स्थलगत निरीक्षण गरी जीवन शाहीले पत्रकार सम्मेलनमा यो खुलासा गर्नु भएको छ’, सरकारी भूमिकालाई अराष्ट्रिय र निर्लज्ज ठर्‍याउँदै निधि लेख्छन्, ‘सरकारले हुम्ला प्रशासनलाई थर्काएर तथ्य लुकाएको छ। यो अराष्ट्रिय र निर्लज्ज कुकर्म हो।’

निधिको ट्विट असोज ७ मा परराष्ट्र तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको अभिव्यक्तिप्रति पनि लक्षित थियो। ज्ञवालीले हुम्लाको लिमिमा चिनियाँ पक्षले नेपाली भूमि नमिचेको दाबी गरेका थिए। नेपाल–चीनबीच सीमा समस्या नै नभएको ज्ञवालीको ठोकुवा थियो। सरकारी धारणाप्रति विश्वस्त हुन नसकेको कांग्रेसले असोज ८ मा विज्ञप्ति निकालेर सरकारी दाबीको अस्वीकार गर्‍यो। प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन।’हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली सीमा निरीक्षणबाट नफर्किँदै सरकारका प्रवक्ताले चीनले नेपाली भूमि नमिचेको दाबी गरिसकेका थिए। गिरी सहित सुरक्षा अधिकारीको टोली असोज पहिलो साता सीमा क्षेत्रमा पुगेको थियो। चिनियाँ सेनाले आफ्नै भूमिमा भौतिक संरचना निर्माण गरेको दाबी गरेपछि सरकारी पक्ष फर्केको थियो। सरकारी दाबीमा कांग्रेसलाई पत्यार लागेन। स्थलगत निरीक्षणमा टोली पठाउन पार्टी सभापति शेरबहादुर देउवाले नै सक्रियता देखाए। हुम्लाका कांग्रेस जिल्ला सभापति जयपति रोकाया भन्छन्, ‘सभापतिले फोन गरी सीमाको निरीक्षण गर्न आग्रह गरेपछि म पनि स्थलगत बुझ्न गएको हुँ।’

त्यसो त, चीनले ‘भूमि मिचेको’ प्रति बढी चासो उपसभापति निधिलाई छ। उनका सामाजिक सञ्जालका अभिव्यक्तिले निधिले सीमाको चासो बढी देखाएको प्रष्ट हुन्छ। कांग्रेस टोली सीमा क्षेत्रका अध्ययन गर्न जानु एक दिनअघि अर्थात् असोज १३ मा नेता निधिले भर्चुअल संवादमा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा छानबिन नै नगरेर सरकारले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।असोज १४ गते सीमा निरीक्षणमा गएको टोली ११ दिनपछि हुम्ला सदरमुकाम सिमिकोट फर्केको थियो। निधिले भनेझैं टोलीमा १९ जना भने थिएनन्। सोमबार सार्वजनिक प्रतिवेदनका अनुसार कांग्रेस समर्थित ११ जनाको टोली थियो।कर्णाली प्रदेशका दलका नेता तथा केन्द्रीय सदस्य जीवन बहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनले नाम्खा गाउँपालिकास्थित लोलुङजोङमा निर्माण गरेको भौतिक संरचना नेपालभित्र रहेको निष्कर्ष निकालेको छ। साथै, गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्ड चीनले अतिक्रमण गरेको कांग्रेसको ठहर छ।

लाप्चा भन्ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको अनुगमन टोलीले जनाएको छ। उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई छ महिनाअघि चीनले निर्माण गरेको टोलीले जनाएको छ। चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। दुई देशको सीमानामा ५ देखि १२ सम्म सीमास्तम्भ छन्। चीनले एकतर्फी रुपमा सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरेको टोलीका संयोजक शाहीले बताए। ५ (१) र ५ (२) सीमास्तम्भलाई चीनले तारबार गरी राखेको जनाइएको छ। पुरानो ५ (२) सीमास्तम्भलाई चीनले उखेलेर एकतर्फी रुपमा नयाँ बनाइएको शाहीले बताए।कांग्रेस टोलीले स्थलगत निरीक्षणका क्रममा विभिन्न पक्षसँग छलफल तथा प्रविधिको प्रयोग गरेको बताइएको छ। स्थानीयको अनुभव संकलन, दुई देशको सन्धि अनुसार अनुमोदन भएको नक्सा, लिमी र हिल्साका स्थानीयसँग छलफल, जिपिएस प्रविधिको अध्ययन गरी सीमा मिचेको तथ्य प्राप्त भएको शाहीले सुनाए।टोलीले तयार गरेको प्रतिवेदन केन्द्रीय कार्यालय, संसदीय दल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पठाइएको छ।

प्रतिवेदन तयार गरेर मात्रै कांग्रेस रोकिएन। मंगलबार साँझ निरीक्षण टोलीका संयोजक, परराष्ट्रविद् र सीमाविद्सँग भर्चुअल संवाद राखियो। संवादको संयोजन सूचना, सञ्चार तथा प्रचार विभागले गरेको थियो। परराष्ट्रविद् तथा संयुक्त राष्ट्र संघका पूर्व स्थायी प्रतिनिधि प्राध्यापक जयराज आचार्यले नेपालको कुटनीतिक पक्ष कमजोर हुँदै गएको बताए।आचार्यले सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय दुई पद्धति रहेको बताए। पहिलो, पुर्खाले गरेजस्तै हातहतियार सहितको युद्ध। दोश्रो, कुटनीतिक राजनीति। नेपालका लागि उपयुक्त पद्धति परिपक्व कुटनीतिक संवाद हुने उनले बताए। बिपी कोइरालाको समयमा नेपालको कुटनीति परिपक्व रहेको उनको बुझाइ थियो। कुटनीति खस्केको सुनाउँदै उनले भने, ‘कुटनीतिलाई आन्तरिक राजनीतिसँग जोड्न हुँदैन। फ्याक्ट र फिगर बिना राजनीतिक नेतृत्वले बोल्नुहुँदैन।’सीमाविद्  तथा नापी विभागका पूर्व महानिर्देशक कृष्णराज बिसीले सीमाको निरीक्षण द्वीपक्षीय रुपमा संयुक्त रुपमा हुनुपर्ने बताए। एकल तबरबाट सीमा समस्या हुने विषय नभएको उनले बताए। उनले भने, ‘संयुक्त निरीक्षण सीमाको सिद्धान्त हो।’सीमाको निरीक्षण हालसम्म चारपटक भएको बिसीले जानकारी गराए। नेपाल–चीनबीच प्रत्येक १० वर्षमा सीमाको निरीक्षण गर्ने सम्झौता समेत रहेको बताए।

चीनले नेपाली भूमि मिचेको ‘अन्तिम सत्य’ भनिरहँदा हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित छक्कबहादुर लामा कांग्रेसको प्रतिवेदनलाई मिथ्या दाबी गर्छन्। एक साताअघि सीमा क्षेत्रको निरीक्षण गरेर फर्केका लामा भन्छन्, ‘सीमाना सरल रेखामा छैन। बक्र रेखामा छ। १२ नम्बर पिल्लर उनीहरुको तीर छ। दक्षिण तिरको उनीहरुको भूमि हाम्रोतिर आएको छ।’बक्र रेखामा सीमा रहेकाले नेपालको भूमि चीन र चीनको भूमि नेपालमा परेको उनको तर्क छ। चीनले नेपाली भूमि अतिक्रमण नगरेको उनको दाबी छ। सन् १९८२ को नेपाल– चीनको नक्सा अनुसार चीनले अतिक्रमण गरिएको भूमि उनीहरुकै रहेको लामाको भनाइ छ। कांग्रेसले निकालेको प्रतिवेदनप्रति प्रश्न उठाउँदै उनले भने, ‘सीमा निरीक्षणमा कांग्रेसको टोलीमा को थियो? नचाहिने कुरा गरेर हुन्छ?’ हुम्लामा रहँदा लामाले चीनले भूमि मिचेको प्रतिक्रिया दिएपछि सरकारले काठमाडौंमा बोलाएको कांग्रेसको बुझाइ छ। हुम्ला कांग्रेसका सभापति रोकायाले भने, ‘छक्कबहादुरजीले हुम्ला हुँदा सीमा मिचेको बोल्नुभएको थियो। यहाँ बोलेपछि परराष्ट्रमन्त्रीले बोलाउनु भएको सुनेको थिएँ।’


Your Views
Related News