काठमाडौं। बिन्ध्यवासिनी म्युजिक प्रालिले एक करोड क्षतिपूर्तिको माग गर्दै गायक प्रमोद खरेलविरूद्ध उजुरी हाल्यो। कम्पनीका सञ्चालक सुवास रेग्मीले रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए। रजिष्ट्रारको कार्यालयमा उक्त विवाद समाधान नभएपछि अब अदालत जानेछ। आफ्नो कम्पनीले उत्पादन गरेका म्युजिक ट्र्याक आफ्नो अनुमतिविना देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा प्रयोग गरेको बिन्ध्यवासिनीको आरोप छ। विगत लामो समयदेखि आफ्नो अनुमतिविना ट्र्याक प्रयोग गरेर देश विदेशमा हुने सांगीतिक कार्यक्रममा प्रयोग गरिएको भन्दै रेग्मीले  क्षतिपूर्ति मागेका थिए। यस्तो विवाद पहिलोपटक भने होइन। यसअघि पनि बेला-बेला गीतको ट्रयाक प्रयोगबारे गायक गायिका र म्युजिक कम्पनीबीच हुने गरेको थियो।

 

रेग्मी गायक गायिकाले निर्माताको अनुमतिबिना ट्र्याक प्रयोग नमिल्ने बताउँछन्। “कुनै पनि सिर्जनाका लागि गीतकार र संगीतकार भनेको आमाबुवा हुन्। त्यसपछि गायक गायिका तथा प्रोड्यूसर भनेका त छोराछोरी हुन्। आमाबुवाले बनाएको गीत छोराछोरी प्रयोग गर्न त पाउँछन्। तर, लगानीकर्तासँग अनुमति त लिनुपर्‍यो नि।” उनले भने। उनका अनुसार गायक गायिकाले त्यसरी कार्यक्रममा गएर गाउँदा पाएको पारिश्रमिकबाट संगीतकार, लगानीकर्ता, लगायतलाई छुट्याउनुपर्ने छ।गायक प्रमोद खरेलले भने गीत गाउँन कसैको पनि अनुमति लिन नपर्ने बताउँछन्। गीतको प्रचारप्रसार गर्ने पहिलो अधिकार नै गायक गायिकालाई हुने भन्दै त्यसका लागि कसैसँग अनुमति लिनुनपर्ने उनको दावी छ। प्रतिलिपी अधिकार ऐन, २०५९ ले गायक गायिकालाई आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जनसमक्ष पुर्‍याउने अधिकार दिएको छ। एउटा गीतमा गीतकार, संगीतकार, गायकगायिका र निर्माताले २५/२५ प्रतिशत अधिकार पाउँछन्।६ वर्षपछि उक्त गीतमा लगानीकर्ताको कुनै पनि अधिकार नहुने कानूनमा उल्लेख छ। तर, ऐनले गायक गायिकाको अधिकार भने स्पष्ट उल्लेख नगरेको संगीतकार वसन्त सापकोटा बताउँछन्। “कानूनले गायक गायिकाले त्यसरी कन्सर्ट तथा सार्वजनिक कार्यक्रममा गएर गाउन पाउने अधिकारका विषयमा स्पष्ट बोलेको छैन। अहिलेसम्म हामी त व्यवहारिक रूपमा नै अगाडि बढिरहेका छौं”, उनले भने। पहिलापहिला हुने कन्सर्ट तथा सार्वजनिक कार्यक्रममा गायकगायिकासहित सम्पूर्ण टीम गएर प्रस्तुति दिने गरेको उनले बताए। “अचेल भने गीतको ट्र्याक बोकेर गायक गायिका मात्र हिँड्ने र पैसा कमाउने गरेका छन्। यो विषयमा कानून नै स्पष्ट छैन्।” संगीतकार सापकोटाले भने।

 

एउटै फिल्डमा काम गर्दै जाँदा सबैजना सहमति र समझदारीमै अगाडि बढिरहेको भन्दै अब गीत संगीतलाई पनि व्यावासायीक बनाएर अगाडि बढ्नुपर्ने उनी बताउँछन्। सापकोटाले नेपालमा अझै पनि संगीत क्षेत्र व्यावसायीक हुन नसकेको भन्दै बोलीको भरमा काम गर्दै जाँदा बेला बेला यस्तो समस्या आउने गरेको अनुभव सुनाए। “हामीहरू सिर्जना बोलीका भरमा गएका छन्। बोली र समझादारीले अगाडि बढ्दा विभिन्न समस्या आउँदोरहेछ। अब यसलाई व्यवसायीक बनाएर कानूनसम्बत ढंगले अगाडि बढ्नुपर्छ।” उनले भने।  प्रस्तोता समाजका अध्यक्ष शिव हमालले अहिलेसम्म सबै मिलापत्रको आधारमा भइरहेको भन्दै कानूनले स्पष्ट नबोल्दा समस्या झेल्नुपरेको बताए। गीतमा सबैको अधिकार समान हुने भन्दै आइरहने यस्ता विवाद सबैजना मिलेर नै समाधान गर्नुपर्नेमा उनको जोड छ।

READ MORE NEWS

मौनतामा अल्झिएको एउटा नायक

‘अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु, केही नबन्नु ।’

यसको अर्थ चुपचाप बस्नु, यथास्थितीमा रहनु, तटस्थ हुनु आफैमा एक यस्ता अवस्थिती हो, जहाँ कुनै खतरा हुँदैन ।तर सदियौंदेखि कथा, उपन्यास, चलचित्र आदिमा जुन नायकको विनिर्माण गरिएको छ, उसको प्रवृत्ति यस्तो हुँदैन । नायकहरु चुनौती एवं अप्ठ्यारासँग जुध्न चाहन्छन् । अन्यायको विरुद्ध आगो ओकल्छन् । समुन्नतीका निम्ति पसिना चुहाउँछन् । भ्रष्ट र वेथितीमाथि मुक्का बजार्छन् । सत्य, समानता, सदाचारका निम्ति सधै खबरदारी गरिरहन्छन् । चुपचाप बस्नै सक्दैनन् ।

तर, राजेश हमाल ?

चलचित्रमा उनी अक्सर जुझारु भूमिकामा देखिए । गरिब, निमुखाहरुको पक्षमा उभिएर उनले शोषक र शासकहरुको सातोपुत्लो खाइरहे । झुपडीमा हुर्किएर, ढिंडो गुन्द्रुक खाएर, कछाड–भोटो लगाएर, हलो जोतेर इमान र सत्यको रक्षा गरिरहे । ५० को दशकमा यस्तै अनस्क्रिन छवी बनाएका राजेश हमाललाई आज एउटा वयस्क जमात श्रद्धापूर्वक ‘महानायक’ भन्न रुचाउँछन् ।चलचित्रमा उनले जसरी ‘नायकत्व’ प्रदर्शन गरेर श्रद्धा कमाए, वास्तविक जीवनमा भने उनको निम्ति यो ‘दुर्लभ’ रह्यो । न उनी बेथिती बिरुद्ध बोल्छन्, न सत्यको पक्षमा लड्छन्, न जन–जागरणको राँको सल्काउँछन् । सामाजिक सरोकारको विषयहरुमा उनी बोल्दैनन् ।

जरुरी छैन, सिनेमाका नायकले वास्तविक जीवनमा पनि त्यस्तै नायकत्व देखाउनुपर्छ । यद्यपि ‘सेलिब्रेटी’ हुनुको नाताले उनको सामाजिक योगदान र भूमिकामाथि प्रश्न उठाउनु नाजयज मानिदैन । किनभने सेलिब्रेटीसँग त्यो सामथ्र्य हुन्छ, जसले ठूलो जमातलाई कुनैपनि कुरामा सहमत गराउन सक्छ । समाजलाई सत्य र सही मार्गदर्शन दिन सक्छ । समाजमा सधै आशा, उत्साह जगाइरहन सक्छ । चाहे जन–जागरणका निम्ति होस् वा खबरदारीका लागि आफ्नो उपस्थिती देखाइरहन सक्छन् । तर, समाजसँग यति अभिन्न रुपमा जोडिनु राजेश हमालका निम्ति अपबाद भइदियो ।न नावालक सम्झना कामीहरुको बलत्कार र हत्या बिरुद्ध विमर्श गर्छन्, न दशैंको मुखमा रोजगारी खोज्दै भारत फर्किने मजदुरहरुको पक्षमा वाकलत गर्छन् । न कुलमान घिसिङ जस्ता कर्मयोगीको निरन्तरताको लागि पैरवी गर्छन्, न डा. केसी जस्ता सदाचारीहरुको मुद्दामाथि सरकारको ध्यानाकर्षण गराउँछन् । यस्तो लाग्छ, उनलाई जन-सरोकारका यावत् विषयहरुले कतिपनि विथोल्दैन, पिरोल्दैन, घोच्दैन, स्पर्श गर्दैन ।

एकातिर समाजलाई बलात्कार, हत्या, हिंसा, अत्याचारले थिलथिलो बनाउँदैछ, अर्कोतिर राज्यलाई भ्रष्टचार, बेथितीले उजाड बनाउँदैछ । यी कुराले हरेक नेपालीको हृदय काँपेको छ, रगतको चाप बढेको छ । उनीहरु कहिले अपराधी खोजी माग्दै सडक प्रदर्शन गरिरहेका छन्, कहिले भोका पेटहरुलाई रत्नपार्कमा भोजन गराइरहेका छन्, कहिले राज्यमाथि खबरदारी गरिरहेका छन् । तर, यी कुराहरुमा राजेश हमाल सधै पर्दा पछाडि नै बसिरहे, चुपचाप ।

त्यसो त मुलुकमा भएका कुनैपनि राजनीतिक परिवर्तनदेखि सामाजिक उथलपुथलहरुमा पनि उनी मौन रहे । राज्य व्यवस्थाका लागि, सामाजिक रुपान्तरणका लागि उनले कहिल्यै होस्टेमा हैसे गरेनन् । न केही गरे, न केही बोले ।उनीमाथि आशा र भरोसा गर्ने ठूलो जमात आज पीडा, कष्ट, अभावमा छन् । खान नपाएर, उपचार नपाएर, स्वदेश फर्कन नपाएर तड्पिइरहेका छन् । उनीहरुको वेदना, करुणा, क्रन्दन, दुखेसो, गुनासो, समस्या राज्यले सुन्दैन । अधिकारकर्मीले सुन्दैन । यस्तो बेला समाजले त्यस्तो नायकको खोजी गर्छ, जसले दबाइएका आफ्नो आवाज बोलिदियोस् । तर, राजेश हमाल बोले पो ?

नबोल्नु उनको अधिकार हो । तर, बोल्नु उनको धर्म हो ।राजेश हमालले बोल्दैमा चमत्कार हुने होइन । यद्यपि भव्य एवं वौद्धिक व्यक्तित्व बनाएका उनले सामाजिक मुद्दाहरुलाई कुनै न कुनै रुपले पैरवी गरिदिँदा सामाजिक सु-व्यवस्थामा आंशिक भएपनि टेवा पुग्छ । त्यो भन्दा बढी चाहि एउटा नयाँ व्यवस्थाको सूत्रपात हुन्छ, सेलिब्रेटी र समाजबीचको सम्बन्धमा । र, उनीपछि आउने सेलिब्रेटीहरुले यसलाई अनुसरण गर्न सक्नेछन् ।करिब डेढ दशकमा मुलुकले ठूलो उतारचढाव झेल्नुप¥यो । कहिले विनासकारी भूकम्पले तहसनहस बनायो, कहिले बाढी पहिरोले । कहिले नाकाबन्दीले अस्तव्यस्त बनायो, कहिले कोरोनाले । तर, समाजसँग दुःख बाढ्न राजेश हमाल कहिल्यै घरबाट निस्किएनन् ।

धेरैजसो सेलिब्रेटी सामाजिक उत्थानमा प्रत्यक्ष सरिक हुनेगर्छन् । बेथिती बिरुद्ध लडिरहेका हुन्छन् । सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफुलाई कुनै न कुनै हिसाबले पेश गरिरहेका हुन्छन् । आफुले आर्जन गरेका ठूलो धनराशी समाज सेवामा लगाइरहेका हुन्छन् । साथसाथै राज्य र समाजसँग सरोकार राख्ने मुद्दाहरुमा आफ्नो उपस्थिती देखाइरहेका हुन्छन् । तर, राजेश हमालको हकमा यस्तो अपेक्षा बेकार हुनसक्छ ।५० को दशक उनी करियरको उत्कर्षमा थिए । नेपाली सिनेमाले एउटा यस्तो नायक पाएका थिए, जसको खास स्टारडम थियो । उनको एक झलक पाउनका लागि दर्शकहरु हलसम्म तानिन्थे ।  फिल्ममेकर्स भन्थे, ‘राजेश हमालको टाउको बिक्छ ।’त्यसो त आफ्नो सार्वजनिक व्यक्तित्वमा उनले सकेसम्म क्षय हुन दिएका छैनन् ।  उही भव्य, सभ्य, सजग र बौद्धिक छवि ।तर,  राजेश हमालको यो व्यक्तित्व, यो बौद्धिकता, यो भव्यता उनी स्वयम्लाई सजाउने भन्दा अरु कुनै प्रयोजनमा आएको देखिदैन । किनभने समाजसँग उनको घुलमिल छैन । निकै चलाखीपूर्ण तवरले एउटा दूरी कायम गरेर आफुलाई ओभानो राखेका छन् । सायद उनलाई लाग्छ, ‘बोल्यो कि पोल्यो ।’

 


Your Views
Related News