एजेन्सी । रुसले नयाँ कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका हुन् । दुई महिनाअघिमात्रै स्पुतनिक पाँचौ नामक भ्याक्सिनले रुस सरकारबाट स्वीकृति पाएको थियो, परीक्षणकै क्रममा रहेको स्पुतनिक सार्वजनिक प्रयोगका लागि स्वीकृति पाउने विश्वको पहिलो कोरोना भ्याक्सिन हो । रुसी अधिकारीहरुले डिसेम्बरसम्म तेस्रो भ्याक्सिनले पनि स्वीकृति पाउनसक्ने बताएका छन् । पहिलो ब्याचअन्तर्गत, नयाँ भ्याक्सिनको झन्डै ६० हजार डोज चाडैं उत्पादन गरिने रुसी अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुकाअनुसार यस भ्याक्सिनले  साइन्थेटिक पेप्टाइड एन्टिजेन्स नामक भाइरसका अवशेषहरु प्रयोग गर्छ, जसले प्रतिरोधी प्रणालीलाई कोरोनाविरुद्ध आफ्नो रक्षा गर्न अभ्यस्त गराउनेछ ।

यस भ्याक्सिनको सुरुवाती चरणको परीक्षणको डाटा अझै सार्वजनिक गरिएको छैन, तर अधिकारीहरुले परीक्षणका भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको अधिकारीहरुको दाबी छ । स्पुतनिक पाँचैजस्तै यो नयाँ भ्याक्सिन पनि सरकारबाट स्वीकृति लिएपछि मात्रै तेस्रो चरणको परीक्षणमा जान लागेको हो । यसक्रममा भ्याक्सिन निर्माता भिक्टोर सेन्टरले ४० हजार व्यक्तिमा यो भ्याक्सिन परीक्षण गरिने जनाएको छ । त्यस्तै, अर्को एक अलग अध्ययनका दौरान ६० वर्षमाथिका १ सय ५० व्यक्तिमा परीक्षण हुनेछ । रुसले कोरोना भाइरस महामारी अन्त्य गर्ने विश्वव्यापी दौडमा आफुलाई प्रमुख खेलाडीका रुपमा स्थापित गर्न चाहेको छ । यद्यपि, अगस्टमा उसले स्वीकृति दिएको स्पुतनिक भ्याक्सिनको प्रभावकारितालाई लिएर वैज्ञानिक तथा पश्चिमा राजनीतिज्ञहरुले आशंका व्यक्त गरिरहेका छन् ।केवल ७६ जनामा परीक्षण गरिएकै भरमा स्पुतनिकले प्रयोगको स्वीकृति पाएको थियो । त्यसयता, रुसी वैज्ञानिकहरुले यस भ्याक्सिनको सुरुवाती अध्ययनको सकारात्मक डाटा सार्वजनिक गरेका छन् र अहिले ठूलो जनसंख्यामा यस भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ । पुटिनले मन्त्रिपरिषद् बैठकमा पहिलो र दोस्रो भ्याक्सिनको उत्पादन बढाउनैपर्ने बताएका छन् ।

रुसले भारत, ब्राजिल र मेक्सिकोजस्ता ठूलो जनसंख्या बसोबास गर्ने देशहरुसहित अन्य धेरै देशमा स्पुतनिक पाँचौ बिक्री गर्ने सम्झौता गरिसकेको छ, पश्चिमा विश्लेषकहरु आफ्नो सफ्ट पावर उपयोग गर्न लागि रुसले भ्याक्सिन प्रयोगको प्रयास गरिरहेको बताउँछन् ।  ‘हामी आफ्ना विदेशी साझेदारहरुसँग सहकार्य निरन्तर गर्नेछौं र हाम्रो भ्याक्सिनलाई विदेशमा प्रबद्र्धन गर्नेछौं,’ पुटिनले भनेका छन् । उनले विदेशमा प्रयोग हुने भ्याक्सिन विदेशमै उत्पादन गरिनुपर्ने बताएका छन् । यसअघि रुसी अधिकारीहरुले स्वदेशको उत्पादन क्षमता आफ्नो स्थानीय जनसंख्याकै लागि प्रयोगमा ल्याउनुपर्ने बताएका थिए । विश्वमा कोरोनाबाट अति प्रभावित देशहरुमध्ये रुस चौथो स्थानमा पर्छ, यहाँ १३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । बुधबार यहाँ १४ हजार २ सय ३१ जनामा कोरोना संक्रमण देखियो, जो महामारी सुरु भएयताकै उच्च हो । यहाँ कोरोनाका कारण २३ हजारले ज्यान गुमाइसकेका छन् ।

READ MORE NEWS

एक बोरा मलका लागि रातभर जागै

कैलालीको कैलारी गाउँपालिका–९ का किसान कृपाराम राना स्थानीय परिश्रम कृषि सहकारी संस्थामा रासायनिक मल लिन पुगे । उनले एक बोरा मल पाउन रातभर लामबद्ध बसे । रातभर लाइनमा बसेर १ बोरा बिहान ४ बजे मल पाएपछि उनको खुसीको सीमा रहेन । मानौं, उनले कुनै ठूलो युद्ध जितेका थिए ।कैलारीकै गाउँपालिका–९ कोइलहीकी प्रदेशु चौधरी पनि अनिदो आँखा मिच्दै लाइनमा उभिए । तोरी, आलु लगायत हिउँदे बालीलाई चाहिने डीएपी मल आएको खबर सुन्ने बित्तिकै रातभर लाइनमा बसेको उनले बताए । आँखा मिच्दै, हाई गर्दै उनले पीडा पोखे ‘थोरै मल आउँछ । लिने मान्छे धेरै हुन्छन् । मलबिना फसलै हुन्न । के गर्नु ? रातभर लाइनमा बस्नुपर्छ ।’कृपाराम र प्रदेशु मात्रै होइन, मल लिन सयौं किसान लाइनमा बसेका थिए । सहकारीमा मल आएको सूचना पाउने बित्तिकै उनीहरू रातभर लाइनमा बस्न पुगेका हुन् । हरेक सिजनमा मलका लागि यसरी नै लाइनमा बस्दै आएका उनीहरू हाल हिउँदे सिजनमा थोरै मलका लागि लाइनमा बस्न बाध्य भएको हुन् ।

किसानहरू कोराना कहरबीच पनि मलका लागि जोखिम मोलेर भए पनि लाइनमा बस्ने गरेका छन् । कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय कृषक फुलराम डगौराले मुलुक संघीय शासकीय संरचनामा गए पनि आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको गुनासो गरे । हरेक आर्थिक वर्षमा कृषि क्रान्ति समेटिएको नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने सरकार यथार्थमा किसानको पीडाप्रति गम्भीर नभएको उनको भनाइ छ ।सहकारीका व्यवस्थापक रामसमझ चौधरीले पर्याप्त मात्रामा मलको आपूर्ति नहुँदा हरेक सिजनमा मलको अभाव हुँदै आएको बताए । माग अनुसारको मल नआउँदा सबै कृषकलाई थोरै मात्रामा मल वितरण गर्दै आएको उनले बताए । धान सिजनमा पनि मलको अभाव झेलेका कृषकहरू हालको हिउँदे सिजनमा पनि अभाव झेलिरहेका हुन् । हाल कैलालीमा मात्रै होइन, सुदूरपश्चिमभर मलको चरम अभाव छ । सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । तर, हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले मलको आपूर्ति गर्न सकेको छैन ।मल आपूर्ति गर्न नसक्नुको कारण कोरोना कहर भन्दै पन्छिने गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले कोरोनाका कारण मल ल्याउन नसकेको बताए । डीएपी र युरिया चाहिने सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड धनगढीसँग हाल पोटास मात्रै रहेको छ । प्रमुख बोगटीले ३ सय टन पोटास मौज्दात रहेको बताउँदै दसैंपछि मात्रै डीएपी र युरियाको आपूर्ति हुने बताए ।

सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले भने केही मात्रा आपूर्ति थालेको छ । तर, ३० प्रतिशत आपूर्तिले माग धान्न सकिने अवस्था छैन । साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिममा हिउँदे सिजनको लागि जम्मा १५ हजार मेट्रिक टन मल ल्याउने क्रममा रहेको छ । गहुँको लागि युरिया मल ५ हजार ५२३ मेट्रिक टन, त्यसमा पनि कैलाली जिल्लाको लागि सबैभन्दा बढी १ हजार ४९१ मेट्रिक टन ल्याइने बताइएको छ । डीएपी मल ३ हजार ७१७ मेट्रिक टन ल्याइने छ । जसमा कैलाली जिल्लाको लागि ९८७ मेट्रिक टन मंसिर १५ गतेसम्म आउने भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले आफूहरूले पाएको कोटाबमोजिम आपूर्ति थालेको बताए । तर ३० प्रतिशतले माग धान्न नसकिने अवस्था रहेको उनले दाबी गरे । उनले अहिलेसम्म २ हजार ७८८ मेट्रिक टन मलको आपूर्ति गरिसकेको बताए ।

अनुदानको मल प्राइभेट एग्रोभेटमा

कृषि सामग्री कम्पनीले मलको मौज्दात सकिएको दाबी गरेका बेला सरकारी अनुदानको मल बाहिर प्राइभेट एग्राभेटहरूमा भने धमाधम बिक्री भइरहेको छ ।कृषि सहकारी संस्था मार्फत् वितरण हुनुपर्ने सरकारी अनुदानको मल कैलालीका कृषि एग्रोभेटबाट मिलेमतोमा बिक्री भइरहेको पाइएको हो । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा रहेको भैरव एग्रोभेटले पनि सरकारी अनुदानको मल बिक्री–वितरण गरिरहेको पाइएको छ ।भैरव एग्रोभेटमा छोपेर राखेको अवस्थामा कृषि सामग्रीको लोगो सहितको रसायनिक मल फेला परेको हो । एग्रोभेटले डिएपी, युरिया र पोटास बिक्री गर्दै आएको उक्त क्षेत्रका किसानले बताएका छन् । एग्रोभेटका सञ्चालक शंकर खड्काले भने सहकारीबाट अनुदानको मल ल्याएको बताए तर उनले मल ल्याएको बताउने उक्त संस्था कृषि नभएर विद्युत् सहकारी हो ।खड्काले जय माँ दुर्गा विद्युत् सहकारीले अनुदानको रासायनिक मल बिक्रीका लागि ल्याएको दाबी गरे । उनले युरिया ४ सय १० कठ्ठा लिएको बताए । ‘वडा नम्बर ६ का किसानबाहेक कसैलाई बिक्री गरेको छैन । उनले भने, २ सय ५० जना किसानलाई बिक्री गरेको सूची म सँग छ ।’ तर खड्काले आफू मात्र नभएर कैलालीमा कृषि सहकारीहरूले नै अन्य एग्रोभेटबाट समेत अनुदानको मल बिक्री गर्दै आएको उनले बताए ।

सहकारीहरूसँगकै सेटिङमा कर्मचारीले कृषि एग्रोभेटबाट मल बिक्री गर्ने गरेको आरोप लागेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख भने नवलसिंह बोगटीले सहकारी संस्थाहरूले बदमासी गरेको हुनसक्ने दाबी गरे । ‘अछाम साँफेमा १५ क्विन्टल दिएका छौँ । अन्यलाई अहिले दिएका छैनौँ । पहाडका लागि मात्र दिएका हौँ । तराईमा दिएका छैनौँ । एग्रोभेटमा बिक्री भएको बारेमा भने जानकारी छैन’, बोगटीले भने ।कृषि सामग्री कम्पनी लिमिटेड डिएपी मल प्रति क्विन्टल ४ हजार ५५२ रुपैयाँ, युरिया प्रति क्विन्टल १ हजार ६५२ रुपैयाँ र पोटास प्रति क्विन्टल ३ हजार ३५२ रुपैयाँमा सहकारीलाई बिक्री गर्छ ।कम्पनीले डिएपीमा प्रतिकिलो २६ रुपैयाँ, युरिया र पोटासमा २५÷२५ रुपैयाँ अनुदान दिने गरेको छ । सहकारीले किसानहरूलाई डिएपी प्रतिकिलो ४८ रुपैयाँ, युरिया १८ रुपैयाँ र पोटास ३५ रुपैयाँमा बिक्री गर्ने गरेको कृषि सामग्री केन्द्रले जनाएको छ ।


Your Views
Related News