खेतिको निगरानीका लागि गुगलले प्रोटोटाइप रोबोट सार्वजनिक गरेको छ । गुगलको मुख्य कम्पनी अल्फाबेटले प्रोजेक्ट मिनरल नामक परियोजना अन्तर्गत बाली तथा उत्पादनको निगरानी गर्न सक्ने खालको प्रोटोटाइप रोबोटको तयार पारेको हो ।उक्त रोबटले किसानहरुलाई बालीको उत्पादनमा सुधार गर्न सहयोग पुर्‍याउने उल्लेख गरिएको छ । गुगलले सार्वजनिक गरेको रोबटको प्राटोटाइप अनुसार उक्त रोबटहरु सामान्य रोबटको तुलानमा केही अग्लो हुनेछ ।यसले खेतमा लगाइएको बालीलाई कुनै असर नपुर्‍याई त्यसकाे अध्ययन र निगरानी गर्नसक्ने जनाइएको छ । साथै यसलाई बिरुवाको माथि पनि चलाउन सकिन्छ ।

A modern version of the buggy rolls through a huge field of low-height green crops, stretching as far as the eye can see

‘यसको लक्ष्य भनेको बालीहरू कसरी बढ्छन् भन्नेबारे विशाल डेटा संकलन गर्नु हो,’ गुगलको ब्लगमा प्रोजेक्टका प्रमुख इलियट ग्रान्टले भने, ‘यसले कृषि उद्योगलाई अझ बढी प्रभावकारी र धेरै उत्पादन गर्न मद्धत पुर्‍याउने छ ।’यसकाे मद्दतले विश्वको खाद्यान्नको बढ्दो आवश्यकता र खाद्यान्नको वृद्धिदरको स्थिरतालाई सम्बोधन गर्न सकिन्छ भन्ने योजना प्राजेक्टको रहेको छ ।‘यसले प्रत्येक बिरुवालाई अनुगमन गरी त्यसलाई आवश्यक पोषण दिन सक्छ भन्ने हो,’ ग्रान्टले भनेका छन ।उनले अगाडि भने, ‘यदि हामी बालीनाली उत्पादनको आनुवंशिक र वातावरणीय सुधारमा प्रगति गर्न सक्दछौं भने के हुन्छ ? हालका उपकरणहरूले किसानलाई आवश्यक हुने किसिमको जानकारी दिदैनन् । त्यसैले यसले ती आवश्यकतालाई पुर्ति गर्न सक्नेछ ।’

READ MORE NEWS

किन बाटो बिराउँदैछन् सहकारी ?

निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका छन्। यसैले सहकारी अभियानमा वैचारिक स्पष्टता र साझा बुझाइ विकास गर्न आवश्यक देखिएको छ। २०१० सालमा सहकारी विभागको स्थापनासँगै नेपालमा सहकारीको शुरुआत भएको हो। २० चैत २०१३ मा मुलुकमा पहिलो सहकारी संस्था स्थापना भएयताको साढे ६ दशकमा यस्ता संस्थाको संख्या ३४ हजार नाघिसकेकोे छ। यी सहकारीहरूमध्ये कतिपयले सदस्यको हित गर्दै सफलता पाइरहेका छन्। कतिपयले चाहिं कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत सञ्चालन भएकाले सदस्यको भरोसा गुमाउँदै गएका छन्।

समयसँगै सहकारी विस्तारको चरण पार गरेपछि गुणस्तरमा पुग्नुपर्ने हो। तर, सहकारीको बुझाइ र अभ्यासमा एकरुपता नभएकालेसहकारीहरु पछिल्लो समय विवादित बनिरहेका छन्। त्यसैले यो सामाजिक आन्दोलनमा एक पटक वैचारिक स्पष्टता र साझा बुझाइ विकास गर्नुपर्ने देखिन्छ। सहकारी पनि अरु जस्तै एउटा व्यवसाय हो, जसको स्वामित्व, नियन्त्रण र सञ्चालन यसबाटै सेवा लिने व्यक्ति वा सदस्यको हुन्छ। अन्य व्यवसाय जस्तै सहकारी व्यवसाय गर्न पनि शुरुआती पूँजी (स्टार्ट अप क्यापिटल), लागत व्यहोर्न सक्ने आम्दानी, स्तरीय सेवा दिने सामर्थ्य, नाफाको वितरण, भविष्यको व्यवस्थापनका लागि पूँजीको जोहो, ऋण लिने तथा करार गर्ने हैसियत र सदस्यप्रति दायित्व लिने प्रतिबद्धता चाहिन्छ। भुल्न नहुने कुरा के हो भने, सहकारी सदस्यहरुकै आफ्नो व्यवसाय हो। आत्मसहयोग, स्वयम् जवाफदेही, लोकतान्त्रिक व्यवस्थापन, समानता, न्याय र ऐक्यबद्धता जस्ता मूल्यहरु सहकारी व्यवसायका आधार हुन्।निजी व्यवसाय र सहकारीबीचका अन्तर

जुनसुकै व्यवसायमा लगानी, उत्पादन, व्यवस्थापन, कार्यकुशलता, प्रतिफल वितरण जस्ता साझा भावना हुन्छन्। सहकारी पनि व्यवसाय हो, यसमा पनि व्यवसायका आधारभूत कुरा फरक हुँदैनन्। तर, स्वामित्व संरचना, उत्पादन केन्द्रीयता, सन्तुष्टि क्षेत्र, पहुँच, व्यवस्थापन र प्रतिफल वितरण जस्ता विषयमा सहकारीको अभिमुखीकरण फरक रहने भएकाले नै यसलाई सहकारी वा सहकार्य भनिएको हो। सहकारी व्यवसायको लगानीकर्ता, निर्णय र नियन्त्रणकर्ता र फाइदा लिने व्यक्ति एकै हुन्छ। यो सदस्यहरुको आफ्नो व्यवसाय हो, आफ्नो लगानी र आफ्नो स्वामित्वको विषय हो। त्यसैले यो नाफामूलक र गैरनाफामूलक व्यवसाय भन्दा फरक हुन्छ। सदस्यहरु सहकारीको सेवाको उपयोगबाट लाभान्वित हुन्छन्, यसभित्र लोकतान्त्रिक निर्णय हुन्छ, एक सदस्य एक मतको सिद्धान्त अवलम्बन गरिन्छ। निजी कम्पनीमा लगानीको मात्राका आधारमा संस्थामाथि नियन्त्रण र निर्णयमा मताधिकार हुन्छ, तर सहकारीमा धेरै वा थोरै लगानीको आधारमा नभई प्रत्येक सदस्यसँग नियन्त्रण गर्ने र मत दिने समान हैसियत हुन्छ।

सहकारी व्यवसायको लगानीकर्ता, निर्णय र नियन्त्रणकर्ता र फाइदा लिने व्यक्ति एकै हुन्छ। यो सदस्यहरुको आफ्नो व्यवसाय हो, आफ्नो लगानी र आफ्नो स्वामित्वको विषय हो। त्यसैले यो नाफामूलक र गैरनाफामूलक व्यवसाय भन्दा फरक हुन्छ। निजी कम्पनीमा लगानीको नाफा लाभांशका रुपमा वितरण गरिन्छ। सहकारीमा भने लगानी संरचना वा आयतनका आधारमा नभई उत्पादन वा सेवा उपभोगको आधारमा नाफा वितरण गरिन्छ। सम्पत्ति सामूहिक हितमा मात्र उपयोग गरिन्छ, निजी व्यवसायमा उपयोग गर्न पाइँदैन। सहकारीका आर्थिकसँगै सामाजिक, सांस्कृतिक लक्ष्य हुन्छन्। यसको सफलताको मापन नाफा विस्तार भयो भन्ने आधारबाट गर्न मिल्दैन, बरु सदस्य/समुदायको हित कति प्रवर्द्धन गर्‍यो भन्ने आधार हेरिन्छ।

यी अनौठा चरित्र जोगाउन नसक्दा वा नाफा संकेततर्फ दौडिंदा सहकारीले बाटो बिराएर अर्कैथोक भइदिन्छन्। जसले यी मौलिक चरित्र आत्मसात् गरी संस्था सञ्चालन गरेका हुन्छन्, ती वास्तविक सहकारी भई समृद्धि, समावेशिता र स्वावलम्बन संस्कारका हिमायती बन्ने गर्छन्। सदस्यहरु किन सहकारी खोल्छन्, निजी कम्पनी वा विशुद्ध बजार व्यवसायमा किन लाग्दैनन् भन्ने प्रश्न उठ्न सक्छ। वास्तवमा व्यक्तिलाई निजी व्यवसाय, बजार व्यवसाय वा सहकारी व्यवसायमा आबद्ध हुने समान अवसर छन्। तर, बजारवादी सोचबाट गरिने व्यवसायभन्दा सामूहिक व्यवसायमा लाग्दा मिल्ने लाभ बढी हुने भएर हो वा कुन त्यस्तो शक्तिले व्यक्तिलाई सहकारी व्यवसाय गर्न अभिप्रेरित गर्छ ? यो प्रश्न अहम् छ। सामूहिकता, सहयोग र आबद्धताको भावना नै सहकारी व्यवसायको आत्मा हो। पहिलो कुरा, सहकारीका सदस्यहरु आफ्ना लागि सेवा व्यवस्थापनमा सहभागी हुन पाउँछन्, सदस्यहरुको विशिष्ट क्षमता र सहयोग गर्ने भावनाको उन्नयन हुन्छ। यसले जोखिम बहन क्षमता बढाउँछ। दोस्रो, न्यून लागतमा सेवा प्राप्त गर्ने अवसर रहन्छ, किनकि सहकारीको प्रमुख उद्देश्य सदस्य हित हो, नाफा विस्तार होइन। तेस्रो, व्यवसायको नियन्त्रण र स्वामित्व वरण स्वयम् सदस्यले गर्छन्, यस अर्थमा सेवा उत्पादक र सेवाग्राही एकै हुन्छ।

सामूहिकता, सहयोग र आबद्धताको भावना नै सहकारी व्यवसायको आत्मा हो। सहकारीका सदस्यहरु आफ्ना लागि सेवा व्यवस्थापनमा सहभागी हुन पाउँछन्, सदस्यहरुको विशिष्ट क्षमता र सहयोग गर्ने भावनाको उन्नयन हुन्छ। यसले जोखिम बहन क्षमता बढाउँछ।
चौथो, मुनाफाको हिस्साको समुदायकरण हुन्छ र सेवाको दिगो व्यवस्थापन सम्भव हुन्छ। साथै रोजगारी तथा कच्चा पदार्थमा स्थानीयलाई प्राथमिकता रहन्छ। पाँचौं, सहकारीले स्वावलम्बन संस्कृति संस्थागत गर्छ। जसले अर्थतन्त्रमाथि आउने बाह्य वित्तीय झट्का सामना गर्ने तागत दिन्छ। यी करणले सदस्यहरु सहकारीबाट लाभान्वित हुन्छन्। सहकारी सिद्धान्त र आवश्यक चरित्र

सहकारी व्यवसायलाई दिगो, समुदायमैत्री र सामाजिक भावना अनुरूप बनाउन यसका प्रणेताहरुले सहकारीका सिद्धान्तहरु प्रतिपादन गरेका छन्। अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले पनि यी सिद्धान्तलाई अवलम्बन गर्न जोड दिंदै आएको छ। मुलुकका कानूनहरुले पनि यी सिद्धान्तलाई संस्थागत गर्ने प्रावधान राखेका छन् भने सहकारी संस्थाहरुले यसलाई अवलम्बन गर्दै आएका छन्। सहकारी संघहरुले आफ्ना सदस्यलाई सिद्धान्त अवलम्बनमा सहजीकरण गरिरहेका छन्। पहिलो सिद्धान्त, स्वेच्छिक र खुला सदस्यता हो। सहकारी संस्थामा आबद्ध हुने व्यक्ति स्वेच्छिक चाहनाबाट सदस्य बन्छन्, स्वेच्छाबाट नै सदस्यबाट बाहिरिन्छन्। दोस्रो सिद्धान्त, संस्थामाथि प्रजातान्त्रिक नियन्त्रण हो। कुनै एक वा केही व्यक्तिको नियन्त्रणमा संस्था रहनु हुँदैन। तेस्रो, सदस्यहरुको आर्थिक सहभागिता हो। संस्थाको पूँजी वा व्यवसायको आधार नै सदस्यको आर्थिक सहभागिता हो। चौथो, सहकारी संस्था स्वायत्त र स्वतन्त्र हुन्छ। विचार, आग्रह, प्रभाव, दबाब, राजनीति, विभेद जस्ता कुराबाट यो विल्कुल अलग रहन्छ। केवल सहकारी मूल्य र सिद्धान्तबाट यो निर्देशित हुन्छ।

पाँचौं सिद्धान्त हो, सहकारी शिक्षा। सहकारीमा आबद्ध हुने जोसुकै सहकारीबारे प्रशिक्षित हुनुपर्छ, ता कि सहकारीका चरित्रलाई व्यवहारमा उतार्न सकियोस्। छैटौं, सहकारीबीच साझेदारी। सहकारी–सहकारीबीच अस्वस्थ प्रतिस्पर्धा होइन, सहयोग र साझेदारी गरेर नै सहकारीका असल अभ्यासहरु विनिमय, अवलम्बन र संस्थागत गर्न सकिन्छ। सहकारी व्यवसाय विस्तारको आधार पनि सहकारीहरुबीच आपसी सहकार्य हो।सहकारी व्यवसाय सञ्चालनमा संस्थाले जहिले पनि सदस्यको हित विस्तार गर्ने र आवश्यकता पूरा गर्ने सोच राख्नुपर्छ। किनकि सदस्यहरूको आवश्यकता पूरा गर्न नै संस्थाको स्थापना गरिएको हुन्छ।सातौं सिद्धान्त, समुदायप्रति चाख हो। सामाजिक चाख, चाहना र संवेदनाबाट सहकारी अलग रहन सक्दैन। संस्थाले कमाएको नाफाको हिस्सा समुदायको हितका निम्ति छुट्याउने, समुदायका सुख–दुःखमा सहभागी भई सामाजिक दायित्व निर्वाह गर्ने चरित्र सहकारीमा रहनुपर्छ।

सहकारी व्यवसाय सञ्चालनमा संस्थाले जहिले पनि सदस्यको हित विस्तार गर्ने र आवश्यकता पूरा गर्ने सोच राख्नुपर्छ। किनकि सदस्यहरूको आवश्यकता पूरा गर्न नै संस्थाको स्थापना गरिएको हुन्छ। सहकारीमा संकलित पूँजी लगानीका सुरक्षित क्षेत्र पहिचान गरेर मात्र परिचालन गर्नुपर्छ। सदस्यका लागि न्यूनतम लागतमा सेवा दिने र यसका लागि व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गरिनुपर्छ। सहकारीका सबै क्रियाकलाप सदस्य र सरोकारवालाका लागि पारदर्शी हुनुपर्छ। व्यवस्थापनमा रहने व्यक्तिहरु कार्यकुशल र सञ्चालक समितिका व्यक्तिहरु उदाहरणीय नेतृत्व शैलीमा देखिनुपर्छ। समाजका आर्थिक सामाजिक परिवर्तन र त्यसबाट संस्थामा पर्ने प्रभावबाट व्यवस्थापन साह्रै चनाखो हुनुपर्छ। संभावित जोखिम बहन गर्ने र परिवर्तनप्रति अनुकूलित हुने क्षमता हुनुपर्छ। सहकारीका साधारण सदस्यदेखि नेतृत्वमा रहने व्यक्तिहरु सहकारी शिक्षाबारे प्रशिक्षित हुनैपर्छ, ताकि सहकारीका मूल्य–मान्यता अवलम्बन गर्न कुनै अस्पष्टता नदेखियोस्। सदस्यहरुबाट सहकारीलाई संरक्षण गर्ने प्रतिबद्धता चाहिन्छ। सहकारी र समुदायको असल सम्बन्ध सहकारीमा हुनैपर्ने अर्को चरित्र हो। यी चरित्रलाई जीवन्त राख्न सकेमा मात्र सहकारी वास्तवमै सहकारी बन्न सक्छ।

सहकारी सदस्य र समुदायको व्यवसाय हो। सहकारीका सदस्यहरु लगानीकर्ता र ग्राहक मात्र होइनन्। आफ्नो व्यवसाय सञ्चालनका क्रममा सदस्यहरुले सामान्य सेवाग्राही वा अंशियारको भूमिकामा मात्र सीमित भएर पुग्दैन, केही दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ। सदस्यहरु संस्थाबाट उत्पादित सेवा लिने दायित्वमा रहन्छन्। सहकारीका सदस्य हुने तर अर्को व्यवसायका सेवा/वस्तु लिने गरेमा आफैंप्रति विश्वास नगरेको ठहर्छ। आफ्नो व्यवसायप्रति औपचारिक, आत्मिक र नैतिक रुपमा जवाफदेही नभएसम्म व्यवसायको विकास हुँदैन। सदस्यहरु संस्थाको शेयर किन्ने, इक्विटीमा लगानी गर्ने दायित्वमा रहन्छन्। साथै, संस्थाको सभा, सम्मेलन, बैठकमा अनिवार्य उपस्थित भई संस्थाको गतिविधिमा संलग्न हुने, संस्थालाई सही दिशातर्फ अघि बढाउन सहयोग गर्ने दायित्व पनि सदस्यमा रहन्छ। सदस्यहरु संस्थाको क्रियाकलापबाट सुसूचित हुने दायित्वमा रहन्छन्। संस्थाको जोखिम घटाउन, सदस्य सेवा र सन्तुष्टि विस्तार गर्न र आपसी हित बढाउन सदस्यहरुले दायित्व निर्वाह गर्नुपर्छ।

सहकारीका सदस्यहरु केवल मुनाफा खोज्ने वा सेवा लिने काममा लाग्दैनन्। संस्थाभित्र सदस्यले खेल्नुपर्ने भूमिका राम्ररी निर्वाह नगरेमा सहकारी सिद्धान्तहरु कार्यान्वयनमा आउँदैनन्, उद्देश्य पूरा पनि हुँदैन। किनकि सदस्य नै स्वामी, निर्णयकर्ता, नियन्त्रणकर्ता र सेवाग्राही हो।
आफ्नो संस्थाभित्र स्वाभाविक रूपमा सदस्यको खास भूमिका हुन्छ। सदस्यहरु मुनाफा खोज्ने वा सेवा लिने काममा मात्र लाग्दैनन्। संस्थाभित्र सदस्यले खेल्नुपर्ने भूमिका राम्ररी निर्वाह नगरेमा सहकारी सिद्धान्तहरु कार्यान्वयनमा आउँदैनन्, उद्देश्य पूरा पनि हुँदैन। किनकि सदस्य नै स्वामी, निर्णयकर्ता, नियन्त्रणकर्ता र सेवाग्राही हो। त्यसैले नीति, रणनीतिक निर्णय, वार्षिक कार्यक्रम, लेखा परीक्षण, वित्तीय प्रतिवेदन, नाफा वितरण, सञ्चालक नियुक्ति, लेखा परीक्षक नियुक्ति जस्ता महत्वपूर्ण विषयका निर्णयमा सहभागी भई स्पष्ट धारणा राख्ने भूमिका सदस्यहरुले खेल्नुपर्छ।

साधारण सभा, विभिन्न समितिमा सहभागिता र सामाजिक क्रियाकलापमा सक्रियता देखाउने कार्यभूमिकाबाट पनि सदस्यहरु टाढा रहन सक्दैनन्। सहकारी सेवा उपभोग नै संस्थाको आयस्रोत भएकाले सहकारी सदस्यहरु आफ्नो संस्थाको वस्तु वा सेवा उपभोग गर्ने भूमिकामा रहनुपर्छ। सदस्यले आफ्नो भूमिका पूरा नगरेमा संस्था र व्यवसायले प्रगति गर्न सक्दैन र सहकारीका नेतृत्वका केही व्यक्तिले मात्र संस्थाको लाभ पाउने, संस्था जोखिममा जाने लगायत संभावना बढ्न जान्छ। नेपालका सहकारीहरुमा देखिएको समस्या धेरै हदसम्म सदस्यहरुका कमजोर भूमिकाको कारण पनि सिर्जना भएका हुन्।सहकारीमा सदस्यहरु सधैं सबै प्रकारका दैनन्दिनी गतिविधिमा भाग लिन सक्दैनन्। उनीहरुको तर्फबाट दैनन्दिनी कामलाई नियन्त्रण गर्न सञ्चालकहरु नियुक्त गरिन्छन्। सञ्चालकहरुको समूह सञ्चालक समितिको रुपमा रहन्छ। सञ्चालकहरु सदस्यबाट निर्वाचित भएकाले निर्वाचकप्रति जवाफदेही हुने भूमिकामा रहन्छन्।

साधारण सभामा सदस्यहरुले दिएका विचार, सुझाव तथा भएका निर्णयहरु कार्यान्वयन गर्ने दायित्व सञ्चालकमा रहन्छ। सहकारी सिद्धान्त, विधि, मूल्य, नीतिहरुको कार्यान्वयन गर्ने भूमिका पनि सञ्चालकमा रहन्छ। साथै, व्यवस्थापनमाथि नियन्त्रण, सुपरीवेक्षण र निर्देशन गर्ने, सम्पत्ति संरक्षण गर्ने र सुधार कार्यमा अग्रसरता लिने कार्यभूमिका पनि सञ्चालकहरुमा रहन्छ। सञ्चालकहरु लामो समय नेतृत्वमा नरही अन्य सदस्य साथीको क्षमता विकास गरी नेतृत्व हस्तान्तरण गर्ने भूमिकामा उदार रहनुपर्छ। सहकारीको नेतृत्व एक वा दुई कार्यकालभन्दा बढी नरहनु राम्रो मानिन्छ। सञ्चालकहरु लामो समय नेतृत्वमा नरही अन्य सदस्य साथीको क्षमता विकास गरी नेतृत्व हस्तान्तरण गर्ने भूमिकामा उदार रहनुपर्छ। सहकारीको नेतृत्व एक वा दुई कार्यकालभन्दा बढी नरहनु राम्रो मानिन्छ। आफ्नो स्वार्थ रहनसक्ने विषयबाट सञ्चालक अलग रहनुपर्छ। सञ्चालकहरु व्यवस्थापनको भूमिकामा रहनुहुँदैन।आफ्नो स्वार्थ रहन सक्ने विषयबाट सञ्चालक अलग रहनुपर्छ। सञ्चालकहरु व्यवस्थापनको भूमिकामा रहनुहुँदैन। सञ्चालकमा रहने असल गुणहरु नै संस्था र अन्य सदस्यहरुमा विस्तारित हुने हुन्दा पनि सञ्चालकहरुको कानूनी, सैद्धान्तिक र नैतिक भूमिका रहन्छ। साधारणसभामा पेश गर्ने विवरण तथा हिसाब चुस्त राख्ने र प्रस्तुत गर्ने दायित्व पनि सञ्चालकहरुमा रहन्छ।

सञ्चालक समिति जस्तै महत्वपूर्ण भूमिका रहेको संयन्त्र लेखा सुपरीवेक्षण समिति हो, जसमा विज्ञता भएका र स्वार्थ नबाझिने तीन जना सदस्य साधारणसभाबाट निर्वाचित गरिन्छन्। कुनै नाताका व्यक्ति सञ्चालक समितिमा रहेमा त्यस्तो व्यक्ति लेखा सुपरीवेक्षण समितिमा रहन योग्य मानिंदैन। किनकि संस्थाभित्र नियन्त्रण र सन्तुलन र आन्तरिक सुशासन कायम गर्नु यसको उद्देश्य हो। नियमित रुपमा आन्तरिक लेखा परीक्षण गर्ने, आन्तरिक नियन्त्रण प्रणाली सुव्यवस्थित गराउने, वित्तीय विवरणको मूल्याङ्कन गर्ने, लेखा परीक्षणको प्रतिवेदन कार्यान्वयनमा ल्याउने र साधारणसभाबाट भएका आर्थिक विषयहरुको कार्यान्वयनको निगरानी राख्ने काम समितिको हो। साथै, वित्तीय पारदर्शिता र आर्थिक अनुशासनमा समिति सधैं चनाखो रहनुपर्छ।व्यवस्थापन (कर्मचारीको समूह) सहकारी व्यवसाय सञ्चालन गर्ने कार्यकारी निकाय हो। यसमा विभिन्न तह र विशेषज्ञताका कर्मचारी रहन्छन् र यी कर्मचारी दैनन्दिनी कार्यसञ्चालनमा क्रियाशील हुन्छन्।

साधारणसभाबाट स्वीकृत वार्षिक कार्यक्रम/कार्ययोजना सञ्चालक समितिको सामान्य सुपरिवेक्षणमा रही कार्यान्वयन गर्ने, सेवा/वस्तु उत्पादन, वितरण र मान्य सिद्धान्तका आधारमा कारोबारको लेखा राखी नियमित रुपमा प्रतिवेदन गर्ने जिम्मेवारी व्यवस्थापनको हो। साथै, विज्ञताको उपयोग गरी व्यवसाय विस्तार, उत्पादन विविधीकरण, सदस्य चाख विस्तारका लागि सञ्चालक समितिलाई सल्लाह दिई संस्थालाई गतिशील बनाउने कार्यभूमिका पनि व्यवस्थापनको रहन्छ। व्यवस्थापनका आफ्नै आचार संहिता हुन्छन्, जसको अवलम्बन गर्नु सबै कर्मचारीको कर्तव्य हुन्छ। सहकारी व्यवसायको विस्तार र विकासमा सहजीकरण गर्ने उद्देश्यले विषयगत, प्रादेशिक र राष्ट्रिय स्तरमा सहकारी संघहरु गठन हुन्छन्। राष्ट्रिय संघहरुको अन्तर्राष्ट्रिय संघको रुपमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) पनि स्थापना भएको छ। आईसीएले अवलम्बन गर्ने कार्यपद्धतिकै विस्तृत रुप राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहका संघहरुले कार्यभूमिका हुन्।

कुनै विषयलाई कार्यक्षेत्र बनाई दर्ता भएका सहकारीले त्यसमै मुख्य कारोबार गरी तोकिएको परिमाणमा मात्र अन्य विषयमा कारोबार गर्न पाउँछन्। नेपालमा धेरैजसो सहकारीले दर्ताका समयमा कुनै व्यावसायिक क्रियाकलापलाई मुख्य भनी उल्लेख गर्ने र बचत तथा ऋण कारोबारमा बढी संलग्न रहने प्रवृत्ति देखिएको छ।आईसीएले प्रमुख रुपमा तीन काम गर्छः सहकारी मूल्य र सिद्धान्तको प्रवर्धन र संरक्षण, सदस्य संगठनहरुबीच पारस्परिक सम्बन्ध विस्तार र आबद्ध सदस्य संगठनको प्रगतिका काम:

राष्ट्रिय तहका संघ, महासंघ र विषयगत संघहरुले निम्न काम गर्छन्ः

–    सहकारी मूल्य, सिद्धान्तलाई व्यवहारमा उतारी सहकारीलाई मर्यादित र आदर्श बनाउने,
–    सहकारीमा आबद्ध सदस्यहरुको व्यक्तिगत र सामाजिक क्रियाकलाप मर्यादित र आदर्श बनाउने,
–    संस्थाका क्रियाकलाप पारदर्शी, अनुशासित बनाई सहकारी संस्कृतिको विकास गर्ने,
–    सदस्य तथा पदाधिकारीको काम कारबाही उत्तरदायी र जवाफेही बनाउने,
–    संघ संस्थाको व्यावसायिक कार्यमा सुधार ल्याउने।

सहकारीका प्रकार

सहकारी संस्थालाई कार्यक्षेत्र वा विषयका आधारमा वर्गीकरण गरिन्छ। सामान्यतः वित्तीय, थोक व्यवसायी (पसल, निर्माण सामग्री), सेवा (व्यवसाय उपचार, आवास आदि), उत्पादन (कृषि, अन्य उत्पादन), श्रमिक (रोजगारी सेवा) र बहुउद्देश्यीय (एकभन्दा बढी सेवा दिने) भनी सहकारी संस्थाको वर्गीकरण गरिने प्रचलन छ। नेपालमा सहकारीलाई नियामन, प्रशासन र प्रवर्द्धन गर्ने प्रयोजनका लागि उत्पादक सहकारी, उपभोक्ता सहकारी, वित्तीय (बचत तथा ऋण) सहकारी, श्रमिक सहकारी र बहुउद्देश्यीय सहकारी गरी पाँच प्रकारमा वर्गीकरण गरिंदै आएको छ। कुनै विषयलाई कार्यक्षेत्र बनाई दर्ता भएका सहकारीले त्यसमै मुख्य कारोबार गरी तोकिएको परिमाणमा मात्र अन्य विषयमा कारोबार गर्न पाउँछन्। नेपालमा धेरैजसो सहकारीले दर्ताका समयमा कुनै व्यावसायिक क्रियाकलापलाई मुख्य भनी उल्लेख गर्ने र बचत तथा ऋण कारोबारमा बढी संलग्न रहने प्रवृत्ति देखिएको छ। सहकारी संस्थाहरु एकीकृत भई सहकारीका ढाँचामा विशिष्टीकृत व्यवसाय सञ्चालन गर्न भने सक्छन्।

केही सफल उदाहरण

सहकारीहरु सफल हुनु भनेको साझा बन्धनमा रहेर सदस्य हितका क्षेत्रमा अब्बल रहनु हो। नाफा वा व्यवसाय विस्तार मात्र सहकारी सफलताको सूचक होइन, त्यसैले यस सूचकलाई मात्र आधार मानेर सहकारीको मूल्याङ्कन गरिनुहुँदैन। नेपालमा केही ठूला सहकारी उच्च नाफा र व्यवसाय विस्तारमा रहे पनि सदस्य भने संस्थाबाट प्रताडित रहेको गुनासो छन्। विश्वमा धेरै सहकारीलाई सफल व्यवसायमा उल्लेख गर्न सकिन्छ, जसले सहकारी सिद्धान्त अनुसार सदस्यलाई सन्तुष्ट पार्दै व्यवसाय विस्तार गरिरहेका छन्। जस्तो, भारतका अमूल, एभ्को (कृषि सहकारी), जापानको जेन्की योरेन (कृषि सहकारी), नेदरल्याण्डको रावोब्याङ्क (क्रेडिट युनियन), एग्रिको (कृषि), दक्षिण कोरियाको राष्ट्रिय कृषि सहकारी महासंघ, अमेरिकाको एनएमआईसी (बीमा प्रदायक), स्वीट्जरल्याण्डको मिग्रोस (उपभोक्ता), क्यानाडाको डेजर्डिएन (वित्तीय सेवा), डेनमार्कको आरिया फुड्स (कृषि वन) आदि। हाम्रै मुलुकमा पनि केही सहकारी आशालाग्दो रुपमा अगाडि बढेका छन्।

नेपालमा धेरैजसो सहकारीहरु सहकारी भावना र आधार मूल्यबाट विषयान्तर भई सहकारी अभियानमाथि नै प्रश्न खडा गर्नेतर्फ गइरहेको भान हुन्छ। सहकारीभित्र सुशासनको अभाव देखिंदैछ, सदस्य र सहकारीबीचको सम्बन्ध हार्दिक छैन, व्यवस्थापन र सञ्चालकमा एकै व्यक्ति देखिन थालेको छन्, संस्थाहरु स्वनियमनमा छैनन् ।नेदरल्याण्ड्समा आलु व्यवसायमा संलग्न सहकारीले सहकारी व्यवसाय सफल हुन चार आधार चाहिने निष्कर्ष निकालेको छ। पहिलो, व्यवसायप्रतिको भावनात्मक लगाव। एग्रिकोमा आलुप्रतिको मोह (प्यासन) अत्यधिक थियो र जसका कारण किसान गोलबद्ध भए। दोस्रो, सेवा/उत्पादनको विस्तार, विविधीकरण। एग्रिकोले पहिला आलु मात्र उत्पादन गथ्र्याे, पछि आलु उत्पादन, प्रशोधन, आलुको बीउ उत्पादन, अनुसन्धान लगायत मूल्य शृङ्खलामा पनि संलग्न भएर व्यवसाय विस्तार गर्‍यो।

तेस्रो, सदस्य सम्बन्ध। सदस्यहरुबीच सम्बन्ध वा साझा बन्धनको भावना निकै उदाहरणीय देखिएको छ। चौथो, सन्तुष्ट सदस्य। सदस्यहरुको व्यवसाय भएकाले सदस्यको सन्तुष्टिलाई उच्चतम रुपमा सम्बोधन गर्ने प्रक्रियाले एग्रिकोलाई सफल उदाहरण बनायो। सारमा, सहकारी व्यवसाय सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उद्देश्य पूरा गर्ने अभियान हुन्। राज्यको लगानीविना नै अर्थतन्त्रको सबलीकरण र स्वावलम्बन संस्कृति विकास गर्न सहकारीहरु स्वचालित हुने हैसियत राख्छन्। भनिन्छ, सहकारी दुःखबाट शुरु हुन्छ, नहुनेहरुलाई पोल्टो भरिदिन्छ। जब यसले परिपक्वता हासिल गर्छ, एग्रिको, एभ्को वा डेजार्डिएन जस्तै सफल ब्राण्ड बनेर सदस्य सेवा विस्तार गर्छन्। तर, नेपालमा धेरैजसो सहकारीहरु सहकारी भावना र आधार मूल्यबाट विषयान्तर भई सहकारी अभियानमाथि नै प्रश्न खडा गर्नेतर्फ गइरहेको भान हुन्छ। सहकारीभित्र सुशासनको अभाव देखिंदैछ, सदस्य र सहकारीबीचको सम्बन्ध हार्दिक छैन, व्यवस्थापन र सञ्चालकमा एकै व्यक्ति देखिन थालेको छन्, संस्थाहरु स्वनियमनमा छैनन्, नियामक संयन्त्रहरु कमजोर क्षमतामा छन्। सहकारीमा जोखिम मात्र बढेको छैन, संस्थाहरु संकटग्रस्त पनि बन्न थालेका छन्। सहकारी व्यवसायलाई मूल्यकेन्द्रित, सिद्धान्तनिष्ठ र स्वयम् अनुशासित बनाउन सहकारी अभियान र तीनवटै तहका नियामक निकायहरु परिचालित हुनु अत्यन्त जरुरी छ। यति मात्र होइन, नियामक निकायमा नै सहकारी शिक्षा र क्षमता विकास आवश्यक देखिएको छ।


Your Views
Related News