कसरी हुने आत्मनिर्भर ?

काठमाडौं । अन्न भण्डार मानिएको तराई मधेशमा कृषि उत्पादनलाई जोड दिन नसके देश आत्मनिर्भर हुन नसक्ने सरोकारवालाहरु बताउँछन्। साताव्यापी रुपमा मनाइरहेको ४० औँ अन्तर्राष्ट्रिय खाद्य दिवसको चौथो दिन बुधबार तराई मधेशको कृषि सम्बन्धी विषयमा भएको छलफलमा सरोकारवालाहरुले अनेक सम्भावना हुँदा हुँदै पनि राज्यले जानाजान कृषिमा विकास नगरेको गुनासो गरे । तराई मधेशको कृषिमा विकास नभएसम्म समग्र कृषिको उत्थान नहुने उनीहरुको दाबी थियो ।तराई मधेश विगतमा अन्नको भण्डार रहेकोमा अहिले विदेशबाट खाद्यान्न आयात गर्न बाध्य भएको बताउँदै उनीहरुले कृषि नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकतासमेत औंल्याए ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले कृषिको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए । कृषिलाई यसरी नै हेप्ने हो भने योभन्दा भयावह अवस्था आउन सक्ने बताउँदै उनले कोरोनालाई चुनौतीको रुपमा होइन, अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कृषिको अवस्था किन खराब भएको छ ? त्यसको एउटा कारण यो हो कि किसानले आफ्नो प्रतिनिधि सरकारसमक्ष पु¥याउन सकेको छैन । कृषिको सभ्यता हराउँदै गएको छ, एक प्रकारले हलो हराईसकेको छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ तर त्यसको सभ्यता पनि बचाउनुपर्छ ।’नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झाले तराई मधेशमा राजा जनकले समेत हलो जोतेर श्रमप्रतिको आस्थालाई प्रष्ट पारेको ठाउँको नागरिक रहेकोमा आफूलाई गर्व लाग्ने बताए । उनले भने, ‘माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो । प्रदेश २ को मुख्य आधार नै कृषि हो तर कृषिमा केही बेथिति छ ।’

कृषिमा मुख्य समस्या भनेको जमिनको खण्डीकरण रहेको र त्यसले कृषिमा ठूलो असर पारेको उल्लेख गर्दै उनले माटो परीक्षणसमेत नभइरहेको गुनासो गरे । कमला नदीको १२ बिघाको बगरमा सामूहिक खेती गर्ने तयारी भइरहेको बताउँदै उनले यसमा संघीय मन्त्री पनि उत्साहित रहेको र किसान पनि सामूहिक खेतीका लागि उत्साहित रहेको धारणा राखे ।नेकपाका नेता गणेश साहले पनि केही दशक अघिसम्म अन्नको भण्डार मानिने तराई मधेश अब त्यो रुपमा नरहेको बताए । तराईको भूमिमा क्षयीकरण भएको बताउँदै उनले तराई मधेशका किसानले उत्पादनमा जति माटोमा ध्यान नदिएको जिकिर गरे । उनले किसानलाई समाजमा सम्मानको नजरबाट हेर्नुपर्ने खाँचो पनि औंल्याए ।

खाना खानुभन्दा अघि सबैले किसानलाई सम्झनुपर्ने उनको भनाइ थियो । किसानलाई सम्मान नदिएसम्म कृषि अगाडि बढ्न नसक्ने उनले बताए ।योजना आयोग, प्रदेश २ का उपाध्यक्ष भोगेन्द्र झाले प्रदेश २ कृषिमा निर्भर रहे पनि दुर्भाग्यवस् निर्यातको केन्द्र बन्न बाध्य भएको बताए ।प्रथम पञ्चवर्षीय योजनाले कृषिलाई विकास गर्ने लक्ष्य बनाएको जिकिर गर्दै उनले भने, ‘समग्र कृषि क्षेत्रको विकासका लागि पद्धतिमै रुपान्तरण गर्नुपर्छ ।’ कमला नदीको १४–१५ बिघा बगर जमिनमा सामूहिक खेती गर्ने योजना बनिरहेको उनले सुनाए । त्यसमा संघीय र प्रदेश सरकार पनि सकारात्मक रहेको बताउँदै उनले कृषिलाई सहकारिताको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहकारिताका माध्यमद्वारा सामूहिक तथा चक्लाबन्दीको आधारमा कृषिलाई अगाडि बढाउन सकिने उनको भनाइ थियो ।किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य नपाएको गुनासो गर्दै उनले भने, ‘एकातिर किसानले उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्यमा खाद्यान्न खरिद गरेर खानुपर्ने बाध्यता हुन्छ, बीचमा व्यापारीहरुले फाइदा लिने गरेका छन् ।’माछा र आँपको उत्पादन क्लस्टरको रुपमा रहेको तराई मधेशलाई कसरी अझ विकसित गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । ‘तराई मधेशका आँप र माछा रैथाने वस्तु हो, त्यसको उत्पादनमा कसरी जोड दिने भन्नेबारे पनि सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।कृषि अभियन्ता डा.कृष्ण पौडेलले कृषि उत्पादनको मुलथलोको रुपमा तराई मधेशलाई लिने गरेको उल्लेख गर्दै भने, ‘जनक नै यस्तो राजा हुनुहुन्थ्यो जसले हलो जोत्नु भएको थियो ।’ तराईका कृषि उत्पादन विषाक्त हुँदै गएको र खाने अयोग्य हुँदै गइरहेको बताउँदै उनले यसमा तराई मधेशका जिम्मेवार व्यक्ति दोषी रहेको बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.विमलकुमार निर्मलले खाद्यान्न भण्डारको रुपमा तराई मधेशलाई लिने गरेको भए पनि पछिल्लो समय यो पहिचान हराउँदै गएको टिप्पणी गरे ।तराई मधेशको विकासको मुख्य स्रोत हुलाकी सडक भएको र त्यसलाई नीतिगत रुपमै लिइएको बताउँदै उनले माछा तथा दुधको उत्पादन हुलाकी राजमार्ग क्षेत्रमा गर्ने नीति प्रदेश २ सरकारले अघि सारेको जिकिर गरे ।देशको कुल कृषि उत्पादनमध्ये ६८ प्रतिशत प्रदेश २ बाट हुने गरेको बताउँदै उनले देशमा जम्मा १७ वटा चिनीमध्ये ८ वटा मिल प्रदेश २ मा रहेको जानकारी दिए । देशमै सबैभन्दा बढी उखु प्रदेश २ मै उत्पादन हुने उनको भनाइ छ । उनले देशको कुल उत्पादनमध्ये फलफूल २१ प्रतिशत, तरकारी २६ प्रतिशत त्यहीँ उत्पादन भइरहेको बताए ।राजनीतिकर्मी एवं पत्रकार रामरिझन यादवले प्रदेश २ लाईमात्र मधेशका रुपमा बुझ्न नहुने बताए । झापादेखि कञ्चनपुरसम्मको समतल भूभाग मधेश रहेको टिप्पणी गर्दै उनले प्रदेश २ मामात्र अल्झियो भने मधेशका अन्य जनतामाथि अन्याय हुने बताए ।सबैभन्दा बढी धान, मकै, गहुँ तराई मधेशमै उत्पादन हुने गरे पनि बजारमा लग्ने अवस्था नरहेको उनको भनाइ छ । किसानले उत्पादन गरेको अधिकांश उत्पादन घरमै रहने गरेको बताउँदै उनले ती उत्पादन बजारसम्म लग्न नसक्ने अवस्था नै दुर्भाग्यपूर्ण रहेको बताए ।तराई मधेशको लाइफ लाइन हुलाकी सडक अहिलेसम्म निर्माण नहुनुले किसानलाई थप समस्या भएको यादवको भनाइ छ । हुलाकी सडक बन्न नदिनुमा खस–आर्य सामन्ती सोचका शासक नै मुख्य कारक रहेको दावीसमेत गरे ।‘एक समय विभिन्न देशमा हाम्रो अन्न निर्यात गरिन्थ्यो तर अहिले आयात गरिन्छ, यस्तो किन भयो ? कसको कारणले हो ?’ उनले भने, ‘अब यसको समीक्षा गर्नुपर्छ । तराईको कृषिमा विकास नहोस् भनेर राज्यले जानीजानी हुलाकी सडक बन्न दिएको छैन ।’मधेश मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोरले कृषिमा देखिएको समस्याका लागि प्रदेश २ लाई चिहाएर हेर्दा तस्बिर स्पष्ट हुने बताए ।कृषिका सबै समस्याको जवाफ तराई मधेशको कृषिले दिइरहेको बताउँदै उनले तराई मधेशको कृषिमा माटोलाई त्यति महत्व नदिएजस्तो देखिएको बताए ।कृषिका लागि रासायनिक तथा विषादीको प्रयोग अत्याधिक रुपमा भइरहेका कारण माटोको गुणस्तर बिग्रिरहेको उनले बताए । ‘माटो बिग्रिने अवस्थामा पुगिसकेको छ । अहिले माटोले उब्जाउ दिइरहेको छैन,’ उनले भने, ‘रासायनिक मल र विषादीले मात्र उत्पादन दिइरहेको छ ।’किसानले सम्मानित महसुस गर्ने अवस्था नरहेको उनको भनाइ छ । खेतीपाती गर्छु भनेर कसैले भन्यो भने उसलाई गरिब र विपन्न वर्गको मान्ने सामाजिक दृष्टिकोण रहेको उनले बताए । ‘प्रदेश २ खानाको संग्रहालय थियो र ब्यञ्जनको विश्वविद्यालय थियो,’ उनले भने, ‘यिनै सब कारणले अहिले ती सबै कुरा समाप्त भइसकेको छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य केवलप्रसाद भण्डारीले कृषिमा क्रान्ति आवश्यक रहेको बताए । कृषिका नीतिले आम कृषकलाई फाइदा नपुगेको बताउँदै उनले कृषिमा पत्रकारिता गर्ने र अनुसन्धान गर्ने व्यक्तिलाई पनि धान कसरी उत्पादन हुन्छ भन्ने थाहा नभएको दावी गर्दै कृषि नीति स्पष्ट हुनुपर्नेमा जोड दिए ।सरकारले कृषकलाई उपलब्ध गराउने अनुदान तथा सहयोग वास्तविक कृषकसम्म नपुगेको बताउँदै उनले आमजनतालाई कृषिप्रति कसरी आकर्षित गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने प्रष्ट पारे । कृषि यन्त्रहरु किसानको शरीर अनुसार नभएको उनको भनाइ छ ।कार्यक्रमको अध्यक्षता गरेका खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले किसानको स्वाभिमानलाई ख्याल गर्नुपर्नेमा जोड दिए । कृषि पेसामा लागेकालाई सम्मान नगरेका कारण पनि यो क्षेत्रबाट पलायन हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ । उनले कृषिको विविधिकरणमा पनि ध्यान दिनुपर्ने बताए । भूमिको खण्डिकरण रोकेर सामूहिक खेती र चक्लाबन्दीमा जानुपर्नेमा जोड दिँदै उनले गरिबीको रेखामुनि रहेको मधेशलाई कृषिबाटै उठाउन सकिने बताए ।‘कृषि नीतिका कारण कृषि क्षेत्र अलमलिएको छ,’ उनले भने, ‘सरकारले बनाएको नीति कृषिमैत्री छैन, अहिले पनि केही बिग्रेको छैन, थुप्रै नीति बनिरहेको छ, त्यसलाई सुधार गर्न सकिन्छ ।’नेपालमा मलको समस्या निकै लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै उनले त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा सरकारको नीति केन्द्रित हुनुपर्ने बताए ।


Your Views
Related News