कोरोना भाइरसको दोश्रो लहरबाट बच्न भारतले तयारी थालेको छ ।जाडो महिनामा कोरोना संक्रमण तीव्र रुपले फैलिने वैज्ञानिकको चेतावनीसँगै भारत सरकारले एक लाख म्याट्रिक टन अक्सीजन किन्ने भएको हो ।यसलाई लिएर भारतले बुधवार एक टेन्डर पनि जारी गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार १० अक्टोबरमा क्याबिनेटमा यस्तो निर्णय भएको बताइएको छ ।अहिले भारतमा अक्सिजन पर्र्याप्त भएको बताउँदै सरकारले जाडो महिनाका लागि थप तयारी थालेको हो ।

अहिले भारतमा दिनमा ७ हजार म्याट्रिक टन अक्सीजन उत्पादन गर्ने क्षमता रहेको छ ।भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ भने ७३ लाख ७ हजार ९७ जनालाई कोरोना संक्रमण भएको छ ।त्यस्तै ६३ लाख ८३ हजार ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख १२ हजार ३४५ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

READ MORE NEWS

विदेशमा धन कमाउने सपना

एकाएक विदेश जाने कुरा सुन्नासाथ मन झसंग भयो। काखमा दुध चुसीरहेको छोरोको अनुहारमा पुलुक्क आँखा गयो। ऊ भन्दै थियो, ‘बिहान सबेरै बाटो लाग्नु पर्यो। ५ बजे सिम्मल चोकमा पुग्न सकियो भने काठमाडौँ जाने बस पक्रन सकिन्छ। काठमाडौँमा मेनपावर कम्पनीसँग कुरा गर्नु पर्यो एक पटक, विदेश नगइ भएन।’अचानक विदेश जाने कुराले अत्तालिइ माइली। ‘विदेश… किन नि? कहाँबाट आयो यो विदेश जाने कुरा?”यो पाखो बारी जति खोस्रिए पनि २ महिना खान पुग्दैन। अरुको ज्याला मजदुरी गरेर पनि खै दुई छाक राम्रोसँग खान पुगेको होइन। घरको छानो चुहिएर कहिलै राम्रोसँग निदाउन पनि पाइदैन। यसो २/४ वर्ष विदेश तिर बसेर आउन पाए २/४ पैसा कमाउन सकिन्थ्यो की!”त्यो त हो तर यो सानो बच्चासँग म एक्लै कसरी बसौँ? यस्तो सुनसान ठाँउ छ। नजिकै यत्रो ठूलो जंगल छ। दिन त जसो तसो काटौँला, रात… न घरका झ्याल ढोका दह्रा छन्। छोरो बिरामी पर्ला, गाईबस्तु, बाख्रापाठा, खेतबारी… सबै। मलाई त डर लागि रहेछ केही सोच्नै सकेको छैन। बरु २/४ वर्षपछि छोरो पनि अलि ठूलो हुन्छ अनि गए हुन्न र?’

‘खेतबारी अधिया दिएर माइती गएर बस बरु। २/४ वर्षमा त निकै पैसा पो कमाइन्छ त। फेरि छोरोलाई पनि पढाउन पर्यो नि। आफूले त पढिएन। यसलाई त राम्रो स्कुलमा पढाउन पाए राम्रो मान्छे बन्थ्यो की। आमाको पनि औषधी उपचार गर्न नसकेर अकालमै ज्यान गयो। यसलाई पढाएर डक्टर बनाउने रहर छ मलाई।”माइती गएर बसेर के गर्नु? घर यस्तो भत्कन लागेको छ। छोडे पछि बिस्याहार हुन्छ। यही घर पनि लड्यो भने केमा बस्ने फेरि।”लड्दैन, लडे पनि पैसा कमाएपछि अर्को नयाँ घर बनाउला न। अलि राम्रो टिन लगाएर, सिमेन्ट ढलान गरौँला। पानी चुहिएर सब मझेरीमा खोबिल्टा परेको छ।”विदेश जान पनि पैसा नै चाहिएला, पैसा कहाँदेखि ल्याउने?”यहीँ पाखो खेत धितो राख्न पर्ला साहुकोमा।”पाखो खेत धितो राखेर ऋण तिर्न सकिएन भने नि, फेरि घरको न घाटको होइएला। टाउको लुकाउन त काम दिएकै छ।”हुँदैन विदेश गएपछि। पैसा कमाइन्छ। अलि अलि गर्दै तिरौला न। एक वर्षमा त तिरी सकिहाल्छ नि।

ऊ साइला बाको छोरोले पनि मास्टरसँग दुई लाख ऋिण लिएर मलेसिया गएको, राम्रै कमाइ भएछ क्यारे, ऋिण चुक्ता गरिसक्यो। त्यती मात्र कहाँ हो र, तराईमा जग्गा किनेको छ रे। यस पटक घर बनाउने भन्दै थिइन् बुहारीले, छोरालाई बोर्डिङ स्कुल लगाएको छ रे। सहरमा फपूकोमा राखेर, यस पटक घर बनाएपछि उतै गएर छोरोलाई पनि सँगै राखेर पढाउने रे। गाँउका धेरैजसो मानिस विदेश नै गएका छन्, राम्रै कमाइ भएर त गएका होलान् नि।”लौ त लौ, अब जाने नै भएपछि मैले के भनौँ त। बसौँला जसो तसो।’यस्तै कुरा भए दुईबीच, बिहानै उठेर माइलो सहर तिर लाग्छ। मेनपावर कम्पनीसँग कुरा गरेर सबै प्रक्रिया मिलाएर आउँछ। मास्टरसँग ऋण लिएर मेनपावर कम्पनीले भने जति पैसा पनि बुझाउँछ। महिना दिन नबित्दै भिसा पनि आउँछ। दशैँको मुखैमा आएको भिसा…।’दशैँपछि गए हुन्न र? यो दशैँको मुखमा, चाडबाडको बेला सबैका घरमा आफन्त भेला हुन्छन्, रमाइलो गर्छन्, हामी चै दुई आमा-छोरा मात्र। दशैँ खल्लो हुने भयो। अर्को साल पनि गएको मान्छे आउन मिल्ने होइन। बरु मेनपावर कम्पनीसँग कुरा मिलाउनु नि १५ दिनपछि जान्छु भनेर।’

‘हुँदैन, तिमीले मैले भनेर हुन्छ त? विदेशको कुरा भिसा आइसकेको छ, भनेको दिन त जानै पर्छ नि, आना कानी गर्दागर्दै यही भिसा पनि क्यान्सील भयो भने। त्यत्रो पैसा खर्च भैसक्यो, फेरि कसरी तिर्ने? दशैँ सधैँ मनाएकै त होनि, तिमी माइती गएर मनाऊ बा-आमासँग दशैँ। उतै बसे पनि हुन्छ। घरमा राम्रोसँग ताला लगाएर…।’भोलिपल्ट घटस्थापना छ, आज नगइ नहुने भएपछि माइलो झोला कसेर हिड्ने तर्खर गर्दै थियो। मुखैमा आएको चाडपर्व छोडेर, जानु पर्दा भित्र भित्रै नरमाइलो अनुभवले मन निक्कै खिन्न बनाउदै सम्झिन थाल्यो, भन्न त मेनपावरले राम्रो कम्पनिको काम हो। ऋण त २/४ महिनामा नै तिरीसक्छस् भनेको छ। आमाको कामको ऋिण पनि त्यसै छ। जुत्ताको तुनाकस्तै सोच्दै थियो।फेरि सोच्यो, पारि गाँउको कान्छो पनि त्यत्रो ऋण काढेर विदेशीएको जाना साथ मेसिनले हात काटेर फर्कनु पर्यो। अहिले न काम गर्न सक्छ, न त ऋिण नै तिर्न सक्यो। अपांग जीवन बिताउनु परेको छ। दिन दिनै साहुले पिरोल्छन्।फेरि आफैले आफैलाई सम्झाउन थाल्यो। आ! अब जे भएपनि आटी गएँ, नगइ पनि भएको छैन। टाउकोमा हात राखे झैँ गर्छ, के सम्झिनु यस्ता कुरा आखिर सबैको नराम्रो पनि भएको छैन नि, राम्रो पनि भएको छ। आखिर ७० हजार नेपाली रुपैयाँ कमाई हुन्छ त भनेको छ, मेनपावरको हाकिमले।

बीस हजार खर्च भए पनि ५० हजार त बचत हुन्छ नि। तीन महिनामा त पूरै ऋण तिरी सकिन्छ। अनि अरु दुई चार वर्ष बस्दा त दुई चार कट्ठा जग्गा र एउटा घर कसो नजोडिएला र?यत्तिकैमा सासुआमा थालीमा राता अक्षता र सयपत्री फूल बोकेर आईपुग्छिन्। ज्वाँइलाई बिदा गर्न भनेर हिजो मात्र आएकी ज्वाँइलाई बिदा गर्न, छोरीलाई पनि सँगै लिएर जान।’खै ढिला भएन, अब जाने नै भएपछि। एकोहोरिएर के बस्नु? दशैँको मुखमा घर छोड्नु पर्यो। दशैँको टिका आजै लगाईदिनु पर्यो। हाके ताकेको पुगोस्, विदेश गएपछि बुद्धि नबिगारेस्, जोगिएर काम गर्नु, धेरै धन कमाउनु, छोरो बढ्दै छ, राम्रो स्कुलमा पढाउनु पर्छ। जग्गा जमिन जोड्नु पर्छ। छोरी पनि एक्लै हुने भै… अशिस नै आशिस।”लौ छोरोको हात फुकिदिनु, फेरि बिरामी होला।”खै…’ हात तानेर फुक्दै, ‘लौ छोरोको राम्रो हेरचाह गर्न अलिकति पैसा छोडिदिएको छु। महिना मरेपछि तलब आउला अनि पैसा पठाइदिइ हाल्छु, धेरै चिन्ता नलिनु। छोरोलाई केही होला, जग्गा जमिन पारि काइलाले अधियाँ गर्छु भनेकै छ। दुई/चार वर्षमा त आइहाल्छु।’विदेश गएर धन कमाएर आउलान् र सुखसँग बसौला भन्ने खुसीभन्दा पनि अब एक्लै यो जंगलको बीचमा कसरी बस्ने भन्ने चिन्ताले पोलिरहेको मनलाई गाँठो पार्दै ‘लौ लौ, जसरी बसौला अब राम्रोसँग जानु, जाने बित्तिकै पहिला साहुको ऋण तिर्नु। अनि सोचौँला घर जग्गा…।’

माहिलो लाग्यो उकालो सपना मनभरि, साहुको ऋण, धितो, विदेश, पैसा, नयाँ घर, जग्गा, सबै सम्झँदै, छोरोलाई बोर्डिङ स्कुल पढाएर डक्टर बनाउने सपना सबै पूरा गर्ने अठोट लिएर जन्म भूमि छोड्यो, कर्म भूमिको खोजिमा।प्लेनले धर्ती छोडेर आकाशमा उड्दा एउटा गह्रौ भारी बिसाएको भान भयो। अर्कै संसारमा पुगेको अनुभूती गर्दै सपनै सपनाको विदेश, ऋिण तिर्नै सपना, घर बनाउने सपना, छोरा पढाउने सपना पूरा हुने गर्न सक्ने विदेश। साचे पहलमान नै त छ।माइली लागि छोरो बोकर आमासँग माइत तिर। विदेशको त्यो भूमि, जेहोस् काम भने जस्तै रहेछ। महिना मर्ना साथ ७० हजार हातमा आयो। एक सुका कमाइ नहुने त्यो गाँउ, मन खुसीले निक्कै गदगद भयो। हतार हतार फोन गर्यो।’लौ आज तलब आयो। पूरा ७० हजार। बीस हजार मलाई राखेर सबै पठाईदिन्छु, मन लागेको किनेर लगाउनु, छोरोलाई दुई/चार जोर नयाँ कपडा हाल्दिनु, यस पटकको पैसा जे-जे मन लाग्छ त्यही गर। अर्को महिनादेखि मास्टरको ऋण तिर्न जोगाउला।’माइली खुसीले गद्-गद् भइ। छोरो बोकेर बजार तिर लागी, पैसा निकाली सबै पैसा खर्च गर्न मनले मानेन। बिस हजार जतिको छोरोलाई र आफूलाई कपडा गर-गहना किनी, छोरोलाई पसलमा भएका कपडा लगाएर रोजी राजी किनी, आमालाई पनि एउटा धोती किनी। माइतीमा सबै खुसी भए। जे भए पनि ज्वाँइले राम्रै गरे। काम राम्रै पाए छन्।

तीन महिना बित्यो, आमाको काममा लागेको खर्च त तिरीसक्यो। साँच्चै विदेश गएपछि पैसा कमाइने रहेछ। अब दुई/चार वर्षमा मास्टरको ऋण पनि तिरी सकिन्छ। अनि तराई तिर थोरै जग्गा किनेर घर बनाउन पर्ला। टिनकै छानो भए पनि मझेरीमा खोबिल्टा पर्ने गरी पानी चुहिँदैन। आनन्दले सुत्न पाइन्छ। छोरो पनि डक्टर बन्छ। छोरो डक्टर भएपछि त पैसा पनि कमाईहाल्छ, औषधी उपचार पनि गर्छ। यस्तै कल्पनामा डुब्न थालेको थिए।खुसीनै खुसी छ मनमा, दुई/चार दिन घर कस्तो भएछ हेरेर आउनु परो। मास्टरलाई पनि सुनाउनु पर्यो खुसीको खबर। ए लौ घर त झार नै झार पो भएछ, छोडेर हिडेपछि यस्तै हुन्छ। आ, अब त जाँदिनँ यतै बस्छु। तीन महिना छोड्दा त यस्तो छ।एक महिना भयो यस पटक त फोन पनि आउँदैन। यस पटकको पैसाले साहुको ऋण थोरै भए पनि तिर्छु। एउटा बाक्लो सुइटर पनि किन्नु पर्यो, जाडो निक्कै बढ्न थाल्यो। एक/दुई वटा बाख्रा पाठा किनेर पाल्छु। बारीमा मल पनि हुने यस्तै यस्तै।माथि बाटोबाट निक्कै हल्ला गर्दै मानिसहरु ओरालो लागे। के-के हल्ला रहेछ, मान्छे निक्कै छन्। के बोकेका रहेछन्, फेरि एतै पो आउदै छन् त।

‘लौ लौ, यतै तिर राखौँ, पहिला भाउजूलाई भन्न पर्यो नि। अनि लगौँला’ आवाज ठोकियो कान्छीको कानमा। ‘होइन, के ल्याएछन् यिनीहरुले, ए कान्छा बाबु के हो त्यो?”भाउजू, खै के भनौँ, भनौँ पनि कसरी? हुन त हामीले अस्ति सुनाउन पर्ने हो, आँट नै आएन। आज त नसुनाइ पनि भएन भाउजू। यस्तै हो दैवको लिला के गर्नु।”होइन के भयो र बाबु, के भन्नु भएको? मैले त कुरा बुझिनँ नि अलि”के गर्नु भाउजू, १५ दिन अगाडि माइला दाइ डिउटी सकेर घर आउदै हुनुहुँदो रहेछ, गाडीले हिर्काएछ। औषधी उपचार पनि गरेछन् गर्न त तर केही लागेन। एक हप्ता अगाडि नै मृत्यु भयो भनेर खबर आएको थियो। सुनाउन सकेनौँ, आज त्यो काठको बाकसमा राखेर पठाइदिएका छन्। लिएर आएको भाउजू।”ए ए, भाउजू, के भयो? भाउजु त लड्नु पो भयो, ए साइली आमा, पानी ल्याउनु न। त्यो बाबुलाई उठाउनु चोट लागे जस्तो छ भुइँमा ढलेर।”लौ, पानी यता छ। बरा बिचरा भाग्यमा पनि के-के लेखेको छ। कत्ति खुसी भएकी थिइ, ऋण तिरौँला, जग्गा किनौला, छोरोलाई डक्टर पढाउला… विचरा हुनसम्म भयो नि।”ए, लौ होस आयो भाउजूलाई, भाउजू जे नहुनु भैगयो के गर्नु, साह्रै रमाइला थिए माइला दाइ, दैवले चुँडेर लग्यो।”विदेश नजानु त भनेको, मानेनन्। आज यही दिन देख्नु रहेछ। भएको जग्गा पनि मास्टरकोमा धितो छ। यो काखको छोरो, के गर्ने खोइ! सपना हो कि बिपना यो। मलाई यत्रो दिनसम्म किन नभनेको। हे भगवान, के गर्ने होला अब। बरु नगएकै भए ज्यान त रहन्थ्यो होला।’सपना सबै भत्किए, पर्खाल भत्कीए जसरी। झल्झली आँखामा रोटे पिङ घुमे झैँ घुमे, ऋण तिर्ने सपना, घर बनाउने सपना, छोरोलाई डक्टर बनाउने सपना सबै चकना चुर! धितो साहुलाई पास गरिदिउँला, छानो टालौला, बसौँला, बनि बुतो गरेर भए पनि छोरो हुर्काउनै पर्यो…। यस्तै कुरा खेल्न थाले माइलीका मनमा।


Your Views
Related News