मेरो नाम स्वीकृति पराजुली हो। म नौ वर्षकी भएँ। म सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा चारमा पढ्छु। कोरोनाको कारणले स्कुल जान नपाएको पनि सात महिना भएछ।सुरु सुरुमा त घरमा बस्न साह्रै गाह्रो हुन्थ्यो। कतै बाहिर जान पाए पनि हुन्थ्यो, स्कुल जान पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर अब त घरमै बस्ने बानी परिसक्यो। स्कुलले इन्टरनेटको माध्यमद्वारा पढाउन सुरु गरेपछि मलाई आजभोलि समय बिताउन गाह्रो भएको छैन। बरु स्कुल जानु पर्दा बिहान छिट्टै जानु पर्ने र बेलुका फर्किँदा अबेर हुन्थ्यो। त्यसैले घरमा आएर स्कुलको गृहकार्य गर्न बाहेक अरु केही गर्न पाइँदैनथ्यो। अहिले स्कुल जान नपर्ने भएकोले स्कुलको पढाइ बाहेक अरु कुरा सिक्न र पढ्न पनि पाएकी छु। मैले कोरोनाका कारण स्कुल बन्द भएपछि मेरो कक्षाको किताब बाहेक अरु किताब पनि पढ्ने बानी बसालेकी छु।

आज म मैले पढेका तिनै किताबका बारेमा लेखेकी छु।स्कुल बन्द भएदेखि अहिलेसम्म मैले ६ वटा किताब पढिसकेँ। ‘स्कुल बेच्ने बालक’, ‘रामायण’, ‘नेपालमै सकिन्छ’, ‘आइ एम मलाला’, ‘महको म’ र ‘टर्निङ प्वाइन्टस्’ मैले पढेका पुस्तकका नाम हुन्।यी पुस्तकहरुमध्ये ‘रामायण’, ‘आइ एम मलाला’ र ‘सेभेन टर्निङ प्वाइन्टस्’ अंग्रेजीमा लेखिएका हुन् र अरु नेपालीमै लेखिएका हुन्।‘स्कुल बेच्ने बालक’ दामोदर न्यौपानेले लेख्नुभएको हो। यस पुस्तकमा उहाँले आफ्नो सानो छोराको बानीका बारेमा लेख्नुभएको छ। यो पुस्तक पढ्दा मलाई साह्रै रमाइलो लाग्यो। मामु बाबालाई सानोमा म पनि यो पुस्तकको भाइ जस्तै थिएँ? भनेर सोध्दै सोध्दै पढेँ। मेरी सानी बहिनीको बानी पनि त्यही पुस्तकको हार्दिक भाइको जस्तै छ नि। ‘रामायण’ को लेखकको नाम थिएन यो हामीले टिभीमा हेर्ने रामायणलाई छोटो छोटो बनाएर लेखिएको किताब हो। यसमा राम, लक्ष्मणहरू कसरी जन्मिए, उनीहरुको बिहे कसरी भयो, वनबासमा के के भयो, सीतालाई रावणले कसरी हरण गरेर लग्यो, रावणलाई रामले कसरी मारे? आदि जस्ता कुरा लेखिएको छ। यो पुस्तक पढ्नुभन्दा पहिला मैले रामायण हेरिसकेकी हुनाले पुस्तक पढ्दा झन् रमाइलो भयो।

‘नेपालमै सकिन्छ’ भन्ने पुस्तक रोहित भण्डारीले लेख्नु भएको हो। यो पुस्तक पढेर मैले पैसा कमाउन विदेश जान पर्दैन, नेपालमै सानो सानो काम गरेर धेरै पैसा कमाउन सकिन्छ, विदेशमा गएर भन्दा नेपालमै बसेर प्रगति गर्न सकिन्छ भन्ने कुराहरु बुझेँ। म त ठूलो भएपछि विदेश जान्नँ नि, आफ्नै देशमा बसेर राम्रो काम गर्छु।‘आइ एम मलाला’ भन्ने पुस्तक पाकिस्तानकी मुस्लिम दिदी मलाला युसुफजाईको जीवनी हो। यो पुस्तक मलाई मामु बाबाले मेरो आठौं जन्मदिनका दिन उपहार दिनु भएको हो। पाकिस्तानमा हाम्रो देशमा जस्तो छोरा छोरी दुबैलाई स्कुल नपठाइदो रहेछ। छोरीलाई नपढाउँदा रहेछन्। मलाला युसुफजाईलाई भने उहाँको बाबा शिक्षक भएको हुनाले पढाउनु भएको रहेछ। मलाला युसुफजाई र उहाँको बुबाले छोरीहरुलाई पनि पढाउनु पर्छ भनेर सबैलाई भन्नु हुने रहेछ। सबैलाई पढ्नु पर्छ भनेको भनेर मलाला युसुफजाई दिदीलाई स्कुलबाट फर्किँदा तालिवानले स्कुल बस भित्रै गोली हानेका रहेछन्। मलाला युसुफजाईले सानै उमेरमा विश्वकै सबै भन्दा ठूलो नोबेल शान्ति पुरस्कार पनि पाउनु भएको छ।

अहिले उहाँ बेलायतमा बस्नु हुने रहेछ। उहाँलाई आफ्नो देश छोड्नु पर्दा धेरै पीर परेको कुरा पनि पुस्तकमा लेख्नु भएको छ।‘टर्निङ प्वाइन्टस्’ भन्ने पुस्तक भारतका पूर्व राष्ट्रपति ए.पि.जे. अब्दुल कलामले लेखेको पुस्तक हो। यो पुस्तक पनि उहाँको जीवनी जस्तो नै छ तर यसमा धेरै आफू राष्ट्रपति हुँदा गरेका कुराहरु छन् र ती विषय धेरै बैज्ञानिक आविष्कारसँग सम्बन्धित छन्।  यो पुस्तक त मैले पढ्न सुरु गरेको ६ दिनमै पढेर सिध्याएँ तर मामुलाई त यो सिध्याउन ८ दिन लागेको थियो रे।‘महको म’ भन्ने पुस्तक हामी सबैले मन पराउने हास्य कलाकार मदनकृष्ण श्रेष्ठले लेख्नु भएको हो। यो पुस्तक पनि उहाँको जीवनी नै हो। यो पुस्तकमा सजिला शब्दहरु छन् त्यसैले पढ्न गाह्रो हुँदैन। पुस्तकमा रमाईला र हाँसो उठ्ने कुराहरु पनि छन् ।मलाई मैले पढेका सबै किताबहरु मन परे तर मलाला युसुफजाई दिदीको किताब भने धेरै नै मन पर्‍यो। मान्छे भएर पनि छोरालाई पढाउने छोरीलाई नपढाउने गर्न मिल्छ र? मलाई त तालिवानिहरु मान्छेनै  होइनन् जस्तो लाग्यो नत्र त्यती सानी मलाला दिदीलाई गोली हान्थे र? तालिवानले गोली हान्दा मलाला दिदी जम्मा ११ वर्षकी हुनुहुन्थ्यो रे।

मेरो घरमा धेरै पुस्तकहरु छन्। मामु, बाबा र दिदीले ती पुस्तकहरु पढिरहनु हुन्छ। मैले अब कुन पुस्तक पढ्ने भनेर सोध्दा तिमीले बुझ्ने जस्तो पुस्तक घरमा बाँकी छैनन् त्यसैले अनलाईनबाट राम्रो पुस्तक किनिदिन्छु भन्नु भएको छ मामुले मलाई। यो दसैँमा त्यही पुस्तक पढ्ने भन्नु भएको छ। मैले किताबहरु पढ्दा मेरो मामु बाबा खुसी हुनुहुन्छ। किताब पढी सकेपछि तिमीले के बुझ्यौ भनेर पनि सोध्नु हुन्छ। किताबहरु पढेमा हामीले नयाँ नयाँ कुराहरु सिक्छौं। यी पुस्तकहरु पढेर मैले आफू, आफ्नो परिवारलाई खुसी राख्नु पर्छ भन्ने पाठ सिकेँ। त्यस्तै अरुले नराम्रो गरे भन्दैमा आफूले पनि नराम्रो गर्नु हुँदैन र आफूलाई नराम्रो गर्नेलाई अबदेखि यस्तो नगर है भनेर माफी दिनुपर्छ भन्ने कुराहरु बुझेँ।पढेर मात्र हुँदैन हामीले लेख्ने बानी पनि बसाल्नु पर्छ। यसले हाम्रो अक्षर राम्रो बनाउन मद्दत पुग्छ। मैले त दिन दिनै डायरी पनि लेख्छु नि। अहिले डायरी लेख्ने गर्‍यो भने पछि आफू ठूलो हुँदा आफ्नो बाल्यकाल कस्तो रहेछ भनेर थाहा पाउन सकिन्छ। लेख्दै गयौं भने, पछि हामीले पनि जीवनीको पुस्तक निकाल्न सकिन्छ भन्नुहुन्छ मामुले मलाई। मैले  स्कुल बन्द भए पछि डायरी लेख्न सुरु गरेकी हुँ। अहिले एउटा मोटो नोटबुक लेखेर भर्न थालिसकेँ।कोरोनाले गर्दा चैतको सुरुमा बन्द भएका स्कुलहरु अहिलेसम्म खुलेका छैनन्। बाहिर कतै घुम्न जान पनि पाइएन। घरमै बस्दा म धेरै आत्तिन्थेँ।

यो देखेर मेरो मामु बाबाले मलाई पुस्तक पढ्न भन्नु भयो। पुस्तक पढ्यो भने नयाँ कुरा पनि सिकिन्छ र समय पनि सजिलै बित्छ भनेर बुझाउनु भयो। सुरु सुरुमा त मलाई पुस्तक पढ्न मन लाग्दैनथ्यो। पुस्तक पढ भन्दा मामु बाबासँग रिस उठ्थ्यो। तर आजभोलि भने मलाई स्कुलका बाहेक अरु किताब पढ्न पनि मन लाग्छ, किताब पढ्दा रमाईलो लाग्छ। किताब पढ्ने बानीले मेरो नेपाली र अंग्रेजी दुबै भाषा राम्रो हुँदै गएको छ। सुरु सुरुमा मलाई नेपालीमा लेखिएका पुस्तक पढ्न गाह्रो हुन्थ्यो तर आजभोलि मलाई नेपाली भाषाका पुस्तक पनि सजिलै पढ्न आउँछ। यसले मेरो स्कुलको पढाइमा पनि मद्दत गरेको छ। अहिलेको यस्तो डर लाग्दो समयमा हाम्रो सेवा गर्ने डाक्टर, नर्सहरु पढेर नै डाक्टर र नर्स बनेका हुन्। त्यस्तै शिक्षक, प्रहरी, सरकारी कर्मचारी, बैंकमा काम गर्ने र हुलाकमा काम गर्ने आदि मानिस पनि पढेर नै त्यहाँ सम्म पुगेका हुन्। पढ्दा यो कुरा हामीले सधैं याद राखौं कि हामीले अरुको लागि पढेको होइन आफ्नै लागि पढेका हौं। पढ्ने लेख्ने भन्दैमा विहान देखी राती सम्म पढिराख्ने पनि होइन।शरीर स्वस्थ राख्न खेल्ने, आराम गर्ने, कथा भन्ने सुन्ने, गीतहरु सुन्ने, गाउने र नाच्ने पनि गर्नुपर्छ।हामी त घरमै खेल्ने, कथा भन्ने सुन्ने, नाच्ने, गाउने गरेर रमाइलो पनि गर्छौं, तपाईंहरू नि ?

(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ४मा अध्ययनरत छिन्)


Your Views
Related News