ज्योतिषशास्त्रीय दृष्टिकोणले अधिमास, अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिमास भनिन्छ । अर्को अर्थमा भन्दा यदि चान्द्रमासको दुवै पक्षमा सूर्य सङ्क्रान्ति हुँदैन अर्थात् सूर्य कुुनै पनि राशिमा प्रवेश गर्दैन भने त्यो सङ्क्रान्तिहीन महिना गणना गर्दा फाल्टु हुन्छ र यही फाल्टु महिनालाई चलनचल्तीको भाषामा अधिकमास, अधिमास, मलमास, पुरुषोत्तम मास या पुरुषोत्तम महिना भनिन्छ ।

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।। (गर्गाचार्यः)

उपर्युक्त श्लोकानुसार ३२ महिना, १६ दिन र ४ घडीमा अधिकमास पर्छ । हरेक वर्ष सौरमानले सौरवर्षमा ३६५ दिन र चान्द्रमानअनुसार चन्द्रवर्षले ३५४ दिन हुन्छ । यसरी दुवै सौरमान र चन्द्रमान मिलाउँदा एक वर्षमा ११ दिनको फरक पर्छ । यसरी मिलाएर हेर्दा ३ वर्षको अनुपातमा हरेक ३–३ वर्षमा एक महिना बढी हुनजान्छ । सामान्यतया ३२ महिना १६ दिन र ४ घडीमा मलमास पर्छ । यसरी हरेक ३३औं महिनामा पर्ने फाल्टु र बेनामे एक महिनाको समयलाई, उब्रेको मल ९फोहोर० महिनाको रूपमा मलमास भनिएको हो ।

पौराणिक कथाअनुसार मलमासको उत्पत्तिको कुरा दैत्य हिरण्यकशिपुसँग पनि सम्बन्धित रहेको छ । हिरण्यकशिपु राक्षसको कठोर तपस्याबाट प्रभावित भई सृष्टिकर्ता ब्रह्माले उसलाई उसको इच्छारूपी वरदान दिएका थिए । उसले वर माग्दा आफू कुनै पनि महिनामा नमर्ने, न दिन, न रात, न घरभित्र, न घरबाहिर, न जलमा, न थलमा, न कुनै शस्त्रले, न कुनै अस्त्रले, न कुनै मानवले, न कुनै दानवले, कसैले पनि यी हालतमा आपूmलाई मार्न नसक्ने वरदान पाऊँ भनी वर पाएकोले कसैले मार्न सक्ने कुरै भएन । पछि हुँदाहुँदै उसको घमण्ड बढ्न गई अत्याचारले सीमा नाघ्दा उसलाई नमारी नहुने स्थिति उत्पन्न हुनजाँदा, कुनै पनि महिना नभएको समय पार्नलाई १२ महिनाबाहेकको समय अर्थात् मलमासको समय पारेर श्री नरसिंह भगवान्ले अवतार लिएर घरको सँघारमा काखमा राखी दश नङ्ग्राले चिथोरेर वध गरेको प्रसंग पौराणिक ग्रन्थहरूमा पढ्न पाइन्छ । यसरी पौराणिक ग्रन्थहरूमा पनि मलमासको चर्चा गरिएको पाइन्छ ।ज्योतिषशास्त्रअनुसार नवविवाहिताहरूले बिहा भएपछिको पहिलोपल्ट पर्ने मलमास बार्नुपर्छ भनेर मुहूर्तमार्तण्डमा लेखिएको छ, जसअनुसार बिहा भएको पहिलोपल्ट पर्ने असारमा सासू बार्ने, क्षयमासमा आफैँलाई बार्ने, जेठमा जेठाजु बार्ने, पुसमा ससुरा, मलमासमा श्रीमान् र चैत महिनामा माइती बार्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

उद्वाहात्प्रथमे शुचौ यदि वसेद् भर्तुर्गृहे कन्यका
हन्यात्तज्जननीं क्षये निजतनुं ज्येष्ठे पतिज्येष्ठकम् ।
पौषे च श्वशुरं पतिं च मलिने चैत्रै स्वपित्रालये
तिष्ठन्ती पितरं निहन्ति न भयं तेषामभावे भवेत् ।। (मुहूर्तमार्तण्ड)

मलमासमा सधैँ गरिने नित्यकर्म र नगरी नहुने कार्यबाहेक अरू कार्यहरू गर्न निषेध गरिएको छ । निष्काम भावले गरिने सबै कार्यहरू गर्न हुन्छ भने सकाम (कुनै कुराको मनोकामनाले गरेको काम) गर्नहुँदैन भनेर लेखिएको छ । विशेष गरी अग्निकर्म, यज्ञ, मन्दिरमा देवताको प्राणप्रतिष्ठा, कुनै ठूलो दान, व्रतको शुुरुवात, वेदाध्ययन, वृषोत्सर्ग, चूडाकरण, तीर्थयात्रा, विवाह, राज्याभिषेक, घर बनाउने काम, नयाँ सवारीसाधन किन्ने काम, गृहप्रवेश, घरसर्ने आदि कामहरू मलमासमा निषेध गरिएको छ ।मलमासलाई मासको मल भनेर सबैले हेय दृष्टिले हेर्ने, मलमासको समयमा शुभमंगल कार्य नगर्ने, सबै बार–महिनाका स्वामी भए पनि मलमासको स्वामी वा अधिपतिको रूपमा कुनै भगवान् नहुँदा मलमासलाई ज्यादै दुुःख लाग्यो । मलमासले विष्णु भगवान्सित आफ्नो दुखेसो पोखेपछि विष्णु भगवान् मलमासलाई लिएर गोलोकमा श्रीकृष्ण भगवान्समक्ष पुग्नुभयो । त्यहाँ पुुगेपछि भगवान् कृष्णले के भयो रु भनेर सोध्दा मलमासले भलाकुसारीपछि आफ्नो बिन्ती सुनाए ।

मलमासको दुःखेसो सुुनेपछि श्री पुरुषोत्तम भगवान्ले भन्नुभयो, ‘म मेरो आफ्नै नाममध्येको उत्तम नाम पुरुषोत्तम नाम दिएर यस मलमासको अधिपति अर्थात् स्वामी बन्छु । जसरी लोकले मलाई पुरुषोत्तम भन्ने नामले चिन्दछ, त्यस्तै मलमासलाई पनि सबैले पुरुषोत्तम मास भनेर चिन्नेछन् । यस जगत्ले मलाई जसरी जुन प्रकारले पूजा गर्ने र सम्झिने गर्दछन्, त्यसै गरी मलमासलाई पनि पुरुषोत्तम महिना भनेर लोकले महिनाभरि सम्झिऊन् । जसले यो समयमा मलाई सम्झी पुरुषोत्तम महिनामा पूजापाठ गर्दछ, उसको दुःख दारिद्रयता सबै हटेर जानेछ ।’यसरी श्री पुरुषोत्तम भगवान्ले मलमासलाई आफ्नो नामको संज्ञा दिएको, आफू मासाधिपति भएको र सबैले मलमासलाई आपूmसरह मान्नुपर्ने चर्चा गर्नुभएको छ । जसरी म वेदहरूमा, लोकमा र शास्त्रहरूमा पुरुषोत्तम नामले प्रख्यात छु, त्यसरी नै मलमास पनि पुरुषोत्तम नामले सबैतिर प्रख्यात हुनेछ भनेर स्वयं पुरुषोत्तम भगवान्ले भन्नुभएको छ ।

मलमास र मालपुवा : 

अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ । मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ । मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुनसक्छ । मालपुवालाई श्रीकृष्ण भगवान्को प्रिय पक्वान्नको रूपमा लिइएको छ ।त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूुर्वजहरूलाई नर्कमा जानुपर्दैन, स्वर्ग प्राप्ति हुन्छ, परमात्माको धाममा निवास हुन्छ भन्ने पारम्परिक सोचअनुसार पनि मालपुवा चढाउने र दान गर्ने परम्परा बसेको हो ।

मालपुवा पनि ३३ वटा नै किन चाहिने, ३० वटा मात्रै भए पनि हुन्छ नि भन्ने कुराको पनि अधिकमासमा छुट्टै व्याख्या गरिएको छ । जस्तै– ३० वटा मालपुवा एक महिनाको लागि, ३१ औँ मालपुवा छोरीबेटीहरूको घरमा खाएको पाप नलागोस् भनेर, ३२ औँ मालपुवा ब्राह्मणहरूको घरमा खाएको पाप नलागोस् भनेर र ३३ औँ मालपुवा भने कुनै जूठो (आशौच) बारेको र सूतक परेको घरमा खाएको पाप नलागोस् भन्नका निमित्त पुरुषोत्तम महिनाको अन्त्यमा साङ्गे गर्दा पुरुषोत्तम भगवान्लाई स्मरण गर्दै, ३३ देवताहरूलाई सम्झिँदै, ३३ मालपुवाको संकल्प गरी दान गर्ने परम्परा वर्षौंदेखि चलिआएको छ ।

मलमासको साङ्गे गर्दा कर्मपात्र गरेर दीप–कलश–गणेशको पूजा गरी आज म फलानो नाम गरेको फलानो गोत्र गरेकोले फलानो नाम र गोत्र गरेको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त यी ३३ मालपुवाहरू ३३ भगवान्हरूलाई दानका निमित्त संकल्प गर्छु भनेर पुरुषोत्तमस्वरूप ब्राह्मणलाई अर्पण गर्ने । त्यसपछि ‘विष्णुरूपिन् सहस्रांशुः सर्वपापप्रणाशन, अपूपान्नप्रदानेन मम पापं व्यपोहतु।।।’ जस्ता श्लोकहरु पढेर प्रार्थना गर्नुपर्ने कुरा उल्लेख छ । यसरी प्रार्थना गरिसकेपछि फलानो नाम–गोत्रले फलानो नाम–गोत्र भएको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त दानप्रतिष्ठा गर्दछु भनी दानप्रतिष्ठा गरी दक्षिणासमेत दिनुपर्छ ।


Your Views
Related News