काठमाडौँ- पछिल्लो चार महिनाको तथ्यांक हेर्ने हो भने नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ। यस्तै जेठ ४ गतेबाट असोज २३ गतेसम्मको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्दा ६ सय जनाको मृत्यु भइसकेको छ।चार महिनाको अवधिमा ज्यान गुमाएका ६ सय मध्ये ४९.६६ प्रतिशत अथार्त २ सय ९८ जना दिर्घरोगी रहेका तथ्याङ्कले देखाएको छ। यस्तै तथ्याङ्कमा उल्लेख गरिएका अनुसार मृत्यु भएका मध्ये ४ सय ४२ जना ५० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरु रहेका छन्।विश्व स्वास्थ्य संगठनले ‘कोरोना भाइरसको संक्रमणको उच्च जोखिम समूह’ घोषण गर्दै भनेको थियो, ‘दीर्घरोगी अथवा लामो समयदेखि औषधी सेवन गरिरहेका व्यक्तिहरु, ६० वर्ष माथिका व्यक्ति, संक्रमितको स्याहार सुसार गर्ने व्यक्तिहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा पर्छन्।’यस्ता व्यक्तिहरुलाई संक्रमण चाँडो हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यदि यस्ता व्यक्तिहरुमा संक्रमण देखिएको खण्डमा उनीहरुको स्वास्थ्यमा धेरै जटिलता आउन सक्छ। त्यसैले संक्रमणको उच्च जोखिममा परेका व्यक्तिहरुले अन्य मानिसभन्दा बढी सचेत हुनुपर्छ।

विश्व स्वास्थ्य संगठनले मात्रै नभएर स्वास्थ्य मन्त्रालयले समते नियमित प्रेस ब्रिफिङमा भन्दै आइरहेको छ, ‘दिर्घरोगी, वृद्धवृद्धा भएको ठाउँमा नजानू। महामारीका बेला यस्ता व्यक्तिको विशेष ख्याल राखौँ।’यस्तै केन्द्रीय तथ्याङ्क विभागले गरेको सन् २०११ को जनगणना अनुसार नेपालमा ५० वर्ष माथि उमेरका व्यक्ति ३९ लाख ७९ हजार १ सय ४० रहेका छन्। यसमध्ये १९ लाख ९५ हजार ४ सय ४५ महिला रहेका छन् भने १९ लाख ८३ हजार ६ सय ९५ पुरुष रहेका छन्। मन्त्रालयले यस्ता व्यक्तिको स्वास्थ्यको ख्याल राख्नु पर्ने बताउँदै बारम्बार सचेत हुन आग्रह गरिरहेको छ।यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएका कारण उनीहरुलाई संक्रमणले चाँडो समात्न सक्ने विज्ञहरुले बताएका छन्। संक्रमणको जोखिमको निर्धारण ब्याक्टेरिया वा भाइरससँग उनीहरुको प्रतिरोधात्मक क्षमता कसरी जुधिरहेको भन्ने कुरामा भर पर्ने विज्ञ बताउँछन्।कोरोना भाइरस संक्रकाणको जोखिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ। नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या करिब ७ सय पुग्नै लाग्दा संक्रमणका कारण ज्यान गुमाउने ४९.६६ प्रतिशत दिर्घरोगी र ७३.६६ प्रतिशत ५० वर्ष उमेर नाघेका व्यक्तिहरु तथ्याङ्कले देखाएको छ।त्यसैगरी मृतकको तथ्याङ्क हेर्दा ५० वर्ष कटेका त्यसमा पनि दीर्घरोगी धेरै भएको पाइएको छ। त्यसैगरी नेपालमा मृत्यु भएका धेरै व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मृर्गौला रोग, क्यान्सर, दमको समस्या भएका व्यक्तिहरुको मृत्यु भएको पाइएको छ। त्यसपछि निमोनिया भई श्वासप्रश्वासमा समस्या देखिएका संक्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यदि दीर्घरागीहरु संक्रमित भए के छ व्यवस्था ?

दीर्घरोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएका कारण यदि उनीहरु संक्रमित भइहाले भने त्यस्ता व्यक्तिहरु विशेष ख्याल राख्नुपर्दछ। उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्ने विज्ञहरु बताउँछन्।कोरोना भाइरसको संक्रमणले सिधै फोक्सोमा असर गर्ने भएका कारण दीर्घरोगीहरुको स्वास्थ्यमा अन्य व्यक्तिको तुलनामा धेरै जटिलता देखिन सक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।‘दीर्घरोगी तथा वृद्धवृद्धा संक्रमण भएमा उनीहरुको स्वास्थ्यमा जटिलता देखियो भने उनीहरुलाई आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्न सक्छ। त्यसैले यस्ता व्यक्तिको विशेष निगरानी स्वास्थ्यकर्मीले राख्नुपर्छ। उनीहरु आफै कमजोर हुन्छन्। त्यसमा संक्रमणदेखि अझै बढी खतरा निम्तिन सक्छ।’यस्तै सरकारले तोकेको सरकारी तथा निजी गरी देशभरका सबै अस्पतालमा २६ सय आइसियू र ९ सय भेन्टिलेटर छन्। यसमध्ये ६ सय आइसियु र २ सय भेन्टिलेटर कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्याइएको छ।

मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरको तथ्यांकअनुसार उपत्यकामा मात्रै १ सय २२ र निजीमा १ सय १७ आइसियु गरी २ सय ३९ आइसियु उपलब्ध छन् भने सरकारीमा ६७ र निजीमा ४० गरी १ सय ६७ भेन्टिलेटर छन्।तर पछिल्लो समय उपत्यकामा गम्भीर प्रकृतिका बिरामीले बेड नपाएको भन्दै उनीहरुका अफन्तले गुनासो गरिरहेका छन्। सरकार भने बिरामीमा कुनै पनि प्रकारको जटिलता नदेखिएसम्म अस्पताल नलैजानू भन्ने निर्देशन दिइरहेको छ।उसो त विज्ञहरु आइसियु र भेन्टिलेटरको आवश्यक्ता दिर्घरोगी वा उमेर पुगेका व्यक्तिहरुलाई चाहिने बताउँछन्। तर मन्त्रालय भने दिर्घरोगीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै लक्षण देखिपनि बिरामीलाई अस्पतालमा राख्दा अझ धेरै संक्रमण हुने भन्दै होम आइसोलेसनमा राख्न आफन्तलाई सल्लाहसुझाव दिइरहेको छ।

दीर्घरोगीको उपचार कसरी ?

संक्रमण मात्र नभएर विभिन्न रोगले गाँजिएका कारण वृद्धवृद्धा र दीर्घरोगीहरुलाई आइसियु र भेन्टिलेटरको आवश्यकता बढी पर्ने संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारीले बताए। ‘तर युवालाई पनि आइसियू भेन्टिलेटर चाहिन थालेको छ।‘३०–३५ वर्षका व्यक्तिहरुको स्वासथ्यमा पनि जटिलता देखिएको छ,’ उनले भने, ‘दीर्घरोग वृद्धवृद्धामा मात्रै हुँदैन। कतिपयलाई ४० वर्षमै उच्च रक्तचाप, मधुमेह देखिन थालेको छ। त्यसैले वृद्धवृद्धालाई मात्रै दीर्घरोग हुन्छ भन्ने हुँदैन। युवाहरुमा पनि दीर्घरोग देखिएको छ। उनीहरुलाई पनि आइसियु र भेन्टिलेटरको आवश्यकता उत्तिकै पर्छ। उमेरले फरक पार्दैन।’विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट मृत्यु भएकामध्ये १३.२ प्रतिशत मुटुरोग, ९.२ प्रतिशत मधुमेह, ८.४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७.६ प्रतिशत क्यान्सर पीडित छन्।रोग प्रतिरोधी क्षमता कमजोर हुने यो समूहका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरिरहेको छ। यस्तै स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अनुसार नेपालमा ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगका बिरामी छन्।उच्च रक्तचापका ५ लाख ७ हजार ५ सय १२, मुटुका २ लाख ६१ हजार ७ सय ८४, मधुमेह १ लाख ८२ हजार ३ सय ३६, मिर्गौला रोग १७ हजार ९ सय ३२, श्वासप्रश्वास १ लाख ७० हजार ८ सय ७० र क्यान्सरका १२ हजार ८ सय १९ जना रहेका छन्।विश्व स्वास्थ्य संगठनका अनुसार यी उच्च जोखिममा रहेका समूह हुन्। संक्रमणबाट जोगाउनका लागि सतर्कता अपनाउनुपर्छ।

डा. अधिकारीका अनुसार दीर्घरोगी संक्रमित हुने बित्तिकै अस्पताल पुर्‍याइहाल्नु पर्दैन। उसको अवस्था हेर्ने पर्छ। तर उनीहरुको विशेष ख्याल भने राख्नुपर्छ।उनले भने, ‘घरमै राखेका व्यक्तिहरुलाई ‘हाइ मोनिटर’ गर्नु पर्छ। घरका सबै जान डाक्टर, नर्स अथवा स्वास्थ्यकर्मी नहुन सक्छन्। उहाँहरुलाई बिरामीको कसरी हेरचाह गर्ने भन्ने कुरा थाहा नहुन सक्छ। त्यस्ता संक्रमितलाई दिनमा टेलिफोन वा भिडियो कल गरेर स्वास्थ्य अवस्था बारे बुझ्न गर्नु पर्छ जसलाई टेलिमेडिसिन भन्ने गरिन्छ। अथवा स्थिनीय सरकारले स्वास्थ्य टोली घरघरमा पठाएर अनुगमन गर्नु पर्छ।’दीर्घरोगी आफैँमा पहिल्यैदेखि रोग पालेर बसिरहेका हुन्छ। संक्रमित भइसकेपछि रोग भित्रभित्रै झनझन गाँजिरहेको हुन सक्छ। जुन कुरा रोगी वा उनको परिवारलाई थाहा नहुन सक्छ। बिरामीको स्वास्थ्यमा समस्या देखा परेर परिवारले अन्तिम अवस्था अस्पताल पुर्‍याउँदा ढिलो हुनसक्छ। यस्तै बिरामीले आइसियु वा भेन्टिलेटर नपाएर ज्यान गुमाउनु परेका समाचार पनि नबाहिरिएका होइनन्।उनीहरुमा श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै आइसियूमा राख्नुपर्ने हुन सक्ने डा. अधिकारी बताउँछन्। उनले भने, ‘श्वास पर्ने गाह्रो भयो वा छाती दुख्यो भने उनीहरुलाई आइसियू वा भेन्टिलेटरमा राख्नु पर्ने हुन सक्छ। किनभने श्वास फेर्न गाह्रो हुनु वा छाती दुख्नु भनेको निमोनियाको लक्षण हो। लक्षण देखिने बित्तिकै बिरामीलाई अस्पताल भने पुर्‍याइहाल्नु पर्छ।’संक्रमण देखिएका दीर्घरोगी वा वृद्धवृद्धालाई होम हाइसोलेसनमा राख्दा उनीहरुमा दिनमा तीनपटक ज्वरो नाप्ने, लक्षण देखिए नदेखिएको रेकर्ड राख्ने जस्ता कुरामा ख्याल राख्नु पर्ने उनले बताए। उनले भने, ‘तर श्वास फेर्न गाह्रो भयो, ओठ निलो भयो, चक्कर लाग्ला जस्तो भयो, खोक्दा वा श्वास फेर्दा छाती दुख्न थाल्यो भने बिरामीलाई जाँचका लागि तुरुन्त अस्पताल लैजानुपर्छ वा डाक्टरसँग परामर्श लिनुपर्छ।’


Your Views
Related News