सुर्खेतबाट भूवि भट्टले प्रश्न पठाउनुभएको छ– रजश्वला बार्ने चलन छ । महिलाहरुको महिनावारी भएको अवस्थामा फलफूलहरु छुन हुन्न । मानिसहरुलाई छुन हुन्न । देवीदेवताको पूजा या मन्दिरमा प्रवेश गर्न हुन्न । पाँच दिन या सात दिनसम्म बार्ने चलन छ । पहिलो पटक महिनावारी हुँदा त १५ दिनसम्म पनि बार्ने चलन छ । यसको विज्ञान के हो रु उहाँ सोध्नुहुन्छ । महिनावारी बार्नु उपयुक्त छ । रजश्वला भएको अवस्थामा अरु बाहिरको कामलाई स्थगित गर्नु उपयुक्त छ । बार्नु ठीक हो । तर, यसलाई बुझेर बार्यौं भने अझ सहज हुन्छ । किन यो पाँच दिन, सात दिनसम्म बार्नु भनेर भनिएको होला रु अरुलाई नछुने । खेतबारीमा काम गर्न नहुने । मन्दिरहरु जान नहुने इत्यादि–इत्यादि यो किन राखेको होला रु यसका पछाडि केही कारणहरु छन् । रजश्वला भएको बेलामा संक्रमणको खतरा हुन्छ । इन्फेक्सन हुने डर हुन्छ र जो मानिस रजश्वला भएको छ । उनीहरुको स्वास्थ्यको लागि यो बार्न भनिएको हो । हामीले उल्टो बुझ्यौं ।अरु मानिसको फाइदाको लागि रजश्वला हुँदा महिलाले बारेको भनेर हामीले बुझ्यौं । यो बुझाइ ठीक हैन ।

जो रजश्वला भएको छ, उसको स्वास्थ्यको ख्याल गरिएको हो । उसको स्वास्थ्यको लागि चाहिँ बार्न भनिएको हो । रजश्वला भएका महिलाले फलफूलहरु छोइदियो भने फलफूलहरु कुहिन्छ भन्ने भनाइ छ । रजश्वला भएको महिलाले फलफूललाई छोएर फलफूलहरु कुहिने त हुँदै हैन । फलफूलमा रोग लागेको हुनसक्छ । जस्तो कुनै फलफूलहरु पट्ट फुटेको छ । त्यो अवस्थामा भन्ने चलन छ । यो रजश्वला भएको महिलाले   छोइदियो । त्यसैकारण फुट्यो । रोग लागेको छ । कृषि प्राविधिकहरुलाई लिएर आएर देखाउँ ।औषधि गर्छन् तुरुन्तै ठीक भइहाल्छ । फलफूल  कुहिन्न । फुट्दैन, एकपटक गरेर हेरौं न । रजश्वला भएको महिलाले छोएर हुँदै होइन । फलफूलमा रोेग लाग्यो अनि कुहियो । भएको त्यो हो । यो फलफूललाई छोयौं भने, लहरा पात बिरुवाहरुलाई छोइदियो मर्छ भनेर चाहिँ किन भनिएको भने, त्यहाँ नजाओस् भनेर भनेको हो । बोटबिरुवाहरु भएको ठाउँमा, फलफूलहरु भएको ठाउँमा विभिन्न प्रकारका जीवाणुहरु हुन्छन् । काम गर्न जाँदाखेरि बारीमा त विभिन्न प्रकारका मलखादहरु हुन्छन् । त्यहाँ संक्रमणको अति नै डर हुन्छ । त्यो संक्रमणबाट बचोस् भनेर छुन हुन्न है भनिएको हो । महिनावारी भएको छ, उसको स्वास्थ्यको ख्याल गरेर भनेको छ । तर उसको मात्रै स्वास्थ्यको ख्याल गरेर भन्यो भने उसले त   मान्दैन । फलफूलहरु कुहिन्छ भनेर भन्यो भने घरका मान्छेले पनि त्यहाँ नजा नजा  भन्छन् । तर उसको स्वास्थ्यको लागि मात्रै भए त तिम्रो स्वास्थ्य केही हुँदैन । जाऊ–जाऊ काममा भन्न सक्छन् । त्यसैले हाम्रा पूर्खाहरु बडो बुद्धिमान् थिए । के भन्दाखेरि चाहिँ मानिस स्वस्थ हुन्छ त्यही कुरा भनिदिए र यो परम्पराको रुपमा चलेर आयो ।

रजश्वला भएको महिलाले खानेकुरा बनाउने, खेतीबारीमा काम गर्ने इत्यादिबाट बच्नु उपयुक्त हुन्छ । किनभने खेतीबारीमा काम गर्दा संक्रमणको डर हुन्छ भने खानेकुरा बनाउँदा खानेकुरा दूषित हुने डर हुन्छ । पहिला–पहिला अहिलेको जस्तो सुविधा थिएन । कपडा पनि अहिलेको जस्तो प्रशस्त मात्रामा बनाउन गाह्रो थियो । टालोहरु पाउन पनि गाह्रो थियो । प्याडहरुको आविष्कार भइसकेको थिएन । फोहोरको व्यवस्थापन गर्ने व्यवस्था भइसकेको थिएन । त्यो बेलामा जब ब्लिडिङ हुन्थ्यो । रगत खुट्टासम्म पुगेको, शरीर फोहोर भएको अवस्था हुन्थ्यो । यस्तो फोहोर शरीर लिएर खानेकुरा बनाउन गयौं भने एउटा त खानेकुरा दूषित हुन्छ ।अर्को कुरा यो बेला महिलाहरुले काम गर्ने बेलै होइन । यो आराम गर्ने बेला हो । खाना बनाउने, भाँडा माझ्ने इत्यादि काममा लाग्यौँ भने यसबाट पनि नकारात्मक असर पर्न सक्छ । त्यसैले जुन बेलामा ब्लिडिङ भइरहेको हुन्छ, यो अवस्थामा चाहिँ केही काम नगर । न त खेतीबारीको काम गर, न त घरको काम गर । यो आराम गर्ने समय हो भनेर यो आरामको लागि छुट्याइएको समय हो ।

किनभने यो अवस्थामा मानसिक रुपमा पनि मन विचलित भएको हुन्छ । शारीरिक रुपमा पनि कमजोरी महसुस हुन्छ । त्यसैले स्वास्थ्यको ख्याल गरेर अलग बस । संक्रमणको डर हुने भएकाले एक्लै बस । अरु मानिसहरु, फोहोरको संसर्गबाट अलग रहू र छुट्टै ठाउँ सफा ठाउँमा बस भन्ने यो परम्परा बुद्धिमान् हाम्रा पुर्खाहरुले शुरु गरेका हुन् ।स्वास्थ्यलाई हेरेर गरिएको हो । तर कालान्तरमा यसमा विकृति आयो । मानिसले कुरो बुझेनन् । यो के गर्न लागेको हो भन्ने थाहै पाएनन् र यसलाई अति गर्न थाले । छुट्टै ठाउँमा, अलग ठाउँमा, स्वस्थ कोठामा लगेर राख्नु, आफ्नो शरीरलाई सफा गरेर बस । सबैतिर रगत बग्ने हुँदा त्यो बेलामा अरु काम नगर । आफ्नो सरसफाइमा ध्यान दिएर बस भनेको हो । तर हाम्रा मानिसहरुले लगेर भर्खर रजश्वला भएका साना–साना बच्चाहरुलाई गोठमा लगेर राख्ने । अरु मान्छेले देख्नै नहुने । सूर्यको प्रकाश पर्नै नहुने । यसरी यो अरुलाई सताउने पीडा दिने प्रकारको कामहरु भएको देखिन्छ । यो गलत हो । रजश्वला भएको महिलाको सुविधाको लागि नियम बनाएको तर त्यो अहिले चाहिँ असुविधामा परिणत भयो । झन् उसलाई दुःख दिने चाहिँ कुरा भयो ।

अब गाईको गोठमा लगेर, सर्पहरु, बिच्छीहरु, विभिन्न प्रकारका कीराहरु आउने ठाउँमा लगेर एक्लै राखिदिनुभयो भने अरु संक्रमण बढ्ने हो । एक त त्यसै पनि संक्रमणको खतरा छ, त्यहाँ माथि पनि त्यस्तो ठाउँमा सद्दे मान्छे बस्यो भने त संक्रमणमा जान्छ, झन् रजश्वला भएको महिलाहरुलाई राखिदियो भने त अरु रोगी हुने सम्भावना रहन्छ । त्यसैले यो गतल कुरा हो । एकले अर्कोलाई छोएर अशुद्ध हुने हैन । रजश्वला भएको महिलाले छुनु हुँदैन भन्ने कुरा हुँदै होइन । छुन हुन्छ । तर फोहोर कुराचाहिँ छुन हुँदैन । संक्रमणमा आउने कुराचाहिँ छुन हुँदैन । त्यसबाट चाहिँ बच्नु भनेको हो । सबै कुरा छुन हुन्छ भनेर सबै छुट दियो भने फेरि शारीरिक सम्बन्ध पनि बन्न सक्छ । त्यो बेलामा शारीरिक सम्बन्ध बन्नु गलत हुन्छ । यसले दुवै जनाको स्वास्थ्यमा असर गर्छ । शारीरिक सम्बन्धबाट पनि अलग रहोस् त्यो समयमा भनेर अलग बस्नु, नछुनु इत्यादि भनेर नियम राखेको हो ।

अर्को कुरा हो, देवीदेवताको मन्दिरमा जान हुन्छ कि हुन्न ? पूजा गर्न हुन्छ कि हुन्न ?  पूजा गर्नको लागि भाव शुद्ध चाहिन्छ । म पवित्र छु भन्ने अनुभूति हुनुपर्छ । पवित्रता बाहिरबाट हुँदैन । पवित्रता मनमा हुन्छ । मैले नुवाइधुवाइ गरेँ । शुद्ध कपडा लगाएको छु । म चोखो छु भन्ने अनुभूति छ भने मन्दिरमा गएर पूजा गरे हुन्छ । तर मेरो शरीर अशुद्ध भन्ने अनुभूति मनमा छ भने यस्तो बेलामा पूजा गर्नु अनुपयुक्त हुन्छ । रजश्वला भएको बेलामा शरीर मात्रै हैन, मनको भाव पनि अशुद्ध हुन्छ । मनमा अनुभूति हुन्छ कि म अलि अशुद्ध छु । मेरो शरीरबाट फोहोर निस्किरहेको छ । त्यसैले म सफा हुन सकेको छैन भन्ने अनुभूति हुन्छ र यस्तो अनुभूतिको अवस्थामा पूजा गर्दाखेरि पूजाको भाव उत्पन्न हुँदैन । पवित्रताको भाव उत्पन्न हुँदैन । त्यसकारणले रजश्वला भएको बेलामा पूजा गर्नु अनुपयुक्त छ भनिएको हो ।

अब अर्को प्रश्न आउँछ । त्यसो भए देवताहरु रिसाउँछन् नि त । रजश्वला भएको बेलामा छोइदियो भने कोही मान्छे काम्ने, कसैलाई केही हुने, देउता चढेको यस्तो पनि सुनिन्छ भन्ने प्रश्न आउँछ । हेर्नोस्, कुनै देउता चढ्दैन । कुनै मानिस कामिरहेको छ भने यो उसको मानसिक समस्या हो । ध्यान गर्न सिकाऔं । मन शान्त हुन्छ । ध्यानबाट सबै मानसिक रोग समस्या हुन्छ । ध्यान गर्न थालौं अनि कुनै मानिस फेरि काम्न थाल्यो भने अनि कुरा गरौंला ।कुनै देवता लाग्दैन र रजश्वला भएको मानिसले छोएर कुनै देवता रिसाउँदैन र कुनै प्रकारको देउता जाग्ने कुरा हुँदैन । रजश्वला भएको महिलाले छोएर किन कुनै देवता रिसाउने ?  रजश्वला कसले बनाएको रु त्यही देवताले बनाएको न हो । जो रजश्वला भयो उसले बनाएको हो र ? भगवान्को सृष्टि हो नि । उसले बनाएको हो । आफ्नो सिर्जनाबाट त जो पनि खुशी हुन्छ । आफ्नो सिर्जनाबाट कोही भाग्दैन । तपाईंले एउटा कविता लेख्नुभयो भने कवितालाई छुनबाट तपाईं डराउनु हुन्न । कविता पढ्नबाट तपाईं डराउनु हुन्न । आफ्नो कविता पढ्न पाउँदा त झन् तपाईं खुशी हुनुहुन्छ । आफूले बनाएको चित्रलाई छुन पाउनुभयो भने त खुशी हुन्छ । र, हामी सबै भगवान्ले बनाएको चित्र जस्तै हो । भगवान्को सिर्जना हो । उसले बनाएको हो ।

त्यसैले यहाँ पवित्रता, अपवित्रताको कुरै छैन । आफ्नो भावलाई शुद्ध गरौं । आफ्नो मनलाई चाहिँ पवित्र बनाऔं । शरीर जतिसुकै पवित्र बनाए पनि मन अपवित्र छ । मन फोहोरी छ । मनभित्र फोहोर जम्मा गरेर राखेका छौं भने शरीरको पवित्रताले केही गर्दैन । दिनमा तीनपटक नुहाउनुहोस्, चारपटक नुहाउनुहोस्, फरक के पर्छ । मनमा त फोहोर जम्मा गरेको छ । मनको फोहोर हटाऊँ रजश्वलाको फोहोरले कसैलाई कुनै प्रकारको नोक्सान गर्दैन ।हाम्रा अग्रजहरुले किन रजश्वलालाई बार्न लगाए ? यो नियमलाई बुझौं  र अहिले पनि बार्नुपर्छ । रजश्वला भएको कुनै पनि महिलालाई भाँडा माझ्ने, खाना बनाउन लगाउने, बारीको काम गर्न लगाउने गर्नु अनुपयुक्त हुन्छ । यो गर्न दिनु हुँदैन । उसको स्वास्थ्यमा हानी हुन्छ । तर रजश्वला भएको महिलाको कारणले अरुको स्वास्थ्यमा चाहिँ हानी हुँदैन ।जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपाल भन्छन् यो अति सुन्दर संस्कार हो । रजश्वला बार्नु अति राम्रो थियो तर यसलाई हामीले दुरुपयोग ग¥यौं । लगेर गाईको गोठमा एक्लै राख्ने, जहाँ फोहोर छ, त्यहीँ बस भन्ने, छिःछि र दुर्दुर गर्ने, तैंले छुनै हुँदैन भन्ने, अछूत बनाउने, काहीँ मानिस पनि अछूत हुन्छ रु यो त अति भयो । कसैलाई पनि हेय दृष्टिले हेर्ने, अछूतको व्यवहार गर्ने, यो मानवीयता हैन, यो अमानवीय व्यवहारबाट हामीहरु मुक्त हुनुपर्छ । हामी सबैलाई पनि आफ्नो मनलाई शुद्ध गर्ने अवसर मिलोस् । हामी सबैलाई यो रजश्वलाको विज्ञानलाई बुझेर त्यसअनुसारको अनुशरण गर्ने अवसर मिलोस् ।


Your Views
Related News