अहिलेसम्म संसारभर दोहोरिएका ५ वटा केस मात्र पुष्टि भएको छ

कुनै मानिसमा कोरोना भाइरस संक्रमण दोहोरिने समाचारले धेरैलाई कहाली लगाउन थालेको छ।यो महामारीले कहिल्यै नछोड्ला, ज्वरोले फेरि सताउला, स्याँस्याँ होला, खोप प्रभावकारी नहोला, लकडाउन होला वा अनन्त कालसम्म यो त्रास रहला भन्ने सोचेरै मानिसहरू दिक्क भइसके।मान्छेका यी दिक्दारी र शंकालाई अमेरिकाको नेवाडा राज्यमा गरिएको एक अध्ययनले निवारण गर्न खोजेको छ। २५ वर्षीय पुरूषमाथि गरिएको अध्ययनका आधारमा सोमबार प्रतिवेदन पनि प्रकाशन भएको छ।नाम उल्लेख नगरिएका ती पुरुष फेरि कोरोना भाइरस संक्रमण भएर दोश्रोपटक बिरामी भए। जबकि एकपटक संक्रमित भइसकेकालाई उसको शरीरको रोग प्रतिरोधात्मक शक्तिले बचाउन अभ्यस्त हुने ठानिन्छ।हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा संक्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छ। त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण समाचारका रूपमा लिन्छन्। विज्ञहरूका अनुसार सोमबारसम्म त्यसरी दोहोरिएर देखिएको र वैज्ञानिक पुष्टि भएका घटना मुश्किलले पाँच वटा पुगेको छ।

‘यो असाध्यै थोरै हो, संसारभरी देखिएको संक्रमणका आधारमा यसलाई ठूलो भाँडोभर अटाएको दूधमध्ये एक थोपा भन्न सकिन्छ,’ न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीकी संक्रामकरोग विशेषज्ञ एन्जेला रासमुसेन भन्छिन्।दोश्रोपटक देखिएको संक्रमणमा असाध्यै सामान्य लक्षण देखिएको पाइएको छ। त्यसलाई नगन्य भन्दा पनि हुन्छ। तर, तीन जना जति, त्यसमा पनि इक्वेडरका संक्रमितमा यो दोहोरिँदा पहिलोपटक भन्दा झनै डरलाग्दो देखिएको थियो। त्यसैगरी नेदरल्यान्ड्सकी एक ८९ वर्षीया महिलाको दोश्रोपटकको संक्रमण झेल्ने बेलामा मृत्यु भएको थियो।यस्ता आक्कलझुक्कल देखिने केसहरूले संक्रमण फेरि दोहोरिन सक्छ भन्ने देखाइरहेको अनुमान एल विश्वविद्यालयकी रोग प्रतिरोधात्मक विशेषज्ञ अकिको इवासाकी लगाउँछिन्। सोमबार ‘लान्सेट इन्फेक्सियस डिजिज’मा प्रकाशित नेवाडाको प्रतिवेदन तयार पार्दा अकिकोले त्यसमा टिप्पणी लेखेकी छिन्।’कुनै कुनै व्यक्तिलाई यो दोहोरिन पनि सक्छ भनेर थाहा पाइराख्नु जरुरी छ। अझ केही मामिलामा त यो दोश्रो पटकमा झनै खतरनाक देखिन सक्छ,’ डा. अकिको भन्छिन्, ‘यो संक्रमणबाट एकपटक निको भइसकेका मानिसले पनि मास्क लगाइरहनु र भौतिक दुरी कायम राख्नु जरुरी छ।’विज्ञहरूसँग कोरोना भाइरसको संक्रमण पुनः दोहोरिनुदेखि लिएर भ्याक्सिन र महामारीको चरित्रलाई लिएर गरिएका थप प्रश्नमा उनीहरूले यस्तो जवाफ दिएका छन्ः

कोरोना भाइरस संक्रमण दोहोरिनु हत्तपत्त यसै भइहाल्ने घटना होइनः

यो संक्रमण दोहोरिने घटना असाध्यै दुर्लभ हुन्छ। रेकर्डअनुसार संक्रमण दोहोरिएको पहिलो घटना अगस्ट २४ मा हङकङमा फेला परेको थियो। अहिलेसम्म यसरी दोहोरिएको तीनवटा केस प्रकाशितै भइसकेका छन् भने थप २० वटा केसका मामिलामा वैज्ञानिक समीक्षा भइरहेको छ। अध्ययन गरेर वास्तविकता केलाउने काम अहिले पनि जारी छ।तर, यस्तो प्रवृत्ति संसारभर यथार्थमा ठ्याक्कै कति संख्यामा देखापरिरहेको छ भनेर थाहा पाउन असम्भवै जस्तो छ। दोहोरिएकै हो भने पनि त्यसलाई वैज्ञानिक आधारबाट पुष्टि गर्न दुवैपटकको संक्रामक भाइरसको जीनमा के अन्तर रहेछ भनेर अध्ययन गर्नुपर्छ।

कोरोना भाइरस संक्रमणको ताजा विवरणः

अमेरिकाकै कुरा गर्ने हो भने पनि यो वर्ष धेरैजसो मान्छे रोगबाट एकदमै ग्रसित भएर अस्पताल पुगेपछि मात्रै उनीहरूमा संक्रमण पुष्टि भएको थियो। त्यति हुँदा पनि उनीहरूबाट संकलित नमूनालाई आनुवंशिक (जेनेटिक) परीक्षणका निम्ति सुरक्षित राखिएको थिएन। यसले गर्दा उनीहरूमध्ये कसलाई दोहोरिएर यो संक्रमण भएको हो भन्ने तोकेर पत्ता लगाउनै मुश्किल भयो।ठूलो संख्यामा दोहोरिएर संक्रमित भएकामा त लक्षणै नदेखिएर हराउन सक्छ। उदाहरणका निम्ति हामीले माथि जुन हङकङको पहिलो केसको चर्चा गर्‍यौं, ती व्यक्तिमा दोश्रोपटक संक्रमण हुँदा कुनै लक्षण थिएन। उनी यात्राका निम्ति विमानस्थल पुगेका बेला त्यहाँ गरिएको नियमित परीक्षणका क्रममा दोश्रोपटक संक्रमण देखिएको थियो।’लक्षणै नदेखिएका संक्रमित एकदमै धेरै आइरहेका छन्,’ सियाटलस्थित युनिभर्सिटी अफ वासिंगटनका रोगप्रतिरोधी विशेषज्ञ मारिअन पेपर भन्छिन्, ‘त्यस्ता मानिसका बारे त हामीले कहिल्यै जानकारी नै पाउँदैनौं।’दोश्रोपटकको संक्रमणले असाध्यै च्यापेका मानिसको मात्र पहिचान हुनसक्ने सम्भावना बढी हुन्छ, किनभने उनीहरू फेरि अस्पताल आइपुग्छन्। तर, त्यस्ता मानिस पनि अस्पताल नपुगिदिने सम्भावना पनि उत्तिकै रहेको विज्ञहरू औंल्याउँछन्।’यदि दोहोरिएर हुने संक्रमण आम रूपमै प्रचलित भइदिएको भए त परिस्थिति बेग्लै हुने थियो,’ डा. अकिको भन्छिन्, ‘हजारौं हजारका संख्यामा दोहोरिएका संक्रमित देखापर्ने थिए।’

धेरैजसो मानिसमा रोगप्रतिरोधी प्रणालीले काम गरिरहेकै हुन्छः

धेरै कारणले गर्दा मानिसमा संक्रमण दोहोरिन सक्छ।एउटा कारण, पहिलोपटक भएको संक्रमण असाध्यै कम प्रभावकारी भएको स्थितिमा पनि त्यस्तो हुन्छ। किनकी त्यो बेला बिरामीको शरीरमा रोग प्रतिरोधी प्रणाली धेरै विकास नभएरै संक्रमण थामथुम भइदिएको हुन सक्छ। वा, मानिसका अरू नै शारीरिक अवस्थाका कारण पहिलो संक्रमण परास्त भइदिएको हुन सक्छ।यस्तो अवस्थामा कुनै पूर्व संक्रमितको रोगप्रतिरोधी क्षमताले प्रभाव देखाउनुभन्दा अघि नै फेरि संक्रमण स्थापित गर्नेगरी व्यापक मात्रामा भाइरस ग्रहण गर्न पुगेको स्थिति भइदिन सक्छ।यसअघि दादुरा र मलेरियाका संक्रमितमा यस्तो प्रवृत्ति व्यापक देखिएको थियो। यस आधारमा यो किसिमको सम्भावना उत्तिकै रहने विज्ञहरू बताउँछन्।’करोडौंको मात्रामा देखापरिरहेको समस्यासँग जुझिरहँदा विरलै भेटिने एकाध केसहरू सतहमै नआउने पनि हुन सक्छ,’ हार्वर्ड टी एच चान स्कुल अफ पब्लिक हेल्थमा बालबालिकाको रोग प्रतिरोधी क्षमता विशेषज्ञ डा. माइकल मिना भन्छन्।युरोपमा भेटिएका दुई जना पुनः संक्रमित बिरामीको रोगप्रतिरोधी प्रणालीमै समस्या थियो भने नेदरल्यान्ड्समा निधन भएकी  ८९ वर्षिया महिला क्यान्सरकी बिरामी थिइन्। उनको किमोथेरापी चलिरहेको थियो। त्यसैगरी अन्य पुनः संक्रमितका मामिलामा आनुवंशिक (जेनेटिक) समस्या वा रोग प्रतिरोधी क्षमतामै केही समस्या पनि हुन सक्छ जसकारण दोश्रोपटकको संक्रमण उनीहरूको शरीरले परास्त गर्न सकेन।

‘कोही मानिसमा कुनै गम्भीर रोगका कारण उनीहरूको रोग प्रतिरोधी क्षमताले राम्ररी काम गरिरहेको हुँदैन,’ माउन्ट सिनाइस्थित आइकान स्कुल अफ मेडिसिनका रोग प्रतिरोधी विशेषज्ञ फ्लोरिअन क्रेमर भन्छन्, ‘त्यो के कारणले हुन्छ भन्ने हामीलाई थाहा छैन। तर, दुर्लभ प्रवृत्तिका रूपमा यस्तो यदाकदा देखिरहेका हुन्छौं।’विज्ञहरूका अनुसार बहुसंख्यक संक्रमितका हकमा उनीहरूको रोग प्रतिरोधी क्षमताले सबैजसो रोगमा एकै हिसाबले काम गरिरहेको हुन्छ।’धेरै प्रकारका संक्रमणमा उही भाइरसले फेरि आक्रमण गर्ने प्रवृत्ति हुन्छ नै जसमा लक्षण नदेखिँदा त थाहै पाइँदैन,’ डा. पेपर भन्छिन्, ‘र, रोग प्रतिरोधी क्षमता प्रभावकारी हुन यसले मद्दत गरिरहेको पनि हुन सक्छ।’शरीरले जब कुनै अपरिचित भाइरस भेट्छ त्यतिबेलै सामान्य हिसाबले केही रोगप्रतिरोधीको विकास गरिहाल्छ। त्यसपछि भाइरस जति बढ्दै जान्छ, त्यही हिसाबले रोगप्रतिरोधी बढ्न थाल्छ। यस्तो प्रवृत्ति विशेषगरी बालबालिकाको शरीरमा एकदमै बढी भेटिन्छ।डा. मिनाका अनुसार वयस्कका हकमा भने उनीहरूले हत्तपत्त नयाँ भाइरस सामना गर्नु नपर्ने भएकाले बालबालिकाको तुलनामा यस्तो गुण प्रायः कमै देखिन्छ।’हाम्रो शरीरमा रोग प्रतिरोधी प्रणालीको विकाससँगै पुनः संक्रमण पनि जोडिएरै आएको छ भन्ने बुझ्नु जरुरी छ,’ डा. मिना थप्छन्, ‘कहिलेकाहीँ रोग प्रतिरोधी प्रणालीका बारेमा राम्ररी अध्ययन नगरेका मानिसको प्रतिक्रियाकै भरमा हामीले बाटो बिराइरहेका हुन्छौं। जसको प्रतिफलमा असमझदारी हुन सक्छ।’

लक्षण फेरि देखिनु भनेको फेरि संक्रमित हुनु होइनः

पुनः संक्रमित भनिएका सबैजसो केस केलाउँदा संक्रमणपछि बिरामी भएको मानिस झट्ट हेर्दा निको भएको देखिने र फेरि केही साता वा महिनामा पुनः बिरामी परेको प्रवृत्ति दर्जनौंमा देखिएको छ।यी केसहरूमा संवेदनशील भूमिका निर्वाह गर्ने तथ्यांकको अभाव देखिन्छ। जस्तो, तिनमा ल्याबबाट परीक्षण गरिएको प्रमाण हुँदैन। त्यसैगरी अनुक्रम मिलाउन भाइरसको नमूना पनि उपलब्ध हुँदैन।’यस्तो अवस्थामा के त्यो साँच्चै संक्रमण थियो भन्ने प्रश्न खडा हुन्छ,’ डा. क्रेमर भन्छन्, ‘धेरैजसो अवस्थामा त्यस्ता तथ्यांक पाउनु चुनौतीपूर्ण हुन्छ।’ बहुसंख्यकका हकमा त वास्तवमा संक्रमित नै हो वा होइन भन्ने प्रश्न उठ्छ। यी व्यक्तिमा संक्रमण दोहोरिएको भन्दा पनि पुरानै संक्रमणको लक्षण फेरि देखा पर्न थालेको सम्भावना बढी छ। हप्तौंपछि भाइरसले फेरि उग्र रूप धारण गरेर थकान वा मुटुका समस्यासम्म पुगेको हुन सक्छ।केही दुर्लभ केसमा भने बिरामीले संक्रमणपछि त्यस्ता सामान्यस्तरका दीर्घकालीन समस्या पनि जन्माएका हुनसक्छन् जुन अब कहिल्यै हट्ने छैनन्।’यदि तपाईंको रोगप्रतिरोधी प्रणालीले राम्ररी काम गरेन भने रुघाजस्तो समस्या निम्त्याउने भाइरसले पनि संक्रमण दोहोर्‍याइरहने हुन्छ,’ डा. क्रेमर भन्छन्।’यो खासै चिन्ताजनक समस्या होइन। तर फेरि जटिलता बढाउँदै लग्यो वा प्रारम्भिक संक्रमण देखिएको महिनौंपछि पनि अस्पताल लैजानुपर्ने अवस्था आयो भने चिन्ता मान्नै पर्ने हुन्छ,’ डा. रासमुसेन भन्छिन्, ‘यदि लगातार दोहोरिएको जस्तो भइरहेको छ वा दोश्रोपटक नराम्ररी बिरामी परिरहेका छन् भने त्यसमा कोरोना भाइरसभन्दा पनि मानिसको आफ्नै कुनै समस्या कारक हुन सक्छ।’

दोश्रोपटक संक्रमितले पनि अरूलाई सार्न सक्छन्ः

लक्षण नदेखिए पनि पुनः संक्रमित भएकाले अरूलाई भाइरस सार्ने सम्भावना रहन्छ।उदाहरणका निम्ति, विमानस्थलको परीक्षणबाट पत्ता लागेका हङकङका बिरामीमा कुनै लक्षण थिएन। तै पनि उनलाई अस्पताल लगियो। उनमा संक्रमण यति बढी थियो, अर्को कुनै पनि व्यक्तिलाई उनले सहजै सारिदिन सक्थे।’हङकङका ती व्यक्ति पक्कै पनि बिरामी थिएनन्। यसको अर्थ उनी सुरक्षित थिए भन्ने हो,’ डा. पेपर भन्छिन्, ‘तर अरूका निम्ति भने उनी असुरक्षाका कारण थिए।’तर, संक्रमणबारेमा टुंगो लाउन अनुसन्धाताहरूलाई सक्रिय भाइरसकै आवश्यकता पर्न सक्छ।उदाहरणका निम्ति दक्षिण कोरियाको परीक्षणलाई लिन सकिन्छ। त्यहाँका अनुसन्धाताले सयौं पुनः संक्रमित भनिएकाको केसको अध्ययन गरेका थिए। त्यसका नमूना नै परीक्षण गरी उनीहरूले त्यो पुनः संक्रमण होइन भनेर ठोकुवा गरिदिएका थिए।प्रत्येक बिरामीमा पुनः संक्रमण हो कि होइन भनेर यकिन हुन त्यस्तै परीक्षण जरुरत पर्ने डा. सासमुसेन बताउँछिन्।’वास्तविकताको जरोमै पुग्न त्यही नै एउटा उपाय हो,’ उनी भन्छिन्।

पुनः संक्रमण हुन नदिन खोप प्रभावकारी हुन सक्छः

पुनः संक्रमणका समाचारले भविष्यमा कोरोनाको खोप भ्याक्सिन पत्ता लागेछ भने त्यो कत्तिको प्रभावकारी होला भन्ने प्रश्न जन्माएको छ। खोपले शरीरभित्र विकास गर्ने रोगप्रतिरोधी क्षमताले पुनः संक्रमणलाई रोक्न सक्नेगरी पर्याप्त सामर्थ्य राख्न सक्ला कि नसक्ला भन्ने जिज्ञासा यसले उत्पन्न गर्छ।यसको जवाफमा विज्ञहरू ‘धन्दै मान्नु पर्दैन’ भन्छन्।’मानिसको शरीरले प्राकृतिक रूपमा तयार पार्ने रोगप्रतिरोधी क्षमताभन्दा पनि खोपले तयार पार्ने क्षमता धेरै बढी हुन्छ,’ उनीहरूको तर्क छ, ‘त्यसैले खोपले यो समस्या समाधान गर्नेछ।’उदाहरणका निम्ति कोरोनाको चरित्र भनेकै झुक्याउने हो। शरीरले प्रारम्भिक चरणमै भाइरस पहिचान गरेर रोग प्रतिरोधी क्षमतालाई जागरुक बनाउने जुन ‘अलार्म’को गुण राखेको हुन्छ, भाइरसले त्यसलाई नै झुक्याउने क्षमता राखेको छ। यसकारण त्यो प्रारम्भिक महत्वपूर्ण क्षणमै संक्रमण सारिदिन ऊ सफल भइरहेको छ।केही मानिसका हकमा यो चरणमा रोग प्रतिरोधी क्षमता एकदमै बढी सक्रिय भइरहेको पाइन्छ। त्यो उक्त व्यक्तिमा सहजै संक्रमण सर्नुभन्दा झनै खतरनाक साबित हुन सक्छ। दुश्मन पहिचान नगरिकनै अति सक्रिय भएर लड्नेले आफ्नै शरीरमा कहाँ कहाँ घात गरिरहेका हुन्छन्, भन्न सकिन्न। यो त्यस्तै अवस्था हो।खोपको काम भनेकै भाइरसलाई सुटुक्कसँग परास्त गर्ने यस्तो रोगप्रतिरोधी क्षमता विकास गर्नु हो, जसबाट शरीरलाई हानी हुनेगरी रोगप्रतिरोधी क्षमता सक्रिय हुनै नपाओस्। खोपले भाइरसविरुद्धको लडाइँमा त्यस्तो रोगप्रतिरोधी क्षमता पछिसम्मै डटिरहन सकोस् भनेर त्यसको स्मरणशक्ति पनि बढाइरहेको हुन्छ।खोपको परीक्षणमा ध्यान दिइने मुख्य काम भनेकै यसका कारण खतरा बढाउने काम नगरोस् भन्ने हो। र, अरूलाई संक्रमण सार्न नसक्नेगरी खोपले भाइरस काबुमा राख्न सक्छ कि सक्दैन भन्ने अहिलेसम्म अस्पष्ट छ।’यति हुँदाहुँदै पनि प्राकृतिक रूपले हाम्रो शरीरभित्र विकास हुने रोगप्रतिरोधी क्षमताभन्दा यो पक्कै प्रभावकारी हुनेछ,’ डा. रासमुसेन भन्छिन्, ‘म यसमा आशावादी छु।’


Your Views
Related News