कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो। निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए। गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए। ‘गृहले निलम्बन फुकुवाको चिठी आज पठाएको छ,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने, ‘कानुन शाखाले अब प्रशासनलाई पत्र लेखेपछि उहाँ काममा फर्कनुहुन्छ।’ उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन्। उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने कडायतले बताए। केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि खटिएका जिसीलाई तत्कालीन प्रहरी नेतृत्वले यातनापूर्वक बयान गराएको आरोपमा निलम्बन गरेको थियो। तर, अदालतले भने सफाइ दिएको थियो।

पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे निर्णय मन्त्रिपरिषदले गर्नु पर्ने छ।फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वत: न्यायका लागि अपिल गर्न सकिन्छ। सामाजिक न्याय र यातना कसुरमा जम्मा आठ जना प्रहरीलाई प्रतिवादी बनाइएको थियो। तीमध्ये प्रहरीहरूमा  विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो। २०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।

READ MORE NEWS

दसैंको मुखमा खाद्य डिपो रित्तै

बजारको महँगो चामल किनेर चाड मनाउँदै दुर्गमका बासिन्दा 

मुगु — दसैं नजिकिँदै गर्दा जिल्लाका ४ स्थानीय तहका खाद्य डिपोहरु ३ महिनादेखि रित्तिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै खाद्यान्न ढुवानी नगर्दा गाउँका डिपोहरु रित्ता बनेका हुन् । चालु आर्थिक वर्षमा कम्पनीले सदरमुकाम गमगढीमा करिब १३ सय क्विन्टल चामल ढुवानी गरेको छ । तर ग्रामीण क्षेत्रका सोरुकोट, पूलु, श्रीकोट, रातापानी र कालै डिपोमा साउनदेखि चामल गएको छैन । दसैंको मुखमा खाद्य डिपो रित्तिएपछि स्थानीयबासी बजारबाट महँगो मूल्यमा खाद्यान्न खरिद गरी उपभोग गर्न बाध्य छन् । ‘ढुवानी अनुदानको चामल गाउँमा कहिल्यै आउँदैन,’ सोरुकोटका कमल शाहीले भने, ‘बजारबाट २ गुणा महँगो मुल्यमा चामल किन्नुपर्ने बाध्यता छ ।’ खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको उनले गुनासो गरे ।दसैं र तिहारमा पनि खाद्यको चामल नपाइने समस्या वर्षौदेखि रहेको सोरु गाउापालिका–६ का पदमबहादुर शाहीले बताए । उनका अनुसार अन्न उत्पादन कम हुँदा अधिकांश बासिन्दालाई बाहिरको चामल किन्नुपर्ने बाध्यता छ । ‘पुरानो अन्न सकियो,’ उनले भने, ‘नयाँ अन्न पाकेको छैन ।’

उनले सोरुकोट डिपोमा चामल नहुादा भीई, नार्थपु, जिमालगायत गाउँका बासिन्दा सदरमुकाममा चामल लिन आउनुपर्ने बाध्यता रहेको बताए ।डिपोमा चामल ढुवानी नहुँदा स्थानीयले खाद्यान्न अभावको सामना गर्नुपरेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश घरधुरीमा आफ्नै उत्पादनले ६ महिनाभन्दा बढी खान पुग्दैन । ‘डिपोमा चामल आए विपन्न परिवारलाई राहत मिल्थ्यो,’ उनले भने, ‘कतिपयले ऋण गरेरै भए पनि दसैं–तिहारका लागि खाद्यान्न किनेका छन् ।’मुगमकार्मारोङको पूलु खाद्य डिपो पनि गत साउनदेखि रित्तै हुँदा ९ वटै वडाका बासिन्दा छाइल बजार पुगेर चामल खरिद गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार खाद्यको चामल २५ किलोको बोराको १५ सय ६० रुपैयाँ पर्ने भए पनि स्थानीयबासी बजारमा २ हजार रुपैयाँ प्रतिबोरा चामल खरिद गर्न बाध्य छन् ।ठेक्का प्रक्रियामा ढिलाइ हुँदा खाद्य डिपोमा चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार गमगढीमा पनि पर्याप्त चामल ढुवानी हुन सकेको छैन । उनले शाखा कार्यालयका लागि १३ सय क्विन्टल चामल ढुवानी भएको जानकारी दिए ।

भारतीय बिरामी घटेपछि आँखा अस्पताल आर्थिक संकटमा

लहान । सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो । सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिए ।“पहिला दैनिक एक हजार २०० सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ” उनले भने, “भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।” अस्पतालमा बिरामी घटेपनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या र्भरहेको उनको भनाइ छ । “अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो”, उनले भने, “उपचार सेवाबाट हुने आम्दानीले ३०० भन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौं, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाई भइरहेको छ।”

भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ ।  मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २१३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो । उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ ।  सो आँखा अस्पतालमा प्रदेश नं २ का आठ वटै जिल्ला र प्रदेश नं १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताए । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ ।

प्रमुख सिंहका अनुसार यो अस्पतालले लहानबाहेक सिरहा सदरमुकाम सिरहा बजार र मिर्चैया, सप्तरीको राजविराज र कञ्चनपुर, धनुषाको धनुषाधाम, महोत्तरीको बर्दिवास र जलेश्वर, सर्लाहीको मलङ्गवा, उदयपुरको गाईघाट, खोटाङ्गको दिक्तेल र हलेसी तथा सिन्धुलीको खाल्टे गरी १३ शाखामार्फत बिरामीलाई आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ । यसबाहेक अस्पतालले बिभिन्न सङ्घसंस्थाको समन्वयमा घुम्ती आँखा शिविरमार्फत समेत बिरामीको निःशुल्क उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको प्रमुख सिंहको भनाइ छ । सरकारले गरेको बन्दाबन्दीको समयमा आर्थिक सङ्कटमा परेका ५०० परिवारलाई राहत समेत वितरण गरेको अस्पतालले जनाएको छ । स्थानीय स्व. छबिलाल चौधरी, स्व. सरोबरलाल चौधरी र रबिन्द्रलाल चौधरीको सक्रियतामा सन् १९८२ मा स्थापना भएको अस्पतालले सन् १९८३ बाट नियमित आँखा उपचार सेवा शुरु गरेको हो । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एउटा कोठाबाट शुरु भएको सो अस्पतालले सन् २०२१ बाट सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रमुख सिंहले जानकारी दिए । आम नागरिकको उपचार सेवामा समर्पित यो अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने लहान नगरपालिका–७ का शंकर चौधरीको भनाइ छ ।


Your Views
Related News