वीरगंज महानगरपालिका-११ श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन्। विद्यालयमा आर्थिक अनियमतिता व्यापक भएको भन्दै अभिभावकको एउटा समूहले बिहीवार विद्यालयको कार्यालय र स्टोरमा तालाबन्दी गरेको हो।४ वर्षदेखि सामाजिक लेखा परीक्षण, आर्थिक लेखा परीक्षणलगायत काम नहुँदा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्साले सो विद्यालयलाई कालो सूचिमा राखेको छ। प्रदेश सरकारले विद्यालयको स्तरोन्नतीका लागी पठाएको १५ लाख रुपैयाँको समान नै नकिनी नक्कली बिलभरपाई बनाएर रकम हिनामिना गरेको अभिभावकको आरोप छ।त्यसैगरी, शिक्षकहरु पढाउनुभन्दा राजनीतितर्फ बढी सक्रिय रहेकोले यी सबै कुरा सुधारको लागि अभिभावकहरुले माग गरेका छन्। विद्यालय व्यवस्थापन समिति तथा महानगरले आफू खुसी प्रधानाध्यापकहरुको सरुवा गर्दा विद्यालय राजनीतिको अखडा बनेकोले विद्यार्थीहरुको भाविष्य र विद्यालयको वातावरण खराब बन्दै गएको अभिभावक महेश्वरलाल महतो गुनासो गर।

विद्यालयको शैक्षिक सुधार तथा अनुदानबाट आएको रकमहरुको दुरुपयोग भइरहेको गुनासो सहित पटकपटक ध्यानकार्षण गराउँदा पनि सुनवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको अभिभावकहरुको भनाइ छ। विद्यालयको भौतिक संरचना पनि जीर्ण बनेको अभिभावकहरुको गुनासो छ। कोरोनाका कारण विद्यालय बन्द रहँदा मर्मतको नाममा लाखौँ रकम हिनामिना भएको अभिभावकहरुको आरोप रहेको छ।अभिभावकहरु चन्देश्वर तिवारी, दिना महतो ,सदाव अंसारी, विद्यार्थी नेता सुजित गिरीको नेतृत्वमा आएको टोलीले विद्यालयमा तालाबन्दी गरेको हो। यस विषयमा विद्यालयका हालका प्रधानाध्यापक अनिल वर्णवालले अभिभावकहरुले तालाबन्दी गरी सांकेतिक विरोध जनाएको प्रति आफ्नो ध्यानाकर्षण भएको र समस्या समाधान गरी चाडै विद्यालयको चौतर्फी वातावरण सुधारको लागि आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए।

READ MORE NEWS

काल बनेको सिद्धबाबाको बाटोबाट नागरिकले कहिले पाउने राहत ?

सिद्धबाबाको बाटो। फाइल तस्विर।

यो सिद्धार्थ राजमार्ग पोखरालाई पाल्पा हुदै लम्बिनीसँग जोड्ने प्रमुख राजमार्ग हो । कास्कीबाट शुरु भइ सुनौलीसम्म पुग्ने यो राजमार्गको लम्बाइ करीब १८१ किमी रहेको छ । ४८ वर्षअघिदेखि संचालनमा आएको यही राजमार्ग हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङ, पाल्पा, पर्वत, स्याङ्जा जाने सवारीसाधनहरु यात्रा तय गर्छन् । हरेक बर्ष धेरै जनधनको क्षति हने यस राजमार्गको सिद्धबाबा, तल्लो सिद्धबाबा, दोभान, रामापिथेकस पार्क, भूतखोला, कालीमाटी लगायतका स्थानको बाटो क्षतिग्रस्त  छ।त्यतिमात्र नभएर यो वर्ष परेको अत्यधिक वर्षाका कारण यो क्षेत्रमा थप पहिरो पनि गएको छ । राजमार्गको धेरै स्थानमा एकतर्फी सवारी चल्नुपर्दा जामको समस्या पनि उत्तिकै छ । लामो समयदेखि वैकल्पिक सडकको चर्चा भएपनि अहिलेसम्म संचालनको टुङ्ंगो छैन ।

यो राजमार्ग चुरेक्षेत्रमा छ । चुरेक्षेत्र भनेको पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको क्षेत्र हो । यही चुरेक्षेत्र भई महाभारतबाट बग्ने नदीहरु तराइतर्फ बग्ने हुँदा यो प्राकृतिक रुपमा संवेदनशील क्षेत्र मानिन्छ । चुरेक्षेत्र जैविक विविधतायुक्त्त क्षेत्र हो । यस क्षेत्रमा १५ लाख वर्ष पुराना प्रागऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गरिन्छ । यस सिद्धबाबा क्षेत्रमा पनि आदिमानव रामापिथेकसको अवशेष प्राप्त भएको हुँदा त्यहाँ रामापिथेकस पार्क नामाकरण समेत गरिएको छ । भौगोलिक वनाबटकै कारण पनि चुरे संवेदनशील क्षेत्र हो, त्यसमा जलवायू परिवर्तन, नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन, वन डढेलो, भौगर्भिक अध्ययनविना सडक लगायत अन्य संरचना निर्माण हुनु लगायतका कारणले यो क्षेत्रमात्र नभई नेपालको पूर्वदेखि पश्चिमसम्म ३३ जिल्लाका केही न केही भाग ओगटेको चुरेक्षेत्र प्रभावित बनेको छ ।

सिद्धबाबाको बाटो राम्रो गराउने प्रतिबद्धता हरेक चुनावताका नेताहरुले गर्ने गरेको तर त्यो केवल चुनावी एजेण्डा जस्तोमात्र बनेको टिप्पणी गर्छन् हिमालय बुक हाउसका संचालक माधव गौतम । धेरैपटक सिद्धबाबाको बाटो सुधारका प्रतिबद्धता र योजना सुनिरहेपनि पुरा कहिल्यै नहुँदा नेतृत्वप्रति नै जनताको अविश्वास बढेको ठम्याइ गौतमको छ । ‘जनजीविकासंग जोडिएको र गुल्मी, पाल्पा, स्याङ्जा,अर्घाखाचीका ग्रामिण जनताको जल्दोबल्दो समस्याको रुपमा रहेको बाटोप्रति नेतृत्व उदासिन बन्नुले राजनीतिप्रति नै एकप्रकारको उपेक्षाभाव प्रकट भएको छ ’ पाल्पाका विपिन बस्यालले भने ।गुल्मी, अर्घाखाची, पाल्पा, स्याङ्जाबाट धेरै संख्यामा  जनताहरु रुपन्देहीमा बसाइसराइ गरेर आएका, केही समय यता केही समय उता बस्ने गरेका, चाडपर्व मनाउन आफ्नै थातथलोमा जाने चाहना, पढाइ र रोजगारीका लागि रुपन्देही झरेकाहरुको लागि यो बाटो पानीपधेरो जस्तै हुनुपर्ने तर एकदमै अनिश्चयका बिच यात्रा गर्नुपर्ने वाध्यता छ भन्छिन मन्जू भुसाल । सधै यात्रा गर्दा सिद्धबाबाको बाटो कटे है भनेर परिवारलाई निश्चिन्त गराउनुपर्छ उनी थप्छिन् ।

बुटवलको रापिलो मौसमबिच गर्मी छल्ने उपयुक्त मौसम रहेको झुम्सा, दोभानक्षेत्र पनि ओझेलमा परेको छ । शितल हावामा विचरण गर्न, छुट्टी मनाउन, वनभोज गर्न जाने स्थानको रुपमा विकास हुनसक्ने संभावना देखेरै यसक्षेत्रका व्यवसायीले लगानी गरेपनि उनीहरुको सपनाले पूर्णता भने पाउन सकेकोे छैन । राम्रो पर्यटकीय क्षेत्र हुने अवसरहरु हुँदाहुँदैपनि सडकको दुरावस्थाका कारण समस्या भएको तिनाउ रिभरसाइट रिसोर्ट प्रा.लि.का अध्यक्ष चित्र के.सी.ले गुनासो गरे ।वैकल्पिक मार्गको रुपमा प्रस्तुत गरिएको चरङ्गेको बाटो पनि प्रभावकारी नभएको जनगुनासो छ । केही समय अगाडि सिद्धबाबाको बाटाको सुधारका लागि सुरुङमार्ग बनाउने प्रतिबद्धता प्रस्तुत गर्दै योजना ल्याइएपनि  यसको भूगोल अध्ययन गरेर मात्र कार्य  प्रारम्भ गर्नुपर्ने अन्यथा पछि पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिदैन । वैकल्पिक मार्गमध्ये सालझण्डी अर्घाखाँची गुल्मीको तम्घास हुँदै ढोरपाटन जोड्ने सडक निर्माण योजना तय भइ बहुसंख्यक जनता खुशी भएको भनिएपनि राजनीतिक पूर्वाग्रहका कारण यो सडक निर्माण योजना सम्पन्न हुन नसकेको रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक गुणानिधी शर्माको कथन छ । वहुसंख्यक जनताहरुको माग, आवश्यकताको विषयलाई राजनीतिक आग्रहपूर्वाग्रहको रुपमा नलिई सेवा, समर्पण भाव राख्ने हो भने जस्तासुकै अप्ठेरा, कठिन काम सम्पन्न गर्न सकिन्छ भने यो बाटो सुधार गर्नु सामान्य काम भएको शर्माले बताए ।यातायात समाजको विकासको एक महत्वपूर्ण आधार हो । जवसम्म सडकहरु व्यवस्थित बन्दैनन् तबसम्म सुखी र समृद्ध मुलुक बन्न सक्दैन । चुनावताका गरेका प्रतिबद्धता पुरा गर्नु र जनताको सुखसुविधाको ख्याल गर्नु जनप्रतिनिधिको कर्तव्य हो । सडकसँग शासकको स्वार्थ जोडिनु हुदैन । पर्यटन,व्यापार,उद्योगधन्दाको आधार यातायात नै हो । जबसम्म सडकमा यात्रा गर्दा सुरक्षित बन्न सकिदैन, यस्तो यातायात प्रणालीबाट अरु विकासका संभावनाको अपेक्षा कसरी गर्न सकिएला ?


Your Views
Related News