काठमाडौं-  सिंगापुर एयरलाइन्सले लामो समयदेखि हवाईयात्रा गर्न नपाएका ग्राहकलाई लक्षित गरी विमानभित्र खाना ख्वाउने व्यवस्था गरेको छ।विश्वकै सबैभन्दा ठूलो यात्रु विमान ए ३८० मा मानिसहरु ४७० डलरको टिकट किनेर खाना खाने भएका छन्।  गएको सोमबार, सिंगापुर विमानस्थलमा रहेको  विमानभित्र बसेर खाना खानका लागि महँगो दरको टिकट किन्नेहरुको होडबाजी नै थियो। इन्टरनेटमा टिकट काउन्टर खुलेको आधा घण्टामै सबै ९०० टिकट बिक्री भएका थिए। जबकी यो रकममा नेपाल र सिंगापुरको दुईतर्फी यात्रा नै गर्न सकिन्छ। टिकट किनेका सोखिनहरुले २४ र २५ अक्टोेबरमा सिंगापुरको चंगी एयरपोर्टमा रहेको विमानभित्रै बसेर खाने मौका पाउने छन्। एयरलाइन्सले ४७० डलरमा फस्र्ट क्लासको फोर कोर्स खाना अफर गरेको थियो भने ५३ डलरमा इकोनोमी क्लासको थ्रि कोर्स खाना। यो डबल डेकर विमानमा आपसी दुरी कायम गर्न ग्राहकलाई एउटा सीट छोडेर बसाइनेछ।

फिनएयरले खाना बेच्ने

फिनल्याण्डको एयरलाइन्स फिनएयरले आफ्नो विमानका यात्रीलाई ख्वाउने खाना सुपरमार्केटमा बेच्ने भएको छ।कोरोना महामारीका कारण विमानयात्रा गर्न नपाएका ग्राहकले सुपरमार्केटमा विमानको खाना किन्न पाउँदा खुसी हुने एयरलाइन्सले अपेक्षा गरेको छ। ‘टेस्ट अफ फिनएयर’ नामबाट मानिसहरुले १० युरोमा एक प्याकेट खाना किन्न पाउने छन्। फिनएयर किचेनकी मरिका निएमिनेनका अनुसार लामो यात्रामा प्रतिबन्ध लागेका बेला ग्राहकहरुले घरमै बसेर फिनएयरको लग्जरी अनुभव गर्ने मौका पाउनेछन्। त्यस्तै फिनएयरले किचेनमा काम गर्ने कर्मचारीलाई व्यस्त राख्न र उनीहरुको रोजगार जोगाइराख्न पनि खाना बजारमा बेच्ने निर्णय गरेको जनाएको छ।कोरोना महामारीका कारण फिनएयरका करिब ७ हजार कर्मचारीले रोजगार गुमाएका छन्। फिन एयरले सुरुमा राजधानी हेलसिन्कीको एउटा स्टोरबाट खाना बेच्ने र त्यसमा ग्राहकको रुची बढ्यो भने देशभरका स्टोरबाट खाना बेच्ने जनाएको छ। महामारीका कारण विश्वभर नै विमान यात्रामा ठूलो कमी आएका कारण एयरलाइन्स कम्पनीहरुले भारी नोक्सान ब्यहोर्नु परेको छ।

READ MORE NEWS

कमला ह्यारिसको कटाक्ष– ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा असफल राष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति पदका लागि डेमाक्रेटिक उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएकी छिन्। उनले ट्रम्पको कार्यकाल अमेरिकी इतिहासमा पूर्ण रूपमा असफलको रूपमा लिइने बताएकी छिन्। ‘ट्रम्प कोरोनासँग लड्न असफल भएका छन्’, उनले बताइन् ।ह्यारिसले भनिन्, ’अमेरिकालाई अब यस्तो राष्ट्रपतिको आवश्यकता छ, जसले जनतासामु सत्य बोलून र वैज्ञानिक तथा तथ्यकाआधारमा योजना बनाउन सकून्। ट्रम्पको असफलताको कारण, आज लाखौं मानिस दुःखकष्टमा छन्।’ बुधबार एमएसएनबीसीलाई अन्तर्वार्ता दिँदै ह्यारिसले जो बाइडेनलाई अमेरिकाका लागि एक उत्कृष्ट राष्ट्रपतिको रुपमा वर्णन गरेकी छिन्।

उनले बाइडेनसँग कोरोना भाइरससँग लड्न उपचार, परीक्षण र खोपहरूको पूर्ण राष्ट्रिय योजना रहेको र अमेरिका जनतालाई निशुल्क दिइने बताएकी छिन्।यसैगरी, ह्यारिसले भनिन्, एकचोटी पछाडि फर्केर हेर्नुहोला, ट्रम्प र उनको प्रशासनले कसरी पूर्ण असफलताको साथ कोरोनासँग लडेको छ। यस कारणले गर्दा यो महामारी लगभग पाँच गुणा बढी विनाशकारी साबित भयो। यही कारणले गर्दा अमेरिकामा संक्रमित हुने र मृत्युहुनेको संख्या पनि डरलाग्दो छ। त्यसैले अब अमेरिकामा विषण परिस्थितिका लागि जमेर लड्ने राष्ट्रपतिको खाँचो रहेको छ।’

मेरो जिम्मेवारी नेपालमै नयाँ अभ्यास : ईश्वर पोखरेल

२९ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन् । रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताए ।‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो’, उनले भने । औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनले बताए ।‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, पोखरेलको भनाइ थियो । प्रधानमन्त्री कार्यालयको राम्रो कार्यक्रम पनि नारामा सीमित भएको संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले अब त्यस्तो नहुने बताए ।‘लोकप्रिय कार्यक्रम हेलो सरकार गर्दैछ के ? ढलकढलक ११/१२ बजेतिर आउने अनि चार÷पाँच नबज्दै फर्कने काम भइरहेको छ’, मन्त्री पोखरेलले उदाहरण दिए । तर, अब त्यसरी नहुने र कामबाटै जनतालाई जवाफ दिनुपर्ने मन्त्री पोखरेलले बताए ।आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतको फेहरिस्त पनि मन्त्री पोखरेलले मन्तव्यका कार्यक्रममा राखेका थिए ।

‘नेपाली सेना भाग्यमानी’

प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण अगाडि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयमा विदाइ कार्यक्रम राखिएको थियो । विदाइ कार्यक्रममा पनि पोखरेलले संक्षिप्त मन्तव्य राखेका थिए ।रक्षा सचिव रेश्मीराज पाण्डेले उपप्रधानमन्त्री पोखरेलको कार्यकालको समीक्षा प्रस्तुत गरेपछि मन्त्री पोखरेलले अब रक्षा मन्त्रालय प्रधानमन्त्रीले हेर्ने जानकारी दिए । ‘यो सरकारले यो मन्त्रालयलाई कति प्राथमिकतामा राखेको छ भन्ने यो प्रमाण पनि हो’, उपप्रधानमन्त्री पोखरेलले भने ।उनले नेपाली सेना भाग्यमानी भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले नै यो मन्त्रालयको नेतृत्व गर्नु हुन्छ । नेपाली सेना कति भाग्यमानी’, पोखरेलले भने । राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको थियो ।

कृषिमा ९० प्रतिशत महिला संलग्न भए पनि हुँदैन मूल्यांकन

काठमाडौं। खाना र खेतीपातीमा महिलाको सहभागिता अनुसारको मुल्यांकन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।खाना र खेतीपातीमा महिलाको सहभागिता ९० प्रशितभन्दा बढी भए पनि उनीहरूको कामको मुल्यांकन नभएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।खाना र खेतीपातीमा ग्रामीण महिला किसानको योगदान विषयक बिहीबार भएको भर्चुअल कार्यक्रममा बोल्दै रूपन्देहीमा सामुदायिक रेडियोमा कार्यरत सोना खटीकले ग्रामीण क्षेत्रका महिलाले रिपोर्टिङका क्रममा १६ देखि २० घण्टासम्म काम गर्ने गरेको पाइएको बताइन्।आफूले रिपोर्टिङका क्रममा घरमा को छ भनेर प्रश्न गर्दा महिलाले आफूलाई ‘म छु’ नभनेर ‘कोही पनि छैन’ भन्ने गरेको उनले बताइन्।महिलाले खाना र खाद्यान्न जोहो गर्नकै लागि खेतमा ज्यालादारीदेखि मजदुरीसमेत गर्दै आएको बताउँदै उनले महिलाले अरूको घर तथा खेतबारीमा काम गर्न जाँदा श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको अनुभव आफूलाई सुनाउने गरेको बताइन्।“तर महिलाले जति काम गरे पनि त्यसबापत आउने पैसा भने सबै पुरूषको हातमा जाने गर्छ,” उनले भनिन्, ‘‘यतिसम्म कि खेतबारीबाट उत्पादन गरेको तरकारीलगायत अन्य नगदेबाली बजारसम्म बोकेर पुर्‍याउने महिला तर पैसा भने पुरूषले लिने गरेका छन्।’’

यस्तै, राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले आफ्नो पेट भोको राखेर काम गर्ने महिलाको कामको योगदानको हिसाब नै गर्न नसकिने बताइन्।९० प्रतिशत काम महिलाले गर्ने गरेको, जसमा खेती लगाउने, गोडमेल गर्ने लगायतका उत्पादनका क्षेत्रमा महिलाको सबैभन्दा बढी योगदान रहेको उनको भनाइ छ।पछिल्ला वर्षमा पहाडतिर हलो र तराइतिर ट्रयाक्टरसमेत महिलाले चलाउन थालेको उनले सुनाइन्। “कृषिसँगै पारिवारिक र सामाजिक जिम्मेवारी पनि महिलाकै काँधमा छ,” उनले भनिन्, “छोराछोरीलाई पढाउने लेखाउने, घरको सबै व्यवस्थापनको जिम्मेवारी नै महिलाको छ।”राष्ट्रिय कृषक समूह महासंघका महासचिव रीता बस्ताकोटीका अनुसार बिहान सबेरै उठ्नेदेखि लिएर परिवारको पालनपोषणको जिम्मेवारी महिलाको भागमा छ। तर, उनीहरूले पोषणयुक्त खानेकुरा नपाएका कारण कुपोषणको सामना गरिरहेका छन्।‘‘प्राकृतिक संरक्षणमा पनि महिलाको योगदान एकदमै बढी भए पनि जलवायु परिवर्तनको असर भने महिलाले नै भोग्नुपरेको छ,” उनले भनिन्, “कृषि उत्पादनको एक तिहाइ योगदान महिलाको नै छ।”

 

 

 


Your Views
Related News