”के तपाईं कहिल्यै बलात्कृत हुनुभएको छ ? हुनुभएको छैन भने तपाईं भाग्यमानी । किनभने कुनै पनि उमेरका महिला (र, बालकहरू) लाई बलात्कारबाट जोगाउने ‘भाग्य’ भन्दा ठूलो रक्षक अहिलेसम्म देखिएको छैन । हामी कुनै पनि महिला कुनै पनि किसिमले कुनै पनि बेला बलात्कृत हुनसक्ने संसार र समाजमा बाँचेका छौं ।” – दुई वर्षअघि केदार शर्माले आफ्नो लेख (बलात्कारको विषवृक्ष) मा लेख्नुभएको थियो ।  ढुक्क हुनुहोस, हामी अहिले पनि त्यहि संसार र समाजमा नै बाँचिरहेका छौँ जँहा कुनै पनि उमेरका महिला (र, बालकहरू) लाई बलात्कारबाट जोगाउने ‘भाग्य’ भन्दा ठूलो रक्षक अहिलेसम्म नै देखिएको छैन । दिन-प्रतिदिन मौलाउँदै छ बलात्कारको विषवृक्ष । उहाँकै शब्दमा भन्दा – ”बलात्कार शक्तिमा आधारित यौन अपराध हो र यौनका माध्यमबाट शक्ति प्रदर्शन गर्ने कुकृत्य हो ।” यदि बलात्कार शक्तिको आधारमा गरिदैन थियो भने २, ५, ८, १२, १३ र १४ वर्षका कलिला योनीहरु बलात्कृत हुँदैन थिए । बलात्कारपछि मारिदैन थिए । पाँच सय र एक हजार रुपैयाँमा ति योनीहरुको चीत्कार गुमनाम पारिदैन थिए । र अझै धेरै पिडा तब हुन्छ जब सम्मान र प्रेमका सम्बन्धहरुबाट बलात्कार आफ्नै घरभित्र हुन्छ र त्यो बलात्कारको लाज छोप्न हर सम्भव प्रयास गरिन्छ ।

एउटा बलात्कारीलाई फितलो जरिवानाले माफि गरिदिंदा उसमा कतिसम्मको दुस्साहस थपिदिन्छ भन्ने कुराको उदाहारण हुन् बझाङका राजेन्द्र बोहरा ।१८ वर्षीय राजेन्द्रले १४ वर्षकी बालिकालाई बलात्कार गर्छन् । गाउँका ठुलाबडा कै सल्लाहमा पाँच सय रुपैयाँ जरिवाना तिर्छन् । उनको एउटा बलात्कारको पाप मिनाह हुन्छ, गुपचुपमा । अब उनलाई फेरी अर्को बलात्कार गर्न छुट हुन्छ र त्यसैगरी जरिवाना तिरेर वा धम्काएर पीडकलाई चुप गराउने शक्ति हुन्छ । यसपटक त उनलाई १२ वर्षिया सम्झनाको बलात्कार गर्ने मात्रै हैन ज्यान नै मार्न सक्ने शक्ति आयो ! तर अपसोच: यसपटक उनी पक्राउ परे । बलात्कार मात्रै गरेर हैन, बलात्कारपछि ‘हत्या’ गरेर । गाउँका ठुलाबडा, राजेन्द्रका र सम्झनाका परिवारलाई पनि हत्या भनेको चाहिँ अपराध हो भन्ने थाहा रहेछ, हैन भने त फेरी मिलापत्र मै राजेन्द्रको अपराध मिनाह भैहाल्थ्यो नि । बलात्कारलाई अपराधमा गन्दैन यो समाज अझै । पैसा र ताकतको आडमा चल्नेहरुले ‘बलात्कार भनेको बेइज्जत हो, यस्ता कुरा बाहिर जाँदा आफ्नै इज्जत जाने हो ।’ भन्ने बुझाई विकास गर्छन् र आफैले गरेका धेरै बलात्कारका घटनाहरु गुपचुप पार्छन् । बझाङका राजेन्द्रसँग त्यति शक्ति रहेनछ, जति शक्ति बलात्कारपछि हत्या भएकी १३ वर्षिया निर्मला पन्तको हत्यारासँग छ ।

न्याय मरेको देश भनेर उदाहरण दिनका लागि राम्रै नाम बनेको छ हाम्रा लागि ‘निर्मला’ । तर न्याय मरेको घर-घरमा भेटिन्छ, बस् नियालौँ एकपटक आफ्नै परिवेश, आफ्नो मन अनि आफ्नै हर्कत । बा, काका, मामा, दाई र शिक्षकबाट बलत्कृत छन् छोरिचेली । प्रायः सँधै लुकाइन्छ यस्ता आफ्नैले गर्ने अपराध देखावटी इज्जत जोगाउन ।अशोज १२ गतेको एउटा समाचार – ”आफ्नै बाबुद्वारा १४ वर्षीय छोरीको बलात्कार, आमाले थाहा पाउँदा पनि छोरीले पाइनन् न्याय । अन्तत: उनले आफ्नै बाबुबाट आफुलाई जोगाउन घर छोड्नु पर्छ ।” संसारका सबै प्राणीले आफु सुरक्षित महशुस गर्ने स्थान घर, तर एउटी १४ वर्षिया बालिकाले आफ्नो रक्षाका लागि घर छोड्न पर्ने कस्तो बिडम्बना ? र आमा, आमा त हरेक छोरीका लागि भरपर्दो साथी हुन्छन् हैन र ? तर यहाँ त न आमाले आफ्नै छोरी बलात्कार गर्ने बाबुलाइ अपराधी सबित गर्न सकिन् न त्यो बलात्कारलाई अपराध नै । आमाले दिन नसकेको न्याय अरु कसले दिलाईदेला ति बलखालाई ? के कुराले रोक्यो होला ति आमालाई ? घर, परिवारको इज्जत ले ? समाजमा स्थापित देखावटी इज्जतलाई कहिलेसम्म बलात्कारीको नकाव बनिरहन दिने ? आफ्नै विर्यबाट सिर्जित अर्को स्त्री शरीर भोगको “तुच्छ” लालसा कसरी मौलाउन सकेको, सँधै सम्मान भावमा सम्झिने “पिता” को शरिरभित्र ? शरीरका नाथे एकदुई थान ‘हर्मोन’ त्यति शक्तिशाली हुन्छन् र, कि आफ्नै तनमन पनि वसमा राख्न नसकिने होस् ? यो रोग होर ? कि वस् उहि भोगको लालसा !

दिन-प्रतिदिन हाम्रै वरपर अपत्यारिला बलात्कारका घटना बढीरहेका छन् । त्यस्तै एउटा अपत्यारिलो अनि चुपचाप घरभित्रै सहेको बाल यौनशोषणको घटनालाई विषयवस्तु बनाएको चलचित्र सम्झन्छु यहाँ । भनिन्छ चलचित्र समाजको ऐना हो । हो, यो चलचित्रको विषयवस्तुले हाम्रै समाजको प्रतिबिम्ब देखाएको छ ।हामी दुईजना थियौँ, “रात अकेली हे” फिल्म हेर्दा, फिल्मको पुरै अवधी सँगै रह्यौँ । फिल्म सकियो । एउटै विस्तारामा पल्टियौँ, सँगै । फिल्मकै दृश्य मनसापटलमा घुमिरह्यो । मनमा अनेक तरंग छुट्न थाले । ती अनेक तरंगका ज्वारभाटाले निष्पट्ट अध्यारो रातमा म एक्लिएँ, आखिर रात एक्लो नै थियो सायद !बुवाको पनि दाई, ठुलोबुवाले भर्खरै कोपिला लाग्दै गरेकी फुलजस्ती छोरीलाई बलात्कार गर्छ, एकपटक हैन पटकपटक । आफ्नै बालापन नसकिएको बाल शरीरभित्र भ्रुण हत्या गर्न पछि हट्दैन उ । उनकी आफ्नै आमाले यी सबै घटनाको जानकारी पाउछिन् । हो उनकी आफ्नै आमा, ९ महिना उनी हुर्किएको कोख, उनको दाजुलाई जतिनै प्रसव पीडा सहेर उनलाई यो धर्ती टेकाएकी आमा, उनैले थाहा पाउछीन् कि उनकी छोरी आफ्नै पतिको दाजुबाट बलात्कृत भइराखेकी छिन् । तर…..तर उनलाई त छोराको भविष्य र उसका भौतिक विकासको कति ठुलो हिसाब गर्दा गर्दै छोरीले भोगेको मानसिक विक्षिप्तता भने एक चिम्टी पनि महसुस हुन भ्याउदैन । योवन शुरु नहुँदै शरीर लुछिनु परेको विवसताले छोरीको बाल मष्तिस्कमा कतिसम्म असर पर्यो होला भन्ने अन्दाज नै गर्न सक्दिनन् ति आमा । आफ्नै छोरीमाथी भएको बलात्कारलाई अपराध प्रमाणित गर्न सक्ने अरु दुई शरीर चितामा पुर्याउन तयार हुन्छिन् उनी, ठुलो खानदानको इज्जत बचाउन । अनि अपराधी त्यहि इज्जतको रवैयामा आफ्नो कालो कर्तुत पैतालामुनि कुल्चिएर हिड्छ । न उसलाइ कुनै पश्चताप, न कुनै हिनताबोध !

यौनका बिषयमा अझै संकुचित सोच र समाज छ हामीसंग जँहा यौन शिक्षा जरुरि नै ठानिदैन । यौनका कुरा लाजका कुरा भनेर बुझाइन्छ । हरेक लिंगका लागि सम्मान जरुरि छ भन्ने कुरा न आफुले बुझे जस्तो गर्न सकेका छौँ न आफुभन्दा पछिका पुस्तालाई बुझाउने कोशिस नै गरेका छौँ । हाम्रो समाजमा महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ । आफु बलात्कृत भएरै पनि महिलाको योनीले नै थेगीदिनु पर्ने हुन्छ घर, परिवार र समाजको इज्जत ।नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०५३/५४ मा ११२ रहेको बलात्कारका घटना २०७३/७४ मा आइपुग्दा एक हजार एक सय ३१ पुगेको छ । त्यसपछिका वर्षहरु २०७४/२०७५ मा एक हजार चार सय ८०, २०७५/२०७६ मा दुइ हजार दुई सय ३०, २०७६/७७ मा दुई हजार एक सय ४४ र पछिल्लो चैत १० गतेदेखि श्रावण १० गतेसम्मको आवधिमा मात्रै सात सय १७ बलात्कारका उजुरी दर्ता भएका छन् भने एक सय ९९ बलात्कारको प्रयास भएका छन् । यी त प्रहरी चौकीसम्म पुग्न सक्ने हिम्मत राख्नेहरुको मात्रै उजुरी हुन् । मिलापत्र, धम्कि र दबाबमा घर, छिमेक, बिद्दालयको एउटा कुनामा दबाइएका बलात्कार कति होलान् ? यसको लेखा जोखा राख्ने न कुनै ढड्डा छ, न त कुनै प्रहरीको ‘वेवसाइट’ ।

सोच्न मात्रै पनि कहाली लाग्ने प्रकृतिका बलात्कारका घटनाहरु अप्रत्यासित रुपमा वृद्धि हुनुले हाम्रो सामाजिक चेतना र राज्यको न्यायिक प्रणालीप्रति नै प्रश्न चिन्ह खडा गरेको छ ।बेला बखत ‘बलात्कारीलाई फासी दे’ भन्दै सडक नातातेका पनि हैनन्, सामाजिक सञ्जालमा ‘जस्टिसफरनिर्मला’ र ‘ह्यांगदरेपिस्ट’ जस्ता ‘ह्यासट्याग’ले एक किसिमको तरंग नल्याएको पनि हैन । तर यो देशमा न त बलात्कृतको पिडा देख्ने न्याय छ, न त सडक र सामाजिक सञ्जालको तरंग देख्ने सरकार नै ।बलात्कारलाई अपराध मान्ने कति जना हुनुहुन्छ होला हाम्रो समाजमा ? अनि बलात्कार गर्न सक्ने शक्ति भएका कति छन् होला ? कसले दियो होला कसैलाई बलात्कार गर्ने अधिकार ? तपाइले, मैले, हाम्रो समाजले या राज्यले ? एक स्त्री पनि एक मानव हो भन्ने अस्तित्व खै ? खै एउटा स्त्रीले पाउनु पर्ने सम्मान ?योनी, हरेक मानवको जीवन यात्रा शुरु गर्ने उद्गमस्थल हो । उसले सिर्फ डरमा बच्नुपर्छ भने, उसँग योनी भएकै कारण उसको कुनै सम्मान हुँदैन भने, के अर्थ कोहि रहनु या नरहनुको ?


Your Views
Related News