हरेक मानिस बलात्कारी हुँदैनन् । तर, कुनै–कुनै मानिस कसरी बलात्कारी बन्न पुग्छन् त ? उसको दिमागमा के त्यस्तो घुम्ने गर्छ, जसले उसले महिलालाई भोगको वस्तु सोच्न पुग्छ ?बलात्कारका घटनाबारे चर्चा हुँदा बलात्कृत महिलाले भोग्नुपरेको पीडा या बलात्कारका सामाजिक–सांस्कृतिक कारणहरूको बढी चर्चा हुने गर्छ । तर, कुनै व्यक्ति बलात्कारी कसरी बन्न पुग्छ भन्ने प्रश्नको जवाफ भने कसैले खोजेको देखिँदैन । के बलात्कार भनेको यौन सन्तुष्टि नपाएको कुण्ठामा गरिएको कुकृत्य मात्रै हो ? के कुनै विशेष समूह या प्रकृतिका व्यक्तिहरू मात्रै बलात्कारी हुन्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ? या फेरि हरेक पुरुषभित्र बलात्कारी मानसिकता हुन्छ त ?

बलात्कारीको मानसिकता 

अमेरिकाका मनोवैज्ञानिक डा. स्यामुअल समिथिम्यानले सन् ७० को दशकमा एउटा अनुसन्धान गरेका थिए । यसका लागि उनले बलात्कार गरेको बताउने ५० जना पुरुषसँग कुराकानी गरेका थिए । सामाजिक रूपमा ती पुरुषहरू फरक–फरक पृष्ठभूमिका थिए । उनीहरूको सामाजिक हैसियत पनि एक–अर्काभन्दा भिन्न थियो । सोच–विचार पनि उनीहरूको भिन्नै देखिन्थ्यो । तर, अनुसन्धानका क्रममा उनीहरूबीच केही समानता रहेको पत्ता लाग्यो । उदाहरणका लागि उनीहरू सबै महिलाप्रति द्वेषभाव राख्ने गथे । उनीहरूभित्र सहानुभूतिजस्तो भावनाको कमी थियो र उनीहरू निकै अहंकारी थिए । अहंकार या घमन्ड अगाडि उनीहरूले केही देख्दैनथे ।अमेरिकाका अर्का मनोवैज्ञानिक सेरी ह्याम्बीले डाइचे भेले समाचार एजेन्सीसँगको कुराकानीमा बलात्कारको मुख्य कारण यौन सन्तुष्टि नभएको बताएका छन् । उनका अनुसार बलात्कारमा यौनसन्तुष्टिभन्दा विपरीतलिंगीमाथि हाबी हुने मनोविज्ञानले प्रभाव पार्छ । बलात्कारका बढीजसो आरोपी युवा पुरुष हुने गर्छन् । उनीहरूले आफ्नो साथी–समूहबीच आफ्नो छवि या व्यक्तित्व यस्तै तरिकाले राम्रो बनाउन खोज्छन् । जस्तो कि सेक्समा कत्तिको सक्रिय छन्, केटीहरूलाई कत्तिको पटाउन सक्छन् या कुनै पनि महिलासँग उनीहरू निर्धक्क जे पनि गर्न सक्छन् आदि इत्यादि । सेरी ह्याम्बी अगाडि भन्छन्, ‘युवावयमा यदि सेक्स गर्न नसकेको या केटीसँग सम्बन्ध राख्न नसकेको भन्ने अरूले थाहा पाए भने साथीहरूले मजाक उडाउने र आफ्नो इज्जत कम भएको ठान्ने मनोविज्ञानसमेत हुन्छ ।’मिडिया, चलचित्र र विभिन्न सूचनाका माध्यमले पनि पुरुषमाथि ‘मर्द’ बन्नैपर्ने दबाब प्रत्यक्ष या अप्रत्क्ष रूपमा थोपरेको हुन्छ । यस्तो अवस्थामा आफ्नो मर्दाङ्गी प्रमाणित गर्न उनीहरू महिलाको शोषण गर्न अघि सर्छन् ।

डाइचेभेलेमा प्रकाशित एक रिपोर्टअनुसार बलात्कार गर्ने पुरुषहरूले महिलालाई मात्र सेक्स अब्जेक्ट अर्थात् यौनवस्तुका रूपमा हेर्ने गर्छन् । उनीहरूलाई महिलाहरूको काम नै पुरुषको शारीरिक आवश्यकता पूरा गर्ने हो भन्ने लाग्छ । तर, उनीहरूले सोच्ने कुरा यथार्थभन्दा टाढा हुन्छ । जस्तो कि उनीहरू महिलाको ‘नाइँ’ या हुन्न’ लाई पनि ‘यसले मलाई रिझाउन या मनाउन खोजिरहेकी छ भन्ने अर्थमा बुझ्ने गर्छन् । परम्परादेखि नै महिला रिसाएमा उसलाई फकाउन सकिन्छ या महिलाले कतिपय वेला पुरुषलाई त्यत्तिकै पनि रिस देखाउँछन् भनेर हाम्रो परम्परा, कथा, साहित्यमा वर्णन गरिने कुराले पनि उनीहरूमा गहिरो छाप पारेको हुन्छ ।कुनै वेला पुरुषका लागि महिलाको ‘नाइँ’ या ‘हुन्न’ भन्ने कुरा इगो हर्टको रूपमा या हारजितको मनोविज्ञानमा रुपान्तरण हुन्छ । उनीहरूका लागि महिला भनेको भोग्य वस्तु हो र उसले नाइँ भन्नु मर्दपन या पुरुषत्वलाई चुनौती दिएजस्तो पुरुषले सोच्ने गर्छन् । अमेरिकाका मनोवैज्ञानिक एन्टोनियो ऐबीले गरेको एक अनुसन्धानमा बलात्कारीहरूले ‘त्यो महिलाले निकै भाउ खोजेकी थिई, त्यसैले रेप गरेँ’ भनेको उल्लेख गरेका छन् । अर्का बलात्कारीले चाहिँ सुरुमा त केटीहरूले हुन्न भनिहाल्छन् नि भनेका थिए ।अध्ययनका क्रममा ती युवाले आफू जुन कुराको हकदार हो, त्यही पाएको प्रतिक्रिया दिएका थिए । ‘बलात्कार गरिसकेपछि मैले त्यो चिज हासिल गरेँ, जुन मैले पाउनुपथ्र्यो । मैले उसले मलाई आकर्षित पार्न खोजेको कुराको पुरस्कार दिएजस्तो लाग्यो ।’

ती व्यक्तिले दुइचोटि बलात्कार गरे । दुवैपल्टको अनुभवमा उसले बलात्कार गर्ने वेला आफूभित्र हिम्मत थपिएको, उत्तेजित र रोमाञ्चित भएको अनुभूति गरेको बताए । सेरी हैम्बीका अनुसार जुन समाजमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा लिइन्छ, त्यस्तो समाजमा बलात्कारका घटना बढी हुने गर्छ । यस्तो समाजमा सानैबाट पुरुषलाई भावनामा नबग्न र पुरुषार्थ देखाउन सिकाइन्छ । यस्तो सामाजिक परिवेशमा हुर्केका पुरुषलाई आफ्नो भावना र उत्तेजनालाई कसरी नियन्त्रण गर्ने भन्ने कुराको ज्ञान या अनुभूति हुँदैन । उनीहरूका लागि जसरी भए पनि पुरुष भनेको महिलाभन्दा शक्तिशाली, महिलामाथि हैकम लाद्ने र महिला पुरुषले जसरी चाह्यो त्यसैअनुरूप हिँडाउन सकिने बस्तु हुन्छिन् । त्यसैले उनीहरूका लागि महिलाहरूसँग हुने सम्बन्धहरूमा विजेता बन्नैपर्ने मानसिकताको विकास भएको हुन्छ । र, बलात्कारका घटनाहरू यही मनोविज्ञानका कारण बढी हुने गर्छन् ।

नेपाली समाजमा बलात्कारका घटनाहरूको विहंगम समाजशास्त्रीय या मनोवैज्ञानिक अध्ययनको कमी भए पनि बन्द समाज भएका भौगौलिक क्षेत्र र खुला समाज भएका भूभागमा बलात्कारका घटनामा फरक देखिन्छ । समाजले महिलालाई कुन दृष्टिकोणले हेर्छ र त्यहाँ कस्तो प्रकृतिका पुरुष मनोविज्ञानको विकास हुन्छ भन्ने कुरालाई नेपालका विभिन्न बलात्कारका घटनासँग दाँजेर हेर्ने हो भने सेरीको अध्ययनसँग समानता भेटिन्छ । अझ नेपालको सन्दर्भममा त हाम्रो जातीय र आर्थिक संरचनाले समेत बलात्कारलाई प्रश्रय दिएको देखिन्छ । पूर्वी तराईका बलात्कारका अधिकांश घटनामा जातीयता र पुरुष सर्वोच्चताको सम्मिश्रित मनोविज्ञान देखिन्छ भने पहाडी क्षेत्रका कैयन् घटनामा आर्थिक र सामाजिक हैसियतले बलात्कारी मानसिकता निर्माण गरेको देख्न सकिन्छ ।योसँग महिलाहरूलाई भोग्या या सन्तान जन्माउने वा पुरुषको यौनतुष्टि गर्ने वस्तुको रूपमा व्याख्या गर्ने कतिपय हाम्रो धार्मिक तथा सांस्कृतिक मान्यताले सिर्जना गरेको मनोविज्ञानसमेत जिम्मेवार देखिन्छ । र, यसलाई श्रव्यदृश्य मिडियामा यौन र विपरीत लिंगबीचको सम्बन्धलाई जसरी प्रतिबिम्बन गरिएको छ, त्यसले थप मलजल गरेको छ ।भारतको राजधानी दिल्लीमा निर्भया बलात्कार काण्डपछि अधिकांश समाजशास्त्री तथा बौद्धिक जमातले भारतमा बलात्कार बढ्नुका पछाडि बलिउड संस्कृतिलाई जिम्मेवार ठह¥याएको सन्दर्भसमेत हाम्रा लागि उत्तिकै सान्दर्भिक छ ।

धेरै प्रकृतिका हुन्छन् बलात्कारी

बलात्कारी धेरै किसिमका हुन्छन् । केहीले मौकाको फाइदा उठाउन खोजेका हुन्छन् भने केहीको मनसाय भने जसरी पनि महिलालाई दोस्रो दर्जाको देखाउने या उनीहरूको इज्जत लुट्ने हुन्छ । कुनै–कुनैको मनमा भने यति धेरै रिस र पूर्वाग्रह भरिएको हुन्छ कि उनीहरू बलात्कारको माध्मबाट महिलाहरूसँग त्यसको बदला लिन खोजेका हुन्छन् । यस्ता व्यक्तिहरूमा विगतमा भाग्यले आफूलाई महिलाका सम्बन्धमा धोका दिएकाले उनीहरूसँग बदला लिने या केही गलत गर्ने अधिकार रहेको मनस्थिति विकास भएको हुन्छ । बलात्कारमा संलग्नमध्ये ‘मैले बलात्कार गरेँ र यो समाजको आँखामा नराम्रो वा गलत काम हो’ भन्ने कुरालाई टार्न खोज्छन् । आफ्नो गल्ती स्वीकार गर्नेले पनि आफ्नो सफाइ या स्पष्टीकरणका लागि केही न केही तर्क अवश्य नै बनाएका हुन्छन् । वास्तविकता त के हो भने बलात्कार या कुनै पनि किसिमको यौनशोषण अपराध हो र कुनै पनि बहानाले त्यसलाई सही ठह¥याउन सकिँदैन । महिलाहरू प्रायजसो आफूमाथि हुने अत्याचारलाई लिएर मौन नै बसेका हुन्छन् । महिलाहरूको यही मौनताका कारण बलात्कारीहरू खुलेआम हिँड्डुल गर्छन् र फेरि अर्कोलाई निसाना बनाइरहेका हुन्छन् ।

 


Your Views
Related News