समता फाउन्डेसनले उत्पादन गरेको कार्यक्रम ‘जातको प्रश्न’ का कार्यक्रम प्रस्तोता महानायक राजेश हमालको तस्बिर जलाइयो । महानायक राजेश हमाललाई इसाईको दलाल भनेर ठूलो आलोचना गरिरहिएको छ । यो सबै कठोर जातिवादीहरूको पराकाष्ठा हो ।झट्ट पढ्दा सुन्दा सामान्य लाग्ने जातको प्रश्न हजारौं बर्षदेखि दलनले लपेटेको चित्कार आवाजसहित निरन्तर उठ्दै आइरहेको छ । तर उत्तर अहिलेसम्म न धर्मको पुलिन्दा घोट्ने पण्डितहरूले दिन सके, न जातीय व्यवहार गर्ने मान्छेहरूले दिन सके, न राज्य सत्ताले नै दिन सकेको छ । तर प्रश्न निरन्तर उठिरहेको छ । यो गम्भीर सामाजिक सहअस्तित्वको प्रश्न हो । जहाँ मान्छेको स्वाभिमान र सहअस्तित्व जोडिएको छ ।जातको प्रश्नले मस्तिष्क छेड्ने गरी यति धेरै क–कसलाई दुख्यो र किन दुःखी नै रहन्छ ? दुख्नुको कारण के हो ? यो प्रश्नमाथिको प्रश्न अझ चोटिलो छ । यसरी जातको प्रश्नमाथि प्रश्न तेर्सी नै रहन्छ । यहि प्रश्नहरूको कारखानमा करिब ३५ सय बर्षदेखि रूमलिएको दक्षिण एसियाली समाज अहिलेसम्म पनि बन्न सकेको छैन ।

जातको समस्या किन छ ? भन्ने प्रश्नबाट खोज्दै जाँदा जात व्यवस्थाको जरा कहाँ छ ? भन्ने स्थानसम्म पुग्नै पर्छ अनि मात्र जात व्यवस्था सहि या गलत भन्ने कुराको निर्णय लिन सकिन्छ । जात व्यवस्थाको नालिबेली खोज्दै जाँदा करिब ४५ सय बर्ष अगाडि रचित ऋग्व वेदसम्म पुगिन्छ । जात व्यवस्थाको जननी ऋग्व वेद नै हो ।अफ्रिकी देश इथियोपियाको ओमो भन्ने ठाउँमा भेटिएको होमो स्यापियन्सको जीवावशेष नै सबैभन्दा पुरानो हो भनेर बैज्ञानिकहरू मान्दछन् । मानव पुर्खाको उद्दगम विन्दु इथोपियाको ओमोदेखि आधुनिक मानव होमो स्यापियन्ससम्म आइपुग्दा मानव सभ्यता पृथ्वीको चारैतिर छरिएर विभिन्न स्थानमा ठूला ठूला महासभ्यताको विकास भएको छ ।नेपालको सामाज पनि विभिन्न महासभ्यताहरूको संगमबाट निर्माण भएको छ । पाँच महासभ्यताको महासंगम हो नेपाल । त्यसैले यहाँ साँस्कृतिक विविधता छ । तर यस विविधता बीचमा सहअस्तित्व कायम छैन । राज्य शक्ति नै लागेर सारा विविधतालाई मासेर एक राज्य एकल पहिचान स्थापना गर्न ठूलो ठूलो प्रपञ्च रचिएको इतिहास एवम् वर्तामान साक्षी छ ।
नेपाल पाँच महासभ्यताको महासंगम हो ।

१. उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता ।

२. युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता ।

३. युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल प्रवेश गरेको वैदिक आर्य सभ्यता ।

४. मोहेनजोदारो र हडप्पा जस्ता सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर एवम् पटकपटक लड्दै नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता ।

५. चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता ।
यी सभ्यताहरू फरक–फरक समयमा नेपाल प्रवेश गरेको छ ।

जुन युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता छ । यस सभ्यतामा वर्ण व्यवस्था लागुसँगै वर्णकै आधारमा जातको स्थापन भयो । यहि जातको आधारमा शासक र शासित, दास र मालिकको संरचना बनाएर जातकै आधारमा कानुनसम्म बनाएर मान्छेलाई कुलवंशमा जन्मिएको आधारमा जन्मसिद्ध एउटा जातलाई तिरष्कार र अर्काे जातलाई सत्कार गर्न थालियो ।जात व्यवस्थाले निर्मम जरा गाड्यो । जात व्यवस्थाको चरम प्रयोग र विभिन्न धर्मग्रन्थहरूमा ब्याख्या एवम् पुनः ब्याख्या गरिन्दै ब्राह्मणवादको स्थापना भयो । ब्राह्मणवादले राज्यसत्तादेखि समाजको तल्लो धरातलसम्म घर गरेको छ । यस ढोंगले समाज क्षतविक्षत बनाएको छ ।ब्राह्मणवाद भनेको ब्राह्मणविरोधी सोंच होइन । कसरी हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताहरू निश्चित जातका मानिसका लागि बरदानसिद्ध हुन पुग्यो र एकै समाजमा बस्ने अर्को समुदायमाथि थिचोमिचो सहनु पर्ने अभिषाप हुन पुग्यो भनेर विभेदको कडी पत्ता लगाइएको सोच हो । हाम्रो हिन्दू धर्मको सामाज व्यवस्थामा ब्राह्मणहरूलाई पहिलो दर्जाको मान्छेको रूपमा स्थापित गरिएको छ र शुद्रलाई तुच्छ जाति भनेर व्याख्या गरिएको छ । यहि ब्राह्मणवादको जगमा जात, वर्ग र लैंगिक दृष्टिकोण ब्राह्मणवाद हो ।

हिन्दु धर्मशास्त्रले ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रलाई क्रमानुसार राखेका छन, जसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । एक जातको पुरुषले अर्को जातकी महिलासँगको विवाह गरेर सन्तान जन्माउँदा विभिन्न जात उत्पन्न भएको तर्क गर्छन् । वर्णाश्रमअनुसार उच्च जातको पुरुषले निम्न जातकी महिलासँग विवाह गर्न सक्छ । यस्तो बिवाहलाई अनुलोम बिहे र यस्तो बिवाहबाट जन्मेका सन्तानलाई अनुलोम सन्तान भनिन्छ ।तर, निम्न जातको पुरुषले उच्च जातकी स्त्रीसँग विवाह गर्न पाउँदैन । कदाचित् विवाह भयो भने यस्तो बिहेलाई प्रतिलोम विवाह र यस्तो विवाहबाट जन्मेका सन्तानलाई प्रतिलोम सन्तान भनिन्छ । धर्म शास्त्रमा नै लेखेर कानुनको रूपमा पालना गरेको यस्ता मान्यताहरू अझैसम्म चरम छ । फलस्वरूप विवाहकै कारण अजित मिजार, नवराज विक जस्ता हजारौं मान्छेहरूको निर्मम हत्या भइरहेको छ । यो सहअस्तित्व होइन जातीय अतिवाद हो ।यसरी जातको नाममा अछूत बनाएर मान्छेले मान्छेलाई बहिष्कार गरिन्छ । कुटिकुटि, तड्पाई–तड्पाई मारिन्छ । सयरी हिंसात्मक तरिकाले तड्पाई–तड्पाई मार्नुको एउटै मात्र कारण छ । जुन कारण हो कथित सानो जात हुनु । यस्तो अमानवीय घटना जबजब घट्छ कथित ठूला भनिएका जातभित्रको सचेत हुँ भन्नेहरू प्राय मौन बस्दछन् । हदैसम्मको अत्याचार विरूद्ध जबजब शोषण दमनमा परेका जातहरूको पक्षबाट आवज उठ्छ । तबतब कथित ठूला जातभित्रका सचेत हुँ भन्नेहरूको बोली फुट्छ । समाज यस्तै छ ।

समाज आजको भोलि कहाँ परिवर्तन हुन्छर ? म त तिमीहरूसँगै बसेर खान्छु नि । म विभेद गर्दिन । यसरी जातको कुरा नगर भन्छन, भने पण्डित र धर्मका अनुयायीहरुले ख्रिष्टियनको आरोप लगाएर आफ्नो धर्मलाई पवित्र सावित गर्न खोज्छन् । राज्यसत्ता भने शोषित उत्पीडित जात वर्गको आवाज निस्तेज बनाउने काम गर्छ । यस्तो बुज्रुक कुरा गर्ने मान्छेले कहिले आफ्नो जात धर्मको गलत कुराहरूको खण्डन गर्ने आँट गर्नै सक्दैन । वास्तविक कुरा यहि हो । आफ्नो जात धर्मको यति धेरै माया छ भने अरूलाई सम्मान गर्न सिक्नै पर्छ ।प्रवृति र ब्राह्मणबादको विरूद्ध खुलेर बोल्ने सामाजिक न्याय स्थापित गर्नुपर्छ विभेदको अन्त्य गरिनु पर्छ भन्ने अभियान्ताहरूलाई जातिवादी, ख्रिष्टियन दलालको ठूलो आरोप लागाएर आफ्नो हिन्दु धर्म पवित्र भएको गलत हुङ्कार छोड्छन् । यसरी आरोप लगाई रहदा एउटाले निर्माण गरेको गलत विचारको पक्षपोष गरेर हजारौँ बर्ष विभेदमा पारिएका समुदायको पीडामाथि पीडा दिनेहरूले हिजोका समयमा भएको ऐतिहासिक भुलबाट आत्मालोचित हुनैपर्छ र सचिनु नै पर्छ ।कुसंस्कारको हिरासतबाट अभियान्ताहरूले सत्य बयान दिइरको बखत कठोर जातिवादीहरूलाई दुख्छ । किन दुख्छ ? दुख्नुको एउटै कारण हो जात र धर्मको कारण म सर्वश्रेष्ठ हुँ अरू सबै खराब हुन् भन्ने ठुलो घमण्ड हो । यस घमण्डले स्थापना गरेको मूल्य मान्यताहरू सहि छ भनेर बस्नुु र त्यसको पक्ष पोषण गर्नु भनेको आँखामा पट्टि बाँधेर भिरैभिरको बाटो हिड्नु हो ।जात र धर्मको घमण्डको विशाल पहाडले उचालिएका मान्छेको भ्रमात्मक मनोविज्ञान गम्भीर किसिमको सामाजिक रोग हो । यस रोगबाट मुक्त हुन जातीय र धार्मिक दम्भ त्यागेर, जात व्यवस्थाको अन्त्य गरिनु नै पर्छ ।जातिवादी र गैरजातिवादीहरूको बहस ऐना र अनुहार जस्तै छर्लङ्ग छ । जसरी शुद्र पैलाताबाट उत्पति भयो र ब्राह्मणको उत्पति मुखबाट भयो भनेर आफूले आफैलाई पवित्र ठानेर व्याख्या गरियो तर शुद्रले हजार बर्षदेखि डोर्‍याएर विज्ञान र प्रविधि यहाँसम्म ल्याए तर हजारौं बर्ष पठनपाठन गर्ने शिक्षित भनिएकाहरूको ज्ञान आजसम्म खोक्रो नै देखियो । धर्मलाई आड मानेर जातको आधारमा मान्छेको निर्मम हत्या गरेर अभियान्ताहरूको फोटो जलाएर कोही पनि भगवान हुँदैन कम्तिमा मान्छेसम्म हुने चेत आओस् ।


Your Views
Related News