तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए । हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उहाँले बताए।आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् । वडाध्यक्ष गुरुङले भने, “विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।” उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उहाँले भने, “सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।”

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए। चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भन्नुभयो, “सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।”जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिए।

बुल्दीखोला पुलको रेलिङ भाँच्चिदा जोखिम

पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको व्यासनगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँच्चिदा उच्च जोखिम बनेको छ । पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केही रेलिङ भाँच्चिएपछि उच्च जोखिम बनेको हो । भाँच्चिएका रेलिङ समयमा मर्मत नहुँदा गत भदौ १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको खुट्टा भाँच्चिएको थियो । बेवारिसे भएको उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरा लगि उपचारपश्चात घर फर्किएका छन् । व्यासनगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रकम सङ्कलन गरी उनको उपचार गरिएको हो ।

त्यसैगरी यही असोज २८ गते साँझ पुनः एक जना सोही पुलको रेलिङ नभएको स्थानबाट खसेर घाइते भएका छन् । बागलुङमा ज्यालामजदुरी गर्दै आएका कटारी नगरपालिका–९ भोर्लाका ३७ वर्षीय प्रेम रोका पुलबाट खसेर सख्त घाइते भएका छन् । बागलुङबाट दमौली झरेर पैदल हिँडेर घर जाने क्रममा खस्दा घाइते भएका हुन् । उनको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।पुलको रेलिङ जीर्ण र भाँच्चिएर खतरा बन्दै गएपछि उक्त रेलिङ मर्मतसम्भार तत्काल गर्न लागिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमितकुमार श्रेष्ठले बताए । उक्त पुल हुँदै दैनिक विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण आवतजावत गर्दैै आएका छन् । मानिस साँझबिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मतसम्भारको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । दशैँअगावै उक्त पुलको रेलिङ मर्मतसम्भार कार्य गरी सहजरूपमा यात्रा गर्ने व्यवस्था मिलाइने उनले बताए ।

READ MORE NEWS

घण्टौं जामले हैरानी

क्षतविक्षत सडक र धेरै स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालनमा आएकाले घण्टौंसम्म जामको सास्ती खेप्दै यात्रु र चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

पाल्पा — तराईबाट पहाड जोड्ने छोटो दूरीको सडकमध्येमा पर्छ सिद्धार्थ राजमार्ग । यो राजमार्ग भएर रूपन्देहीबाट गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म पुग्न सकिन्छ ।भारतीय सीमा सुनौलीदेखि १ सय २० किलोमिटरमा गण्डकी प्रदेशको राजधानी पोखरा पुगिन्छ तर समयमै सडक मर्मत नगर्दा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । वर्षायाम होस् वा हिउँद, जहिलेसुकै सिद्धबाबा क्षेत्रमा यात्रु र चालकले हैरानी खेप्नुपर्छ ।पछिल्लो केही महिनायता सडकमा खसेको पहिरो हटाउने कामसमेत अहिलेसम्म भएको छैन । ठाउँ–ठाउँमा सडक भासिएको छ । यसका कारण चालक र यात्रुले जोखिम र सास्ती बेहोर्दै यात्रा गर्नुपरेको बताउँछन् चालक शिव शेरचन । उनका अनुसार अहिले काठमाडौंबाट पाल्पा पुग्दा कम्तीमा ४ देखि ६ घण्टा जाममा बस्नुपर्छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा जामको हैरानी खेपेका उनले सिद्धार्थ राजमार्गमा कम्तीमा ४ घण्टा जाममा बस्नुपरेको सुनाए । ‘दाउन्ने अनि यहाँको जाम, नहिँडी हुँदैन, हिँडौं हैरानी मात्रै छ,’ उनले भने, ‘एक दिन होइन, महिनौंदेखि यस्तै समस्या छ ।’ शेरचनको मात्र होइन, केही महिनायता सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हरेकको यस्तै अनुभव छ ।

विशेष गरी यस राजमार्गको बर्तुङ–चिडियाखोला सडक खण्ड क्षतविक्षत बनेको छ । यस वर्षको वर्षायाममा धेरै स्थानमा सडक भासिएकाले पनि यातायात सञ्चालन एकतर्फी हुँदा जामको हैरानी खेप्नुपरेको हो । ‘बुटवल पुगेर तानसेन फर्किन ४ देखि ६ घण्टाको समय छुट्याए हुन्छ,’ जिप चालक सुमित कुँवरले भने, ‘घण्टौं जाममा फस्नु सामान्य भइसकेको छ ।’ राजमार्गको चिडियाखोला नजिकै कदमबास, सिद्धबाबा क्षेत्र, ड्यामसाइड, पैठेडाँडामा सडक भासिएको छ । यस्तै, भूतखोला, झुम्सा, पानीमिल, चौबीस माइलमा पनि सडक भासिएर यातायात एकतर्फी मात्रै सञ्चालनमा छ । सडक कहिलेसम्म मर्मत हुने हो कुनै ठेगान छैन ।सडक डिभिजन कार्यालय, पाल्पाले भने भासिएको सडक यस वर्ष नबन्ने जनाएको छ । ‘पहिरो सफा गर्न बजेट छ,’ सडक डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले भने, ‘तर भासिएको सडक बनाउन बजेट छैन । अहिले आउनेजस्तो अवस्था पनि देखिएको छैन ।’चुनढुंगा खानी सञ्चालनमा रहेकाले हाल यो सडक हुँदै दैनिक ८ सयभन्दा बढी टिपर मात्रै आउजाउ गर्छन् । ‘चाडपर्वका मुखमा टिपर सञ्चालनले झनै जाम हुने गरेको छ,’ चालक कुँवरले भने, ‘यस्तै हो भने यस वर्ष झन् दुःख पाउने अवस्था हुन्छ ।’ राजमार्गका केही स्थानमा अघिल्लो वर्षदेखि नै भासिन सुरु गरेको हो । यस वर्ष धेरै स्थानमा दुईतर्फी सवारी सञ्चालन हुन नसक्ने गरी सडक भासिएको छ ।

कतिपय स्थानमा कम्तीमा ५० देखि ८० मिटर लम्बाइमा राजमार्ग भासिएको छ । सडकमा भेटिएका लेन्थमेन सुपरभाइजर जंगबहादुर सुनारले भने, ‘यस वर्षको वर्षातमा सडक धेरै भासियो, पानी धेरै परेकाले सडकको ५० मिटर माथिबाट तिनाउ खोलासम्मै बगेको छ ।’ उनका अनुसार अघिल्लो वर्ष भूतखोला र सिद्धबाबा नजिकै सडक भासिएको थियो ।भासिएको सडकमा ग्राभेल राख्ने र कटिङ गर्नुपर्ने हुन्छ । यस सडक खण्डमा दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । पहाडी भेगमा जाने मालवाहक ट्रक र असोज लागेपछि चुनढुंगा बोक्ने टिपर गुड्ने भएकाले बढी जाम हुने गरेको पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।

READ MORE NEWS

७२ घण्टामा नै सकियो फिल्म ‘श्री’sharethis sharing button

काठमाडौं – नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।फिल्म फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टामा फिल्मको सुटिङ सकिएको हो । सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्की लगायतको फिल्ममा अभिनय रहेको छ ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् । बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको निर्देशक बोहोराले बताए ।शेरबहादुर तामाङको छायाँकन, सुजन बडालको सम्पादन रहेको फिल्म दुई घण्टा अवधिको रहेको छ । फिल्म हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना निर्माण युनिटको रहेको छ ।

Your Views
Related News