काठमाडौं, ३० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड(-१९) को खोप नपाउन सक्ने बताएको छ ।डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समूहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।

उनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, अग्रभागमा खटिने कर्मचारी र वृद्धवृद्धाहरुले यो खोप पाउने छन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाई छ ।स्वामी नाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताएकी छन् ।
READ MORE NEWS
गंगाको उधारो जिन्दगी 

काठमाडौं–मैलिएको टिसर्ट। हाफ कट्टु। एकजोर पुराना चप्पल। भारी बोक्दा टाउको नबिझाओस् भनेर बाँधिएको गम्छा। दिन बिट मार्ने तरखरमा छ। उनी पनि कामको बिट मार्ने तर्खरमा छन्। छेवैमा रहेको गिट्टीको थुप्रोबाट भारीको जोहो गरिरहेका छन्।

‘काम पाउन बहुत गाह्रो छ। यहाँको काम त आजसम्म मात्रै हो। भोलिलाई अन्तै कतै काम दिन्छु भनेको छ। काम हुने भयो भने भरे थाहा हुन्छ’ बोलीमा हिन्दी लबज मिसिएको छ।

तपाईंको नाम ?
गंगा माझी
घर ?
‘रामखोला स्याङ्जा’
यहाँ कता बस्नु हुन्छ ?
‘यहीँ कलंकी’
कति भयो यो काम थाल्नु भएको ?
‘१० साल भयो’

बोलीमा मिसिएको हिन्दी लबज र पहिरनबाट गरिएको अनुमानले फेल खान्छ। ‘मैले त तपाईंको घर तराईतिर वा भारत हुनसक्छ भन्ने अनुमान लगाएको थिएँ’ मैले उनलाई सुनाएँ।‘म माझी हो। इन्डियामै जन्मिएर धेरै समय उतै बसेँ। सबैजसोले यस्तै सोच्नु हुन्छ’ उनी जबर्जस्ती मुस्कुराउँछन्।

दुःखको भारीले थिचिएर खुसी बटुल्न प्रयासरत गंगा माझीसँग पनि आफ्नै कथा छ। मजदूरी गर्दागर्दै आधाआधी थोत्रिएको जिन्दगीको कथा। थुप्रोको गिट्टी डोकोमा जम्मा गर्दै उनले आफ्नो त्यही कथा सुरु गरे। आमाबुबा मजदूरीका लागि भारत गएकाले गंगा भारतमै जन्मिए। हुर्किए पनि त्यहीँ। अध्ययनका लागि पञ्जाबकै एक विद्यालयमा धाए। ४ कक्षासम्म अध्ययन गरे। त्यसपछि उनी विस्तारै मजदूरी गर्न थाले। ‘धेरै पढ्न त पाइएन। ४ वर्ष त म विद्यालय गएको थिएँ। त्यसपछि पढ्नेभन्दा पनि मजदूरी गर्नेतिर लागियो,’ गंगाले सम्झिए।

करिब १२ वर्षको उमेरदेखि त उनी आफैँले मजदूरी गर्थे। काठमा आरा लगाउने काम थियो।  उमेर बढ्दै गयो गंगाले  बिहे पनि उतै गरे। एक छोरा र दुई छोरी भए। मजदूरी गरेरै छोराछोरी हुर्काए। दिनभरि काम गर्दा पनि छोराछोरी पढाउन र पेट भर्न मुस्किलले पुग्थ्यो।
‘जति दुःख गरे पनि केही भएन। बिहान बेलुका पेट भर्नै मुस्किल हुन थाल्यो। अर्काको देशमा कति दुःख गर्ने जस्तो लाग्यो, अनि नेपाल फर्किएँ,’ उनले सुनाए। देश फर्किए पनि दुःख फेरिएन। सजिलो काम गर्नलाई पढाइ थिएन। गंगाबहादुरले काठमाडौं फर्किएर ज्यामी काम सुरु गरे। यही काम गरेर छोरीहरुलाई जसोतसो पढाइरहेका छन्।

‘आफू त पढ्न सकिएन। छोराछोरीलाई पढाउँ भन्यो। परिवार ठूलो छ। जति काम गरे पनि खानलाई नै मुस्किल हुन्छ,’ गंगाले सुस्केरा काडे। छोरा, छोरी श्रीमती र बुहारीसहित ६ जनाको परिवार छ उनको। जेठी छोरी ११ मा पढ्दैछन् कान्छीले यो वर्ष एसइई पास गरिन्।
कमाउने एक्लै गंगा। हुन त छोरालाई स्वरोजगार बनाउने भनेर गंगाले ४ लाख ऋण काढेर मोटरसाइकल सर्भिस सेन्टर खोलिदिएका छन्। त्यसबाट मनग्य आम्दानी गरेर घर परिवारसँग हाँसिखुसी बस्ने सोचेका थिए गंगाबहादुरले। त्यो राम्रोसँग चलेको भए ज्यामी काम पनि किन गर्नुपथ्र्योे र ? तर सोचेजस्तो कहाँ हुनु ? त्यसको ठीकविपरीत भयो। लगानी डुब्दै गयो। ऋणको किस्ता पनि उनी ज्यामी काम गरेरै जोहो गरिरहेका छन्।

‘भाडा तिर्न पनि पुग्दैन। जसोतसो ज्यामी कामबाट आएको पैसा थपथाप गरेर ३ लाख जति त तिरेँ, अझै १ लाख ऋण बाँकी नै छ,’उनी भन्छन्, ‘किस्मतमा जुन लेखेको छ त्यहीँ पाइने त होला नि।’ज्यामी काम पनि सोचेजस्तो कहाँ छ र ? बिहानै ६ बजेदेखि काम सुरु गरेर साँझ ६ बजेसम्म १२ घण्टा इँट्टा, बालुवा र गिट्टी बोक्दा १ हजार कमाई हुन्छ। यो काम पनि नियमित भए पो ? एक दिन काम पायो ३ दिन बेरोजगार बस्नुपर्छ। तर अरु विकल्प पनि केही छैन उनीसँग। मिलेसम्म उनी काम गर्छन्। ठेकेदारले पनि दया गरेर काममा बोलाइदिँदा अलि सहज भएको छ उनलाई। ‘तिम्रो परिवार ठूलो छ भनेर ठेकेदारले हिजोआज चाहिँ काम भएसम्म बोलाइराख्नु भएको छ। त्यहीँ भएर जसोतसो काम पाइरहेको छु तर कोरोनाले गर्दा त बेरोजगार नै भएँ,’ उनले भने। कोरोना महामारीका कारण भएको पहिलो पटकको लकडाउनका बेलामा २ महिना उनी बेरोजगार भए। दिनभरि काम गरेर बिहान–बेलुका आफूसहित ६ जनाको परिवारको मुखमा माड लगाउने बाटो ठप्प भयो। कतैबाट राहत भएन। सरकारबाट राहत त पाए तर दुई छाक पनि नपुग्ने।

‘६ जनाको जहानलाई ५ किलोले २ छाक पनि पुगेन,’ उनी भन्छन्, ’वरपर चिनेको पसलबाट उधारो ल्याएर छाक टारियो।’ धन्न वरपर चिनेका पसलले उधारो पत्याएर उधारोमै जिन्दगी चलाइदिए गंगाबहादुरले। नत्र त सप्तरीका मलर सदाजस्तै खानै नपाएर प्राण त्याग्नुपर्ने अवस्था आउन के बेर? यो सहरमा दिनभरि श्रम गरेर बिहान बेलुका चुलो बाल्नेको पीडा सरकारले नबुझे पनि चिनेजानेका केही मनकारीले बुझिदिए। ‘उधारो नपाएको भए त भोकभोकै मर्नुपर्ने दिन पनि आउने रहेछ,’ उनको मुहारमा अलिकति उज्यालो थपिन्छ, ‘सबै सरकारजस्तै भएको भए खान नपाएर मरिन्थ्यो होला गरिब भए पनि मान्छेहरु दयालु हुँदा उधारोमै भए पनि बाँचियो।’यो सहरमा मजदूरी गरेर गुजारा गर्ने हरेकको कथा गंगाबहादुरसँग मिल्दोजुल्दो भेटिन्छ, जसको जिन्दगी उधारोमै गुज्रिरहेको छ।


Your Views
Related News