मुम्बइ। बलिउडकी ड्रिम गर्ल हेमा मालिनी आज ७२ वर्षकी भइन् । उनी १६ अक्टोबर १९४८ मा तमिलनाडुको अम्मकुंदीमा जन्मिएकी थिइन् । हेमा मालिनी बलिउड सुपरस्टार धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । यी दुईको विवाद सन् १९८० मा भएको थियो । यी दुईको विवाह भएको ४० वर्ष भयो तर हेमा आजसम्म पनि धर्मेन्द्रको घर गएकी छैनन् जबकि धर्मेन्द्रको घर हेमाको घरबाट केवल ५ मिनेटको दूरीमा छ । हेमाको परिवारबाट धर्मेन्द्रको घर जाने एक्ली सदस्य उनकी छोरी ईशा हुन् जो ५ वर्ष पहिले २०१५ मा मात्र धर्मेन्द्रको घर गएकी थिइन् । त्यतिबेला ईशा ३४ वर्षकी भइसकेकी थिइन् ।
राम कमल मुखर्जीको पुस्तक ‘हेमा मालिनीः बियोन्ड द ड्रिम गर्ल’मा हेमाको जीवनका यस्ता कैयौं रहस्यहरुको खुलासा गरिएको छ । २०१५ मा धर्मेन्द्रका भाइ तथा अभय देओलका पिता अजीत देओल अत्यन्तै बिरामी थिए । उनी बेडमा थिए र ईशा उनलाई भेट्न चाहन्थिन् । किताबमा ईशाको हवाला दिँदै लेखिएको छ ‘म काकासँग भेट्न चाहन्थें र आफ्नो तर्फबाट सम्मान दिन चाहन्थें । उहाँले मलाई र आहानालाई धेरै माया गर्नुहुन्थ्यो र हामी पनि अभयका निकै नजिक थियौं । हामीसँग उहाँको घर जानेबाहेक कुनै बाटो थिएन । उहाँ अस्पतालमा हुनुहुन्नथ्यो । त्यसैले मैले सनी दाईलाई फोन गरें, उहाँले भेट्ने सबै व्यवस्था मिलाइदिनुभयो ।’
किताबका अनुसार हेमाको घर आदित्य धर्मेद्रको ११ औं रोड हाउस भन्दा केवल ५ मिनेटको दूरीमा छ । तर हेमाकी छोरी ईशालाई त्यहाँसम्म पुग्न ३४ वर्ष लाग्यो । ईशा १९८१ मा जन्मिएकी हुन् र उनी आफ्ना पिताको घर २०१५ मा गएकी थिइन् । पुस्तकका अनुसार बिहेपहिले धर्मेन्द्रकी पत्नी प्रकाश कौरसँग कैयौं पटक समारोहमा भेटेकी थिइन् । तर, बिहेपछि दुबैको बाटो फरक भयो । हेमाका अनुसार उनी कसैलाई डिस्टर्ब गर्न चाहन्नथिन् । धर्मेन्द्रले आफ्नो र छोरीहरुको लागि जे गरे त्यसबाट आफू खुसी भएको हेमाले बताएकी छिन् ।
READ MORE NEWS
‘रोग प्रधिरोग विज्ञान एवम् बाल बाथजन्य रोग विज्ञान’को उपचार नेपालमै सम्भव
काठमाडौं । विकसित देशमा इम्युनोलोजी (रोग प्रतिरोध विज्ञान) अहिलेको जल्दोबल्दो विषय हो ।तर नेपालमा राज्यले यसको सुपरस्पेसियालिटीको पर्याप्त विकास गर्न नसक्दा आंगिक बिरामी उपचार नपाएर भौतारिनुपरेको छ । पछिल्लो तीन दशकमा युरोप अमेरिकाजस्ता विकाससिल राष्ट्रले यसको महत्व बुझे पनि नेपालमा भने सम्भव थिएन ।तर अब यसको उपचार नेपालमै सम्भव हुने भएको छ । दक्षिण एसियामा ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवम् र्युम्याटोलोजी अर्थात् ‘रोग प्रधिरोग विज्ञान एवम् बाल बाथजन्य रोग विज्ञान’ मा डक्टर अफ मेडिसिन अध्यापन हुने एकमात्र संस्था ‘पीजीआई चण्डीगढ’मा बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले यो विषयमा विज्ञता हासिल गरेर फर्किएका छन् ।
“क्लोनल दबाई, खोप विकास, एन्टीबडी विकास, बोन म्यारो ट्रान्स्प्लान्ट आदि समेट्ने इम्युनोलोजी तीव्र विकासको विषय हो,” भट्टराईले भने, “बच्चामा हुने इम्युन विकास एवम् बोन म्यारो ट्रान्स्प्लान्ट एवम् यसको वंशाणुगत या जन्मपश्चातका गडबडीका रोग बालबालिकामा हुने तर त्यसको विज्ञताको कमीले निदान नै नहुने या निदान भइहाले पनि उपचार निम्ति देशबाहिर जानुपर्ने अवस्था अहिले छ । अनि एलर्जी, एचआईभी एवम् पेडियाट्रिक र्युम्याटोलोजीमा सुपरस्पेसियालिष्टको अभावमा हुनुपर्ने जति निदान उपचारको कमी अनि बिरामीलाई बयस्कका विज्ञको या भारतीय संस्थाको भर पर्ने अवस्था थियो । अब यस्ता बिरामीको उपचार हाम्रै देशमा सम्भव छ ।”रोगप्रतिरोधबिज्ञान (इम्युनोलोजी) हाम्रो शरीरको रोगप्रतिरोधात्मक प्रणाली र त्यसको गडबडी, निदान र उपचारको साङ्गोपाङ्गो चिकित्साबिज्ञान भएको उनी बताउँछन्
शरीरप्रतिरक्षा विकास, यसमा आउने कमी, र गडबडीले निम्त्याउने सम्पूर्ण बिमारीहरुको निदान, एवं उपचार यसमा समेटिने यस विधामा इम्युन अंग, रोग प्रतिरक्षाको विकासक्रम, यसको रखवारी, स्वस्थ इम्युनिटी अवस्था, टेवा पुर्याउने पध्दति, एलर्जी, हाइपरसेन्सिटिभिटी, जन्मजात (बंशाणूगत) या जन्मपश्चात हुने इम्युनोडेफिसियान्सी (प्रतिरक्षा कमी) रोगहरु, प्रतिरक्षा गडबडी (इम्युन–डीसरेगुलेशन)का रोगहरु, एचआईभी एड्स् आदि पर्दछन् । प्रतिरक्षाको कमी या गड्बडीमा शरीरमा या त बारम्बार बिरामी भैरहने, अत्यधिक मात्रामा या अत्यधिक सघनताका साथ संक्रमण हुने, सामान्य जीवाणुले सघन बिमारी पार्ने, शरीर गल्ने, वृद्धि विकास नहुने, बढ्न नसक्ने, गाँठागुँठी देखापर्ने, रगतको कमी हुने, शरीर कमजोर हुनेदेखि ज्यानै जाने पनि हुन सक्छ । यसको जरैसम्म निक्र्योल निदान नभएसम्म बच्चा बिरामी भैरहने र ज्यानैसम्म जाने खतरा हुने उनी बताउँछन् ।रोग पत्ता लागेमा औषधिउपचार बिधिदेखि बोनम्यारो ट्रान्स्प्लान्ट बिधिबाट रोग ठिक पार्न सकिने उनी बताउँछन् ।
अर्कोतिर पिडीयाट्रीक र्युमाटोलोजी (बाल बाथजन्य रोग या संधिवातीय शास्त्र) यसै प्रतिरक्षा प्रणाली गडबडीसाथमा थुप्रै वातावरणीय प्रतिक्रियाले गर्दा उब्जिने जोर्नी, हड्डी, रगत, रक्तनली, मांशपेशी, रौँ, छाला, फोक्सो, मुटु मिर्गौलालगायत निहित अङ्गहरुमा बल्झिने सघन तथा दीर्घबिरामीको बिज्ञान हो ।वयस्क–बृद्धमा जस्तै बालबालिका र किशोरमा संधिबातीय रोगमध्य बाल–बाथ अर्थात् जुवेनाइल इडियोप्याथिक अर्थ्राइटिस्, अटोइम्युन बिरामी, ठुला–साना रक्तनलीका ईनफ्लामेसन, अटो–ईनफ्लामेटरी रोगहरु, चक्रिय दीर्घ–ज्वर, दीर्घ आंगिक बिरामीहरु, छाला, लिम्फ एवं गाँठागुंठीका रोगहरु, जटिल दीर्घरोगहरु पर्छन् ।
सम्झनामा निर्मला : ‘कतै भोलि म त हुने होइन अर्की निर्मला ?’
- राेनिशा फुयाल
आजभोलि मलाई डर लाग्न थालेको छ । हिजोसम्म बेपर्वाह दौडिने मेरा पैतालाहरु अचेल घरको चार दिवारबाट बाहिर टेक्दा समेत काँप्न थालेका छन् । हिजोसम्म ठाडो अडिने मेरो शीर अचेल मर्दको एक नजरमा झुक्न थालेको छ । अचेल आफ्नै मनले आफैसँग प्रश्न गर्न थालेकाे छ- ‘म कहाँ र कोसँग सुरक्षित छु ?’
हरेक दिन सुन्छु/पढ्छु/देख्छु बलात्कारका घट्नाहरू-
– आफ्नै बाबुद्वारा छोरीमाथि बलात्कार…
– सुसराद्वारा बुहारीमाथि बलात्कार…
– आफ्नै दाजुबाट बहिनीमाथि बलात्कार…
– शिक्षकद्वारा विद्यार्थीमाथि बलात्कार…
– आफ्नै घरभित्र महिला बलात्कृत…
– खुल्ला चौरमा सामुहिक बलात्कार…
– बसभित्र बेहाेस बनाएर बलात्कार…
उफ्, जताततै बलात्कार नै बलात्कार !
म अचेल सम्झिन्छु, न्याय कुरिरहेकी निर्मलाकाे अात्मालाई । लाग्छ, कतै भोलि मैले पनि उनीजसरी नै न्याय कुर्नपर्ने त होइन ? हजुर दुई वर्ष बितिसक्यो न्यायको बाटो हेर्दाहेर्दै । सेलाइसके हिजो निर्मलाको न्यायको लागि तातिएका सडकरु । मौन भैसके हिजो बुलन्द भएका आवाजहरु । अनि थाकिसके न्याय पर्खिरहेका आँखाहरु । अफसोस्- बढ्दै छन् त निर्मलाझै निमोठिएका नानीहरू ।म सम्झिन्छु- मन्दिरभित्र मारिएकी सम्झनालाई । लाग्छ, ईश्वरले त उसको अस्मिता जोगाउन सकेनन्, म कसको आश गर्नु ? यो सरकारको, जो मुर्तिझैँ मौन छ ?हजुर मलाई रत्तिभर पनि आश छैन कसैको । प्यारी सम्झना, तिमी पनि आश नगर्नु । सुन्नेवाला छैनन् यहाँ कसैले हाम्रो चित्कारलाई । बुझ्नेवाला छैनन् कसैले हामीमाथिकाे उत्पीडनलाई । बस्, सम्झिनु- तिमी अर्की निर्मला थियौ, जसलाई निमोठेर फालियो । जबसम्म मौन बसेको सरकार बोल्दैन, यहाँ कसैलाई पनि न्याय मिल्दैन ।आज हरेकलाई यहीँ डर छ- ‘कतै भोलि म त हुने होइन अर्की निर्मला ?’ हरेक पुरुष सम्भावित बलात्कारी हुन् भन्न मिल्दैन तर हरेक नारी सम्भावित निर्मला नहोलिन् भन्न सकिने अवस्था छैन !