एजेन्सी, ३० असोज । चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको पाइएको हो ।रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो ।

यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ । युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ अनुसन्धानमा सहभागीमध्येका एक प्राध्यापक जियायोमिङ याङले कोरोना भाइरसको संक्रमणका कारण पाका उमेर समूहका व्यक्तिहरु बढी जोखिममा रहेकाले खोप बनाएर उनीहरुको ज्यान जोगाउनु नै अनुसन्धानको प्रमुख उद्देश्य रहेको बताउनु भयो । चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि कोरोनाविरुद्ध तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

READ MORE NEWS

नित्यपूजाबाहेक अन्य पूजाका लागि शक्तिपीठ खोल्न नदिन गृहको निर्देशन

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ।मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले बताए।मन्त्रिपरिषदले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको उनले बताए।

‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ। त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’प्रवक्ता बुढाले भने,’भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं।’यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो। दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताएका थिए। मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले पनि दसैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताएका थिए।

भान्सामा सावधानी अपनाउन राज्यमन्त्री मानन्धरको आग्रह

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारीबीच पनि अब सरकारले जनताको विकासको चाहनालाई तिब्रता दिने बताएका छन् । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधि मैत्री बनाउनका लागि आफूहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूहरुको विशेष ध्यान केन्द्रीत भएको बताए ।काठमाडौंको सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोटमा घाइते भएकाहरुलाई भेट्न र क्षतिग्रस्त घरको अनुगमनमा पुगेका मन्त्री मानन्धरले जनताको दु:खमा सरकारको साथ र सहयोग रहने बताए । खाना पकाउने ग्यास लगायतका प्रज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढीरहेको बताउँदै मन्त्री मानन्धरले सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरे । सहरी क्षेत्रका घना वस्ती भएका क्षेत्रमा भान्सामा सावधानी अपनाउन नसकिए ठुलो दुर्घटना पनि निम्तन सक्नेतर्फ सबै सचेत हुनुपर्ने भन्दै मन्त्री मानन्धरले सावधानीका उपाय अवलम्वन गर्न पनि आग्रह गरे । हिजो खाना पकाउने ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने घर तथा कम्पाउण्डमा क्षति भएको थियो ।

परदेशी मनलाई मल्हम !

आजभन्दा १४ वर्ष पहिला घरको दैलो नाघेका यी पाइलाहरु आज प्रसान्त महासागरको नीलो अनि गाढा रङले भिज्दैछन्। मसँगै, हाम्रो घरछेउ हुँदै कलकल बग्ने महाकाली नदीले पनि यो महासागर छोएको हुनुपर्छ ! एकनास अनि वेगले बगिरहन्थ्यो, सायद सागरमै मिल्नलाई हतार थियो होला।भनिन्छ, अस्ट्रेलियामा यति धेरै सुन्दर समुद्री तटहरु छन् कि दिनको एउटा – एउटा गर्दै घुम्ने हो भने पनि २७ बर्ष लाग्छ रे सबै घुमी भ्याउनलाई ! आज, यिनले असख्य समुन्द्री किनाराहरु मध्येको एक “ब्राइटन बीच”को सेतो बालुवा टेक्दै यो मनले “महाकाली” खोज्दै छ ! भन्नुको मतलब घर याद आइरहेछ। सोच्दैछु म जस्तै कसैले यो विशाल सागरमा सेती खोज्दो हो, कसैले मेची खोज्दो हो !घरबाट हिँडेको १४ बर्ष पुगे पनि, जीवनका अगाडि परदेशी लागेको चाहिँ ४ बर्ष पुग्न लाग्यो। काठमाडौँ बस्दा पनि घरबाट त् टाढा नै हो, तर पनि देश बाहिर हुनु नितान्त फरक अनुभूति रहेछ।बेग्लै सोच, अनौठो रहनसहन, बोलीको लवज पनि बेग्लै । कयौं प्रतिकुल मौसमहरुबीच फुल्नु नै परदेशी हुनु रहेछ ! आफ्नै अनगिन्ती सपनाहरुका पछि दौडिँदै पुगिएको सपनाको शहरमा बहाना र गुनासोका लागि ठाउँ हुँदैन र गुनासो गरिँदैन पनि !

आज काममा सन्चो नभएको बाहाना गरेर बिदा मागियो र यसो नजिकैको समुद्री किनार हेर्न आएँ। काममा पनि रमाइलो नै हुन्छ, कहिलेकाहीँ जान मन लागेन भने कल गरेर “आई एम नट फिलिङ वेल” भन्यो, छुट्टी माग्यो । आफूले बताउन चाहेन भने किन, के भयो भनेर कसैले प्रतिप्रश्न गर्दैन । बरु उल्टै “ओके ह्याब गुड रेस्ट, टेक केयर” भन्ने रिप्लाई आउँछ । तर, लगातार दुई दिनभन्दा बढी यसरी बिदा बसे चाहिँ मेडिकल रिपोर्ट माग्छ।नेपाली लवजमा हामी यसरी एक दिन बिदा बस्दा “सिक हान्ने ” भन्छौं।

घुमघाम गरेर घर फर्किँदै गर्दा यसो मोबाइल हेरेको, नेपालबाट साथीले फेसबुकमा सन्देश पठाएको रहेछ, फ्री भएका बेला कल गर्नु भनेर ! कुरा गरियो । भिडियो कलमा वरिपरिको दृश्य पनि देखाएँ। सबै राम्रो गफगाफ भयो । तर, उताबाट भनेको एउटा वाक्यले सोच्न बाध्य गरायो !“वाह ! तिमीलाई त क्या मस्ती छ । जिन्दगी त तिमीले जिइरहेकी छौ !”

यस्तो सुनेको चाहिँ पहिलोपल्ट होइन। प्रायः सबैले कुरा हुँदा विदेशमा त साह्रै मोज छ भनेर हल्का जेलसी पारामा भानिरहेकै हुन्छन् । अझ “कति रमाउछौ भन्दा पनि कति कमाउछौ भन्नेहरु नै बढी हुन्छन्।विद्यार्थी भिसामा आएकाहरुले कमाउने भनेको पढाइ सकेर नै हो । तर, यता पुगेक्कै भोलिपल्टदेखि नै घन्टाको कति डलर छ भन्ने प्रश्नले पछ्याइरहन्छ । काम गरिरहेको मान्छेलाई कमाइ के कस्तो छ भनेर सोध्नु सामान्य हो । तर, घरबाट टाढा रहेकाहरुलाई, आफन्त र साथीभाइले कमाइ भन्दा पनि सन्चो बिसन्चो सोधिदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ ।मेरो एकजना साथीले निन्याउरो अनुहार अनि भारी मन गर्दै मसंग सेयर गरेको कुरा नलेखी बस्न्नै सकिनँ । उस्को घरबाट जहिले पनि फोन आउँदा खाली “फलानाका छोराले महिनाको यति लाख पठाउँछ, पीआर पनि लिइसकेछ, काठमाडौँमा घर पनि जोड्यो, तिमीहरु के गर्दैछौ ?” भन्ने कुरा हुँदोरहेछ । उसले भन्थ्यो- देश एउटा भए पनि पढाइ अनि योग्यताअनुसार कमाइ अनि पीआर पाउने बाटो फरक हुन्छ भन्ने कुरा कसरी बुझाउने ? यस्ता कुराले अदृश्यरुपमा मनोवैज्ञानिक असर छोड्दोरहेछ ।

ऊ प्रायः आफू अरुको दाँजोमा कम सफल भएको महसुस गरिरहन्छ। यसो सोचें, साच्चि, सफलताको मापदण्ड के रहेछ ? दिनरात नभनी काम गरेर आफ़्न्नै कमाइले विश्व प्रसिद्ध युनिभर्सिटीको चर्को शुल्क तिरेर पनि अलिअलि घरखर्च पठाइरहेकै हुन्छ, यो कुरा सफलताभित्र पर्दैन रहेछ ।अहिलेको प्रसंगमा भन्नुपर्दा कोरोनाको महामारीले विश्वलाई नै असर गरेको छ। विदेशमा पनि अहिले कयौं बेरोजगार भएका छन् । सधैं बिजी छु भन्नेहरु पनि घर बाहिर निस्किन पाएका छैनन्। नेपालमा प्रायः सबै आ-आफ्नो परिवारसँग हुनुहुन्छ । तर, विदेशमा नेपालीहरु एक्लै कोठाभित्र छन्। यस्तोबेलामा घरतिर कुरा हुँदा फेरि छिमेकीका छोराछोरीसँग दाँज्ने पो हुन् कि भन्ने डर उब्जिँदो रहेछ। मानसिक रुपमा स्वस्थ नहुनु नै अहिलेको जल्दोबल्दो समस्या हो, जुन प्रायः मान्छेले नदेखे, नबुझेजस्तो गर्छन्।

अहिले यता कति नेपालीहरु कोरोना संक्रमित छन् । मेरै साथीहरु जो फ्रन्ट लाइनमा काम गर्छन् कत्तिले आफूमा कोरोना पोजिटिभ भएको कुरा घरपरिवारबाट लुकाएका छन् । कत्तिले निको भैसके पछि मात्र घरमा खबर गरेका छन्। आफ्ना समस्या आफूसँग नै सीमित राख्न, लुकाउन परदेशीहरु खप्पिस हुन्छन्।यस्तो क्रिटिकल समयमा परदेशी मनलाई मल्हम चाहिएको छ। आफूलाई केही भैहाले पनि यत्तिकै घर फर्किने आँट कमैमा छ । एकजना भाइले भन्थ्यो “दिदी, काम छुटेको ६ महिना भयो, रेडक्रसले रिलिफ फन्ड पनि एकचोटि मात्र दिँदोरहेछ । अन्तरास्ट्रिय विद्यार्थी कोषले अलि अलि सहयोग गर्यो । अब सहयोग आउने बाटो छैन । नेपाल जान पनि प्लेन टिकटको पैसा छैन । योभन्दा बढी हिम्मत नै छैन आफ्नै घर जान पनि ।यस्तो सुन्दा लाग्छ, परदेशमा भएका मान्छेलाई आफ्नो घरपरिवार, साथीभाइबाट चाहिएको ढाडस र हौसला नै रहेछ। प्रोत्साहन नै तपाईहरुले दिन सक्ने सबभन्दा ठूलो उपहार हो।यस्तोबेलामा घरपरिवारले “हामी छौं ” भनिदिनुस । केही गर्ने, अगाडि बढ्ने हौसला दिनुस् ! बिना पीआर नै फर्के पनि स्वागत गर्नुस् । काठमाडौँ, पोखरामा घर नजोडे पनि गाउँमै बस्ने सल्लाह दिनुस् । यता सिकेको सिपको उचित प्रयोग गर्न प्रेरणा थपिदिनुस ।हामी माटोबाटै उठेका मान्छे हौं । हाम्रा बाउबाजेका पुस्ताले हिमालको चिसो, तराईको प्रचण्ड गर्मी र पहाडको कष्ट सहेरै भए पनि ‘संतोषम परम् सुखम ‘ भन्दै जीवन बिताएकै थिए। सोचेजस्तो गर्न सके राम्रो कदमकदाचित असफल भैहाल्यो भने पनि उठ्न मदत गर्नुस्। तपाईको मीठो बोली नै परदेशी मनलाई मल्हम हुन्छ।मानसिक रुपले बलियो भयो भने जस्तोसुकै लडाइँ पनि जित्न सकिन्छ। यो एउटा कठिन समय हो र एकअर्कालाई सम्हाल्दै हिँड्ने हो भने पक्कै पार हुनेछ।


Your Views
Related News