३० असोज, चितवन । घरमा बस्दाबस्दै दिक्दार लागेका कतिपय मानिसहरु ‘रिफ्रेस’ हुन भन्दै रिसोर्टमा गएर एक–दुई रात भए पनि बिताउन रुचाउँछन् । तर घर नै रिसोर्ट जस्तो बनाए कस्तो होला ? यो प्रश्नको उत्तर हो, चितवन माडीका प्रेम विष्ट र रत्नादेवी विष्ट दम्पतीको घर ।माडी नगरपालिका वडा नं. ६ स्यालीबासमा आनन्ददायी रिसोर्टजस्तै लाग्ने उनीहरुको सानो र चिटिक्कको घर छ । विष्ट दम्पतीको घरमा पहिलोपटक पुग्ने जो कोही पनि रिसोर्ट नै भनेर झुक्किन्छन् र कसैले खाजा माग्छन्, कसैले बास ।प्रेम र रत्नादेवीले मेहनतपूर्वक सजाएको घर देख्दा जो कोही पनि लोभिन्छन् । उनको घरमा प्रवेश गर्ने वित्तिकै साना–साना ढुंंगाहरु गाडेर ‘विष्ट निवास’ लेखिएको छ । टिनले छाएको दुई तले घर छ । घर नजिकै खरले छाएको गोलघर बनाएका छन् । उनीहरू घरमा आउने पाहुनालाई त्यही गोल घरमा राखेर सत्कार गर्छन् । कसैसँग नजिकै बनाइएको बाँसको बेन्चमा बसेर गफिन्छन् ।अब १०/१२ फिट अग्लो मचान र सानो पिङ हाल्ने सोच छ, उनको । ‘घरमा सबैथोक होस्, सुखमय भएर जीवन बिताउने चाहना छ, पैसाले मात्रै सन्तुष्टि दिँदैन, सुख र खुसीले सन्तुष्टि दिन्छ,’ विष्ट भन्छन्, ‘यहीँ नै आनन्दसँग रमाउँछु, छुट्टै अनुभूति हुन्छ, हरेक दिन साँझ बिहान यहीँ डुल्छु, फूलहरुसँग भुल्छु, हाँस र बाख्राहरुसँग बात मार्छु यस्तो खुसी अन्यत्र कहाँ पाइन्छ ? घर नै स्वर्ग बनाउन सकिन्छ ।’

घरमा विभिन्न १०/१२ प्रजातिका फूलहरु छन् । सिजन अनुसार फूल्छन् । आँप, भुइँकटहर, रुख कटहर, लिची, कागती, निबुवा लगायत विभिन्न प्रजातिका फलफूलका बोट पनि छन् । सिजन अनुसारका फल फल्दा खुसी लाग्छ विष्टलाई ।घर भएको ठाउँ नजिक उनको करिब दुई कठ्ठा जग्गा छ । ठाउँमा खेती लगाइएको करिब डेढ विगाहा छ । विहान ५ बजे नै उठेर नित्यकर्म गरेपछि विष्टले विहानको दुई–तीन घण्टा वस्तु भाउ र फूलबारीको स्याहार सुसारमा बिताउँछन् । उनलाई श्रीमती रत्नादेवी विष्टले पनि सघाउँछिन् । विष्ट दम्पतीका दुई छोराहरु मध्ये जेठो प्रदीप दुवईतिर गएर फर्किएका छन् भने कान्छो छोरा सन्दीप माडी नगरपालिकामा काम गर्छन् । छोराहरुले पनि भ्याएको बेलामा बाबु–आमालाई सघाउँछन् ।विष्ट दम्पती शुद्ध किसान हुन् । खेती किसानी र वस्तुभाउको स्याहार सुहारमै दिन बित्छ । उनीहरूले घरमा ३५ बटा बाख्रा, कुखुरा, हाँस र भैंसी पालेका छन् । भैंसीको दूध–घिउ खान्छन्, खुवाउँछन् । आफैंले उत्पादन गरेको अर्गानिक तरकारी खान्छन् । बढी भएमा बेच्छन् पनि ।पानीको असुविधा भएकाले सोचेजस्तो गर्न भने अझै नसकिएको प्रेम विष्टले बताए । ‘बस्तुभाउ र तरकारीबालीमा पानी नभई हुँदैन, यहाँ पानीको असुविधा छ,’ उनी भन्छन्, ‘नगरपालिकाले केही पहल गरिदिए सहज हुने थियो ।’ किसान हुँ भन्ने तर तरकारी किन्न बजार जाने गर्दा इज्जत नै गएको ठान्छन् उनी । ‘किसान हुँ भन्ने, मिले अनुदान पनि खाने तर सागसब्जी, लसुन, आलु, खुर्सानी, धनियाँ किन्न बजार जानेहरु देख्दा म आफैंलाई लाज लाग्छ,’ उनी भन्छन् ।

बटुवाहरु सोध्छन्– खाजा पाइन्छ ?

विष्ट दम्पतीको घर नजिक पुग्नेहरु रिसोर्ट नै भनेर झुक्किने गरेका छन् । कतिपयले दाजु खाजा पाइन्छ ? भनेर सोध्छन् । कतिपयले दाइ यहाँ रुम पाइन्छ ? भनेर पनि सोध्ने गरेको प्रेम विष्टले सुनाए । ‘बाहिरबाट आउनेहरुलाई थाहा हुँदैन, रिसोर्ट नै होला भनेर कयौंले सोध्ने गरेका छन्,’ विष्टले भने ।घर भित्र पस्नेहरु जसले पनि फोटो र सेल्फी खिचेकै हुन्छन् । उनी आफैं पनि श्रीमतीसँग विहानको पाहारिलो घाममा बसेर चियाको चुस्कीसँगै सेल्फी खिच्न रुचाउँछन् । घर हेर्न आउनेहरुले कति राम्रो बनाउनु भएको भनेर विष्ट दम्पतीलाई हौसला दिन्छन् । कतिपयले ‘तपाईं भूपू आर्मी हो ?’ भनेर सोध्ने गरेको स्मरण विष्टले गरे । आर्मीको ब्यारेकहरुमा जस्तै कन्सेप्ट र सजावट देखेर यसो भन्ने गरेको उनको बुझाइ छ ।उनले २०५२/०५३ सालबाट घरलाई चिटिक्क बनाउन थालेका हुन् । कहाँबाट यस्तो क्रियसन आयो भन्ने अनलाइनखबरको प्रश्नमा प्रेम विष्ट भन्छन्, ‘बुवाको प्रेरणाबाट सिकेँ, सानो–सानो कुरालाई पनि मिलाउँदा राम्रो देखिन्छ नै, तर हामी गर्दैनौं ।’जतिसुकै जग्गा भए पनि धेरै जसोको घर भद्रगोल देखेको विष्टले बताए । ‘गाईको गोठ, बाख्राको खोर, हाँस, कुखुराको खोर नजिकै हुन्छ, गन्हाउँछ, शौचालय राम्रो हुँदैन तर त्यसलाई थोरै मात्रै क्रियटिभ बनाए घर नै रिसोर्ट जस्तो बन्छ,’ विष्ट भन्छन् ।

नगरपालिकाबाट पुरस्कृत

चिटिक्क परेको लोभलाग्दो घर र त्यसको सरसफाइबाट प्रभावित भएर माडी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा विष्टलाई नगद २५ हजारसहित सम्मान गर्यो । सामाजिक रुपमा उत्तिकै सक्रिय प्रेम विष्टले चितवन खुल्ला दिसामुक्त घोषणा अभियानमा पनि स्थानीय रुपमा अगुवा भई काम गरेका थिए । नगरपालिकाले अन्य ब्यक्तिहरुलाई पनि विष्ट दम्पतीको जस्तै सरसफाइयुक्त नमूना घर बनाउन भन्ने गरेको छ ।विष्ट आफैंले पनि छिमेकीहरुलाई रचनात्मक र सिर्जनात्मक बन्न सिकाउने गरेका छन् । ‘जनचेतना अभिवृद्धिमा म आफैं लाग्ने गरेको छु,’ उनी भन्छन्, ‘छिमेकीहरुलाई पनि आफूले जानेको आइडिया दिन्छु ।’माडी नगरपालिका प्रमुख ठाकुर ढकाल स्वयं बेलाबेलामा उनको घरमा आएर गोलघरमा बस्ने र रमाउने गरेको विष्टले सुनाए ।

READ MORE NEWS

कृषिको उत्पादनमा मात्र होइन, वितरणमा पनि जोड दिनुपर्छः मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि आद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताएका छन् । ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको बताए । उनले सबैले खाने, स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिकरुपमा सम्बोधन भएको पनि अझै धेरै गर्न बाँकी रहेको बताए । त्यसका लागि कृषि प्राविधिकहरुले आफ्नो क्षेत्रमात्र नभइ समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।मन्त्री भुसालले इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिहेको उल्लेख गर्दै गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प नरहेको पनि बताए । उनले कृृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको बताए ।मन्त्री भुसालले उत्पादनमा मात्र जोड नदिइ वितरणमा समेत उत्तिकै जोड दिए उत्पादन भएको खाद्यान्न समान रूपमा वितरण हुने बताए । कृषि विकासको लागि अब फरक तरिकाले सोच्नुपर्ने खाद्यका लागि कृषि अभियनता उद्धव अधिकारीले बताए । उनले रासायनक केमिकल हालेर धरै र ठूलो उत्पादन गर्ने तर्फ लाग्नाले कृषिलाई जंघारतिर धकेलिरहेको बताए ।

वर्षेनी कृषि उपजको आयात उच्च हुने हो भने कृषि प्रधान भनेर चिनिने देशलाई कृषि उपज आयात गर्ने देश भनेर चिनिने बताउँदै उनले रासायनिक खेती गरेर पनि उत्पादन नबढकोले अब प्रांगारिक खेतीतर्फ नै जोड दिनुपर्ने बताए । ‘हामीले रासायनि मल प्रयोग गरेपनि उत्पादन बढ्न सकेको छैन, उनले भने ।अब दिगो कृषि अपनाउन के गर्न भन्ने तिर लाग्नु पर्ने उनले बताए । मन्त्रालयलमा प्रांगरिक कृषि प्रवद्धनका लागि कार्यदल गठन भएपनि केही काम हुन नसकेको बताउँदै उनले भने, ‘प्रांगरिक कृषिका लागि कार्यदल गठन भएको थियो । कार्यदलले प्रतिवेदन बनाएर बुझाएको पनि थियो तर अहिलेसम्म केही प्रतिक्रिया आएको छैन ।’कृषि विज्ञ डा कृष्ण पौडेलले ४० आंै विश्व खाद्य दिवसको साताव्यापी अभियानले विद्यमान खाना र खेतीपाती प्रणालीलाई परिवर्तन गर्नुृपर्ने विषयलाई थप उजागार गरेको बताए । साताव्यापि कार्यक्रममा खाद्य तथा कृषिसँग सम्वन्धित १४ वटा सम्वाद भएको र २६० जनाले टिप्पणी गरेको उनले जानकारी गराए । उक्त कार्यक्रमका लागि चार लाख ५० हजार रुपैयाँ खर्च भएको र केही रकम बचतसमेत भएको उनको भनाइ छ ।

कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले सबैको खाद्यको पहँुच पुर्याउन र दीगो विकासको लागि मन्त्रालयले कृषको वर्गीकरणको लागि आवश्यक काम गरिरहेको बताए ।‘अब हामी कृषको वर्गीकरण गरेर सिस्टममा भौचर प्रणालीमार्फत सुविधा दिने योजना बनाएका छौं, उनले भने, सातै प्रदेशबाट किसानको तथ्यांक पनि माग गरिएको छ ।’ नेपालको कृषि अनुदानले नै बिग्रेको भन्दै सचिव भारीले अब कुनै लक्षित प्रोजेक्टबाहेक अन्यमा ५० प्रतिशतभन्दा बढी अनुदान नदिने गरी कार्यविधि बनाइन लागेको बताए ।उनले पकेट, ब्लक, जोन, सुपजोर मार्फत खाद्यान्न उत्पादन गरिएको बताउँदै खाद्यान्न उत्पादनमा वृद्धिका लागि बढाउन विभिन्न पकेट, जोन, सुपरजोन विस्तार गरिरहेको बताए । आगामी दिनमा रासायनिक खेती कम गर्दै लैजाने र प्रांगारिक खेतीलाई बढावा दिँदै लैजाने मन्त्रालयको योजना भएको उनले बताए ।उनका अनुसार किसानका कृषि उपज जस्तै धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मात्र किन्न नसक्ने भएकाले निजी र स्थानीय सरकारले किनेर बेच्ने गरी कार्यविधि बनाइने भएको छ ।४० औं खाद्य दिवसको अवसरमा बिउ उत्पादन तथा वितरण, कृषि बजार व्यवस्था समिति, मेलिफोरा मौरी व्यावसायी, सेरेना मौरी व्यवसायी, प्रांगारिक खेती अभियान र विश्व खाद्य दिवसका अवसरमा छापिएका सर्वोत्कृष्ट लेखरचना गरी ४ वटा विधामा पुरस्कार वितरण गरिएको थियो ।


Your Views
Related News