महोत्तरीका किसानलाई नगद जोहोको सहारा ओलखेती भएको छ ।यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास, भंगहा, गौशाला र औरही नगरपालिकाका किसानको नगद जोहो गर्ने एक मात्र सहारा ओलखेती बनेको हो । थोरै लगानी र कम मेहनेतमै मनग्य आम्दानी हुने भएको देखेर स्थानीयवासी अहिले ओल खेतीमा लागेका हुन् ।भौगोलिक दृष्टिकोणले विकट तथा सिँचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन् । धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको बताइएको छ ।तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्न सक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिवास–९ पशुपतिनगरका किसान ब्रह्मदेब महतोले बताए।‘यसपालि कोभी, भण्टा, खुर्सानी र अरु लहरे तरकारीका बेला लगातारको वर्षाले पिटेर गलायो, ओल भने जेनतेन हुर्केकाले नगदको मुख हेर्न पाउने आस बाँकी रह्यो” उनले भने, “पाखे बारीमा ड्याङ्गमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओल चै अरु बालीजस्तो पानीले गलाउन सकेन ।” दशैं, दिपावली (तिहार) र छठपर्वको मुखमा यही ओलको बिक्रीले चाडवाड मनाउने आस रहेको महतोको भनाइ छ।

जिल्लाका यी चार नगरक्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका वस्तीहरुमा ओलखेती हुँदै आएको छ । प्रतिकठ्ठा १० देखि १२ क्विन्टलसम्म उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौं नबिग्रने हुँदा फुर्सत र भाउ बुझेर बजार लान पाइने खेती भएको किसान बताउँछन् । जिल्लामा अहिले करिब १०० बिघा क्षेत्रफलमा ओल खेती रहेको स्थानीय कृषि अभिलेखबाट देखिन्छ।विशेषगरी गौशाला र भंगहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओल खेतीबाटै आपूmले वर्सेनी रु पाँच लाख आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका आम किसानको भनाइ छ। ‘यो हाम्रो नगदको जोहो मात्र हैन, घर गुजाराको सबै थोक हो’, लक्ष्मीनियाँ बस्तीका किसान अरुण कुशवाहाले भने, “चामल, पिठो, मरमसला सबैकुरा ओल बेचेर लिन्छौं।’ यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ ।माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो । ओलको तरकारी र अचारको परिकार प्रसिद्ध छ। शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन्।प्रतिकट्ठा रु पाँच हजारदेखि सात हजारको लगानीबाट औसत रु २५-३० हजारसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन्। उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० देखि १२० सम्ममा बिक्री हुने गरेको भंगहा–४ का रामजी यादवको भनाइ छ।

नगरभरि नै ओल खेती हुने गरेकाले बर्दिवास, भंगहा, गौशाला र औरहीका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पुर्‍याउने गरेको भंगहा–४ का अर्का किसान सत्यनारायण यादवको भनाइ छ।प्रत्येक वर्ष चैत–वैशाखमा ओल रोपेर भदौ-असोजमा महिनाभरि खनेर निकालिन्छ। विषादी छर्किनु नपर्ने, सिँचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन चार महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी लिन सकिने हुँदा ओल किसानबीच लोकप्रिय हुँदै गएको छ।किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन् । प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाई दिन आआफ्ना नगर नेतृत्वसँग किसानले आग्रह समेत गरेका छन्।

READ MORE NEWS

झुक्किएर पनि खानुहुँदैन ग्यास्ट्रिक भएका व्यक्तिले यस्ता खानेकुरा, नत्र अल्सरको जोखिम


Your Views
Related News