आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै  शारदीय नवरात्रको सुरुवात हुने भएको हो ।दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै एकदिनमात्रै लगाउँछन् भने नेपालको समेत कतिपय ठाउँमा ५ दिनसम्म लगाउने गरिन्छ ।

के-के हुन् नवरात्रमा गरिने कार्यहरू ?

नवरात्रको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक पूजाआजागरी घटस्थापना राख्ने गरिन्छ । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ ।घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै जस्ता अन्न छरिन्छ । यी सबै विधि सुरु हुनुपूर्व दशैंघरलाई नै शुद्ध बनाउनुपर्छ । जमरामा जौ सबै क्षेत्र र जातिका मान्छेले राख्ने गर्छन् । तर मकै र धान भने केही जातिले राख्छन् धेरैले राख्दैनन् ।विजयादशमीको दिन पहेँलो जमरा लगाउने गरिन्छ । जमरा पहेँलो होस् भन्नेको लागि नै सूर्यको किरण देखाउनु हुँदैन भन्ने मान्यता छ । त्यो पूजा विधि गोप्य हुने भएकोले पूजारी बाहेक अरूले हेर्न समेत हुँदैन भन्ने मान्यता छ ।यसरी नौ वटा बोहोतामा चामल र कलश सहित स्थापना गरिएका देवीलाई छुट्टाछुट्टै दिनमा विशेष पूजा गरिन्छ । तोकिएको दिनबाहेक अरु दिन अरूदेवीलाई दूर्गाको परिवारको रुपमा सामान्य पूजा मात्रै गरिन्छ । जस्तो नवरात्रको पहिलोदिन शैलपूत्रीको पूजा हुन्छ । यस दिन अरु देवीको सामान्य पूजा मात्रै हुन्छ भने देवीको यो स्वरुपको विशेष पूजा हुन्छ ।यो नौ दिनसम्म सम्भव हुनेले शक्तिपीठमा गएर पनि पूजा गर्ने गर्छन् । तर यो वर्ष कोरोना महामारीका कारण शक्तिपीठमा पूजा गर्ने अवस्था नभएकोले घरमा नै स्थापित दूर्गालाई पूजा गर्ने गरिन्छ ।यसरी नौ दिनसम्म गोप्य पूजाविधिबाट पूजा गरेको जमरालाई विजयादशमीको दिन विधिपूर्वक आफ्ना मान्यजनको हातबाट जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । बलीको चलन भएकाहरूले आफ्नो संस्कार अनुसार सप्तमी, अष्टमी र नवमीको दिन बली दिने गर्छन् । तर दशमीको दिन भने बिहान नित्य पूजा सम्पन्न गरेर शुभ साइतमा टीका मात्रै लगाउने गरिन्छ ।

कुन दिन कुन देवीको हुन्छ पूजा ?

नवरात्रको पहिलो दिन अर्थात् शनिबार देवी शैलपुत्रीको पूजा आराधना गरी नवरात्रको सुरुवात गरिन्छ । शैलपुत्री भनेको पार्वतीको स्वरूप हो । आफ्ना पति महादेवको आलोचना सुन्न नसकेर अग्निमा हामफालेकी सतिदेवीले अर्काे जन्ममा हिमालयकी पुत्री पार्वतीको रुपमा जन्म भएको भन्ने स्कन्धपुराणमा उल्लेख छ । तिनै पार्वती स्वरुपको पहिलो दिन पूजा गर्ने गरिन्छ ।दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा हुने गर्छ । यहाँ ब्रह्म शब्दको अर्थ तपस्या भन्ने हो । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।त्यस्तै, तेस्रो दिन आराधना गरिने देवी चन्द्र घण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनीको दिनसम्म सामान्य दशैं घरमा पूजा बाहेक खासै विशेष केही पनि कर्म गरिँदैन ।तर दशैंको सातौ दिन अर्थात् सप्तमीको दिनदेखिको ४ दिन दशैंको विशेष कर्म हुने गर्छ । सप्तमीको दिन आफ्नो घरमा भएका हतियारहरूको पूजा गरिन्छ । सो दिन कालरात्रि देवीको पूजा हुन्छ । देख्दै भयंकर स्वरुपकी ती देवीको बाहेक अरु सबैको पूजा दिउँसोमा हुने गर्छ । त्यस्तै, अष्टमीको दिन महागौरी र दसैंको नवमीको दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।दशैंको १० औं दिन अर्थात् विजयादशमीको दिन दशैंको मुख्य दिन हो । नौ दिनसम्मको महिसासुर र देवीबीचको युद्धमा दशमीको दिन महिसासुरलाई दूर्गाले वध गरेको उपलक्ष्यमा विजयको टीका लगाउने गरिन्छ ।कुल चार प्रकारको दशैंमध्ये असोज महिनामा मनाइने यो दशैंलाई बडा दशैं भन्ने गरिन्छ । यो दिन नै आफूभन्दा ठूलाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।शास्त्रीय मान्यता अनुसार टीकाको ५ दिन अर्थात् पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । तर गण्डकी प्रदेशका केही ठाउँमा भने दशैंको दिनमात्रै टीका लगाउने चलन छ ।

READ MORE NEWS

आत्मस्वीकृति/कन्फेसन

आत्मस्वीकृति/कन्फेसन

यो कुरो धेरैले पत्याउन सकोइनन् । तर सत्य घटनाका रूपमा यसलाई स्थापित गर्नु पनि छैन । मोहितको विचार यो छ– कसैले यसलाई सत्य घटनाका रूपमा नलेओस् । त्यसो भने पनि उसले लेखेको एउटा रचना (कथा) छापिएपछि अर्को दिनमै उसलाई अनुरोध आयो, ‘बन्धु, त्यस्तै अर्को कथा लेखेर पठाउनोस् । हामी यही शनिबारको अङ्कमा छाप्छौँ ।’ संयोगको कुरो भयो यो । उसले सोच्यो, यही कथाको अर्को संस्करण लेखेर पठाऊँ कि ? कुन कथा कसरी क्लिक हुन्छ ऊसँग त्यसको फर्मुला छैन । लेखिएका सबै कथा धेरै गहिरो गरी कसले पढ्ने हो र ? तर त्यसो भन्ने हो भने, उसको पहिलो कथा त्यसरी ध्यानपूर्वक कसरी पढियो ? ध्यानपूर्वक नपढेको भए उसलाई गौरवान्वित पार्ने त्यस्तो रिक्वेस्ट आउने थिएन ।मोहित मक्ख पर्ने कुरो यो थियो, उसको कथा पढियो । आजभोलि पढ्ने फुर्सद कसैलाई छैन । कसैलाई भन्नाले सबैलाई होइन । उसको कथा पढियो । यो गौरवको कुरो थियो, अझ किनभने उसको त्यो कथाजस्तै अर्को कथाको डिमान्ड आइहाल्यो । कथा हटकेक भइदिएछ । मोहितले त्यही शैली वा ढबमा अर्को कथा लेखेन । लेख्ने सुरसारमा थियो । कथाको के छ र ? संसारैभरि कथा छरिएका छन् । संसारको यात्रा उसले गरेको छैन । भन्ने सुविधा मात्र हो, संसारभरि कथा पैmलिएका छन् । आफ्नै टोलामुहल्लामा पनि त्यस्ता कथा कति छन् कति ? कथा कति छरिएका छन् कति भनेर गर्व गरिहालिए पनि कथा क्लिक भइदिएन भने ? त्यस्तै मोहितले पठाएका कतिपय कथा त्यसै बिलाएर गए । ती बिलाएका कथा उसले कम्प्युटर खोलेर फेरि पढिहेर्यो । ती कथा बिलाएकै ठीक भएछ भन्ने उसलाई गहिरो गरी लाग्यो । निर्धा कथाहरू थिए । तर ती कथाहरू प्राप्त गरेको सूचना सम्बद्ध कला–साहित्यका सम्पादकहरूले उत्साहसाथ ‘सर कथा प्राप्त भयो, धन्यवाद’ भनेका थिए । नछापिएपछि धन्यवादको अर्थ पनि रहेन र ती लेख्नुको उत्साह पनि हरायो । कथाबारे चर्चै भएन र थप अर्को कथा पनि मागिएन ।
उसलाई लाग्यो ऊ बिस्तारै पृष्ठभूमिमा धकेलिँदै छ । भन्नुको आशय, ऊ आफ्नो नाम छापिएको देख्न चाहन्थ्यो । उसबारे खासै चर्चा त हुँदैनथ्यो तर उसको लेखनको एउटा उद्देश्य यो पनि थियो, पत्रपत्रिकामा नाम देखा परिरहोस् । गोप्य कुरो यो पनि थियो, ऊ आफ्नो कथा घरमा पढेर सुनाउँदैनथ्यो । उसले लेखेका कथा छापिएपछि घरकाले पनि पढ्दैनथे । मान्यता थियो, उसले लेखेपछि छापिन्छ, छापिएका जति हामीले पढेर साध्य छैन । अरू धेरै काम छन् । कथा पढेर समय खेर फाल्नु छैन । कथा पढ्नु भनेको समय खेर फाल्नु हो । उसले विश्वका प्रसिद्ध कथाकारहरूका लागि मन दुखायो ।ऊ आपूmलाई कथाकार मान्थ्यो । कथाकारकै परिवारले उसको कथा पढ्दैनन् भने अरूका कथा पढ्ने कुरो त हुँदै भएन । यो पक्षबाट उसले सोचिहेर्यो, कथा पठनसंस्कृति बढाउन उसले झोला भिरेर कथा प्रचारका लागि विश्वयात्रामा पैदल निस्कनु ठीक होला । प्रचारमा उसको कथा पनि पर्ने थियो । कथाहरू प्रचारको कमीले अज्ञातमा विलुप्त भएका पनि छन् । उसले एउटा उपाय यो निकालेको पनि हो, राम्रा कथाहरूको अनुवाद गरेर छपाउँदै हिँड्नु । त्यसमा धेरै मिहिनेत लाग्थ्यो, उचित पारिश्रमिक थिएन । पछि उसलाई लाग्दै आयो अनुवाद गर्दागर्दै अनुवाद गरिएका कथाजस्तै कथा उसले लेख्न थाल्यो । यसले चोरीको आरोप लाग्न सक्थ्यो । राहत यसमा थियो कुनै सम्पादकले यो भनेन, ‘बन्धु, तपाईंले अनुवाद गरेजस्तो मौलिक कथा पाऊँ न ।’यस्तो अनुरोध–आग्रह आएको भए उसले अनुवाद गरेर पत्रपत्रिकामा पठाउन तयार पारिराखेको कथामा थपथाप केरमेट गरेर पात्रका नाउँ र स्थान–ठाउँ आफ्नै मुलुकका गराएर पठाउने थियो । विश्वसाहित्यको यत्रो महासागरमा कसले लेखेको कथा उसले कसरी अनुकूलित पारेर आफ्नो नाममा पठायो भन्ने कसैले सुराकी लगाउन सक्ने थिएन । यो विचारप्रति ऊ निकै लोभियो । तर अन्ततः उसले त्यसो गर्न सकेन । नैतिकता भन्ने एउटा केही चिज थियो ।

नैतिकता ? उसले व्यङ्ग्य गर्दै सोच्यो । अचेल पाठ्यक्रमबाट त नैतिकताको पाठ्यपुस्तक हटाइएको छ । वरिपरि हेर्दा नैतिकता कहाँ छ ? राजनीतिमा ? सरकारमा ? व्यापारमा ? अरू क्षेत्र पनि थिए नैतिकच्यूत भएका । तर उसले भन्यो, ‘अरूसँग के मतलब, तँ आफ्नो नैतिकता बलियो गरी पालन गर् ।’ कथाको प्रसङ्गबाट उसले नैतिकतासम्म हामफालेको थियो । कुरो थियो, एउटा कथाको, अघिल्लो दिन छापिएको कथाजस्तै अर्को कथा चाहियो भन्ने । त्यही कथाको फोटोकपी गरेर पठाउने सवाल पनि थिएन । सम्पादक जङ्गिन सक्थ्यो– ‘हामीलाई यत्ति वैचारिक दरिद्र मान्ने धृष्टता किन गरेको ।’ सबै स्टाफलाई उसले उर्दी जारी गर्न सक्थ्यो– ‘फलानो मान्छेको कुनै किसिमको रचना प्राप्त हुन आएमा नपढी डिलिट गरिदिनू ।’ यस्तो उर्दीले के हुन्थ्यो ? सम्पादकहरू त फेरिइरहन सक्थे । अर्को सम्पादक नियुक्त नहुँदासम्म उसले पर्खनुपर्ने थियो । हानि पत्रिकालाई पनि थियो । केही नभए पनि कसैले रचना पठाइरहने कष्ट त गरेको छ । छापियोस् वा नछापियोस् । पत्रिकाले गर्व गर्ने ठाउँ यो बन्थ्यो– ‘फलानाले रचना पठाएको पठायै गरेर हैरान पार्यो ।’ आ–आफ्नो पत्रकार वृत्तमा यो एउटा गफको रोचक विषय बन्थ्यो । अर्कोले पनि फस्का मार्न सही थाप्दै भन्न सक्थ्यो– ‘ए उसले ? त्यो त त्यस्तै हो । हामी पनि आजित भइसक्यौँ । मेल खोल्यो कि उसैको नाम श्रीगणेश हुन्छ । हा–हा—हा !’ यो उसको कल्पना थियो । पत्रकारहरू आपसमा कति सहिष्णु र सहयोगी हुन्छन् उसलाई थाहा छैन । उसले एउटा पत्रिकाभन्दा अर्कोलाई रचना नपठाउने पतिव्रता धर्म निर्वाह गरेको थिएन । यत्ति हो, एउटा रचनालाई धेरै ठाउँ पठाउने गरेन । पठाउन सक्थ्यो तर पठाएन । सोच्यो, नैतिकताकै प्रश्न बन्छ यो पनि । यस मामिलामा उसलाई केही बेरपछि लाग्यो, होइन पठाएको भए हुने रहेछ । मति र रुचि भिन्न भएका सम्पादकमध्ये कसैले उसको रचना रुचाउन पनि सक्थे । अथवा कुनै रचनाको अन्तरमा लुकेको सम्भावना अर्को कुनै पारखी सम्पादकले देखोस् । यहाँ यो पनि थियो, कुशल सम्पादनको आग्रहमा ऊ आपैmँ सम्पादक हुने पो हो कि भन्ने पनि सोच्यो । पहिले त उसले प्रुफ रिडिङबाट सुरु गर्नु उचित हुन्थ्यो । आजभोलि प्रुफ रिडिङ पनि सुकेर गएको छ । मेलबाटै रचना पठाइन्छ, मेलबाट पठाउन नसके रचनै नलेखे हुन्छ । मेलबाट आएको रचना जस्ताको तस्तै छापिन पनि सक्छ, ह्रस्व–दीर्घ वा वाक्य गठनको संशोधनबिना ।

लेखक भन्न सक्छ, ‘मैले मेल गरेर पठाएको रचना असंशोधनीय हुन्छ ।’ यसमा तुक त थिएन, मेल गरेर पठाएको रचना असंशोधनीय हुन्छ भन्नु । तर आफ्नो कुरा तर्कहीन भए पनि त्यसमा अडान लिनुपर्छ । अडान लिन नसके रचनाकारको रचना मनोमानी ढङ्गले संशोधन गरिन्छ । लेखकले कमजोरी देखाउनु भएन । लेखकले थप्न सक्छ– ‘मेलबाट नआएको रचना छाप्न गाह्रो हुन्छ भन्ने मैले सुनेको छु । मेलबाट आएको रचना छाप्न तपाईंहरूलाई किन कष्टकर भयो ?’ यति कुरा मोबाइलको संवादबाट सुनेपछि सम्पादक झन् रिसाएर त्यो लेखकको रचनै पढ्न छाडिदिन सक्छ । प्रुफ रिडिङको चलन कम भएर गएको छ, स्क्रिनमै हेरेर सच्याउने सुविधा भए पनि । कथाको विषय यी सबै कुरा हुन सक्दैनथे । मोहित अलमल्ल परेको छ । अघिल्लो दिन छापिएको कथाजस्तो अर्को कथा कहाँबाट ल्याउने ? उसले कम्प्युटरमा सेभ गरिराखिएका अधुरा कथा–रचनाहरू एकपछि अर्को गर्दै खोलेर हेर्यो । कुनै पनि त्यो स्तरका देखिएनन् । कुन दिन त्यस्तो कथा लेखिएछ ? अर्को त्यस्तै कथा लेख्नै नसकिने च्यालेन्ज भैगो । उसले गम्भीरतासाथ बाह्य वातावरणतिर हेर्यो । आज पछाडिका रूखहरूमा चराचुरुङ्गी चिर्बिर गरेको पनि सुनेन । घरभित्र श्रीमतीले झाइँझुइँ गर्दै तिहुन–तरकारी पकाएको वा दाल झानेको पनि सुनिएन, भोक जगाउने सुगन्ध पनि आएन । उसको घरै आज सुनो छ । ‘ए, तिमीहरूले यो के गरेको ? खै, पकाउनतिर लागेको । सधैँ त खाने बेला भयो, अबेर नगरौँ भन्थ्यौ ।’ सबै टीभीअगाडि बसेका छन् । हिन्दी सिरियलका एउटा एपिसोड छाडिँदैन । ‘होइन, पकाउनेजति पकाइसकियो । अब त खान मात्र बाँकी छ । तपाईं कुन कुरोमा मग्न हुनुहुन्थ्यो कुन्नि ? बोलाउन उपयुक्त मानिएन ।’

खाना खाने कामका लागि ढिलो गर्नु थिएन । सेलाउन सक्थ्यो । तात्तातो खाना स्वादिलो हुन्छ । उसले त्यसो भनेन । कथाहरूबारे कोही केही बुझ्दैन । आफ्नो भाषा आफ्नो संस्कृतिको कुनै मूल्य छैन । भाषा–संस्कृति पछि, पहिले खाना खानु ठीक छ । एउटा नैतिकता त्यहाँ पनि छ, खाना रुचे पनि नरुचे पनि वा खाना मीठो भए पनि नभए पनि सपासप खाइदिनु ठीक छ । नुन–मसला कमबेसी वा आज यो किन पकाइयो भनेर सोधियो भने श्रीमतीको मुख अँध्यारो भइहाल्छ । झर्कोफर्को सुरु भइहाल्छ । आलोचना सह्य हुँदैन । आलोचना त कस्ताकस्ता नेतालाई त सह्य हुँदैन । उसैलाई पनि सह्य छैन आलोचना । पूरै नपढी ठ्याक्कै यो कथा राम्रो छैन भनिदिन सक्नेहरू छन् । राम्रो–नराम्रो भन्नेभन्दा पनि पढ्दै पढिँदैन । पठनसंस्कृतिको ह्रास भइरहेछ । धन्न यस्तो सोच्दा कता गाँसमा ढुङ्गा लागेन । अचेल कलर सर्टेड चामल पाइन्छ । ढुङ्गामाटो पहिल्यै हटाइएका हुन्छन् । त्यस्तै कलर सर्टेड आलोचना–समालोचना भइदिए ? आ–आफ्ना गु्रपका लेखन्तेहरूलाई कलर सर्टेड आलोचना गर्नेहरू पनि छन् । मोहितले एक–दुई गाँस भात हतारहतार निल्यो । एउटा ग्रुपको खोजीमा ऊ पनि छ । राजनीतिमा गुट भएजस्तो साहित्यमा पनि गु्रपिज्म छ । यो राम्रो नराम्रो भन्ने हुँदैन, जुन ग्रुपमा लागिएको छ त्यही राम्रो । एक–दुईपटक उसले फलानो ग्रुपमा छिर्ने प्रयत्न गरेको हो । त्यहाँ ऊ स्वीकृत हुन सकेन । भनियो, ‘कुनै अर्को ग्रुपमा जानोस्, यहाँ ठाउँ छैन ।’ पछि बुझ्दा त्यो ग्रुपले आपूmलाई भूमिगत भन्दो रहेछ भूमिमाथि विचरण गर्ने गरे पनि, त्यस्तो भावना तिनमा थियो । खल्तीमा कलमको ठाममा उस्तरा भिरेर हिँड्ने हौँ हामी भनियो । यस्तो ग्रुप अन्यत्र पाइन्न । नपाइएकै ठीक थियो । हजामगिरी गर्दै को हिँड्न सक्छ ?

ऊ अलि नैतिकताप्रति संवेदनशील भएर लेख्ने मान्छे त्यसैले त्यहाँ ठाउँ छैन भनियो । कारण अर्कै पनि हुन सक्थ्यो । ऊ त्यो अर्को कारण खोज्नतिर लागेन । अस्वीकृत भइसकेपछि पुनः पुनः त्यहाँ जानु र अनुनय गर्नुको मतलब देखेन । यस्तै केही पत्रिकाले पनि ऊसँग व्यवहार गर्थे । धेरै तितो हुनु छैन । खाँदाखाँदै ऊ बीचैमा उठ्न खोज्यो । श्रीमतीले कर्के आँखाले हेर्दै भनी, ‘त्यत्रो भात छाडेपछि कसले खान्छ ।’ उसको थालमा भातको रास ठूलै थियो । ‘धेरै खाएपछि लेख्न अप्ठ्यारो हुन्छ ।’ उसले खान छाड्नुको राम्रो कारण देखाएको मान्यो । ‘दिनभरि कम्प्युटरमा बसिराखेर के गर्नुहुन्छ ? राम्ररी खाए पो…!’ ‘राम्ररी खाए पो’ भनेर श्रीमतीले वाक्य चुँडाली । राम्ररी खाए पो भन्नाले ? लेख्न सकिन्छ भनेको होला । खाली पेटको भरमा राम्रो रचना निस्कँदैन भनेर त लेखकहरू कराउने गरेकै छन् । अब उसकी श्रीमतीले पनि त्यसको वकालत गरिदिने भई ? होइन, त्यसो होइन होला । उसले भन्न खोजेको अर्कै आशय पनि हुन सक्छ । राम्ररी खान चाहँदैनौं अनि कसरी लेख्ने कामबाहेक अरू कामतिर मन जान्छ ? कम खाएर चल्ने काम भनेकै लेखन हो । के यति धेरै अर्थगर्भित कुरो उसकी श्रीमतीले भन्न सकी ? गजबको निरीक्षण शक्ति हुन्छ महिलाहरूमा । मान्नुपर्छ । मोहितले भन्यो, ‘लेख्ने काम बाँकी छ । त्यसैले…।’ खान बसेकाहरूले थप केही भनेनन् । खानै छाडेर काम गरे पनि हुने केही होइन । त्यही कम्प्युटर पनि कुनै दिन बिग्रियो भने बल्ल ऊ हाम्रो समूहमा आउन सक्छ भनेर उनीहरू मनमनै सोच्थे । कम्प्युटरबिना उसको लेख्ने अभ्यास छुटेको छ । आफ्ना हातले लेखेका अक्षर कस्ता हुन्छन् भन्ने पनि उसले बिर्सिसकेको छ । हस्ताक्षर गर्न पाए ! हस्ताक्षर गर्ने काम पनि छैन, हस्ताक्षर गर्न पाए भन्ने कुरो छैन । उसले प्रशासकहरू, माल (मालपोत) का हाकिमहरू र न्यायाधीशहरूले दन्काएर हस्ताक्षर गरेको देखेको छ । कस्तो किसिमले हस्ताक्षर गरिएको हुन्छ भने मानौँ त्यो कुनै रहस्यात्मक लिपिमा लेखिएको नाम हो । विश्वमा लिपि पनि अनेक थरीका छन् र तिनको विकास पनि अनेक किसिमबाट भएको छ । यी हस्ताक्षरहरूको लिपि पनि यसरी नै विकास हुँदै जाने हो । उसले हस्ताक्षर गर्ने कामै छैन भनेपछि ? एउटा खाली कागतमा कलमले हस्ताक्षर गरिहेर्ने इच्छा जाग्यो उसलाई । कसैको फोन नम्बर टिप्नुपर्यो भने त ठीक ठाउँमा डट् भेटिन्न भने हस्ताक्षर गरिहेर्ने रहरको तुक देखेन ।

खाना खाएपछि हात चुठेर ऊ पुन कम्प्युटरमा बस्यो । कथा उस्तै चाहियो । कम्प्युटरको स्क्रिन ताक्दाताक्दा ऊ अलिकति भाते तन्द्रामा फसेछ । एकाएक मोबाइलको रिङले उसलाई झसङ्ग पा¥यो । उसले मुखभरिको थुक निलेर भन्यो, ‘हेलो ।’ उताबाट भनियो, ‘तयार भयो ?’ के तयार भयो ? कुनै टेलरिङ हाउसमा फोन गरेको यता गलत ठाउँमा परेछ कि ? ‘कथा ?’ उसले तन्द्रा भगाउँदै सोध्यो । ‘अरू के त ?’ उसलाई जवाफ फर्काइयो । ‘सम्भव भएन ।’ उसले असमर्थता जनायो । ‘यो कुरो भएन ।’ उताको आवाजमा खिन्नता थियो । ‘कहिलेकाहीँ भइहाल्छ ।’ उसले क्षमायाचनामा भन्यो । ‘त्यो लेखेपछि हामीलाई सम्झनुपथ्र्यो नि सर ।’ उताबाट सम्पादकले होइन कुनै सहायकले फोन गरेको रहेछ । त्यसले उसलाई अलि दरो बनायो । भन्यो, ‘के थाहा हुन्छ कसैलाई, यो कथा नै ब्लन्डर भइजाने हो भन्ने ।’ उसले प्रयोग गरेको ब्लन्डरको सान्दर्भिकता थिएन तर उताको आग्रहको दबाबलाई चिर्न उसले त्यो शब्द प्रयोग गर्यो । ‘सर, अर्कोपटक त्यस्तो ब्लन्डर हुने भएमा हामीलाई सम्झनुहोला ।’ त्यति भनेर एउटा नमस्कार पनि दिइछाडेर उताको लाइन अफ भयो । मोहितले ‘हुन्छ’ भन्न पनि पाएन । फोन काटिइसकेको थियो । एउटा लामो सास फेरेर फेरि तन्द्रामा प्रवेश गर्ने तर्खर गर्यो । तर त्यो तन्द्राको प्रभावलाई साम्य पार्न ऊ लगत्तै सुत्ने कोठामा पस्यो र ओछ्यानमा लम्पसार परेर सुत्यो । छेवैमा मौका पर्खिरहेको निद्राले उसलाई झ्याप्पै पारिहाल्यो । अर्कोतिर ऊ मन्दमन्द घुरेको आवाज बास नपाएको बटुवाभैmँ यताउति भौँतारिन थाल्यो ।


Your Views
Related News