ताप्लेजुङ । कोरोना संक्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा संक्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैँचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन् ।तिब्बत तर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।

“गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो”, गलैँचा व्यवसायी याङ्दी वालुङले भने । एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौं लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरु समस्यामा पर्ने स्थानीय वालुङले बताए ।“विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो”, वालुङ भन्नुहुन्छ । वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडै नाका खुल्ला भन्ने आसमा देखिन्छन् । तर दिनानुदिन संक्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन । हरेक घरमा गलैँचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ छ । “सबैको घरमा गलैँचा थन्किएका छन्, बजारीकरण नहुँदा आर्थिक रुपले उनीहरु समस्यामा पर्ने देखिन्छ, अहिले वडाले बजारीकरणका लागि विभिन्न क्षेत्रमा समन्वय गर्ने काम गरिरहेको छ”, अध्यक्ष शेर्पाले भने ।ओलाङ्चुङ्गोलामा वार्षिक ५०० बढी गलैँचा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । एउटा गलैँचा बुन्नका लागि कम्तिमा १० दिनसम्म समय लाग्छ । यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको छ । गलैँचाको मूल्य सामान्यतया १० देखि २० हजारसम्म पर्छ । यहाँ उत्पादित गलैँचाको मुख्य बजार नै चीनको तिब्बत हो । कहिलेकाही कोशेलीको रुपमा काठमाडौं लगायत ठाउँमा समेत लगिने गरेको छ ।

READ MORE NEWS

‘रिह्याब’, चोटमा साथी

खेल भनेपछि त्यसै पनि चोट जोडिएर आउँछ । एकातर्फ चोटबाट बच्न सावधानी अपनाउनुपर्ने त भयो नै । अर्कोतर्फ चोट लागेपछि खेलाडीको ठीक उपचार उत्तिकै आवश्यक हुन्छ । तर नेपाली खेलकुदमा यो पक्षलाई असाध्यै नराम्रोसँग उपेक्षा गरिएको छ । नेपाली खेलकुद अन्यको दाँजोमा पछाडि छ भन्दा यसका धेरै कारण हुन सक्छन् । यसमध्ये एउटा ठूलो कारण यो पनि हो, चोट र यसको उपचारबारे राम्रो जानकारी नहुनु । काठमाडौँ — समिद कतिला खासमा फिजिरोथेरापिस्ट नभएर कलाकार हुनुपर्ने मान्छे हुन् । कलाकार नाटककै सही वा गायक । उनी प्रायः रचनात्मक उपद्रो गरिरहन्छन् । फेरि यिनको नाम पनि सम्झिन गाह्रो । तर एकपल्ट भेटेपछि यिनको नामै बिर्से पनि मान्छे स्वयं भने याद आइरहने खाले छन् । सन् २०१४ मा इन्डोनेसियाविरुद्ध मलाङमा भएको मैत्रीपूर्ण फुटबलमा उनी नेपाली राष्ट्रिय टिमका फिजियोथेरापिस्ट थिए । सायद त्यतिबेला कच्चा थिए । उनको मनमा यस्तो गरे कस्तो होला, यस्तो नगरे कस्तो होला भन्ने धेरै प्रश्न हुन्थ्यो ।इन्डोनेसिया भ्रमणका क्रममा उनीसँग दोस्ती भएको थियो । त्यही बेला उनले एउटा सपना बुनेका थिए, खेलाडीलाई चोट लागेपछि निको हुने क्रममा चाहिने ‘रिह्याब सेन्टर’ खोल्ने । अहिले उनलाई सायद राम्रोसँग याद नहुन सक्छ, त्यो सपना । जेहोस्, अहिले उनी धेरै हदसम्म परिपक्व भइसकेका छन् । कतिलाले खोलेका छन् ‘अर्थोप्लास्ट स्पोर्टस रिह्याबिलिटेसन एन्ड रिकभरी युनिट’ । ज्यादा शब्दको जाल भयो यो त । सिधा सिधाभन्दा खेलाडीलाई चोट लागेपछि ठीक ढंगले निको हुने संयोग गर्ने एकाइ भनौं न ।

भर्खर सञ्चालनमा आएको यो एकाइ ग्वार्कोको अर्थोप्लास्ट रिह्याब सेन्टरको हो । यसअघि खेलाडीलाई अरू सबैखाले विरामीसँगै उपचार गरिन्थ्यो, तर यसमा मज्जा थिएन । त्यसैले एउटा ठूलो कोठालाई खाली खेलकुदसँग जोडिएको छ र त्यहाँ प्रवेश गर्दा लाग्छ, यो कुनै रंगशालाको कुना हो । पक्कै यसको सजावट सोच समिदकै हुनुपर्छ । त्यसो त उनी फिजियोथेरापिस्ट त हुन्, तर ठ्याक्कै खेलसँग जोडिएका होइनन् । खेलसँग ठ्याक्कै जोडिएका भने सुरज भुसाल हुन् ।उनीको नेपाली फुटबलसँग जोडिएको लामो समय भइसकेको छ । मछिन्द्र क्लबले पछिल्लो समय लिग जित्दा उनी त्यस टिमका फिजियोथेरापिस्ट थिए । यसलाई हाम्रो पारामा भन्दा हुने रहेछ, ‘भौतिक चिकित्सक’ । त्यस रिह्याब सेन्टरमा समिद र सुरज ठू–ठूला निर्देशकका पदमा छन् । नेपालमा निजी क्षेत्रमा खेलकुदको रिह्याब सेन्टर खुलेको यो नै पहिलोपल्ट हो । यो अर्थमा उनीहरूले नेपाली खेलकुदमा ठूलै गुन लगाएका छन् । खेलाडीलाई उपचार गर्दा उनीहरू राम्रै छुट दिने दाबी गर्छन् ।तर यो कथा त्यही रिह्याब सेन्टरको धेरै बखान गर्न होइन । बरू हो त यसले उठाएको जरुरी र सान्दर्भिक मुद्दा । जहाँ खेल, त्यहाँ चोट हुने भयो नै । यसका धेरै पाटा छन् । एक त खेलाडीले आफूलाई कसरी चोट लाग्न सक्छ र यसबाट कसरी बच्ने हो, त्यसबारे राम्रो जानकारी राख्नुपर्‍यो । अनि चोट नै लागेपछि यसको गम्भीरता हेरेर दुई सम्भावित अवस्था हुनसक्छ । चोट सामान्य छ भने रिह्याबमा गए भइहाल्यो, होइन भने शल्यक्रिया चाहियो । त्यस स्थितिमा शल्यक्रियापछि फेरि रिह्याब ।

प्रतिभाको घटना

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले रजत पदक जित्दा त्यसका नायिका थिइन्, प्रतिभा माली । चारैतर्फ वाहवाही छाएको थियो उनको । हुन पनि यी स्पाइकरको खेल हेर्दा मन खुसी हुने खालको छ । तर उनको आफ्नै खुसी भने त्यो प्रतियोगितापछि लामो समय टिकेन, त्यसको महिना दिनपछि नै चोटग्रस्त भइहाल्यो । त्यो पनि नराम्रोसँग । अझ जटिल खालेभन्दा हुन्छ । तुरुन्त शल्यक्रिया भयो, यसमा संलग्न चिकित्सक थिए, रुपेश वैद्य ।चिकित्सकीय भाषामा भन्दा प्रतिभाको लिगामेन्ट च्याटिएको थियो, देब्रे ‘मेनिकस’ गएको थियो । धन्न तुरुन्तै शल्यक्रिया भयो । तर उनी अझै पूर्णतः निको भएकी छैनन्, उनको यही रिह्याब सेन्टर उपचार चलिरहेको छ । लगभग ८ महिना भइसकेको छ, उनको रिह्याब सुरु भएको । उनी निको हुने क्रममा छन्, अहिले सामान्य अभ्याससम्म सुरु गरिसकेकी छैनन् । तर अहिले नै कोर्टमा उत्रने समय भएको छैन । त्यसै पनि प्रतिभा निहुँबिना मुसुक्क हाँसिरहनुपर्ने खेलाडी हुन् ।तर उपचारका बेला उनको यही मुसुक्क हाँसिरहनुपर्ने अनुहारमा पीडा झल्कन्छ । आठ महिना भयो, दिनहुँ रिह्याबका लागि घरबाट धाएको । खर्च आफ्नै ठाउँमा छ, भनिरहनुपर्दैन, यो महँगै छ । पछिल्लो समय यही कारणले त हो, खेलाडीको चोटमा बिमा गर्नुपर्ने आवाज चर्को उठेको । सबै आफ्नै खर्चले उपचार गर्ने हो भने खेलाडीले खेल त छाड्छ नै, उल्टै खेलकुदलाई पनि सराप्छ । खाली रिह्याबमै मात्र दुई–तीन लाख रुपैयाँ मज्जाले लाग्छ ।खर्च आफ्नो ठाउँमा छँदै छ, त्यसमाथि चोटग्रस्ट खेलाडी कति धेरै मानसिक दबाबबाट गुज्रिनुपर्ने हो, त्यसको हिसाबकिताब नै छैन । त्यही रिह्याब सेन्टरमा बास्केटबलकी सबिता खड्का पनि भेटिइन् । उनले उपचार सुरु गरेको पनि लामै समय भइसकेको छ । उनले यसक्रममा के कस्तो दुःख पाइन्, त्यसको कथा फेहरिस्त नै छ । जतिबेला नेपालमा खेलाडीलाई चोट लाग्छ नि तिनलाई साथ दिन संघदेखि यसका सबै पदाधिकारी भाग्ने गर्छन् । नपत्याए, सबितालाई सोधे हुन्छ ।

चोटबारे पूर्णतः अज्ञान

खेलाडीलाई चोट खेल हेरेर हुँदोरहेछ । जस्तो फुटबलमा ह्यामट्रिङदेखि घुँडा र कुर्कुंच्चाको चोट लाग्ने सम्भावना हुन्छ । क्रिकेटमा ‘ब्याकपेन’ देखि काँध, कुहिना र घुँडामा चोट हुने सम्भावना बढी हुन्छ । फेरि क्रिकेटमा तीव्र गतिका बलरलाई जस्तो चोटको सम्भानावना बढी हुन्छ, त्यस्तो चोट स्पिनरलाई नहुन सक्छ । ब्याट्सम्यानको चोट त झन अर्कै हुनसक्छ । धन्न नेपाली खेलकुदमा फुटबल र क्रिकेट नै त्यस्ता दुई खेल हुन्, जसका खेलाडीलाई सम्भावित चोटबारे ठीकै जानकारी राख्छन् ।यी दुई खेल छाडेर अन्य खेलका खेलाडीलाई त केही पनि जानकारी छैनभन्दा हुन्छ, केही अपवादलाई छाडेर । सम्भावित चोट र यसको उपचारबारे अधिकांश नेपाली खेलाडीमा ज्ञान छैनभन्दा फरक पर्दैन । रिह्याब आफैंमा सम्पूर्ण उपचार होइन, यसका लागि चोटग्रस्त खेलाडी कति धैर्यवान छन् र कति दबाबमा आउने गर्दैनन्, त्यसले पनि फरक पार्छ । त्यसो भनेको चोटबाट बच्नु र उपचारबाट गुज्रिनु भनेको शारीरिक मात्र पक्कै होइन, मानसिक पनि हो, मानसिक रूपमा उत्तिकै बलियो हुनुपर्छ ।

चिकित्सकको भूमिका

खेलाडीको सम्भावित चोट र त्यसको उपचारमा खेलकुद विधाकै फिजियोथेरापिस्ट त चाहियो नै । यसमा यही विधाकै चिकित्सकको उत्तिकै भूमिका हुन्छ । अब त नेपालमै पनि ‘अर्थोपेडिक अर्थोस्कोपिक स्पोर्टस सर्जन’ पनि एक दर्जन जति भए । खेलकुदबारे नै अध्ययन गरेका फिजियोथेरापिस्ट बाक्लै संख्यामा उत्पादन भइसकेका छन् । अब प्रश्न के यी प्राविधिक जनशक्तिको ठीक ढंगले नेपाली खेलकुदले उपयोग गर्न सकेको छ त ? पक्कै छैन । छँदै छैनभन्दा पनि हुन्छ ।बरू सबैभन्दा ठूलो समस्या त के भने नेपालमा प्रशिक्षक वा व्यवस्थापक, नभएर कोही सिनियर खेलाडी नै आफैं चिकित्सक र फिजियोथेरापिस्ट भइदिन्छन् र उपचारमा सहभागी हुन्छन् । यो वास्तवमै अर्को जटिल समस्या भयो । यही विधाका एक चिकित्सक राजीवराज मानन्धर भन्छन्, ‘खेलाडीको चोट कति गहिरो छ, त्यो उपचारमा महत्त्वपूर्ण हुन्छ । त्यसको ठीक समयमा ठीक पहिचान गर्न सक्नुपर्छ । उपचारका क्रममा ठीक सल्लाह अवाश्यक छ । शल्यक्रिया र रिह्याब चोटको उपचारका दुई निर्णायक पाटा हुन् ।’समिद र सुरज चोटग्रस्त खेलाडीको उपचारमा संलग्न भएको पनि धेरै समय भइसकेको छ । त्यसैले उनीहरूसँग थरीथरीका बहुमूल्य उदाहरण छन् । उनीहरू भन्छन्, नेपाली खेलकुदले यो विधा केही हदसम्म नयाँ हो अनि यसलाई हेपिरहने काम गरिरहेको छ । त्यसैले यसमा जाकरुकता धेरै आवश्यक छ । उनीहरू फुटबलका केही यस्ता पुराना खेलाडीको नाम लिन्छन्, जसले समयमै उपचार र ठीक सल्लाह पाएको भए, उनीहरूको खेलजीवन चाँडै सकिने थिएन ।अनि जतिबेला ठीक उपचारपछि खेलाडी मैदानमा आउँछन् र राम्रोसँग खेल्छन्, त्यसको मज्जा नै शतप्रतिशत बढी हुने गर्छ । जस्तो फुटबलकै उदाहरण पेस गर्दा थ्रीस्टार क्लबका विक्रम लामा । फुटबलकै अर्को उदाहरण किरण चेम्जोङ पनि छन् । उनी चोटप्रति सजग छन् । दिनहुँ एक्लै भए नि अभ्यास गरिरहन्छन्, बानीबेहोरा ठीक छ । फिजियोथेरापिस्टका लागि किरण ‘आइडियल’ खेलाडी हुन् । बाँकी रह्यो, समिद र सुरजको कुरा । भन्छन्, ‘खेलकुद नै त्यस्तो क्षेत्र हो, एकपल्ट यसमा प्रवेश गरेपछि यसमै जोडिन चाहिरहने इच्छा छ । रिह्याब सेन्टरबाट हामी धेरै अपेक्षा गर्न सक्छौं ।’


Your Views
Related News