काठमाण्डाै – बाँकेको राप्तीसोनारी गाउँपालिका ५ की १५ वर्षीया रीता (नाम परिवर्तन) कक्षा ६ मा पढ्थिन् । साँझ बिहान घरमा आमाबुवालाई सघाउने र दिउँसो विद्यालय गएर पढ्नु उनको दैनिकी थियो । तर कोरोनाको कारण चैतदेखि विद्यालय बन्द भयो । विद्यालय बन्दसँगै उनको दैनिकी फेरियो । बिहान साँझ घरको काम गर्ने, दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा जाने गर्न थालिन् । विद्यालय बन्द हुँदा सुरुको एक, दुई हप्ता रीता खुसी नै थिइन् ।तर लामो समयसम्म विद्यालय नखुल्दा दिक्क लाग्न थाल्यो । रीतासँग मोबाइल थिएन । उनले आफ्नो हजुरआमाको मोबाइल बोक्न थालिन् । रीताको  फोनबाट दिनहुँ सँगै पढ्ने साथीसँग कुराकानी हुन थाल्यो । उनले आफ्नै विद्यालयमा कक्षा ७ पढ्ने केटालाई मन पराउँथिन् । केटाले पनि उनलाई मन पराउँथे ।विद्यालय बन्द हुँदा भेटघाट र कुराकानी नभएपछि उनीहरुको फोनमा कुराकानी हुन थाल्यो । घर एक घण्टाको दूरीमा छ । त्यसैले परिवारको आँखा छलेर भेटघाट पनि हुन थाल्यो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुले  बिहे गर्ने निर्णय गरे । रीताका आमाबुवालाई यो कुरा थाहा थिएन । तर, केटाका आमाबुवालाई भने थाहा थियो । उनीहरुले असार १७ गते भागेर बिहे गरे । छोरी केटासँग भागेर गएको रीताका आमाबुवाले १८ गते बिहान मात्र थाहा पाए। ‘सधैं खाना खाएर हजुरआमासँग सुत्न जान्थी, त्यो दिन पनि हजुरआमाकहाँ होली भन्ने सोचेका थियौँ । बिहान उठ्दा त तिम्रो छोरी पोइल गयो भन्दा त अचम्म लाग्यो,’ रीताका बुवाले भन्नुभयो । रीताले भागेर बिहे गरेको कुरा १८ गते गाउँभरि फैलियो । उनको घर नजिकै वडा नम्बर ५ कार्यालय छ ।

रीताले बिहे गरेको वडा कार्यालयका कर्मचारीलाई पनि थाहा भयो । वडा कार्यालयका कर्मचारी र बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले थाहा पाएपछि उनीहरुले रीताका बुवाआमालाई छोरी फर्काएर ल्याउन सल्लाह दिए ।रीताका बुवा असार १९ गते छोरी ल्याउन केटाको घर गए । रीताले सुरुमा फर्किन मानिनन् । २० वर्ष मुनी बिहे गरे प्रहरीले पक्राउ गर्ने र जरिवाना गर्ने सुनाएपछि रीता आमाबुवासँग आउन तयार भइन् । रीतालाई उमेर पुगेपछि त्यही केटासँग बिहे गराइदिने सर्तमा फर्काएर घर ल्याए । तर, रीतालाई यो कुरा मन परेन ।‘छोरीलाई फर्काएर त ल्याएकै हो नि । यहाँ ल्याइसकेपछि त उसले खाना खान र बोल्नै छोडी, दिनभरि सुत्ने, केही नखाने र भाइबहिनीसँग पनि बोलिन । तीन दिनमा फेरि भागेर गइहाली । हामीले रोक्नै सकेनौँ’ रीताकी आमाले भन्नुभयो ।त्यसपछि रीतालाई परिवारले फर्काएन । १५ वर्षकी उनी अहिले घरमै श्रीमानसँग बसेकी छन् । रीताका आमाबुवालाई भने छोरीको अझै चिन्ता लागेको छ । ‘सानै छे, कसरी घर गरेर खान्छे, हामीलाई त छोरीको चिन्ता लागेको छ’ रीताकी आमाले भन्नुभयो ।‘मैले सानै उमेरमा बिहे गर्दा कस्तो दुःख खेप्नुपरेको थियो । मेरो जस्तै दुःख उसले पाउने भइ, सानै उमेरमा घरपरिवारको जिम्मा लिनु निकै दुःख हुन्छ’ छोरीलाई सम्झेर आमाले पीर मान्दै भन्नुभयो । रीताका बुवा भन्नुहुन्छ, ‘विद्यालय बन्द हुँदा नै यो समस्या भएको हो । पहिले सधैं पढ्न जान्थी । विद्यालय बन्द भएपछि पढाइ रोकियो, फोनमा कुरा हुन थाल्यो, भेटघाट बन्द भयो, यो भन्दा त बिहे गरौँ भन्ने लाग्यो छोरी भागेर गइ।’

प्रहरीले विवाह रोक्यो, केटाकेटी फेरि भागे

गएको भदौ पहिलो हप्ता बाँकेको राप्तीसोनारी ५ सन्तपुरमा परिवारकै सहमतिमा १७ वर्षीय किशोर र १६ वर्षीया किशोरीको विवाह भइरहेको थियो । प्रहरीले बालविवाह हुन लागेको थाहा पाएपछि मण्डपबाटै पुरोहितसहित बेहुला र बेहुलीलाई पक्राउ गर्यो ।अभिभावकले बालविवाहबारे जानकारी नभएकाले विवाह गराइदिन खोजेको बताएपछि प्रहरीले सम्झाइ बुझाइ गरे । बालविवाह गरे कानुनी कारबाही हुने भन्दै प्रहरीले केटाकेटीलाई अभिभावकको जिम्मा लगायो । प्रहरीले पक्राउ गरी सम्झाइबुझाइ गरेपछि एक हप्तासम्म केटाकेटी आ-आफ्नो घरमा बसे । तर १ हप्तापछि केटाकेटीले फेरि भागेर बिहे गरे । उनीहरुले भागेर बिहे गरेपछि गाउँका किशोरी, अभियान्ताहरु सम्झाउन गए । परिवारले उल्टै धम्की दिए ।‘हामी गएर सम्झाउँदा केटाकेटीका अभिभावकले नै गाली गर्न थाले । मन मिलेर हाम्रा छोराछोरी बिहे गर्छन् भने तिमीहरु को हो र फेरि छुट्याउन खोज्ने भने, अनि हामी त फर्केर आयौँ,’ सहजकर्ता यमकला बस्नेतले भन्नुभयो ।

चैत ११ देखि भदौसम्म ६९ वटा बालविवाह

लकडाउन सुरु भएदेखि भदौ महिनासम्म बाँके जिल्लामा ६९ वटा बालविवाह भएका छन् । स्याक नेपाल बाँकेका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश पाण्डेका अनुसार सबैभन्दा बढी बालविवाह गर्ने ४२ जोडी बाँकेको राप्तीसोनारी गाउँपालिका रहेका छन् ।राप्ती सोनारी गाउँपालिकामा पनि सबैभन्दा धेरै वडा नम्बर ५ मा मात्र १३ जोडीले भागेर बिहे गरेका छन् । यसरी भागेर बिहे गर्नेमा सबैभन्दा धेरै १६, १७ वर्षका बालबालिका छन् । ‘विद्यालय बन्द भए, बालबालिका फुर्सदिला भए, अभिभावकले ध्यान दिएनन् । केटाकेटी भागेर जान थाले । यो संख्या लकडाउन यता झनै बढ्यो,’ प्रबन्धक पाण्डेले उज्यालोसित भन्नुभयो । लकडाउनमा बन्द भएका विद्यालय अहिलेसम्म नखुल्दा बालबालिकाको मनोविज्ञानमा असर परेको र विकल्पका रुपमा बिहे गर्न थालेको पाण्डेले बताउनुभयो ।  बालविवाह गरेका केटाकेटीलाई सम्झाइबुझाइ गर्दा पनि छुट्याउन समस्या भएको राप्तीसोनारी गाउँपालिका ५ की वडा सदस्य धनसरी वली बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, ‘बालविवाह गरेका केटाकेटीलाई छुटाउन निकै प्रयास गर्यौँ । तर सकेनौँ । कसैका अभिभावक नै मान्दैनन् कोही केटाकेटी नै मान्दैनन् ।’  ‘गाउँमा कोरोनाभन्दा डरलाग्दो अवस्था बालविवाहको छ । यो त हामीले लकडाउनमा भएका बालविवाहको मात्र डाटा रोखेका छौँ लुकीछिपी त अझ धेरै गएका छन्,’ धनसरीले भन्नुभयो ।

बालविवाह रोक्न चुनौती

राप्तीसोनारीमा बढ्दै गएको बालविवाह रोक्न निकै समस्या भएको गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले बताउनुभयो । उहाँले गाउँमा धमाधम केटाकेटी भागेर गए पनि आफूकहाँ लिखित मौखिक उजुरी नै नआएको बताउनुभयो ।‘गाउँमा केटाकेटी भागेर गएकै छन् । रोक्न सकेका छैनौँ । रोक्न खोज्दा केटाकेटी  नसुन्ने, अनि कतिपय अभिभावकले नै कुरा बुझदैनन्,’ धनीकुमारीले भन्नुभयो । गाउँपालिकाले ९ वटै वडामा, बालविवाह, महिला हिंसाका बारेमा जनचेतनामुलक कार्यक्रम गरिरहे पनि बालविवाह रोक्न निकै समस्या भएको खत्रीले बताउनुभयो ।

विद्यालय बन्द हुँदा समस्या 

कोरोना महामारीका कारण बन्द भएका शैक्षिक संस्था अझै खुल्न सकेका छैनन् । कतिपय विद्यालय सञ्चालनमा आए पनि धेरैजसो विद्यालय अझै बन्द छन् । विद्यालय बन्द हुँदा बालबालिकाको किताब पढ्ने बानी छुट्यो । विद्यालय गएर पढ्ने समयमा उनीहरु गोठालो जान थाले । बारीको र घरको काम गर्न थाले । गोठालो जाँदा कतिपयको जंगलमै भेटघाट हुन थाल्यो भने कतिपयको फोन र इन्टरनेटमा कुरा हुन थाले । घरमा बसेर काम गर्नुभन्दा विवाह गरेर सँगै बस्ने भन्दै उनीहरु भागेर बिहे गर्न थालेको किशोरी सिर्जना शर्मा बताउनुहुन्छ । विद्यालय बन्द भइ घरमा बस्न थालेपछि किशोर किशोरीले भागेर बिहे गर्ने क्रम बढेको उहाँले बताउनुभयो । ‘विद्यालयमा हुँदा साथीभाइसँग भेटघाट हुन्थ्यो, कुराकानी हुन्थ्यो । रमाइलो हुन्थ्यो, घरभित्र बस्न त साह्रै समस्या हुँदो रहेछ । म आफैँलाई पनि विद्यालय नखुल्दा समस्या भएको छ,’ सिर्जनाले भन्नुभयो । बलविवाहबारे आफै जस्ता किशोरकिशोरीलाई चेतना जगाउँदै आउनुभएकी सिर्जना भन्नुहुन्छ, ‘पहिले विद्यालय, गाउँगाउँमा गएर किशोरकिशोरी र अभिभावकलाई सम्झाइबुझाइ गर्थ्यौँ, केही कम भएको थियो । लकडाउनमा त बालविवाह निकै बढे ।’

प्रहरीले नै गोपनियता राख्दैन

बालविवाहबारे दिएका गोप्य सूचनाको प्रहरीले नै खुलासा गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले गुनासो गरेका छन् । लकडाउनमा हुन लागेका बालविवाहबारे प्रहरीलाई गोप्य रुपमा सूचना दिँदा स्रोत खुलाइदिने गरेकाले आफूहरुलाई काम गर्न समस्या भएको स्याक नेपाल बाँकेका सामाजिक परिचालक कमला बिश्वकर्माले बताउनुभयो ।आफूहरुले बालविवाह हुन लागेको थाहा पाएपछि गोप्य रुपमा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले फलानोले हामीलाई खबर गरेको हो भन्दै नाम खुलाइदिँदा समस्या भएको उहाँको भनाइ छ । ‘गएको असारमा उमेर नपुगेरै केटाकेटीको बिहे गराइदिन लागिएको थियो । हामीले प्रहरीलाई खबर गर्यौँ, प्रहरी पनि आयो । तर फलानोले खबर गरेको थियो भनिदियो, त्यसपछि त केटा पक्षकाहरु मेरै घर घेर्न आए,’ कमलाले भन्नुभयो ।बालविवाह रोक्न प्रहरीले नै साथ नदिँदा उल्टै काम गर्न समस्या भएको राप्तीसोनारीका महिलाहरुको गुनासो छ ।

उजुरी नै पर्दैनन्

केटाकेटीले धमाधम बिहे गरिरहेको भए पनि प्रहरीमा भने उजुरी पर्दैनन् । बाँकेमा ६९ जोडी केटाकेटीले उमेर नपुग्दै बिहे गरेको भए पनि प्रहरीकोमा बालविवाहसम्बन्धी तीनवटा मात्र मुद्दा दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार बालविवाहसम्बन्धी १३ वटा उजुरी परे पनि तीनवटा मुद्दा मात्र दर्ता भएका छन् ।  बालविवाहका मुद्दा, हराएको, बलात्कार भएको जस्ता अन्य शीर्षकमा पर्ने गरेकाले बालविवाहसम्बन्धीका मुद्दा नै प्रहरीमा नजाने गरेको बालबालिकाको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।यता  प्रहरी प्रधान कार्यलयका अनुसार गएको चैत ११ देखि अहिलेसम्म  बालविवाहसम्बन्धी ६४ उजुरी मात्रै दर्ता भएका छन् ।


Your Views
Related News