साहित्यकार अविनाश श्रेष्ठले साहित्यिक पत्रिका सम्पादनको काम असममा हुँदै सुरु गरे । उनले सम्पादन गरेको पहिलो साहित्यिक पत्रिका हो ‘सलेदो’ । नेपाली साहित्य परिषद्, असमले सन् १९७४ मा प्रकाशन थालेको साहित्यिक पत्रिका सलेदोपछि उनले त्यस क्षेत्रका धेरै साहित्यिक पत्रिकाहरू साथीभाइको सहयोग गर्दै सम्पादन गरे । काठमाडौं आएपछि उनी प्रज्ञा प्रतिष्ठानको साहित्यिक त्रैमासिक समकालीन साहित्यको सम्पादक भए । साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार श्रेष्ठसँग साहित्यिक पत्रकारिता र साहित्य सम्पादनका विषयलाई लिएर बाह्रखरीका राजेश खनालले कुराकानी गर्दा उनले आफ्नो सम्पादन कर्मको सुरुवाती दिनको पोयो यसरी खोले :

यो कसरी सम्भव भयो भने, कवि हरिभक्त कटुवाल गुहाटी (गुवाहाटी) जाँदा काठमाडौंबाट साहित्यिक पत्रिका ‘बान्की’का प्रतिहरू लिएर जानुभएको थियो । हरिकुमार श्रेष्ठले सम्पादन गर्नुभएको थियो ‘बान्की’ । त्यो पत्रिकाका केही अंक कटुवालले मलाई दिनुभएको थियो । पत्रिका पढेपछि मलाई लाग्यो, सानो साइजमा पनि यति राम्ररी धेरै कुरा पुर्याएर साहित्यिक पत्रिका प्रकाशन गर्न सकिँदो रहेछ । त्यसबेला म भारतीय पत्रपत्रिका खुबै पढ्थेँ । सारिका, धर्मयुग, नवनित, कादम्बिनीलगायत धेरै पत्रिका म सधैँ किन्थेँ । ती पत्रिकाहरूबाट म प्रभावित पनि भएको थिएँ । ‘बान्की’ हातमा परेपछि मलाई पनि यस्तै साइजमा पत्रिका प्रकाशन गर्न सकिन्छ भन्ने लाग्यो । मैले परिषद्मा पत्रिका प्रकाशनको प्रस्ताव राखेँ । त्यसपछि परिषद्ले ‘सलेदो’ निकाल्ने अनुमति दियो । ‘सलेदो’मा हामीले प्रशस्त साहित्यिक खुराक पस्केका थियौँ । त्यसबेला त्यस क्षेत्रमा रहेका साहित्यकारहरू कृष्णप्रसाद ज्ञवाली, माया ठकुरी, अर्जुन निरौला, पीताम्बर पोखरेललगायत धेरै साहित्यकारका रचना हामीले प्रकाशित गर्यौँ । ‘सलेदो’ अलि भिन्न शैलीमा प्रकाशन गरेका थियौँ ।यसरी मेरो साहित्यिक पत्रकारिता र सम्पादन कार्यको बीजारोपण भएको थियो । तर ‘सलेदो’ लामो समय प्रकाशित भएन । त्यसको चार अंक मात्रै निस्कियो । त्यसपछिका दिनमा मैले साहित्य परिषद् असमको वार्षिक मुखपत्र ‘परिषद्पत्र’ को सम्पादन गरेँ । मुखपत्रको नाम ‘परिषद्पत्र’ जुराउनु भएको थियो साहित्यकार इन्दबहादुर राईले । त्यसबेला म परिषद्को अध्यक्ष थिएँ । सन् १९८४/८५/८६ को वार्षिक अंकहरूको सम्पादन गरेको थिएँ । त्यो पत्रिकाको साहित्य अकादेमी दिल्लीले पनि प्रशंसा गरेको थियो । परिषद्पत्रको सम्पादनमा मलाई असमका अधिकांश चित्रकारहरूले निःशुल्क चित्र बनाएर गुन लगाउनु भएको थियो । त्यही ‘परिषद्पत्र’का अंकहरू यहाँ ल्याएर एकेडेमीमा बुझाउँदा, माधव घिमिरे र विजय मल्लले मलाई ‘समकालीन साहित्य’को सम्पादक हुने मौका दिनुभएको थियो ।

लामो समय सम्पादनकर्ममा रहनुभयो । लेखनभन्दा सम्पादन गाह्रो हो ? 
सम्पादन निःतान्त प्राविधिक विषय हो । लेखन भनेका निजी मेधामा भरपर्ने कुरा हो । मेधा र प्रतिभाले लेखनलाई अगाडि बढाउँछ, तर सम्पादनमा मेधा र प्रतिभाले मात्रै काम गर्दैन । सम्पादन गर्ने व्यक्ति वा सम्पादकमा प्राविधिक ज्ञान पनि हुनुपर्छ । म आफ्नो समयको कुरा गर्दै छु । त्यसबेला पत्रिका कुन आकारमा छापिन्छ ? कसरी त्यसको डिजाइन गरिन्छ ? त्यसमा कसरी अक्षर र हरफहरूलाई मिलाउन सकिन्छ ? कसरी पत्रिकालाई आकर्षक बनाउन सकिन्छ भन्ने प्राविधिक ज्ञान पनि सम्पादकमा हुनुपर्छ । दोस्रो कुरा, रचनासम्बन्धी ज्ञान पनि प्रशस्त हुनुपर्छ एउटा सम्पादकमा । साहित्यिक पत्रकारितामा रचनाको स्तर सबैभन्दा महत्त्वपूर्ण कुरा हो । रचना प्रकाशनयोग्य छ कि छैन भन्ने पर्गेल्ने क्षमता हुनुपर्छ एउटा सम्पादकमा । एउटा सम्पादकले धेरैभन्दा धेरै साहित्यिक कृतिहरू (ती आफ्नो भाषाका हुन वा अन्य भाषाका) को अध्ययन गर्दै गए सम्पादकको सम्पादकीय ज्ञान पनि त्यही रूपमा बढ्दै जान्छ । यही ज्ञानले सम्पादकले रचनाको स्तर मापन गर्न सक्छ । कुन रचना स्तरीय हो कुन होइन भनेर निक्र्योल गर्ने खुबी सम्पादकमा हुनैपर्छ । रचनाको शक्ति खुट्याउने प्रतिभा सम्पादकमा हुनैपर्छ । मैले पत्रिका सम्पादन गर्दा यी सबैकुरा जानेरै म सम्पादनमा ओर्लिएँ भन्दिनँ । प्रारम्भमा ‘सलेदो’को सम्पादन गरेँ, तर पछि कतिपय साथीभाइले ‘तिमीले सम्पादन गरिदेऊ है’ भनेर आफूले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिकाहरू मलाई ल्याएर दिन थाले । गुहाटी असमको मुख्य सहर । त्यसवरपरका ठाउँबाट साथीभाइ आउथेँ र मलाई आफ्नो पत्रिका सम्पादन गर्न दिन्थे । जबकि त्यो पत्रिकामा सम्पादकमा तिनकै नाम जान्थ्यो । यसरी मैले साथीभाइका धेरै साहित्यिक पत्रिकाहरूको सम्पादन गर्ने मौका पाएँ । थुप्रै पत्रिकाहरूमा मैले भूत सम्पादक (घोस्ट एडिटर) भएर काम गरेँ ।

उसोभए एउटा लेखकले खासै अध्ययन नगरे पनि लेख्न सक्छ, तर एउटा सम्पादकले पर्याप्त अध्ययन गर्नु जरुरी छ ?
हैन हैन । मैले त्यो भन्न खोजेको होइन । लेखक हुनलाई पनि मेधा र प्रतिभा हुनैपर्छ । लेखक कमजोरै भए पनि हुन्छ भन्न मेरो भनाइ होइन । लेखकमा पनि प्रतिभा हुनुपर्छ । तर लेखनमा जति शक्ति तपाईंले लगाउनुहुन्छ त्योभन्दा अतिरिक्त शक्ति एउटा सम्पादकले साहित्यिक पत्रिकाको सम्पादनमा लगाउनुपर्छ । लेखकमा पनि शक्ति हुनैपर्छ । त्यत्तिकै कोही लेखक बन्न सक्दैन । धेरै कुरा चाहिन्छ लेखक हुनलाई । लेखनलाई हामी हल्का रूपमा लिन्छौँ, तर लेखन हल्का रूपमा लिने विषय होइन ।

कुनै–कुनै सिर्जनामा फरक विषयवस्तु प्रस्तुत हुनसक्छ । जस्तो कसैले विज्ञानलाई विषय बनाएर कथा, कविता लेख्न सक्छ होला ?
साहित्यिक पत्रिकाको सम्पादकलाई सकेसम्म त्यस विषयमा जानकारी हुनुपर्छ । जस्तो तपाईंले विज्ञानको कुरा उठाउनुभयो । मैले बीएस्सी पनि पढेकाले मलाई विज्ञानका विषयमा जानकारी थियो । विज्ञानसँग जोडिएका कतिपय रचना सम्पादन गर्न सजिलो भयो । कोही सम्पादक त्यो विषयको ज्ञाता नहुन सक्छ, तर रचना सम्पादन गर्ने बेलामा त्यस विषयमा उसले खासखास जानकारी भने राखेको हुनैपर्छ । त्यसका लागि उसले विषयमा खोजी पस्नुपर्छ ।

साहित्यिक पत्रिका, साहित्यिक कृति र गैरआख्यान, तपाईंले सबैजसोको सम्पादन गर्नुभएको छ । सम्पादन गर्दा कुन विधामा कठिन भयो ?
सबैभन्दा अप्ठ्यारो कविताको सम्पादन हो । कविताको सम्पादन गर्न गाह्रो हुन्छ । अझै भनौं सम्पादन गर्न सकिँदैन ! कथामा केही कुरा गल्ती छ भने औँल्याइदिन सकिन्छ । निबन्ध र दर्शनसम्बन्धी आलेखमा पनि सम्पादकले आफ्नो ज्ञानको प्रयोग गर्न सक्छन् । तर कवितामा त्यो सम्भव नै हुँदैन । चार लाइनको कविता मात्रै होला र त्यो सामान्य देखिएला, तर त्यो कवितालाई चलाइदिनुभयो भने त्यसले बिगार गर्छ । कविता चलाउँदा वा सम्पादन गर्दा एकदमै सचेत हुनुपर्छ । किनभने कविता एकदम तरल कुरा हो । त्यसको शिल्प पक्ष विशिष्ट हुन्छ । त्यसैले कविता सम्पादन गर्न गए त्यो भताभुंग पनि हुनसक्छ । कविता ठीकसँग लेखिएको छ कि छैन भन्ने मात्रै हेर्ने हो, सम्पादकले । ठीक छैन भने स–सम्मान कविलाई नै फर्काइदिने हो । म प्रज्ञाको ‘कविता’ पत्रिकामा पनि सम्पादक भएर बसेँ । कविता छाप्दा मैले कविले लेखेको ‘पूर्णविराम’ र ‘कमा’ पनि चलाइनँ । कवितामा त भाषिक सम्पादन मात्रै गर्ने हो । यद्यपि, कठिन त सबै विधाका रचना सम्पादन गर्दा कठिन हुन्छ । मैले अघि पनि भनेँ, कथा, निबन्ध वा गैरआख्यानको सम्पादन गर्दा तिनमा केही स्पेस हुने भएकाले हल्का चलाउने ठाउँ भेटिन सक्छ । तर पनि त्यसका लागि कथामा, निबन्धमा राम्रो ज्ञान हुनुपर्छ सम्पादकको । कवितामा त त्यो ठाउँ पटक्कै हुँदैन । कवितामा कविले जे लेखेको हुन्छ त्यो उसको विवेक, मेधा, प्रतिभाले लेखेको कुरा हुन्छ । त्यसलाई एउटा राम्रो सम्पादकले कहिले पनि छुनु हुँदैन भन्छु म ।

कृति सम्पादनमा तपाईंको अनुभव कस्तो रह्यो ?
धेरैअघि मैले मीरा रेन प्रधानको एउटा कथासंग्रह सम्पादन गरेको थिएँ । मलाई निबन्धकार कृष्णचन्द्रसिंह प्रधानले यो काम दिलाउनुभएको थियो । मीराजीको कथासंग्रहका हरेक कथाहरू हेरेर मैले उहाँलाई अमुक कथामा यो यो परिवर्तन गर्नुस्, यो कथालाई यसरी मिलाउनुस् भनेर सुझाव सल्लाह दिएरै कथाहरू मिलाउन लगाएको थिएँ । यो कथासंग्रहको सम्पादनमा मलाई ६ महिना समय लागेको थियो । अनि मात्रै ‘महानगर’ प्रकाशन भयो । अचेल यस्ता कृति सम्पादन गर्दा ‘टोटली रिराइट’ (पुनर्लेखन) गर्ने चलन छ ! वाक्यवाक्य नै चेन्ज गरिदिने चलन छ ! मलाई अचम्म लाग्छ, लेखकले एउटा कुरा लेख्छन् । अनि सम्पादकले त्यसमा बढीभन्दा बढी सम्पादन गरेर कृति प्रकाशित गरिदिन्छन् ! केही सम्पादकहरूले त ९० प्रतिशतसम्म पनि सम्पादन गरेको भन्ने मैले सुनेको छु । तर मैले त्यति गरिनँ । बढीमा २०/२५ प्रतिशत गरेँ हुँला ।
जहाँसम्म मीराजीको कुरा छ, उहाँको लेखनमा विषयवस्तु नयाँ थियो । तर उहाँको लेखन भने कमजोर थियो ।

उसोभए एउटा सामान्य लेखकलाई बलियोे लेखक बनाउने सम्पादक नै हुन्, भन्दा हुन्छ ?
हो । सम्पादन पेसामा मेरा धेरै साथी हुनुहुन्छ । उहाँहरू कसैको मर्यादामा आँच नआओस् । एउटा कुरो के हो भने, यतिबेला सम्पादन के हो भन्ने कुरा नबुझेका मानिसहरूले सम्पादन गरिरहनुभएको छ । मैले अघि नै भनेँ नि, सम्पादकलाई धेरै ज्ञान हुनुपर्छ, सबै किसिमको ज्ञान, भाषिक, प्राविधिक र विषयवस्तुको ज्ञान पनि । जुन विधाको (कथा, कविता, नाटक, निबन्ध) सम्पादन गर्ने हो र त्यो विधामा ज्ञान छैन भने त्यो कृति बिग्रिन्छ ।म कहाँ धेरै मानिसहरू कृतिको सम्पादनका लागि आउँथे । ती ममाथि विश्वास भएरै आएका थिए । तर मैले आफ्नो सीमाभन्दा बाहिर जाने काम कहिले पनि गरिनँ । म साथीभाइसँग हाँस्छु बोल्छु । तर काम गर्ने बेलामा म गम्भीर भएर गर्छु ।

साहित्यिक पत्रकारितामा तपाईंले दिएको सम्पूर्ण अवधिको अनुभव कस्तो रह्यो ?
आज अनलाइन मिडियाको जमाना छ । अनलाइनमा नै सबै कुरा आउन थालिसकेको छ, तर पनि म के भन्छु भने, साहित्यिक पत्रिका प्रिन्ट माध्यमबाटै प्रकाशित हुनुपर्छ । त्यसले नयाँ लेखक जन्माउनलाई ठूलो मद्दत गर्छ । साहित्य अनलाइनमा आए पनि त्यसले पत्रिकाको स्वाद दिन सकिरहेको छैन । म त्यो अनुभूत गरिरहेको छु । दैनिक पत्रिकाहरूको पनि साप्ताहिक रूपमा परिशिष्टाङ्क छापिँदै आएको छ । त्यसले पनि त्यति आनन्दको अनुभूति दिन सकेको छैन । त्यति साहित्यिक महत्ता कायम गर्न सकिरहेको छैन । त्यसैले म के भन्छु भने, अहिले पनि गतिलो साहित्यिक पत्रिका आठ–दशवटा खाँचो छ, नेपालमा । स्पष्ट भन्नुपर्दा अनलाइन र दैनिक पत्रिकाको साहित्यिक परिशिष्टाङ्क पढेर धित मर्दैन । वास्तवमा, मलाई साहित्यिक पत्रिकाको सम्पादनबाट आउने आनन्द अझै पनि पुगेको छैन । मलाई अहिले पनि लाग्छ काम गरौँ । केही अघि गोरखापत्रका अध्यक्ष कृष्णमुरारीजीले मधुपर्कमा सम्पादनको जिम्मेवारी लिन भन्दै मधुपर्कलाई नयाँ किसिमबाट प्रकाशनको कुरा उठाउनु भएको थियो । तर मैले मेरो काममाथि हस्तक्षेप हुनुहुँदैन भनेको थिएँ । यो कुरो पछि त्यत्तिकै टुंगियो । सायद मधुपर्कको सम्पादन गर्न पाएको भए मैले अझै राम्रो गर्न सक्थेँ कि । जहाँसम्म पत्रिका प्रकाशनको कुरा छ, पत्रिका प्रकाशन गर्दा सिर्जनात्मक आनन्द लिएर काम गर्नसक्ने सम्पादक चाहिन्छ । त्यो हुने हो भने तिनले राम्रो काम गर्न सक्छन् र साहित्यिक पाठकका लागि सामग्री पनि राम्रो पस्कन सक्छन् । जस्तो गरिमामा मैले त्यही सर्तमा काम गरेको थिएँ । गरिमामा मैले केही नयाँ काम पनि गरेँ ।

तपाईंले रूपरेखा पढ्नुभयो होला, शारदा, प्रगति, रचना, अभिव्यक्तिहरू पनि पढ्नुभयो होला । तिनका सम्पादन कौशललाई के भन्नुहुन्छ ?
मैले रूपरेखा लामो समयसम्म पढेँ । मेरो दृष्टिकोणमा रूपरेखाका सम्पादक उत्तम कुँवर त्यो समयलाई बुझेको सम्पादक हुनुहुन्थ्यो । उहाँ एउटा सशक्त र कुशल सम्पादक हुनुहुन्थ्यो । तर उहाँमा एउटा कमजोरी थियो, त्यो के भने उहाँमा शिल्पगत् चेतना थिएन । नभए रचना छान्ने खुबी उहाँमा अत्यन्तै थियो । ‘मधुपर्क’का सम्पादक नारायणबहादुर सिंह पनि कुशल सम्पादक हुनुहुन्थ्यो । उहाँमा रचना छान्ने खुबी मात्रै होइन, शिल्पगत् चेतना पनि थियो । त्यस्तै ‘मधुपर्क’ कै कृष्णभक्त श्रेष्ठ पनि कुशल सम्पादक हो । उहाँमा पनि रचना छान्ने खुबी थियो । अर्का साहित्यिक सम्पादक हुन् दार्जिलिङका पारसमणि प्रधान । उहाँले ‘भारती’ पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो । एकदमै स्तरीय पत्रिका थियो ‘भारती’ । मेघालयको सिलङ्गबाट ‘सुमन’ साहित्यिक पत्रिका प्रकाशन गर्ने कृष्णप्रसाद ज्ञवाली पनि कुशल सम्पादक हुनुहुन्थ्यो । र ‘गरिमा’का पहिलो सम्पादक विष्णुविभू घिमिरे पनि कुशल सम्पादक भएको मेरो अनुभव छ ।

२०३६ सालपछिको साहित्यिक प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ? 
म २०३० सालदेखिकै कुरा गर्छु । यतिबेला राजा महेन्द्रको नाम लिँदा पनि अनेक टिकाटिप्पणी हुन्छ ! तर राजा महेन्द्रले नेपालीत्वको बोध नेपालीहरूलाई गराए, उनीबाट नेपाली कला, साहित्य र संस्कृतिको प्रचारका लागि जुन आन्तरिक प्रयास भयो, त्यो आफैंमा शक्तिशाली थियो । नेपालको दरबारबाट सुरु भएको त्यो भारतको असम, मेघालय, मणिपुर, मिजोरमलगायतसम्म पुग्यो ।२०२५ सालपछिको समयमा सहर–सहरबाट मात्रै नभएर गाउँ–गाउँबाट मानिसले साहित्यिक पत्रिका निकाल्न सुरु गरेका थिए । धरान, धनकुटा, विराटनगर, बागलुङ, दमक, म्याग्दी, नेपालगन्जलगायत ठाउँहरूबाट पत्रिका निस्कन थाल्यो । त्यसले साहित्यकारहरू जन्माउने काम गर्यो । भारतीय सहरमा पनि त्यस्तै भयो । भलै सम्पादक बन्ने रहरले दुई–चार अंक मात्रै पत्रिका निकाले होलान् कसैले, तर त्यस्ता पत्रिकाले पनि नेपाली साहित्यकार जन्माउन मद्दत गरेकै हो । तिनमा कोही अगाडि बढे, कोही बढ्न सकेनन्, त्यो बेग्लै कुरा हो । यस्तै साहित्यिक पत्रिकाहरूले शक्तिशाली लेखकहरूलाई साहित्यिक वृत्तमा उभ्याएको हो । जस्तै असममा हरिभक्त कटुवाल हुन् वा अरू कोही । नेपालमा पनि कृष्णभूषण वल, अशेष मल्ल, महेश प्रसाई वा अरू पनि धेरै लेखक कविलाई माथि ल्याउने देन साहित्यिक पत्रिकाहरूको नै हो । सबै साहित्यकारहरूको पहिलो कविता मधुपर्कमै छापिएको छ भन्ने होइन । गाउँबाट निस्किएका पत्रिकामा पनि छापिएको हुनसक्छ । त्यही गाउँको साहित्यिक पत्रिकाले कतिपय साहित्यकारहरूलाई आजको स्थितिमा पुर्याएको त हो ।वास्तवमा त्यो एकदमै उर्वर समय थियो । नेपाली साहित्यको अत्यन्तै उर्वरकाल भन्न सकिन्छ त्यसलाई, जुन काल ०४६/४७ सालसम्म रह्यो । भारततिर पनि त्यस्तै रह्यो । त्यसपछिका दिनमा दैनिक पत्रिकाहरूको संख्या बढ्दै गयो । तिनले परिशिष्टाङ्क निकाल्न थाले । त्यसपछि भने साहित्यिक पत्रिकाहरूको संख्या पातलिँदै गयो । तिनको वजन पनि खस्किँदै गयो ! अहिलेसम्म घट्ने क्रम जारी छ । तर पनि केही पुराना पत्रिकाहरू, जस्तै ‘रचना’, ‘अभिव्यक्ति’ का सम्पादकहरूले त्यसलाई जसोतसो धान्दै आउनुभएको छ । एक समय त विभिन्न संस्थानहरूले पनि साहित्यिक पत्रिका प्रकाशन गरेका थिए । नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकहरूले पनि साहित्यिक पत्रिका प्रकाशन गरेर नेपाली साहित्यिक पत्रिकाको विकासमा टेवा दिएका हुन् । त्यसलाई निकै ठूलो कुरा मान्छु म । तर अहिलेको संस्थागत पत्रकारिता त कर्मकाण्डी मात्रै भएको छ !

एकेडेमीको ‘समकालीन साहित्य’को सम्पादनमा तपाईंले लामो समय बिताउनुभयो । कसरी हेर्नुहुन्छ त्यसलाई ?
हेर्नुस्, ‘समकालीन साहित्य’मा मेरो काम गराइ एउटा मिसन थियो । आत्मादेखि गरिएको काम थियो । ‘समकालीन साहित्य’लाई साहित्यिक पत्रिकाको एउटा मानक बनाउने बाटोमा म थिएँ । मात्रै तलब खानैका लागि मैले काम गरेको थिइनँ । तर मलाई यति सजिलै त्यहाँबाट निकालिदिनुभयो ! म नै सधैँ त्यहाँ बस्नुपर्छ भन्ने मेरो भनाइ होइन । त्यहाँ नयाँ मानिस ल्याउँ । उसलाई साहित्यिक पत्रकारिता सिकाउँ । भोलिका दिनमा सम्पादक हुने मानिस पनि त्यतिकै जानकार हुनुपर्छ र तिनलाई सिकाउँदै जानुपर्छ भन्ने मेरो विचार थियो । तर एकेडेमीमा बस्नेहरूलाई लाग्यो समकालीन साहित्य त जसले पनि सम्पादन गर्न सकिहाल्छ नि । आज त्यसको फल भोग्दै हुनुहुन्छ उहाँहरू !


Your Views
Related News