काठमाडौं । अघिल्लो वर्ष असोज १२ गते नै घटस्थापना थियो । अधिकमासका कारण यो वर्ष आज (कात्तिक १) देखि मात्रै दशैं सुरु भएको छ । तर, सूचीकृत कम्पनीका लगानीकर्ताको लागि भने ढिलो आएको दशैंको लाभ भएन । यो वर्ष कुनै पनि बैंक तथा वित्तीय संस्थाले दशैंका लागि लाभांश नदिने अवस्था आएको छ ।सूचीकृत कम्पनीमध्ये हालसम्म १० वटा कम्पनीले मात्रै गत आर्थिक वर्षको आयव्यय विवरणमा आधारित भएर लाभांश घोषणा गरेका छन् । त्यसमध्ये ४ वटा लघुवित्त, ३ वटा वाणिज्य बैंक र ३ वटा व्यापारमूलक कम्पनी छन् । तर, लाभांश घोषणा गरेकामध्य कुनै पनि कम्पनीले दशैंअघि दिन नसक्ने पक्कापक्की भएको छ ।

कुनैपनि कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश सो संस्थाको साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गर्न पाइन्छ । हालसम्म लाभांश घोषणा गरेका १० कम्पनीमध्ये नेपाल ल्युब आयलले मात्रै दशैंभन्दा अघि साधारणसभा गर्ने भएको छ । बाँकी ९ कम्पनीमध्ये शिवम् सिमेन्टले कात्तिक २४ गतेका लागि साधारणसभा बोलाएको छ । कात्तिक ६ गतेका लागि माछापुच्छ्रे बैंकले बोलाएको साधारणसभा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै स्थगित गरेको छ । शनिबार सार्वजजिक सूचना जारी गर्दै बैंकले कात्तिक ६ गतेको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेलगत्तै शेयरधनीको खातामा नगद लाभांश पठाउने तयारी गरेको थियो । तर, साधारणसभा स्थगित भएसँगै लाभांश पाउने सम्भावना समेत टरेको छ । अघिल्लो वर्ष दशैंअघि ३ वटा वाणिज्य बैंकसहित एक दर्जन भन्दा बढी सूचीकृत कम्पनीको लाभांश घोषणा भएको थियो । एनआईशी एशिया बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले दशैंका लागि शेयरधनीका लागि लाभांश वितरण गरिसकेका थिए ।

१६ म्युचुअल फण्डको लाभांश घोषणा
सूचीकृत कम्पनीले लाभांश घोषणा गर्न ढिलाई गरिरहँदा अधिकांश म्युचुअल फण्ड (सामूहिक लगानी कोष) का लगानीकर्ताले भने दशैंका लागि लाभांश पाउने भएका छन् । सञ्चालनमा रहेकामध्ये १६ वटा म्युचुअल फण्डले अहिलेसम्म लाभांश घोषणा गरिसकेका छन् । त्यस्ता संस्थाहरुले ४ प्रतिशतदेखि १५ प्रतिशतसम्म नगद लाभांश घोषणा गरेका हुन् । म्युचुअल फण्डको व्यवस्थापकले घोषणा गरेको लाभांशलाई धितोपत्र बोर्डले अनुमति दिएपछि वितरण गर्न पाइने व्यवस्था छ । ग्लोबल आईएमई क्यापिटले सञ्चालन गरेको ग्लोबल आईएमई समुन्नत स्कीम–१ ले सबैभन्दा कम ४ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड–१ ले सबैभन्दा बढी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । बाँकीमध्ये लक्ष्मी इक्विटी फण्डले ४.२५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र एनएमबी ५० ले ५ प्रतिशत, नबिल इक्विटी फण्डले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्ड र सानिमा इक्विटी फण्डले ७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ७.५० प्रतिशत,एनआईशी एशिया ब्यालेन्स फण्ड र एनएमबी हाइब्रिड फण्ड एल १ ले ८ प्रतिशत, एनआईबीएल सहभागिता फण्डले ८.२५ प्रतिशत, नबिल ब्यालेन्स फण्डले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले १० प्रतिशत तथा एनआईबीएल समृद्धि फण्ड र एनआईशी एशिया ग्रोथ फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका म्युअचुल फण्डमध्ये एनआईबीएल सहभागिता फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड र एनआईशी एशिया ब्यालेन्स फण्डको लाभांश अघिल्ला महिना नै वितरण भइसकेको छ । एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डको लाभांश अघिल्लो सातामात्रै वितरण भएको छ । बाँकीमध्ये अधिकांशले दशैं अघिनै लाभांश सम्बन्धित इकाईधनीको खातामा पठाउने तयारी गरेका छन् ।

READ MORE NEWS

एडम्को प्रेम

एडम्को प्रेम 

टङ…टङ । मोेबाइमा आएको नोटिफिकेसनले मेरो ध्यान भङ्ग हुन्छ । स्टारबक्समा बसेर कफी पिइरहेको म हत्तपत्त कफीको कप टेबलमा राखेर मोबाइलमा मेसेज चेक गर्न पुग्छु ।“हेलो सिजन, हाउ आर यू ?”एडम्को मेसेज रहेछ । म खुसीले उत्तेजित हुँदै रिप्लाई गर्छु । “एडम् आई एम फाइन्, थ्याङ्क्स” “हाउ एवाउट यू ?”उताबाट तुरुन्त रिप्लाई आउँछ । “आई एम ग्रेट । थ्याङ्क्स, सिजन । वाई द वे आई ह्याब अ गुड न्युज फर यू, आई एम प्लानिङ टु कम ब्याक टोकियोे नेक्स्ट मन्थ ।” एडम्को मेसेजले आश्चर्यचकित म, रिप्लाई गर्छु, “रियल्ली एडम् ! ह्वाट अ सरप्राइज ! आई एम लुकिङ फरवार्ड टु सियू सुन ।”उताबाट फेरि एडम्को मेसेज आउँछ ।“सियू ।”“ओके सिजन वाई ! होप टू सियू सुन । टेक केयर ।” मैले पनि “ओके बाई टेक केयर” भनेर मेसेज सेन्ड गरेँ ।साथै म अचम्म पर्छु, एडम् किन आउन लागेको होला टोकियो ! अमेरिका सिफ्ट भएको एक वर्ष त भयो । कफी उठाउँदै सुरुप्प सुरुप्प पिउन थाल्छु । कफीको चुस्कीसँगै अतितको सागरमा पौडिन पुग्छु ।कामको पहिलो दिन म अलि चाँडै टोकियोस्थित होटेल हिल्टन पुगेको थिएँ । धेरै प्रयासपछि यो होटेलमा मैले काम पाएको थिएँ । टोकियोको एक प्रख्यात फाइभस्टार होटेल थियो, होटेल हिल्टन । होटेलको लकर रुममा ड्रेस चेन्जका लागि गएको थिएँ । त्यतिकैमा एउटा गोरो अग्लो अमेरिकन केटासँग भेट भयो । ऊ पनि ड्रेस चेन्ज गर्दै थियो, सायद । मैले “गुड मर्निङ” भनेँ । उसले पनि मुस्काउँदै “गुड मर्निङ” भन्यो । त्यति भनेर ऊ ‘बाई’ भन्दै सरासर आफ्नो काममा गयो ।

पहिलो दिन अलि मनमा डर र संकोचले घेरा हालेको थियो । काम कस्तो होला ? को–वर्करहरू कस्ता होलान् ? विदेशको ठाउँ, यी यावत् कुराले मलाई पिरोलिरहेको थियो । तर काम राम्रै भेटाएको थिएँ । होटेलको डाइनिङ हलमा रहेको बफे (वफेट) मा खाना रिप्लेस गर्नुका साथै पाहुनाहरूको स्वागत–सत्कार गर्दै परिकारबारे जानकारी दिनु । सुुरुसुरुमा अलि कठिन नै भए पनि पछि काममा अभ्यस्त हुँदै गएँ । खानाको परिकारबारे जानकारी गराउनुपर्ने भएकाले धेरैभन्दा धेरै पाहुनासँग बोल्ने मौका पनि पाउँथेँ । जे होस्, कामप्रतिको मेरो लगाव बढ्दै गएको थियो । प्रख्यात होटेल भएर विभिन्न देशका भीआईपीहरूको आगमन हुन्थ्यो । म सबैसँग खुलेर बोल्थँे । बिस्तारै काममा पोख्त हुँदै गएँ । कामको बीचमा एक घण्टाको लन्चब्रेक हुन्थ्यो । त्यो बेलामा मोबाइलको मेसेज हेर्न पनि लकर रुममा जान्थेँ, किनकि काममा मोबाइल बोक्नु बर्जित थियो । नियम कडा थियो, होटेलमा । एकदिन लकर रुममा मोबाइलको मेसेज चेक गर्दै थिएँ । “गुड मर्निङ” भन्ने आवाजले मेरो ध्यान तान्यो । नजिकै उही पहिलो दिन भेटेको अमेरिकन केटा पो रहेछ । ऊ मुस्कुराउँदै मलाई हेरिरहेको थियो । मैले पनि मुस्कराउँदै– ‘गुड मर्निङ’ भन्दै मिलाउनलाई हात अगाडि बढाएँ । हामीले एक–अर्कासँग परिचय गर्यौँ । उसको नाम एडम् रहेछ । सनफ्रान्सिसकोबाट आएको । यो होटेलमै काम गरेको पाँच वर्ष भएको रहेछ । उसले मेरो नाम सोध्यो, मैले मेरो नाम भन्दै म नेपालबाट आएको हुँ भनेँ । र, मैले उसलाई सोधेँ “तिमीलाई नेपालबारे थाहा छ एडम् ?” उसले उत्सुकतापूर्वक भन्यो, “मलाई नेपाल एकदम मन पर्छ । एकचोटि अवश्य जानेछु त्यो सुन्दर हिमालयको देश ।” मैले खुसीले गद्गद् हुँदै भनेँ– “तिमीलाई स्वागत छ नेपालमा ।” उसले फेरि भन्यो– “यो होटेलमा लगभग सबै देशका स्टाफ छन्, तर नेपालबाट आएको तिमी नै पहिलो हौ ।”

म आश्चर्यचकित भएँ । यसरी नै हाम्रो मित्रताको सुरुवात भएको थियो । प्रायः काममा जाँदा हाम्रो लकर रुममा भेटघाट हुने गथ्र्यो । उसको र मेरो कार्यस्थल बेग्लाबेग्लै भए पनि लकर रुम सँगसँगै थियो । त्यो होटेलमा करिब तीन सय स्टाफ थिए । चारवटा त रेस्टुरेन्ट मात्रै थियो । जे होस्, कुराकानी गर्नै भए पनि मेरो एउटा साथी बनेको थियो, एडम् । एकदिन उसले मलाई भन्यो– “सिजन मैले नेपाली रेस्टुरेन्टबारे हिजो राति टीभीमा एउटा प्रोग्राम हेरेको थिएँ । नेपाली खाना खान मन लाग्यो । तिमी पनि जान्छौं ?” मैले अचम्म मान्दै सोधेँ– “कहाँ एडम् ? टोकियो मै हो ?” उसले भन्यो– “म बस्ने ठाउँनजिकै सिनओकुबो भन्ने ठाउँमा हो ।” त्यो ठाउँबारे त मलाई थाहा थियो तर गएको चाहिँ थिइनँ ।मैले भने– “आउँदो शनिबार मेरो डे–अफ (बिदा) छ, सँगै जाउँला ।” उसले स्वीकृतिमा टाउको हल्लाउँदै भन्यो– ‘ओके डन् ।’ मलाई टोकियोेको नेपाली रेस्टुरेन्टबारे त्यति जानकारी थिएन । तर… ऊ त यहाँ बाह्र वर्षदेखि बसिरहेको थियो । उसलाई धेरै जानकारी थियो । जापानी भाषामा पनि पोख्त थियो ऊ । नम्र बोली, सबैसँग घुलमिल हुने स्वभावको, सहयोगी थियो ऊ ।म साँच्चै नै उसको व्यवहारले आकर्षित भएको थिएँ । मनमनै सोचें एउटा राम्रो साथी पाएँ, जोसँग खुलेर कुरा गर्न सक्छु । सँगै रेस्टुरेन्टमा जान सक्छु । नत्र यता साथीभाइको निकै अभाव हुँदो रहेछ । जापानीहरू त्यति ख्ुल्दैनन् विदेशीहरूसँग । त्यसैले साथी बनाउन निकै गाह्रो । उही नोमीहोदाई (सँगै पिउने) भन्दै बियर पिउन गइन्छ, पिइन्छ, खाइन्छ, हाँसिन्छ, रमाइन्छ । सकिएपछि आ–आफ्नो पैसा तिर्यो अनि हिँड्यो । त्यसपछि मर्यो बाँच्यो, मतलब भएन ! भोलिदेखि उही रुटिन लाइफ । काममा आयो । काम गर्यो । गयो । सिर्फ कामसँग मतलब छ । उनीहरूलाई सम्बन्ध–मित्रता भन्ने कुरासँग कुनै सरोकार छैन । आकर्षण छ त केवल नयाँनयाँ परिकार खान, नयाँनयाँ ठाउँ डुल्न, अनि काम र पैसासँग मात्रै । ती आफ्ना कुरा कसैसँग पनि बाँडदैनन्, तर अरूको कुरो थाहा पाउनचाहिँ एकदम उत्सुक ! तिनको पनि पछाडि कुरा गर्ने बानी, हामी नेपालीझैँ ! कसैको नकारात्मक कुरामा खुबै चियोचर्चो गर्नुपर्ने ! तिनको यस्तो बानीबारे मलाई जानकारी भएको मेरी पत्नी जापानी भएको र अरू केही जापानी साथीहरूको संगतले नै हो ।

तथापि, जापानीहरू साह्रै इमानदार हु्न्छन् । त्यस्तै कामप्रति लगनशील पनि । धेरै नबोल्ने, शान्त प्रकृतिको । तर नकारात्मक प्रवृत्ति (पक्ष) प्रवल । कसैसँग घुलमिल हुन नचाहने । मित्रता, प्रेम, सम्बन्ध भन्ने कुराको ज्ञान नभएको रोबोटजस्तो लाग्न थालेका थिए, मलाई ती । तर एडम् एकदमै भिन्न, मिलनसार अनि सहयोगी भावनाले ओतप्रोत भएको एउटा आत्मीय साथी थियो । एकदिन हामी दुवै सिनओकुबुस्थित सोलमारी भन्ने नेपाली रेस्टुरेन्ट गएका थियौँ, भनौ मलाई एडम्ले लगेको थियो । त्यहाँको वातावरणले मलाई नेपाल नै पुगेको भान भयो । गेटमै बुद्धको शान्त मूर्तिले मलाई खुबैै आकर्षित गरेको थियो । परदेशमा पनि नेपाली परिवेश पाएको थिएँ मैले, धेरै समयको अन्तरालपछि । मन त्यसैत्यसै फुरुङ्ग भएको थियो । हामीले पहिले मोःमोः अर्डर गर्यौँ । एडम्लाई मोःमोः निकै मनपर्दो रहेछ । जापानमा पाउने ग्यौजाजस्तै भन्दै थियो । ‘तर ग्यौजाभन्दा मोःमोः निकै मीठो हुन्छ रे’ भन्दै थियो ऊ । सायद पहिले कतै खाएको होला भन्ने मैले अनुमान गरें । त्यसपछि नेपाली खाना अर्डर गर्यौँ । दाल, भात, तरकारी, अचारको साथमा कुखुराको मासु सजाएर खण्डे थालमा खाना ल्याइयो । एडम् दंग पर्दै स्टिलको खण्डे थालमा सजाएको नेपाली परिकार हेर्न थाल्यो । मैले नेपाली खाना खाने तरिका सिकाएँ । ऊ निकै मीठो मानेर खान थाल्यो ।

मैले सोधँे– “एडम् नेपाली बियर पनि पिउने हो ?” उसले छक्क पर्दै भन्यो– “नेपाली बियर पनि पाइन्छ र ?” मैल दुई बोतल एभरेस्ट बियर अर्डर गरेँ । हामी दुवैले खाम्पाई (चियर्स) भन्दै पियौँ । ऊ भन्दै थियो– नेपाली बियर त गजबको स्ट्रङ रहेछ, जापानी बियरभन्दा । मैले जिस्किँदै भनेँ– “यो संसारको सबैभन्दा उच्च हिमशिखर माउन्ट एभरेस्टमा बनेको बियर हो नि, मेरो साथी फुजीजस्तो होचो माउन्टेनमा बनेको हो र ?” ऊ मज्जाले हाँस्यो, मेरो ठट्टा सुनेर । म पनि हाँस्दै एडम्सँग बियर पिउँदै गएँ । उसले नेपाली खाना दाल, भात, तरकारी, अचार पहिलोपल्ट खाएको थियो । नत्र मोःमोः मात्रै नेपाली खाना होला भन्ने उसले ठानेको थियो ! उसको कुरा सुनेर मलाई खुबै हाँसो उठ्यो । यसपटक म मज्जाले हाँसे । अनि भनेँ, “नेपाली खाना मीठो लाग्यो हैन त ?” एडम्ले प्रफुल्ल हुँदै भन्यो– “एकदम मीठो छ । तर अलि पिरो लाग्यो ।” सायद युरोपियन, अमेरिकनलाई हामी नेपालीजस्तो पिरो खाने बानी नभएर होला, मैले सोचेँ । रेस्टुरेन्ट ऊ बसेकै सिनओकुबु भन्ने ठाउँमा रहेछ । यो ठाउँमा प्रायः विदेशीहरू बस्दा रहेछन् । कोरियन, चाइनिज, फिलिपिनो, नेपाली आदि । यो ठाउँ नेपालीको अड्डाजस्तो भइसकेको रहेछ । धेरै नेपाली रेस्टुरेन्टहरू पनि खुलेका रहेछन् । जे होस्, खुबै रमाइलो भएको थियो त्यस दिन । हामी नेपाली खानाका साथै नेपाली बियरको स्वादमा रमाएका थियौँ । यसरी हाम्रो मित्रता सुमधुर हुँदै गइरहेको थियो । म एडम्को बारेमा धेरै कुरा जान्न उत्सुक थिएँ । कारण, एउटा मन मिल्ने अमेरिकन साथी पाएको थिएँ । त्यसैले दंग पनि थिएँ । जापानमा सेप्टेम्बर–अक्टोबरतिर ‘फायरवर्क’ हुन्छ । जसलाई जापानमा हानावी नामले मनाइन्छ । यो एउटा पर्वजस्तै हो, जापानीका लागि । थरीथरीका झिलिमिली पट्काहरू उडाउँछन् आकाशमा, हाम्रो देशमा तिहारमा पटका पड्काएजस्तै । यहाँ त टोलटोलमै सरकारी तवरमै पटका पड्काएर आतिशबाजी गरिन्छ । मान्छेको ओइरो लाग्छ । जापानी युवा–युवतीहरू यौखाता (जापानी ड्रेस) मा सजिएर खुबै रमाइलो गर्छन् । बाटाभरि पसल राखिएका हुन्छन्, स्ट्रिट फेस्टिबलजस्तै गरेर । विभिन्न किसिमका परिकार तथा पटकाहरू बेच्ने गरिन्छ । करिव एक घण्टाजति आकाशमा रंगीबिरंगी पटका, रकेटहरू पड््काएर आकाश नै झलमल्ल पार्छन् । यसरी आकाशको झिलिमिली हेरेर मजा लिन्छन् । रमाउँछन् ।

एकदिन एडम्लार्ई मैले हानावीको दिनमा घरमा निम्तो गरेँ । ऊ खुबै खुसी भयो, किनकि म बसेको ठाउँको बरन्डाबाट फायरवर्क मजाले हेर्न सकिन्छ । बाहिर हुलमुलमा जानै पर्दैन । मेरी श्रीमती पनि त्यस दिन प्रायः आफ्ना जापानी साथीहरूलाई घरमा बोलाउने गर्छिन् । हानावीको दिन करिब पाँच बजेतिर एडम् घरमा आएको थियो । मैले मेरी पत्नी आइकासँग एडम्को परिचय गराएँ । एडम्को नम्र स्वभाव देखेर आइका प्रभावित भएकी थिइन् । मेरो चारवर्षे छोरो पनि छोटो समयमै ऊसँग घुलमिल भइसकेको थियो । अर्थात् एड्मको शालिन व्यवहारले मेरो परिवारको मन जितेको थियो । मैले नेपाली परिकार बनाएको थिएँ । साथै मेरी पत्नीले जापानी परिकार सुसी र टेम्पुरा । एडम्का साथै अरू जापानी साथीहरूले पनि नेपाली परिकार खुबै स्वाद मानीमानी खाएका थिए । खानापछि कौसीबाट करिब एक घण्टाजति हानावी (फायरवर्क) को झिलिमिलीमा हामी हराएका थियौँ । साह्रै रमाइलो भएको थियो त्यसदिन । एकदिन कुरैकुरामा मेरी श्रीमती भन्दै थिइन्, “एडम् त गजबको ह्यान्डसम रहेछ ।” मैले पनि जिस्किँदै भने, “म जतिको त हैन होला ?”“तिमीभन्दा धेरै टल अनि ह्यान्डसम छ । पहिले उसलाई भेटेकी भए त उसैसँग बिहे गर्थेँ,” उनले मलाई जिस्काउँदै भनिन् ।मैले बनावटी रिस पोख्दै भनेँ, “अहिले गरे पनि केही छैन । यी जापानी केटीहरूलाई त खैरो कपाल र नीला आँखा देख्नै नहुने हगि ?” तिनले पनि झर्किंदै भनिन्, “गर्नुहुन्थ्योे नि, तर उसको त गर्लफ्रेन्ड होली नि ? यस्ता ह्यान्डसम अमेरिकन केटाको त गर्लफ्रेन्ड नहुने कुरै छैन ।” साँच्चै, जापानीहरूलाई पनि अमेरिकीको आकर्षणले खुबै लोभ्याएको छ । हामी नेपालीलाई जस्तै ! हामी पनि त सपनाको देश भन्छौँ, अमेरिका जान मरिहत्ते गर्छौं । तर यिनीहरूलाई त अमेरिका जानुभन्दा पनि खैरो कपाल, नीलोे आँखाको जादूले मोहित पारेको छ । म एडम्को बारेमा जान्न चाहन्थेँ । तर ऊ आफ्नो बारेमा केही कुरा गर्नै खोज्दैनथ्यो । त्यसैले मैले अर्काको निजी कुरा कोट्याउन चाहिनँ पनि ।

तर पनि एकदिन त सोधिहालेँ– “एडम्, तिम्रो गर्लफ्रेन्ड जापानी हो ?” ऊ एकछिन त अकमक्क पर्यो मेरो अनपेक्षित प्रश्नले, तर पनि हाँस्दै भन्योे– “तिमी गेस गर्न सक्छौं ।” त्यसपछि मैले सोध्न सकिनँ । मनमनै सोचँे पक्कै पनि जापानी नै हुुनुपर्छ । प्रायःजसो अमेरिकन, युरोपियनले जापानी नै बिहे गरेको देखेको छु, यहाँ । उसले भन्न नचाहेको हुुनुपर्छ । यी युरोपियन, अमेरिकनहरू हामीजस्ता खुला दिलका कहाँ हुन्छन् र ? हामी पो मन मिल्ने साथी पायो कि आफ्नो मन, मुटु खोलेरै देखाइदिन्छौँ । मैले आफ्नै मनलाई सान्त्वना दिने प्रयास गरेँ । एकदिन कुरै कुरामा एडम्ले सोध्यो– “सिजन, तिमीलाई योग कतिको मन पर्छ ? मैले त अर्को विकेन्डमा योग क्लास जाने विचार गरेको छु । यहीँ टोकियोमा छ, निर्मल योग तिमी पनि जान्छौं ?” मैले तुरुन्तै जवाफ दिएँ– “मलाई योगमा इन्ट्रेस्ट त छ, एडम् । तर मलाई त थाहा भएन टोकियोमा पनि योग क्लास छ भन्ने ?” प्रश्नवाचक दृष्टि एडम्तिर फैलाएँ । “अझ मैले त विपश्यना योगको दशदिने कोर्स पनि गरेको छु ।” एडम्ले खुसी हुँदै भन्यो– “त्यसो भए अर्को साता जाने है ?” ऊ पहिले पनि गइसकेको रहेछ भन्ने लाग्यो मलाई । हामीले सँगसँगै कतिचोटि टोकियोेका बारहरू चहारेका थियौँ । यसरी नै हाम्रो मित्रता दिनप्रतिदिन गाढा हुँदै गइरहेको थियो । मोबाइलको रिङटोनले मेरो तन्द्रा भंग हुन्छ । म फेरि वर्तमानमा फर्किन्छु । मोबाइल हेर्छु । आइकाको रहेछ । मोबाइल उठाउँदै हेलो भन्छु । उताबाट आवाज आउँछ “मोसी ! मोसी !! डोको इत्तानो ? (हेल्लो, कहाँ गएको ?)” जापानीहरू फोनमा हेल्लोको सट्टा मोसी ! मोसी !! भन्छन् । म भन्छु, “कोहो नोन्देरु स्यो (कफी पिउँदै छु) ।” “हिरु गोहान् ताबेनाइनो ? (लन्च खादैँनौ)” तिनले सोधिन् । “ताबेरु ताबेरु (खाने खाने)” म हडबडाउँदै जवाफ दिन्छु । “हायाकु खाइते कित्ते, बातासिमो सिगोतो इकु कारा (छिटो आऊ, मलाई काममा जानु छ)” उनले झर्किँदै भनिन् ।

“वाकात्ता मो सुगु खाएरु (बुझँे, छिट्टै आउँछु)” भन्दै मोबाइल डिसकनेक्ट गरेँ । हत्तपत्त कफी सकाएर स्टारबक्स कफी सपबाट बाहिर निस्केर घरतिर हतारिएकोे पाइला चालेँ । लन्च तयार पारेर मलाई पर्खेर बसेकी रहिछन् आइका । मीठो स्पागेटी बनाएकी थिइन् । छोरासँगै सबैले लन्च गर्यौँ । मैले श्रीमतीलाई फुर्काउँदै भने– “होन्तो नि ओइसिखात्ताने, आरिगातो (साँँच्चै मीठो लाग्यो । धन्यवाद)” । तिनी “डोमो” (स्वागत छ) भन्दै मसक्क मस्किन् । मैले एडम्को कुरा भन्न सुरु गरेँ । “सितेरु मादा, एडम् निहोन नि कुरु इत्ता (थाहा छ, एडम् फेरि जापान आउने रे)” ।“नान दे, मादा कुरु ? (फेरि किन आउने ?)” तिनी झर्किइन् । “नान दे का सिरानाई (थाहा छैन)” मैले भनेँ ।“ताबुन, आनाता नि, आई ताई इन् ज्यानाई (सायद तिमीलाई भेट्न मन लागेर हो कि ?)” तिनले हाँस्दै भनिन् । “बोकु जना कुत्ते आनाता नि आइताई इत्ता यो (म होइन तिमीलाई भेट्न मन लाग्यो रे भन्दै थियो ।)” मैले जिस्काउने सुरले भनेँ । “आइता कुनाई आनो ओखासी हितो डा यो (भेट्न मन छैन त्यस्तो अचम्मको मानिससँग)” भन्दै बाहिर निस्किन् अनि “ज्याने” भन्दै हात हल्लाइन् । “ज्याने” भनेको बाहिर निस्कँदा प्रयोग गर्ने जापानी शब्द हो । मैले पनि “इतरासायी (राम्रोसँग जाऊ)” भन्दै हात हल्लाउँदै बाई भनँे । श्रीमती गएतिर हेर्दे मनमनै गुनेँ– हैन यिनीहरू किन यति डाहाढे भएका होलान् ! आज मेरो बिदाको दिन भएर यसो बिहानै हावा खान निस्केको थिएँ । साथमा कोही साथी थिएनन् । एक्लै कफी पिउँदै बिदेसिएको मजा लिँदै थिएँ । यहाँ यस्तै छ, पत्नी कामबाट लखतरान भएर फर्किन्छिन् । म काममा जान्छु । म कामबाट थाकेर फर्किन्छु । तिनी जान्छिन् । सँगै बसेर खाना खान नपाएको पनि तीन–चार दिन भइसकेको थियो । आज परिवारसँगै बल्ल लन्च खाने साइत जुरेको थियो । के गर्नु, आफूले चाहेर मात्र नहुने रहेछ। काम नै यस्तै । बाँच्नै पर्यो । पैसा कमाउन आएको कमाउनै पर्यो । हेर्दा जति खुसी देखिन्छ, त्यति नै दुःखी छ बिदेसिएको जिन्दगी ! के गर्नु, देशमा राम्रो भएको भए को आउँथ्यो र विदेश, गधाजस्तो जोतिनलाई ।

हाम्रो देशमा त खै, गणतन्त्र पनि घाँडो भएजस्तो छ जनतालाई ! नहोस् पनि किन, केही होला भनेको, गणतन्त्रको नाममा लुट मात्रै मच्चाएका छन्, नेताहरूले । अनि कसरी चित्त बुझाउन् त जनताले पनि ! ‘जुनै जोगी आए पनि कानै चिरेका’ भनेभैmँ, झन्झन् बिग्रेर गएको छ । “पा पा, जितेन्स्या इका नाइनो ? (पापा साइकल चढ्ने हैन ?)”, छोरोको यो आवाजले मेरो सोचाइमा ब्रेक लाग्छ । ऊ हतारिँदै भन्छ, “इको इको (जाऊँ जाऊँ)” । म छोरालाई साइकल सिकाउन बाहिर निस्केँ । छोरालाई साइक्लिङ गराएर घरमा आएँ । रातिको खाना पकाएर छोरासँगै आफूले पनि खाएँ । श्रीमतीका लागि फ्रिजमा राखी दिएँ । काम सकाएर आधा रातमा आउँछिन् । आज नाइट सिफ्ट परेकाले फर्किन अलि ढिला नै हुन्छ। छोरो टीभीको कार्टुनमा हराउँछ । मलाई भने मनमा निकै खुल्दुली लागिरहेको छ, एडम्को म्यासेज सम्झेर । के भएछ एडम्लाई ? बिहे गर्यो होला कि नाईं ? एक्लै आउने हो या दुवै आउने हो ? जापानको माया लागेर हो वा घुम्न, अथवा साथीभाइ भेट्न आउन लागेको हो? फ्रिजबाट बियर निकालेँ र गिलासमा खन्याएर पिउनँ लागेँ । पिउँदापिउँदै एडम्सँग बिताएका पलहरू सिनेमाका दृश्यझैँ एकपछि अर्को गर्दै आँखाअगाडि आइपुगे ।एकदिन टोकियोको एउटा बारमा बियर पिँउदापिँउदै एडम्ले एक्कासि भन्यो, “सिजन म तिमीलाई एउटा कुरा भन्न चाहन्छु…”, तर उसले वाक्य बीचमै रोकेको थियो । “के ? भनन् । किन कुनै समस्या पर्यो ? मैले केही सहयोग गर्नुपर्यो भने भन है । हामी नेपाली साथीभाइलाई सहयोग गर्न सधैं तम्तयार हुन्छौँ ।” मैले चुस्की लिँदै भनेँ । ऊ अलि अप्ठ्यारो मान्दै थियो । अलि हिच्किचाउँदै उसले भन्यो, “म तिमीलाई पहिले नै यो कुरा भन्न चाहन्थेँ, तर आँटै आएन । कुरा के हो भने, मेरो ब्वाइफ्रेन्ड छ अस्ट्रेलियामा । हामी एक–अर्कालाई एकदमै माया गर्छौैं । टोकियोको एउटा डान्स प्रोग्राममा भेट भएको थियो ।” म छक्क पर्दै उसलाई हेर्न थालेँ ! उसले भनेको कुरामा विश्वास गर्न गाह्रो भइरहेको थियो मलाई ।

ऊ भन्दै गयो, “म ‘गे’ हुँ सिजन । यदि तिमीलाई मसँगको मित्रतामा अप्ठ्यारो महसुस हुन्छ भने मित्रता तोड्न सक्छौ । म तिमीलाई पहिलेदेखि नै भन्न चाहिरहेको थिएँ, तर भन्न सकिरहेको थिइनँ ।” उसले एकै सासमा भनि सिध्यायो । म आश्चर्यचकित भएँ ! उसका कुरा सुनिरहेँ । मात्र सुनिरहेँ । मनमनै सोचेँ, कसरी एडम् ‘गे’ हुन सक्छ ? ऊ कुनैै पनि एङ्गलबाट ‘गे’जस्तो देखिँदैन थियो । किनभने ‘गे’ भन्नाले केटीको जस्तो व्यवहार गर्ने केटा, अनि रातिराति काठमाडौंको सडकपेटीमा जम्मा हुने केटीको मेकअपमा देहव्यापारका लागि ग्राहकको खोजीमा देखिनेको जमात होला कि भन्ने मलाई लाग्थ्यो । एड्मको कुराले मेरो भ्रमको पर्दा च्यातियो । किनकि यहाँ एउटा सबल पुरुष जो कुनै पनि कुरामा कम छैन, युवतीहरू उसको एक इसारामा पछि लाग्न सक्छन्, त्यस्तो पुरुषले ‘म ‘गे’ हुँ, मलाई केटीहरूप्रति आकर्षण छैन, म एक पुरुषलाई प्रेम गर्छु, र छिटै बिहे गर्न तयार छु’ भनिरहेको छ । फेरि मनमनै उत्तर खोजेँ, सायद यो प्रकृतिको खेल हो । प्र्रकृतिले नै यस्तो बनाई दिएको होला उसलाई । ऊ आफैंले चाहेर बनेको होइन । प्रकृतिको अगाडि कसको के लाग्छ र ! प्रकृतिले त एउटा पुरुष, एउटा नारी गरी दुई थरीको मान्छे बनाइदिएको छ । जसको संसर्गले सृष्टिको निरन्तरता चलिरहोस् । कसरी भयो होला पुरुष–पुरुषका बीचमा पनि प्रेम अनि संसर्ग ? यसले त सृष्टिको निरन्तरतामा बाधा पार्छ । यसलाई कसरी प्राकृतिक भनौं, म रनभुल्लमा परेँ ।तर ऊ त मेरो साथी हो, ‘गे’ भन्दैमा साथी बनाउन नहुने हो र ? मनले बलियो आधार खोज्यो । अनि सुस्तरी भनँे, “तिमी मेरो असल साथी हौ । मलाई तिम्रो यौनिकतासँग कुनै सरोकार छैन । तिमी ‘गे’ हुनु र नहुनुमा मलाई केही फरक पर्दैन । त्यो तिम्रोे स्वतन्त्रताको कुरा हो ।” यति भन्दै मैले उसको गिलासमा बियर खन्याइदिएँ । लामो निःश्वास छोड्यो एडम्ले । भन्यो– “धन्यवाद सिजन । तिमीजस्तो साथी पाउनु पनि मेरो भाग्य नै हो । साँच्चै नै, नेपालीहरू खुला विचारधाराका हुँदारहेछन्, जापानीहरूभन्दा । फेरि मिलनसार पनि, तर यो कुरा मेरो होटेलका कसैलाई पनि थाहा छैन र थाहा नहोस् । मलाई घृणाको पात्र बन्नु छैन । यहाँ अमेरिकाकोजस्तो खुला संसार छैन । एक–अर्काको चियोचर्चो गर्ने बानी छ । मैले जे गर्दै छु ठीक गर्दै छु । म जे छु, त्यसमै खुसी छु । तिमीलाई थाहा छ सिजन, म ‘गे’ हुँ भन्ने थाहा हुनेबित्तिकै मसँग घृणा गरेर नबोल्ने साथीहरू धेरै देखेको छु । ‘गे’ हुनु नराम्रो कुरो होइन । मैले कसैलाई दुःख दिएको पनि छैन । मैले मेरो परिवारलाई सधैँ सपोर्ट गरेँ, तर मेरो दाजुले धेरै दुःख दियो ।”

मैले सोधेँ– “मलाई तिम्रो परिवारबारे बताउन सक्छौ एडम् ।”ऊ भन्दै गयो, “सनफ्रान्सिसकोमा एउटा मिडिल क्लास परिवारमा जन्मेको हुँ । मभन्दा दुई वर्ष जेठा दाजु डेभिड थियो । ऊ ड्रग्सको लतले तीन वर्षअघि बित्यो । उसकी विधवा श्रीमती र दुई बच्चाहरूलाई मेरो ममले हेरचाह गर्छिन् । म पनि सकेजति हेल्प गर्छु । डेभिडले धेरै दुःख दिएको थियो ममलाई । हामी स–साना हुँदा नै मेरो ड्याड अर्कै केटीसँग बिहे गरेर छुट्टै बस्न थाल्नुभयो । हामीलाई ममले धेरै दुःख गरेर हुर्काउनुभयो, तर डेभिड पनि ड्याडजस्तै भएर निस्कियो । उसले बिहे गरेर बच्चा जन्माए पनि आफ्नो परिवारलाई कहिल्यै हेरेन । त्यसमाथि ड्रग्सको लतले उसको ज्यानै गुम्यो । म त ममलाई खुसी दिन चाहन्छु ।”मैले कुरा कोट्याउँदै सोधेँ– “अनि, तिम्रो ममलाई थाहा छ, तिमी ‘गे’ भन्ने कुरा ?”उसले हाँस्दै भन्यो– “अमेरिकामा कुनै पनि वर्गलाई पूर्ण अधिकार र स्वतन्त्रता छ । ‘गे’ ‘लेस्बियन’ सबैको आ–आफ्नै अधिकार छ । त्यहाँ, यहाँ जस्तो घृणाको नजरले हेरिँदैन् । मेरो मम पनि साह्रै खुसी छिन् । मलाई जत्ति नै एलेक्सलाई पनि माया गर्छिन् । भन्छिन्, एलेक्स पनि उनकै छोरा हो ।” आश्चर्यचकित भएर उसलाई हेर्दै भनेँ– “साँच्चै, तिमी भाग्यमानी छौ, एडम् । हाम्रो देशमा त अझै ‘गे’ र ‘लेस्बियन’लाई हेर्ने दृष्टिकोण फरक छ । धेरै फरक छ । हाम्रो समाज त्यति खुल्न सकेको छैन । पुरुषपुरुषको विवाह त असम्भव छ । त्यसै कारण समाजमा यो पक्ष लुकेर बसेको छ । अनि नचाहँदा–नचाहँदै पनि समाजका लागि, परिवारका लागि भनेर बिहे गराइदिन्छन् । यसले दुवै परिवारको जीवन तहसनहस बनाइदिन्छ । हामी अझै पनि प्रकृतिलाई आत्मसात् गर्न सकिरहेका छैनौं । अप्राकृतिक भनि समाजमा घृणा फैलिरहेको छ ।

एडम् मेरो कुरा सुनेर गम्भीर भयो । भन्यो– “बिस्तारै बुझ्छन् । जब चेतनाको स्तर बढ््छ समाजमा, त्यसपछि मान्छेको विकृत धारणाहरू बदलिँदै जानेछ । ‘गे’ ‘लेस्बियन’ हुनु कुनै विकृति होइन । यो प्राकृतिक देन हो । बस्, समाजमा लुकेर बसेको एउटा सत्य हो भन्ने कुरा जब समाजले बुझ्नेछ, त्यतिबेला घृणाको पर्खाल भत्कनेछ ।”मेले स्वीकृतिमा मुन्टो हल्लाउँदै फेरि सोधेँ– “एडम् मलाई एलेक्सबारे केही बताउन । कस्तो रहेछ ऊ, तिम्रो जीवनसाथी हेर्ने उत्सुकता जाग्यो।”उसले हाँस्दै मोबाइल झिकेर फोटो खोज्न थाल्यो । एकै छिनपछि मलाई मोबाइलमा रहेको फोटो देखाउँदै भन्यो– “यी मेरो एलेक्स, नयाँ वर्षको पार्टीमा सनफ्रान्सिसकोको मेरो घरमा खिचेको । ऊ अस्ट्रेलियाबाट आएको थियो, मसँग न्यु इयर मनाउन ।” उसले एउटा चिटिक्क परेको केटाको फोटो देखाउँदै भन्यो । मैले फोटा हेर्दे हाँसेर भने– “जोडी त गज्जब मिलेको रहेछ ।” त्यसपछि ऊ पनि खित्का छोडेर हाँस्यो ।एडम् भन्दै गयो– “ऊ एउटा अस्ट्रेलियन थाले डान्सर हो । हाम्रो अफेयर चलेको पनि दुई वर्ष भइसक्यो । ऊ मेरा लागि भनेर धेरैचोटि जापान पनि आइसक्यो । अब हामीले अमेरिका सिफ्ट हुने निर्णय गरेका छौँ । उहीँ बिहे पनि गर्ने । हाम्रो निर्णयले मेरो मम एकदमै उत्साही हुनुभएको छ । अबको दुई महिनापछि म अमेरिका फर्किँदै छु, जापानलाई सदाका लागि छाडेर ।”मलाई कस्तोकस्तो लाग्यो । बल्लबल्ल एउटा मिल्ने साथी बनाएको, त्यसले पनि अब छाडेर जाने भयो । मनमा निराशा छायो । अनि आफूलाई सम्हाल्दै भने– “अनि होटेलको काम छ त तिम्रो एडम् ?” उसले भन्यो– “अर्को महिनासम्म मात्र हो सिजन, त्यसपछि सकिन्छ । मैले छाडेर जाने सूचना दिइसकेँ । अब अमेरिकामै काम खोज्नुपर्ला ।” “तर तिमीलाई त जापान मन पर्छ होइन र ? फेरि यहाँ बसेको पनि त धेरैै भइसक्यो, कसरी चटक्कै छाडेर जान सक्छौ ?” मेरो कुरा सुनेर एडम् अलिक गम्भीर भयो । भन्यो– “हो सिजन, मन त पर्छ तर यहाँको समाज तिमीले भनेजस्तो नेपालको जस्तै हो । खुला छैन। हामी यहाँ निसासिन्छौँ । फेरि एलेक्सलाई जापान खासै मन पनि पर्दैन । उसलाई अमेरिका बस्ने मन छ रे ।” बल्ल कुरा बुझँे मैले एलेक्सका लागि नै एडम्ले जापान छाड्ने निर्णय गरेको रहेछ । गज्जब लाग्यो मलाई, एडम्को प्रेम देखेर । जापानको प्रशंसा गरेर नथाक्ने मान्छे, जापानजस्तो बस्न लायकको सुन्दर देश अमेरिका पनि हैन भन्ने मान्छे, एलेक्सको प्रेममा डुबेर जापान छाड्ने निर्णय लिन्छ ! प्रेम त आखिर प्रेम नै हो नि, जहाँ त्याग समर्पणको भाव हुन्छ । चाहे स्त्री–पुरुषको प्रेममा होस्, चाहे पुरुष–पुरुषको प्रेममा होस्, प्रेमले आफ्नो रंग त देखाइहाल्छ नि ।म नतमस्तक भएँ । एडम्को प्रेमप्रतिको समर्पणलाई नमन गरेँ । “हा ! हा !! हा !!!” छोरोको अट्टाहस् सुनेर मेरो तन्द्रा भङ्ग भयो । छोरो ‘टम एन्ड जेरी’को कार्टुन हेर्दै खित्का छोडेर हाँसिरहेको थियो । म एकनाशले छोराको हाँसोमा हराउन पुगेँ । छोरो अझै पनि हाँस्दै थियो, “हा ! हा !! हा !!!”


Your Views
Related News