आरती ठकुन्ना १३ वर्षकी भइन्। उनलाई कथा, कविता लेख्न। चित्र कोर्न निकै मनपर्छ। आफूले लेखेका कविताहरू मञ्चमा उक्लिएर धेरै मानिसका अगाडि वाचन गर्नु उनको रुचीको विषय हो।केही महिनाअघि उनी बैतडीको गोठानीबाट काठमाडौं उपत्यका आएकी थिइन्। उपचारका लागि। आरतीको समस्या – घाँटी र छातीको छालामा मासु पलाएका थिए। ती घाउँबाट पिप बगिरहन्थ्यो। आरतीको खुट्टामा पनि समस्या छ। उनी देब्रे खुट्टा खोच्याएर हिँड्छिन्। उनको घाउँको उपचार केही समय स्थानीय स्वास्थ्य चौकीमा गराइएछ। त्यहाँको औंषधी उपचारले ठीक भएन। काठमाडौं आइपुग्दा उनको स्वास्थ्यस्थिति बिग्रदो थियो।पाटन अस्पतालमा उनको मासुको जाँच (बायप्सी) भयो। तर, समस्या के हो? पहिचान हुन सकेन। त्यसैले उनको काठमाडौं बसाइ लम्बियो। अस्पतालमै रहँदा (पुस २ गते) उनले स्कूलको वार्षिक कार्यक्रममा वाचन गर्नका लागि कविता लेखेकी थिइन्। तर, स्कूलमा भव्य कार्यक्रम हुँदा यता उनको उपचार भइरहेको थियो।

आफ्नो उपचारमा खटिएका डाक्टर सजल त्वानाबासुसँग गुनासो पोखिन्। सोधिन् : मैले अब यो कविता कहिले, कसलाई सुनाउने?सजलले तत्काल जवाफ दिए – सुनाउने होइन छपाउने है? पत्रिकामा।छपाउने त भने तर कहाँ, कसरी? उनले पनि सोचेका थिएनन्। त्यस समय केही पत्रिका र अनलाइनमा इमेल त गरेका हुन् तर कहींबाट पनि जवाफ पाएनन्। ‘उसलाई खुशी बनाउन र सधैं लेख्न प्रेरित गर्नका लागि वचन दिएँ। निकै राम्रो लेख्ने भएकाले होइन, अस्पतालको शय्यामा पनि लेख्न कोशिश गरेको देखेर’, डाक्टर सजलले भने। उनलाई लाग्छ आरतीले समाजमा देखिएको यथार्थलाई निर्दोष ढङ्गमा प्रस्तुत गरेको पाए।आरतीको छालामा क्षयरोग देखियो। थप उपचार आवश्यक थियो। तर, उनलाई  हजुरआमाले पुन: बैतडी लिएर गइन्।उनले काठमाडौं छाडेको करिव ९ महिनापछि सजल उनलाई उपहार पठाउन चाहन्छन्। उनको बाल कविताको प्रकाशित स्वरुप। शिघ्र स्वास्थ्य लाभको कामनासहित :

१. हिमाल हाँस्छ मिलाइ सेता दाँतका लहर

सुन्दर हाम्रो नेपाल प्रकृतिको यो झन्कार

फूल फूल्छ फूलबारीमा भमरी रमाउँछ

भुनभुन गरी भमरी फूलको रस चुस्दछ

हिउँ खस्ने हिउँचुली दिउँ नदीलाई पानी

पानीबाट बिजुलीले चल्ने जिन्दगानी

बसेर हामी हुर्केको आमाको काख एउटै हो

शरीरमा बगेको रगत नि हामी सबैको एउटै हो

भाषा र धर्म संस्कृति छन् है हाम्रो विशाल

सेतो सेतो हिमाल बिचमा हाम्रो नेपाल

सुन्दर हाम्रो देश जय जय नेपाल।

२. माथी हिमाल हाँसेको

तल नदी बगेको

कुहुकुहु कोइली बासेको।

जति छोरा भएनि घरमै अटाउने

एउटी छोरी भएनि डाँडै कटाउने

माथी हिमाल हाँसेको

तल नदी बगेको

न्याउली विरह गाएको।

बन कि चरी बनमै रमाउने हो

छोराछोरी दुबैलाई बराबर मान्ने हो

छोराजस्तै छोरीलाई

पढ्न लेख्न दिने हो।

READ MORE NEWS

विद्यार्थी भर्नामा मारामार हुने सामुदायिक विद्यालय, जहाँ नेताले नै गर्न खोज्छन् भनसुन

धेरैजसो अभिभावकले छोराछोरीलाई सरकारी र सामुदायिक विद्यालयमा पढाउन चाहँदैनन् । सामुदायिक विद्यालयमा हुने लापरवाहीले अभिभावक हैरान हुन्छन् ।तर जनकपुरधाम उपमहानगरपालिकाको एउटा सामुदायिक विद्यालय यस्तो छ, जहाँ विद्यार्थी भर्ना गराउनका लागि अभिभावकहरू मारामार गर्छन् । संकट मोचन रामरति देवशरण माध्यमिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ ।कोरोना महामारीकै बीचमा सरकारले भर्ना खोलेपछि धेरैजसो संस्थागत विद्यालय विद्यार्थी भर्नाका लागि अभिभावकको बाटो कुरेर बसिरहेका बेला संकटमोचन विद्यालयमा ८–९ कक्षाको भर्ना बन्द भइसकेको छ । विद्यालयका प्रधानाध्यापक बलिराम साहका अनुसार असोज २६ गतेसम्म विद्यार्थी भर्नाका लागि ८ पटक प्रवेश परीक्षा लिइएको थियो । विद्यार्थी भर्ना कार्यक्रम सकिएर बन्द समेत भइसकेको उनी बताउँछन् ।‘६–९ कक्षासम्मका नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेका छौं,’ प्रअ साहले भने, ‘आफ्ना विद्यालयका नियमित उत्तीर्ण भएर अपग्रेड हुने विद्यार्थीबाहेक थप नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्छ ।’ उनका अनुसार नयाँ शैक्षिक सत्रमा ८–१० कक्षासम्मका लागि कूल ५०० विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा ३०० उत्तीर्ण विद्यार्थीको भर्ना गरेर नयाँ भर्ना बन्द गरिएको उनले बताए । तलको कक्षामा भने थप विद्यार्थी भर्ना गरिने उनले बताए ।‘सीट क्षमताभन्दा बढी विद्यार्थी उत्तीर्ण भएर भर्ना नपाएपछि वा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्न नमानेपछि कतिपय अभिभावकहरू रोएर हारगुहार लगाउँदै अनुरोध गर्ने गर्नुहुन्छ भने कतिपय अभिभावकले स्थानीय नेतादेखि सांसदसम्मबाट फोन गराउनुहुन्छ, भनसुन गराउनुहुन्छ’ साहले भने, ‘त्यतिले पनि नभएपछि कोही कोही अभिभावकले विभिन्न किसिमका धाकधम्की समेत दिने गर्नुहुन्छ ।’उनका अनुसार चालू शैक्षिक सत्रमा शिशुदेखि १२ कक्षासम्म २ हजार ७०० विद्यार्थी भर्ना भइसकेका छन् । शिशुदेखि ५ कक्षासम्म ५५० जना, ६–८ कक्षासम्म ७०० जना, ९–१० कक्षासम्म ६०० जना र ११–१२ कक्षामा ६०० विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । जसमध्ये १ हजार ४५० जना छात्रा तथा १ हजार २५० जना छात्र छन् । ४०० छात्र तथा छात्राहरू दलित समुदायका छन्।

स्मार्ट बोर्डमा सूचना प्रविधिमार्फत पढाइ

२०७६ साउन २० गते तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले विद्यालयको अनुगमन गरेको थियो । मन्त्रालयले विद्यालयको लागि १२ वटा स्मार्ट बोर्ड, १४ वटा प्रोजेक्टर, ६० थान कम्प्युटर, कक्षा कोठामा सीसीटीभी क्यामेरा, राउटर, ब्याट्री सहितका उपकरण उपलब्ध गराएपछि विद्यालय सूचना प्रविधिमैत्री बनेको छ । विद्यालयमा स्मार्ट बोर्ड राखिएको छ । कक्षा कोठामा प्रोजेक्टर र एउटा कम्प्युटर समेत जडान गरिएको छ । स्मार्ट बोर्डलाई कम्प्युटर स्क्रिनको रूपमा र आवश्यकता अनुसार शिक्षकले पढाउने बेला ‘टच पेन’को मद्दतले बोर्डको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
‘स्मार्ट बोर्डमा सबै कक्षाको पाठ्यक्रम, विषयवस्तुको पढाइदेखि विभिन्न शैक्षिक सामग्रीहरू वेबसाइट तथा यूट्यूबमा राखिएको छ,’ १० कक्षामा पढाइरहेका शिक्षक अमित कर्णले भने, ‘पढाएको कुरालाई फाइल बनाएर सेभ पनि गर्न सकिन्छ, अनुपस्थित भएका विद्यार्थीले त्यो पाठ पछि पनि सिक्न सकिन्छ ।’स्मार्ट बोर्डको मद्दतले कुनै कुराको तस्वीर वा दृश्य नै देखाउनु पर्दा चित्र कोर्ने झन्झटबाट शिक्षक पनि मुक्त हुने र समयको समेत बचत हुने गरेको कर्णले बताए । गणित नै पढाउनुपर्‍यो भने वा बोर्डमा केही लेख्नुपर्‍यो भने फेरि त्यसै स्मार्ट बोर्डलाई लेख्ने बोर्डको रूपमा परिणत गर्न सकिने हुँदा प्रविधि जान्ने शिक्षकको लागि धेरै नै उपयोगी रहेको उनले बताए । कुनै विषयको विषयगत शिक्षक अनुपस्थित भएका दिन पहिला पढाइ प्रभावित हुन्थ्यो तर अहिले स्मार्ट बोर्डमा सबै कुरा पहिलेदेखि नै लोड गरेर राखिएकाले अन्य शिक्षकले पनि पढाइ दिने गर्दा सिकाइ राम्रो भएको ९ कक्षामा अध्ययनरत छात्रा अञ्जनीकुमारी साहले बताइन् ।

प्रधानाध्यापक बलिराम साहप्रधानाध्यापक बलिराम साह

एसईईमा उत्कृष्ठ परिणाम, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

प्रधानाध्यापक साह विद्यालयको एसईईमा राम्रै परिणाम आएको बताउँछन् । २०७४ सालको एसईईमा ४ जना विद्यार्थीले ‘ए प्लस’, ३६ जनाले ‘ए’ ग्रेड ल्याएका थिए । २०७५ सालमा ६ जनाले ‘ए प्लस’ र ३८ जनाले ‘ए’ ग्रेड, २०७६ सालमा ४८ जनाले ‘ए प्लस’ र ७० जनाले ‘ए’ ग्रेड ल्याएका साहले बताए ।२०७४ सालमा ९ कक्षामा अध्ययनरत विद्यार्थी सन्नी कर्णले काठमाडौंमा सम्पन्न गणित विषयको इन्टेलिजेन्स प्रतियोगितामा नेपालमा नै प्रथम पुरस्कार जित्न सफल भएका थिए । सोही प्रतियोगितामा ९ कक्षाका अर्का विद्यार्थी सुरजकुमार साहले विज्ञान विषयको प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रमा प्रथम तथा नेपालमा तेस्रो स्थान ल्याएर पुरस्कार जितेका थिए । दुवै बिद्यार्थी हाल विद्यालयको ११ कक्षामा अध्ययनरत छन् ।

विभिन्न समयमा हुने गरेका अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीले प्रथम, दोस्रो तथा तेस्रो पुरस्कार जितेका ट्रफी तथा शिल्डहरू विद्यालयमा राखिएका छन् । हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, विभिन्न किसिमका खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीले भाग लिएर पुरस्कार जितेर विद्यालयको नाम राख्न सफल भएका छन् । ‘मुख्यरूपमा विद्यार्थीको जुनसुकै पनि सिकायत वा समस्या आउँदा तत्काल सम्बोधन गर्ने गरेका कारण विद्यार्थी सन्तुष्ट हुने गर्छन्,’ प्रअ साहले भने, ‘७ घण्टी पढाइ हुने तथा विद्यार्थीको समस्या समाधान हुने गरेको तथा विद्यार्थी, शिक्षक र प्रअबीच राम्रो समन्वय भएका कारण पनि विद्यार्थी सन्तुष्ट छन् ।’ शिक्षकहरू विद्यार्थीप्रति पूर्णरूपमा समर्पित हुनु, अनुशासन कायम हुनु विद्यालयको प्रमुख विशेषता रहेको उनले बताए ।विद्यालयमा आइसकेपछि विद्यार्थीहरू आफूलाई भौतिक, सामाजिक हरेक किसिमले सुरक्षित ठान्ने गरेका कारण पनि अभिभावकहरूले पठाउने गरेको उनले बताए । ‘बहुसंख्यक विद्यार्थीले बाहिर अतिरिक्त ट्यूसन तथा कोचिङ लिने गरेका छैनन्, कक्षाको पढाइले नै पुगेको हुन्छ,’ साहले भने, ‘तर कोही कोही विद्यार्थीले ट्यूसन तथा कोचिङ पनि लिने गरेका हुन्छन् ।’जनकपुरधामका २५ वटा वडा, धनुषाका प्रत्येक पालिका र २ नम्बर प्रदेशका ८ वटै जिल्ला घर भएका विद्यार्थी विद्यालयमा पढ्ने गरेको उनी बताउँछन् ।

विद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर

विद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर छ । जुनसुकै अवस्थामा पनि क्यालेन्डर अनुसार पढाइ हुन्छ नै । प्रअ साहका अनुसार एक शैक्षिक सत्रमा कूल २२० दिन विद्यालय खुल्छ भने १८० दिन न्यूनतम पढाइ हुने गर्छ । त्यसबाहेक २ पटक त्रैमासिक र १ पटक वार्षिक परीक्षा हुने गर्छ । पहिलो त्रैमासिक परीक्षाको १० प्रतिशत, दोस्रो परीक्षाको ३० प्रतिशत र अन्तिम वार्षिक परीक्षाको ६० प्रतिशत अंकलाई मूल्यांकन गरेर अन्तिम परिणाम प्रकाशन गर्ने गरिन्छ ।

कक्षा कोठा र दरबन्दीका शिक्षकको अभाव 

२ हजार ७०० विद्यार्थी भएको विद्यालयमा कम्तिमा पनि ९० जना शिक्षकको दरबन्दी हुनुपर्ने ठाउँमा ३४ जना शिक्षक मात्र दरबन्दीका भएकाले निजी स्रोतमा शिक्षकहरू राख्नुपरेको उनी बताउँछन् । प्राथमिक तहमा शिक्षकको दरबन्दी ठीकठाक भए पनि ६–१२ कक्षासम्मका लागि दरबन्दी अनुसार सरकारले शिक्षक नपठाएकाले समस्या हुने गरेको उनले बताए । आधारभूत तहमा ७०० जना विद्यार्थी छन् तर शिक्षक ७ जना मात्र छन् ।९–१० कक्षासम्म ६५० जना विद्यार्थी छन् तर दरबन्दीका ७ जना शिक्षक मात्र छन् । ११–१२ कक्षामा ६०० जना विद्यार्थी छन् तर दरबन्दीका शिक्षक ४ जना मात्र रहेका उनी बताउँछन् । ३० वटा कूल कक्षा कोठा मात्र भएकाले २ शिफ्टमा विद्यालय सञ्चालन गर्दा पनि कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरू झ्यालमा तथा बाहिर प्यासेजमा समेत राखेर पढ्न बाध्य हुने गरेको उनी बताउँछन् । थप ३० वटा कक्षा कोठासहित भवन निर्माणको आवश्यकता रहेको उनले बताए ।

एकातर्फ विद्यालयमा दरबन्दीका शिक्षक नभएकाले निजीस्रोतमा आधारभूतदेखि मावि तहसम्मका शिक्षक राखेर पढाउनुपर्दा विद्यार्थीबाट शुल्क पनि उठाउनुपरेको उनले बताए । ८ कक्षासम्म सामुदायिक विद्यालयमा पूर्ण रूपले निःशुल्क हुनुपर्ने प्रावधान सरकारले बनाएको छ । तर विद्यालयले ६–१० कक्षासम्म प्रत्येक वर्ष भर्ना शुल्क तथा परीक्षा शुल्क उठाउने गरेको छ । ६ कक्षामा ६०० रुपैयाँ, ७ कक्षामा ७०० रुपैयाँ, १० कक्षामा १ हजार रुपैयाँ भर्ना शुल्क लिने गरिएको छ । प्रत्येक परीक्षामा २५० देखि ३०० रुपैयाँसम्म परीक्षा शुल्क समेत उठाउने गरिएको छ। ‘विद्यालयको आफ्नो कुनै पनि निजी स्रोत नभएकाले निजी स्रोतमा राखिएको शिक्षकको तलब दिनका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै शुल्क लिन बाध्य हुने गरेका छौं,’ साहले भने । ११–१२ कक्षामा वार्षिक प्याकेज अनुसार शुल्क लिने गरिएको छ । विज्ञान संकायको १४ हजार रुपैयाँ, वाणिज्य तथा शिक्षा संकायको ७ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको उनले बताए ।

 


Your Views
Related News