काठमाडौं । पानी मानव शरीरको अत्यावश्यक पदार्थ हो । मानव शरीरमा पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छन् ।शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । तर कति पिउने ? कति बेला र कसरी पिउने? यो हामी सबैको मनमा उब्जने प्रश्न हो ।

पानी कति पिउने?
एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन् । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन् । समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ ।शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ ।शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा स्वच्छ पानी पिउनु अति आवश्यक पर्दछ । मानिसले दैनिक २.३ लिटर पानी पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।

कति बेला, कसरी पिउने?

बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ ।सफा र स्वच्छ पानी पिउनु पर्दछ ।अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हुँदैन।पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १/२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ ।तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।

READ MORE NEWS

बर्दिया निकुञ्‍ज पर्यटकका लागि खुला

बर्दिया — गत चैत ११ गतेदेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शनिबारदेखि खुला भएको छ । दसैं तिहारका बेला बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए ।

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले हाललाई जंगल ड्राइभ (सफारी) र जंगल वाक गर्न अनुमति दिएको बताए । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने खुल्ला नगरिएको उनले बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानु पर्ने व्यवस्था गरिएको छ ।यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुल्ला भएकोमा खुसी व्यक्त गरेका छन् । सात महिनादेखि पर्यटन व्यवसायी पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी हुन पुगेका थिए । अब केहीहद सम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताए । बर्दिया निकुञ्जको मुख्यालयबाहिर सानाठूला गरी २४ वटा होटल सञ्चालनमा छन् ।बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन् । यहॉ ८७ वटा बाघ रहेका छन् ।

अनुवाद उँभौली

विडम्बना के भने गतिला अनुवादकले ज्यालादारीमै चित्त बुझाउनुपर्ने अवस्था छ । तिनले मौलिक लेखकसरह प्रोत्साहन पनि पाएका छैनन् । स्तरीय कृति अनुवादका निम्ति न्यूनतम लगानीकर्तासमेत भेटिँदैनन् । अनुवादकले एकमुष्ट रकम लिने कि रोयल्टीमा गर्ने विकल्प पनि खुला भइसकेका छैनन् । अनूदित सामग्रीको स्तरवृद्धिका लागि ‘पियर रिभ्यू’ र मूल कृतिसँग रुजु गराउने चलन पनि छैन ।

दसैँको मुखमा एकसाथ चार अनुवाद कृति पाठकलाई सुम्पियो, प्रकाशक बुकहिलले । ‘सत्ता र सत्य’, ‘युगान्त’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ । अनूदित किताबको लस्कर भने सुविचारित नभएर संयोग मात्र रहेछ ।कतिपय लेखकले कोभिडको कारण देखाएर क्यालेन्डरमा रहेका मूलकृति निकाल्न चाहेनन्, प्रकाशकले पनि प्रतिकूल समयको जोखिम उठाएनन् । र, पालो पाए अनुवाद कृतिले ।मौलिक लेखनमै चम्किएका युवाहरूले उम्दा उल्था गरेर पाठकलाई दसैं उपहार टक्र्याएका छन् । पोखरा बसेर गनेस पौडेलले नोबेल पुरस्कार विजेता जोन स्टेनबेकको सदाकालीन आख्यान ‘अफ् माइस एन्ड मेन’ को अनुवाद ल्याए, ‘मुसा मानुष’ । संसारका सयौं भाषामा अनूदित र करोडौं थान बिक्रीको कीर्तिमानी यो आख्यानमा सन् १९३० को महामन्दीपछिको कृषि मजदुरको कथा छ । यो अमेरिकी स्कुलेको प्रिय पुस्तक हो तर कतिपय ठाउँमा प्रतिबन्धित पनि छ । गनेसले पश्चिमाञ्चल क्षेत्रको बोलीबान्कीमा यसको अनुसिर्जना पस्केका छन् ।पोखराकै पढाकु युवा समूह ‘ह्वाट द बुक क्लब’ ले उपन्यासबारे बोलिदिन निम्त्याएपछि गनेसमा अनुवादको औडाहा चलेको रहेछ । उनी सिर्जनात्मक लेखन नफुर्दा आफ्नो दिल–मथिंगल चोरेका खुद्रा रचना अनुवाद गरिबस्छन् । ‘मेरा निम्ति अनुवादलाई एउटा सात्त्विक समाजसेवा हो,’ उनी भन्छन्, ‘यसलाई पैसा पनि आउने समाजसेवा भन्दा अझ आनन्द होला ।’‘भारी–भरकम चीज निरन्तर पढिरहँदा पट्यार लागेपछि मन भुलाउन म कविता पढ्ने गर्छु,’ इतिहासकार नयराज पन्तको यसै उक्तिलाई पछ्याउँछन्, लेखक सुजित मैनाली । एकैखाले किताब पढ्न र एकैखाले सामग्री लेख्न दिक्क लाग्दा केही समय विश्राम लिने क्रममा उनले भारतीय मानवशास्त्री इरावती कर्वेको कालजयी कृति ‘युगान्त’ को अनुवादमा लागेका थिए ।यो अनूदित कृतिले महाभारतै नपढेका पाठकलाई समेत महाभारतका अन्तरकुन्तरबारे सोलोडोलो जानकारी दिनेछ । ‘हामीकहाँ महाभारतसम्बन्धी एउटा पनि गहकिलो किताब लेखिएको छैन । पुस्तकालयमा पनि महाभारतसम्बन्धी प्रमुख ग्रन्थहरूको संकलन छैन,’ उनी भन्छन्, ‘आफूलाई मन परेको किताब आफ्नै भाषामा उल्था गरी पाठकलाई दिएको हुँ ।’

अनुवाद साहित्यमा युवा हलकारा मात्र होइन, प्रौढ हलकाराको सक्रियता पनि लोभलाग्दो छ । पटकपटक अन्तिम अनुवाद भन्दै आएका ७५ वर्षीय खगेन्द्र संग्रौलाको खातामा नयाँ उल्थाकृति थपिएको छ, ‘सत्ता र सत्य’ । त्यसमा मेरी डेसेनको छनोटमा अल्बर्ट आइन्सटाइन, बर्तोल्ट ब्रेख्त, आन्टोनियो ग्राम्स्की, विलियम मोरिस, विलियम हिल्टन, इडुआर्दो ग्यालियानो, हवार्ड जिन र एडवर्ड डब्लू सइदका ११ दार्शनिक निबन्ध छन् ।सिर्जनाभन्दा अनुवादले चिनिएका संग्रौलालाई सुपरस्टार अनुवादक भने पनि हुन्छ । उनले विदेशी भाषाका तीन दर्जन कृति अनुवाद गरिसकेका छन् । त्यसो त उनलाई मौलिक चिन्तन र सिर्जना भएको मान्छे अनुवादमा किन अलमलिएको भन्ने हितैषी पनि नभएका होइनन् । ‘मलाई थाहा छ, म जे अनुवाद गर्छॅ, त्यस्तो लेख्न सक्दिनँ,’ उनी भन्छन्, ‘अनुवाद एक हिसाबले आफ्नै अज्ञानता र अभावको क्षतिपूर्ति हो ।’अंग्रेजीबाट मात्र किन ? नेवारी (नेपाल) भाषाबाट समेत नेपालीमा अनुवाद भयो, मल्ल के सुन्दरको ‘विमुक्ति : बौद्ध विनय र सशस्त्र विद्रोहबीचको संवाद’ । मल्लको सात वर्ष पहिले प्रकाशित उपन्यास ‘व लँपु : थ्व पलाः’ को अनुवाद गरेका हुन्, महेशराज महर्जन र राजेन्द्र महर्जनले । यसले माओवादीको दसवर्षे विद्रोहको मर्मान्त कथा कहेको छ ।‘बुकहिलसँग अनुवादको लामै सूची छ तर यसपालि सकिएका काम एकैसाथ आए,’ बुकहिलका भूपेन्द्र खड्का भन्छन्, ‘संकटका बेला मूलकृति दिन नसके पनि विश्वसनीय अनुवाद दिन पाएकामा खुसी छौं ।’ त्यसो त यहाँ अंग्रेजीमा लेख्ने विदेशी लेखकहरूको तुलनामा नेपाली लेखकद्वारा अंग्रेजीमा लेखिएका किताब खासै पढिँदैनन् । त्यही तितो यथार्थका कारण चाडबाडको किचाघानमा सगुना शाहले सुन्दर अनुवाद गरेर देखाइन्, ‘कान्छा महारानी’ ।

नारीलाई मुख्यपात्र बनाएर लेखिएको शीवा शाहको ऐतिहासिक आख्यान ‘द अदर क्विन’ को विमोचनमै उनले प्रोलग उल्था गरेर सुनाउँदा धेरै पाठकले नेपालीमा पढ्ने हतार भएको प्रतिक्रिया दिइसकेका थिए । ‘मैले अनुवाद रोजेको भन्दा पनि लेखकबाट प्रस्ताव पाएकी हुँ,’ उनी भन्छिन्, ‘दरबारिया बोलीचालीको भाषा मध्यनजर राखी मलाई प्रस्ताव आएको रहेछ ।’ त्यसअघि उनले फुटकर कथा र कविता अनुवाद गरेकी थिइन् ।विभिन्न प्रकाशनगृह थुप्रै अनुवाद कृति बजारमा ल्याउने तम्तयारीमा छन् । ‘कान्छा महारानी’ को प्रकाशक सांग्रिला बुक्सले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन लाइभ्स’ को अनुवाद गराइसकेको छ । विदेशीले पत्याएकी लेखक मञ्जुश्रीले उज्ज्वल प्रसाईको अनुवाद कलामार्फत नेपालीभाषी पाठक पाउँदै छिन् । ‘अनुवाद मात्र भन्दा पनि राम्रो किताबको बजार जहिल्यै हुन्छ,’ सांग्रिलाका मणि शर्मा विश्वस्त छन्, ‘अनुवाद सिर्जनाभन्दा मुस्किल काम हो, त्यस्ता कृति आए स्वागतै गर्छौं ।’एकपछि अर्को हिट अनुवाद दिइरहेको प्रकाशक फाइनप्रिन्टले भने किताबी बाढीका कारण मनीषा कोइरालाको आत्मकथा ‘जिजीविषा’ को विमोचन दसैंपछाडि धकेलेको छ । मूलकृति ‘हिल्ड’ लाई पत्रकार स्वरूप आचार्यले उल्था गरेका हुन् । पाउलो कोहेलोको बेस्ट सेलर ‘हिप्पी’ लाई सुरेश बादलले भाषान्तरण गरेका छन् भने दिनेश काफ्लेले नयनराज पाण्डेकृत आख्यान ‘उलार’ र ‘लू’ को अनुवाद टुंगो लगाएका छन् ।‘अनुवादको अतिरेक इच्छा भएर स्वीकृति लिन नपाउँदा हामी खुम्चिन बाध्य छौं,’ फाइनप्रिन्टका नीरज भारी सुनाउँछन्, ‘सानो देश भनेर हो कि कपीराइट माग्दा विदेशी प्रकाशकहरूले त्यति रेस्पोन्स गर्दैनन् ।’ अर्को प्रकाशक मञ्जरीले आचार्य चतुरसेनको श्रेष्ठ उपन्यास ‘वैशालीकी नगरवधू’ दसैं बोनस दिएको छ । तत्कालीन लिच्छवि संघको राजधानी वैशालीकी पुरावधू आम्रपालीको चरित्रचित्रण गरिएको यस ऐतिहासिक आख्यानलाई चतुरसेनले आफ्नो एक मात्र रचना बताएका थिए ।

इन्डिगो इन्कले मारिया मन्टेसरीको ‘सेक्रेट अफ चाइल्डहुड’ सागर चन्दको अनुवादमा ‘बाल्यकालका संघर्ष’ ल्याउँदै छ । यसैगरी सिल्भिया एन्टन वर्नरको प्रसिद्ध पुस्तक ‘द टिचर’ लाई वन्दना ढकालले ‘शिक्षक’ तयार गरेकी छन् ।बुक हिलले अबको पालोमा योङे मिङ्ग्युर रिन्पोछे र एरिक स्वानसनको पुस्तक ‘द जोय अफ लिभिङ’ को सरोज धितालकृत अनुवाद ‘जिउनुको मज्जा’ र काफ्काकृत ‘मेटामफोर्सिस’ को रामचन्द्र केसी अनूदित ‘कायान्तरण’ लाई राखेको छ । साँच्चै भन्ने हो भने नेपालमा व्यवस्थित अनुवाद परम्परा सय वर्ष लामो पनि छैन । भानुभक्त आचार्यले बाल्मीकिकृत संस्कृत महाकाव्य ‘रामायण’ को भावानुवाद गरी यसको जग बसाए पनि संस्थागत प्रयास भने विसं १९९७ मा मात्र हुन सक्यो । विश्व साहित्य आदानप्रदानका लागि ‘भाषानुवाद परिषद्’ बन्नुअघि पुष्करशमशेरले दुई खण्डमा ‘अंग्रेजी नेपाली कोष’ छापेका थिए ।यहाँ नेर सम्झनुपर्ने हुन्छ, भाषानुवाद परिषद्कै जागिरे महाकवि लक्ष्मीप्रसाद देवकोटालाई । उनले ‘इन्द्रेणी’ पत्रिकामा थुप्रै नेपाली कविका कविता अनुवाद गरी छापेनन् मात्र, पूर्वीय र पाश्चात्य साहित्यका ‘शाकुन्तल’ देखि ‘प्रमिथस’ सम्मको अनुवाद र अनुकूलन गरेर नेपाली साहित्यमा भण्डारण गरिदिए ।अनुवादको पहिलो विद्यावारिधि समालोचक गोविन्दराज भट्टराईका अनुसार, नेपाली साहित्यले रूपरङ नै नपाएका बेला भाषानुवाद परिषद्बाट विश्वसाहित्यका २४ क्लासिक किताब अनुवादको परियोजना ल्याइएको थियो । देवकोटाले तासकन्द कार्यपत्रमा समेत नेपाली साहित्य पछि पर्नुको मुख्य कारण अनुवाद नहुनु औंल्याएका थिए ।समयक्रममा ऋद्धिबहादुर मल्ल, खड्गमान सिंह, शान्तदास मानन्धर, टीकाराम पन्थी आदिले स्वान्त सुखायः कै लागि भए पनि मौलिक स्वाद र सौन्दर्य कायमै राखेर भाषानुवाद, छायानुवाद र शब्दानुवादको सीप देखाए ।निश्चित भूगोलमा खुम्चिएको साहित्यले अनुवादकै कारण सर्वव्यापी हुन पाउँछ । यसले भाषा र समय मात्र नभएर इतिहास र संस्कृतिलाई पनि जोड्छ । कुनै लेखकले भनेका छन्, ‘अनुवादबिना म आफ्नै देशको सीमाभित्र हुन्छु, अनुवादकले नै मलाई संसार चिनाउँछ ।’

जापानका हारुकी मुराकामी हुन् कि ब्राजिलका पाउलो कोहेलो, कोरियाका हाङ काङ हुन् कि रुसका तोल्सतोय अनुवादमै चम्किएका हुन् । नोबेल पुरस्कार पाउने झन्डै ८० प्रतिशत लेखक अनुवादककै शिल्प र क्षमतामा उभिएका छन् । कल्पना गरौं, अनुवाद नभए गीता, महाभारत वा रामायण नेपालीको घरघरै हुन्थ्यो होला ?एकताका नेपालमा चिनियाँ र रुसी साहित्यको अनुवाद निकै फस्टाए । चिनियाँ साहित्यलाई निरञ्जन गोविन्द वैद्यले फैलाए भने रादुगा (इन्द्रेणी) र प्रोग्रेस (प्रगति) प्रकाशनमार्फत आन्तोन चेखव, लियो टल्सटाय, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ४९ कृतिले नेपाली औतार पाए । भाषानुवाद परिषद्पछि नेपाल प्रज्ञाप्रतिष्ठानले सयको हाराहारीमा अन्य भाषाका कृति अनुवाद गरेको छ । १० वर्षअघि छुट्टै अनुवाद विभाग गठनपछि ‘रूपान्तरण’ चौमासिक अनुवाद पत्रिका र अनुवादक परिचय कोश छापिएका छन् । प्रज्ञाप्रतिष्ठानले दुई लाख राशिको अनुवाद पुरस्कार स्थापना गरेको छ ।नेपालबाट देशबाहिर लाने, देशबाहिरबाट ल्याउने, मातृभाषाबाट नेपालीमा, नेपालीबाट मातृभाषामा लैजाने आदि थुप्रै काम छन् । तर, अनुवाद विभाग छ, बजेट छैन । अनुवादक परिचय कोशमा ७ सय ३० अनुवादक समेटिएका छन् । तिनले तीन हजारको हाराहारीमा कृति अनुवाद गरेका देखिन्छन् । त्यसमा महिला अनुवादक भने दुर्लभ छन् ।भट्टराईका अनुसार, यसबीचमा त्रिभुवन विश्वविद्यालयले अनुवादको पाठ्यक्रम तयार गरेको छ भने पाँच जनाले त्यसमै विद्यावारिधि लिँदै छन् । ‘अनुवादमा पैसा छ भन्ने बुझेपछि एकथरी पेसेवर अनुवादक देखापरेका छन्, सङ्लो परिवेश, क्वारेन्टाइन र जाँचपास गर्ने अड्डा छैनन्,’ भट्टराई भन्छन्, ‘त्यसैले अनुवादमा हुने नैतिक र कानुनीलगायत आदि सबैखाले त्रुटि हामीकहाँ भेटिन्छन् ।’खुला सिमानाका कारण भारतको हिन्दी बाटो हुँदै बिल क्लिन्टनदेखि नेल्सन मन्डेला, द होली बाइबलदेखि दास क्यापिटल, सिमोन बोउभारदेखि तसलिमा नसरिनसम्म कपीराइटबिनै हुर्दुराउँदै आइपुग्छन् । त्यो हेर्दा लाग्छ, अनुवाद नभएको केही छैन तर त्यस्तो गजब भएको पनि केही छैन । सुन्दर कृति, झुर अनुवाद, उफ् !ती अनुवाद कति कमसल छन् भने तीभन्दा नोटरी पब्लिक र गुगल मेसिनले राम्रो काम गर्छन् । भट्टराई कुशल अनुवाद नभए पनि ज्ञान विस्तार भएकामा सन्तोष मान्नुपर्ने स्थिति रहेको सुनाउँछन् ।

विडम्बना के भने गतिला अनुवादकले ज्यालादारीमै चित्त बुझाउनुपर्ने अवस्था छ । तिनले मौलिक लेखकसरह प्रोत्साहन पनि पाएका छैनन् । स्तरीय कृति अनुवादका निम्ति न्यूनतम लगानीकर्तासमेत भेटिँदैनन् । अनुवादकले एकमुष्ट रकम लिने कि रोयल्टीमा गर्ने विकल्प पनि खुला भइसकेका छैनन् । अनूदित सामग्रीको स्तरवृद्धिका लागि ‘पियर रिभ्यू’ र मूल कृतिसँग रुजु गराउने चलन पनि छैन ।यहाँनेर सन् २०१६ को म्यान बुकर प्राइज विजेता दक्षिण कोरियाली लेखक हाङ काङको ‘द भेजेटेरियन’ का ब्रिटिस अनुवादक डेब्रा स्मिथले पुरस्कारको ५० प्रतिशत हिस्सा लिएको दृष्टान्त स्मरणीय छ । ‘मौलिक रचना गर्न सक्ने लेखकले अनुवाद गर्नु भनेको महादेवले हलाहल विष पिएजस्तै हो,’ अनुवादक मैनाली भन्छन्, ‘अनूदित किताबको कपीराइट बाँकी नै छ भने रोयल्टी मूल लेखकले पाउँछ, सकिएको भए प्रकाशकले आफैँसँग राख्छ । अनुवादकले पाउने सुरुको ज्याला मात्रै हो ।’ अलि पहिले अनुवादक मञ्जुश्री थापाले सुनाएकी थिइन्, विदेशतिर जीविका चलाउने हिसाबले अनुवादमा लाग्छन् भने नेपालमा अनुवादबाट जीविका चल्दैन भनेर अन्यत्र लाग्छन् ।विश्व चेतना, व्यावहारिक ज्ञान र साहित्यको विस्तारका निम्ति अनुवाद अपरिहार्य छ । साहित्य लेख्न भाषा चाहिन्छ तर साहित्य, कला, सौन्दर्य, विचार भाषातीत हुन्छन् । नेपालमा अनुवादको ‘डाउनलोड’ र ‘अपलोड’ को अनुपात पनि मिलेको छैन ।टिठलाग्दो अवस्था छ, नेपाली भाषाबाट अंग्रेजीमा पठाएका पुस्तकको । पाका अनुवादक अभि सुवेदीले नेपाली पुस्तकका कतिपय अंग्रेजी अनुवाद ‘सहिदको सूची’ मा चढेको टिप्पणी गर्दै आएका छन् ।प्रश्न उठेको छ, आखिर अनुवाद कसका लागि ? अनुवादको लाभ बढीमा विदेशमा बसेका नेपाली पाठकले मात्रै लिएका छन् । ‘अनुवाद हुँदैमा सबै कृति राम्रा हुन् भन्न सकिँदैन,’ सगुना शाह भन्छिन्, ‘अनुवादको कर्ममा कृतिको मर्म हरायो भने बेमज्जा पो हुन्छ त ।’


Your Views
Related News