काठमाडौँ — ४० वर्षअघि नेपालबाट हराएका दुई मूर्ति अमेरिकाबाट काठमाडौं ल्याइएको छ । नेपालबाट विभिन्न समयमा हराएका मूर्तिहरु नेपाल फर्काउनेक्रम जारी रहेको पुरातत्त्व विभागले जनाएको छन्यूयोर्कको मेट्रोपोलिटिन म्युजियमबाट सन् १९८० मा हराएको पाटन टंगहिटीमा रहेको उमा महेश्वरको मूर्ति र काठमाडौं एट्खामा १९८६ मा हराएको ११ औं १२ औं शताब्दीको गौतम बुद्धको मूर्ति नेपाल ल्याइएको हो ।पुरातत्त्व विभागले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल फर्काएका मूर्ति सार्वजनिक गरेको थियो ।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार अरु हराएका मूर्तिहरु ल्याउन समन्वय भइरहेको जानकारी दिए । हालै हराएका खोकना, ठेचो र पाटनका मूर्तिहरु खोजी कार्य जारी रहेको उनले बताए ।सन् ८० को दशकमा नेपालबाट चोरी भएका ती मूर्ति हाल अमेरिकाको न्यूयोर्कस्थित महानगरपालिकाको कला संग्रहालयमा रहेका थिए ।दुवै मूर्तिहरु नेपालबाट चोरी भएर अमेरिका पुर्‍याइएको जानकारी प्राप्त भएपछि संग्रहालयले आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।

READ MORE NEWS

जनी गर ! जनतालाई धेरै नसताऊ !

आज घटस्थापना । बहुसंख्यक नेपालीले मनाउन सबैभन्दा ठूलो चाड दसैंको सुरुको दिन । तर, सधैँजस्तो उत्साह, उमंग र रोमाञ्च कतै देखिँदैन । मूलतः कोभिड—१९ को संक्रमणको त्रास र लामो बन्दाबन्दीका कारण देखिएको आर्थिक संकटले जनसाधारणमा दसैंको उत्साह नजागेको हुनुपर्छ । त्यसमाथि सरकारी अधिकारीको छुद्र टिप्पणी र रुखो वचनले पनि जनसाधारणलाई क्षुब्ध बनाएको देखिन्छ । सरकारी अधिकारीहरूले जनसाधारणले कोभिड—१९ लाई गम्भीररूपमा नलिएर संवेदनहीनता देखाएको आरोप लगाएका छन् । तिनका भनाइ मान्ने हो भने नेपालमा कोभिड—१९ को संक्रमण नियन्त्रण हुननसक्नुमा मूल दोष जनताकै हो र कोभिड —१९ संक्रमितहरूका लागि अस्पतालमा आईसीयु, भेन्टिलेर र शय्यासमेत नपाउने अवस्था पनि जनताकै गल्तीले उत्पन्न भएको हो भन्ने मान्नुपर्छ । तर, यथार्थ त त्यो होइन । कोभिड—१९ को संक्रमण सुरु भएको धेरै भएको छैन । यसैले अहिले नै जनताले संक्रमणलाई उपेक्षा कस्ले गरेको हो र अहिले भयावह अवस्था किन उत्पन्न भयो भन्ने पक्कै बिर्सेका छैनन् ।

यथार्थमा कोरोनालाई हल्कारूपमा लिएको त सरकारले मात्र हो । जनताले त संक्रमण सुरु नहुँदै सरकारले लादेको बन्दाबन्दी (लकडाउन) चुपचाप स्वीकारेर दसौं दिन भोकभोकै बालबच्चासहित पैदल हिँडेर घरघर पुगेका हुन् । उनीहरू चार महिनाभन्दा बढी संक्रमण नियन्त्रण हुने प्रतीक्षामा यावत् कष्ट सहेर पनि बसेकै थिए । त्यति बेला केन्द्र सरकार ओम्नीलाई पोस्ने मूल तयारीमा लाग्यो । संसारभर अस्वीकृत आरडीटी बिकाउन लाग्यो । केही प्रदेश र स्थानीय तहका प्रमुखहरूले हजारौं शय्याका अस्पताल र ‘आइसोलेसन’ केन्द्र बनाउने गुड्डी हाँके । तर, जब जनतालाई साँच्चै नै आवश्यक भयो अनि सरकारी अधिकारीहरूले भन्न थाले — उपचार आफैँ गर सरकारले सक्तैन । संक्रमण भए घरैमा बस अस्पतालमा ठाउँछैन । महामारीसँग खेलाँची कस्ले गरेको रहेछ त ?  सरकारले राज्यको ढुकुटीबाट महामारीका नाममा अर्बौं खर्च गरेको छ । तर, त्यस्तो खर्च जनस्वास्थ्यको आवश्यकताअनुसार नगरेर शासकहरूको स्वार्थ र सनकअनुसार गरिएकाले जनताका लागि अर्थहीन हुन पुगेको हो । प्रधानमन्त्री केपी ओलीका सल्लाहकारले एकै सातामा दुई दुई पटक कोभिड—१९ को परीक्षण गराएको र पहिले देखिएको संक्रमणबाट सातादिन नपुग्दै मुक्त भएको जानकारी उनीहरूले नै दिए । यस्तो सुविधा हुनु राम्रो हो । तर, जनसाधारण परीक्षणका लागि सरकारी प्रयोगशालाबाहिर रातभर लाम लाग्न बाध्य छन् । त्यसरी परीक्षण गराउन लाम लागेकै बेला कति जना संक्रमित भए होलान् ? त्यसरी परीक्षण गराउनेहरूको रिपोर्ट आउन लाग्ने तीनचारसम्म तिनले अरू कति जनालाई संक्रमित बनाइसक्छन् होला? यसका लागि पनि जनतालाई नै दोष दिने ? रूखो धम्की र फोस्रो धक्कुमा रमाउनुको साटो सरकारी अधिकारीहरू अलिकति संवेदनशील र जिम्मेवार हुन सकेका भए अहिले देश यस्तो भयावह अवस्थामा मुलुक पक्कै पुग्ने थिएन ।

संक्रमण देखिएकै साताभित्र अर्को पटक परीक्षण गरेर नेगेटिभ हुने देखिने सुविधा भारदार र साहुजीहरूलाई मात्र हुन्छ । जनतालाई छैन । चीनले संक्रमण रोक्न गरेको तयारीको उदाहरण दिएर सांसदहरूले प्रश्न गर्दा ‘चीनमा पानी परे नेपालमा छाता ओड्ने’ भनेर कटाक्ष सडकका जनताले गरेका हैनन् । स्वास्थ्य तथा जनसंख्यमन्त्रीले हो । कोरोनालाई ‘हाछिउँ’ गरेर उडाउन संसद्बाटै आदेश दिने यही मुलुकका प्रधानमन्त्री हुन् । बेलामा स्वास्थ्य सामग्रीको व्यवस्था नमिलाएको जनताले हो कि सरकारले हो ? नीतिमा अस्थिरता र अन्योल जनताले उत्पन्न गरेका हुन् ? बन्दाबन्दी भनेर बिरामीलाई अस्पताल लान समेत नदिएका बेला सांसद अपहरणदेखि पार्टी प्रवेशका नैटंकी मच्चाउने जनसाधारण हैनन् बरु राजनीतिक दलका नेता हुन् । अर्थात्, खेलाँची तिनले गरे र सजाय जनताले पाए । दसैं त यसै पनि डरैडरमा मनाउनु पर्ने भयो । दसैंमा घर जानेहरूले कसरी आफू जोगिने र अरूलाई जोगाउने भन्ने ख्याल आफैँ राख्नुपर्छ । सरकारले त मरे मर भनेर छाड्ने जनाउ दिइसक्यो । सरकार परीक्षण, संक्रमितको सम्पर्क पहिचान र पृथककरण (आइसोलेसन) जस्ता संक्रमण नियन्त्रणमा अनिवार्य मानिएका विधिहरूसम्म पनि अपनाउन सक्तैन भने जनी गरेर हजार थरीका उर्दी जारी गरी जनतालाई सास्ती दिन पनि छाडोस् !

‘आत्मसंवाद’भित्रको संवाद

‘आत्मसंवाद’भित्रको संवाद

मनोज शर्मा (चिन्तक)


हाइकु सर्जक शरद्शोभाको हाइकु संग्रह ‘आत्मसंवाद’ को चर्चा गर्नुभन्दा पहिले छोटकरीमा हाइकु के हो भन्ने कुरा बुझौं । हाइकु कुनै एक किगो (ऋतुबिम्ब) अटाएको ५÷७÷५ अक्षरीय संरचनालाई कायम राख्दै बाबी (सौन्दर्यचेतना) साबी (स्मृति) होसोमी (अनुभूति ) जस्ता सारतत्त्वहरूको जगमा लेखिने जापानी तीन हरफे कविता हो । हाइकुमा कविभन्दा पनि पाठकको विचार प्रधान हुन्छ । यसले अलगअलग पाठकलाई अलग–अलग खालको अर्थ दिन्छ । अर्थात् हाइकु बहुअर्थी हुन्छ । वरिष्ठ कवि तथा हाइजिन क्षेत्रप्रताप अधिकारीको शब्द सापटी लिएर भन्नुपर्दा ‘हाइकु सूक्ष्मत्तम बिम्बले संकेत गरेको विशालतम् जगत् हो’ ।
आज संसारभरि फैलिँदै गएको जापानी शैलीको हाइकु विधाले सुरुमा मन्द गति लिए पनि अचेल नेपालमा छुट्टै स्थान ओगट्न सफल भएको देखिन्छ । बजारमा थुप्रै हाइकु संग्र्रह क्रमबद्ध रूपमा प्रकाशित भइरहेका छन् । जसको एउटा अर्को कडी हो, शरद्शोभाको हाइकुसंग्रह ‘आत्मसंवाद’ ।हाइकु लेखन यस्तो विधा हो जसमा पारङ्गत हासिल गर्न सम्पूर्ण जीवनले पनि भ्याउन सक्दैन । भनिन्छ, हाइकुका पिता मास्टर बासोले लेखेका करिब १० हजार हाइकुहरूमध्ये जम्मा एक सयजति मात्रै हाइकु थिए । हाइकुका अध्येताहरूको निष्कर्ष हो यो । कमी–कमजोरी सबैमा हुन्छ, यस तथ्यबाट शरद्शोभाका हाइकु पनि अछुतो छैन । उनका हाइकुमा विचार पक्ष जति सबल छ, त्यसको तुलनामा भाव पक्ष कमजोर देखिन्छ ।फरक–फरक बिम्ब र प्रतीक बनाएर समान अर्थ लाग्ने खालका केही हाइकु पनि यस संग्रहमा पाइन्छन्, यस तथ्यलाई उनले पक्कै पनि मनन् गरेकै हुनुपर्छ । यद्यपि उनका हाइकुले जीवनसँग जोडिएका अनेक आयामहरूलाई सफलताका साथ चित्रण गरेको पाइन्छ । कतै जीवन दर्शन, कतै सम्मान र गौरव, कतै संस्कार र संस्कृति, कतै प्रकृति प्रेम त कतै राजनीतिको फोहरी खेल, उनका हाइकुहरूमा भेटिन्छ ।

हेरौ उनका थुप्रै हाइकुहरू मध्येबाट मैले माथि अनुभूत् गरेका कुरासित मिल्दाजुल्दा केही हाइकु ः
एक रहस्य
मृत्युको पाश्र्वछाया
वर्जित ज्ञान
जेन विचारधारा प्रकट गर्ने यस हाइकुमा जीवनको शाश्वत सत्य मृत्युको कुरा उद्धृत छ । जसलाई हामी जानीजानी पनि अन्जान हुन बाध्य छौं एक रहस्यका रूपमा ।

मनोलोकमा
जीवन महोत्सव
पानीको घाम
जीवन दर्शन बोकेको यस हाइकुले पानीको घाम झैँ जीवनमा कहिले दुःख त कहिले सुख निहित छ भन्ने विषय सूक्ष्मसाथ चित्रण गरेको छ ।

मृत्युशय्यामा
यौवनको सापटी
गोधूलि साँझ
बाँच्ने अभिलाषा कस्मा हुदैन भन्ने भाव बोकेको यो हाइकु पनि जीवन दर्शनको एउटा राम्रो नमुना हो ।
जीवन खोज्दै
पाखा पखेरा डुल्छ
मलिन घाम !
समय चक्र दर्शाउने यस हाइकुमा प्रकृत्ति र जीवनबीचको तालमेल निकै राम्रोसँग चित्रण गरिएको छ ।
मन्दिर पुग्छ
फूलको संगतले
खबटे कीरा
प्रकृति बिम्बमा लेखिएको यो हाइकु उत्कृष्ट छ । जब प्रकृतिले उँचनिचको भेदभाव गर्दैन भने हामी किन भेदभाव गर्छौं भन्ने प्रश्न यो हाइकुले संकेत गरेको देखिन्छ ।
बने मायावी
प्रणय संवादमा
गाजलु आँखा !
शृङ्गार चेतनामा आधारित यो हाइकु स्वादिष्ट छ ।
आर्यघाटमा
उदास छ जिन्दगी
इष्र्याको आगो
जीवन दर्शन बोकेको यस हाइकुमा मानिसको अन्तसमयको मनोविज्ञान राम्रोसँग देखाइएको छ ।
वैभव खोज्छ
अभिशप्त समाज
निभेछ चुल्हो
सामाजिक विभेद दर्शाउने यो हाइकु आफैं बोल्छ ।
अग्ला टाकुरा
पहाडी जीवनमा
थकित घाम
ग्रामीण जीवनको कष्टकर जिन्दगी दर्शाउने यो हाइकु आफैंमा उत्कृष्ट छ ।
गुलियो उखु
किसानको आँखामा
नुनिलो आँसु
उखुको मिठाससँग आँसुको नुनिलोपनलाई बहुतै खुबीका साथ मिश्रण गर्नमा हाइजिन शरद्शोभा सफल देखिएका छन् । किसानको पीडा बोकेको यो हाइकु समय सान्दर्भिक छ ।
लुटको धन
संक्रमित समय
फुपूको श्राद्ध
कोरोनाकालमा चरम भ्रष्टाचारको बिम्ब झल्काउन यो हाइकु सफल छ ।
माटोको गन्ध
सम्झनाको मिठास
आत्मसंवाद
माटो र मानिस अनि मनभित्रका तिर्सना, स्मृति विस्मृतिजस्ता भाव बोकेको यो हाइकुले मानिसको एकांकीपनमा गरिएका आत्ममन्थनको संकेत दिन्छ । विशेषणको अत्यधिक प्रयोग, संज्ञासँग गलत विशेषणको प्रयोग, बिम्ब र भावबीच तालमेल नमिलेको, चित्रणभन्दा कथनमा बढी जोड, उपमा र अलंकारको प्रयोगमा असावधानीजस्ता दुर्बल पक्ष हुँदा–हुँदै पनि भाषिक सौन्दर्य, सटिक शब्द चयन, सरल–सरस र मौलिक नेपालीपनजस्ता सबल पक्षले हाइकु कविका रूपमा शरद्शोभाको परिचय थपेको छ ।


Your Views
Related News