संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो विस्थापितलाई बासको चिन्ता बढेको छ । कहिले नयाँ घर पाइने होला भन्ने आशामा त्रिपालमा बालबालिका र वृद्धवृद्धा सहित विस्थापित परिवार रात बिताउन बाध्य भएका छन् ।पहिरोले घरबास बगाएको तीन महिनासम्म पनि सरकारले पहिरो विस्थापितहरुको लागि स्थायी पुनर्बासको व्यवस्थापन गर्न सकेको छैन् । पहिरोबाट विस्थापित भएका व्यक्तिहरु कहिले आफ्नै घरमा बस्न पाइने हो भन्ने चिन्ता रहेको उनीहरुले बताउने गरेका छन् । प्लाष्टिकको त्रिपालमा बस्दा कहिले घामले पोलेर गर्मी हुने त कहिले पानीले भिजाउने र भुईबाट चिसो आउने गरेको त्रिपालमा बसिरहेका पहिरो विस्थापित स्थानीय हिरालाल राईले गुनासो पोख्नुभयो । ‘खानका लागि चामल, दाल र तेल पाएका छौं तर बस्ने बास आफ्नै घर जस्तो छैन । कति दिन यो टेन्टमा बस्नु पर्ने हो थाहा छैन’, हिरालालले भन्नुभयो, ‘यहाँ बुधबारेका अस्थायी बासस्थानमा मात्रै २९ घरका करिब १ सय २० जना भन्दा धेरै मानिसहरु बसोबास गरिरहेका छौ । धेरै जना भएकाले बिहान शौचालय जान झन् समस्या छ । पुरुषहरु नजिकै खोलाखोल्सीतिर जाने गरेका छौँ तर महिलाहरुलाई पालो कुर्नु नै समस्या हुन्छ ।’

हिरालाल जस्तै प्रमिला राईलाईले पनि धेरै जना एकैठाउँमा बस्नु पर्दा खानपान र शौचालय लगायतका धेरै समस्या भोग्नु परिरहेको बताउनुभयो । ‘भात पकाउने ठाउँ ३ वटा मात्रै चुल्हो छ’, उहाँले भन्नुभयो, ‘३/४ घर मिलेर एकै ठाउँ भात पकाएर खान्छौँ, पानी परेको बेला र बेलुकी निकै समस्या हुन्छ ।’बुधबारेको अस्थायी बासमा बसिरहेका अर्का धिरज राईले स्थानीय सरकारले चाँडै आफूहरुलाई सुरक्षित स्थानमा स्थायी पुनर्बास गरिदिओस् भन्ने अपेक्षा रहेको बताउनुभयो । सिलिचोङ गाउँपालिकामा बस्ने हो भने फेरि पनि पहिरो जान सक्ने र धेरै धनजनको क्षति बेहोर्नु पर्ने भएकाले रोजगार, स्वास्थ्य र शिक्षाको प्रबन्ध भएको सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा पहिरो विस्थापितहरुलाई स्थायी पनर्बास गरिदिए राम्रो हुने धिरज राईले बताउनुभयो ।‘यो ठाउँको कुनै पनि भूगोल बलियो छैन् । जुनसुकै समयमा पहिरो जान सक्छ’, धिरजले भन्नुभयो, ‘त्यसैले हामी जानी–जानी पहिरोमा फेरि हाम्रो आफन्तहरु गुमाउनु भन्दा पहिले नै सुरक्षित स्थानमा सारिदिए राम्रो हुन्छ ।’लामो समय भएकाले अस्थायी बासस्थानका टेण्ट समेत च्यातिन थालेको र पानी समेत चुहिन थालेको छ । टेण्ट च्यातिन थालेपछि माथिबाट पुनः त्रिपाल ओढाउइएका छन् । पहिरो विस्थापितहरुले जति सक्दो चाँडो स्थायी पुनर्बासको व्यवस्थापन गरिदिन सरकारसंग आग्रह गरेका छन् ।पहिरो विस्थापितहरुको रेखदेख र स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्य सहायता कक्ष समेत स्थापना गरिएको छ । कोरोना संक्रमण उच्च दरमा रहेकाले विस्थापितहरुको अस्थायी बासस्थान जोसुकैलाई सजिलैसँग भेटघाट गर्न मनाही गरेको छ । मानिसहरुको भीडभाड र जमघट भइरहने भएकाले उनीहरुको स्वास्थ्य अवस्था नबिग्रिओस् भन्ने उद्धेश्यले स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अस्थायी टेण्टका स्वास्थ्य इन्चार्ज हरिधन राईले बताउनुभयो ।उहाँले एकै ठाउँमा धेरै जना मानिसहरुको बसोबास भएकाले सामान्य अवस्थामा पनि हेरचाह गरिरहेको र अहिलेसम्म कुनै पनि रोगको समस्या नआएको इन्चार्ज राईले बताउनुभयो । उहाँले सामान्य रुघाखोकी १/२ जनाले भए पनि तत्कालै निको भएको बताउनुभयो । केहिदिन अगाडिसम्म सोही अस्थायी टेण्टमा ३ जना गर्भवती समेत थिए । गर्भवती, बृद्धबृद्धा र बालबालिकाहरुको बसोबास भए पनि हालसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य इन्चार्ज राईको भनाइ छ । 

पुनर्बासको प्रयास

पहिरो विस्थापितहरुलाई कसरी चाँडै स्थायी पुर्नबासमा सार्ने भनेर गम्भीर भएर लागि परेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङसिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ

उहाँले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा पहिरो विस्थापित १ सय ६ घरपरिवारलाई तीन ठाउँमा अस्थायी बासस्थान तयार गरेर राखिएको बताउनुभयो । यस्तै सरकारी बजेटबाट जग्गा खरिद गर्न नपाउने भएकाले समस्या भएकाले दाताहरुबाट संकलन रकमले जग्गा खरिद गर्ने योजना रहेको उहाँको भनाइ छ । ‘विस्थापित परिवारहरुलाई सरकार र विभिन्न दातृसंघसंस्था र दाताहरुले प्रदान गर्नुभएको सहयोगबाट खानपानको व्यवस्था गरेका छौ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाको कार्यविधि अनुसार, मेरै संयोजकत्वमा ५ सदस्यीय राहत संकलन तथा वितरण समिती पनि बनेको छ ।’यस्तै कार्यपालिका सदस्य नरभूपालको संयोजकत्वमा ५ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन भएको छ । गाउँपालिकाभित्र नै विस्थापित परिवारहरुलाई व्यवस्थापन गर्ने गरी ३/४ ठाउँमा जग्गा हेरेको पनि गाउँपालिका अध्यक्ष कुलुङ्ले बताउनुभयो ।गएको असार २७ गते राति पहिरो जाँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता पारेको थियो । त्यसपछि उद्धार गर्ने क्रममा स्थानीय २५ वर्षीय मदन राईको हृदयघातको कारण ज्यान गएको थियो । पहिरोले जमिन सबै चिरा–चिरा भएर बस्न खतरा भएपछि बेसिन्दा गाउँका ८६ घरपरिवार र चप्चेवाका २० घरपरिवार गरी १ सय ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।विस्थापितहरुलाई गाउँपालिकाले तत्कालका लागि सिलिचोङ गाउँपालिका–१ को चित्रेमा ५७ घर, पौखमटारमा २० घर र बुधबारेमा २९ घरपरिवारलाई अस्थायी बास टेण्टमा राखेको छ । यसअघि पनि २०६७ सालमा सिलिचोङ गाउँपालिकाको नै सिकदिममा पहिरो जाँदा १३ जना बेपत्ता बनेका थिए । उक्त ठाउँ भौगोलिक हिसाबले भिरालो भएकाले बर्सेनि सानो ठूलो पहिरो जाने र क्षति भइरहने गर्दछ ।


Your Views
Related News