नवरात्रिमा नौ दिनसम्म क्रमैसँग पूजा–आराधना गरिने देवीहरू हुन्– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, कालिका, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा ।

आफूहरूले समाधान गर्न नसकेका समस्या सल्टाउन, आफूहरूले पराजित गर्न नसकेका दैत्यहरूलाई नष्ट गर्न, आफूहरूमा विशेष शक्ति आर्जन गर्न देवताहरूद्वारा आह्वान गरिएका दुर्गा देवीहरूलाई नवरात्रिभर पूजा–आराधना गरिन्छ ।शिवपुराणअनुसार, शिवद्वारा पुत्र गणेशको शिरोच्छेदन गरिँदा देवी पार्वती अत्यन्त क्रुद्ध भइन्, आफ्नै शरीरबाट नवदुर्गाहरूको उत्पत्ति गरी चारै दिशाबाट देवताहरूलाई त्राहिमाम् पारिन् अनि देवताहरूले नवरात्रका अवसरमा क्रमैले पूजा–आराधना गरेपछि दुर्गाहरू शान्त भए ।देवी भागवतमा उल्लेख भएअनुसार, इन्द्र, शिव, विष्णु एवं रामले क्रमशः वृत्तासुर, त्रिपुरासुर, मधु–कैटभ तथा रावणलाई नष्ट गर्न नवरात्रिभर देवीको व्रत गरेका थिए । यही ग्रन्थमा वर्षभर चारवटा नवरात्र (दसैं) रहेको उल्लेख पाइन्छ । यसबाट चार ऋतुलाई मुख्य ऋतु मानेर प्रत्येक ऋतुमा एक–एक दसैं प्रचलन रहेको हुन सक्ने बुझिन्छ । वसन्त ऋतुमा मानिने दसैं चैतमा पर्ने हुँदा चैतेदसैं भनियो । ग्रीष्म ऋतुको दसैं असारमा मानिन्थ्यो । शरद् ऋतुमा मानिने शारदीय दसैं असोजमा धुमधामसँग अद्यापि मनाइँदै आएको छ । शिशिर ऋतुको दसैं पुसमा मानिन्थ्यो । ग्रीष्म र शिशिर ऋतुमा मनाइने दसैं लोप भैसके भने चैतेदसैं सामान्य रूपले समाजमा प्रचलित छ । सम्भवतः इन्द्र, शिव, विष्णु एवं रामले लिएका नवरात्र व्रत यिनै चार भिन्न–भिन्न ऋतुमा सम्पादित भएका थिए । यी चारै ऋतुमा मनाइने दसैंकी मुख्य नायिका महामाया भगवती दुर्गा हुन् र तिनैका विविध स्वरूपले दुष्टताको प्रतीकका रूपमा रहेका दानवहरूलाई नष्ट गर्छन् । उदाहरणस्वरूप, भगवान् शिवको अनुरोधमा भगवतीले रुरुका पुत्र दुर्ग नामक महादैत्यलाई भयंकर युद्धपश्चात् नष्ट गरिदिन्छिन् र उनको यो स्वरूपलाई दुर्गा मानिन्छ ।

ब्रह्माको प्रार्थनाबाट मधु र कैटभ नामक बलवान् महादानवहरूलाई नष्ट गरेपछिको देवीको स्वरूपलाई महाकाली भनिन्छ । तेत्तीसै कोटि देवताहरूले प्रार्थना गरेपश्चात् उनीहरूको क्रोधरूपी तेजबाट उत्पन्न भएकी देवीले महिषासुर नामक महादैत्यलाई नष्ट गरेपश्चात् उनको यो स्वरूप महालक्ष्मी (महिषासुरमर्दिनी) नामले प्रसिद्ध रह्यो । देवताहरूकै प्रार्थनामा सबै देवगण र तीनै लोकको कल्याणका लागि गौरी देवीको शरीरबाट उत्पत्ति भई शुम्भ, निशुम्भ र धूम्रलोचनजस्ता महादैत्यहरूलाई नष्ट गरेकी दुर्गा (देवी) को स्वरूपलाई महासरस्वती, चण्ड र मुण्ड नामक दैत्यहरूलाई नष्ट गर्ने स्वरूपलाई चामुण्डा भनिन्छ । चराचर जगत्को सृष्टिलाई निरन्तरता दिन महाकालीले संहार, महालक्ष्मीले जगत्को पालन र महासरस्वतीले जगत्को उत्पत्ति तथा ज्ञानको सञ्चार गर्ने कार्य पनि सँगसँगै गरिरहेका हुन्छन् ।दसैंको अवसरमा कालरात्रिस्वरूपा तल उल्लिखित देवीहरूको पूजन गर्नुका साथै आह्वान गरी दाहिना रहून् भन्ने आशयले यिनैको नाममा आशीर्वचनसमेत दिइन्छ । जस्तो–

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी ।

दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नमोऽस्तु ते ।।

जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवि कालरात्री नमोऽस्तु ते ।।

अर्थात्, जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा रूप देवीहरूलाई नमस्कार छ । चामुण्डा देवीको जय होस् । सम्पूर्ण प्राणीहरूको पीडा हरण गर्ने देवी तिम्रो जय होस् । सबैमा व्याप्त रहने देवी कालरात्रिलाई नमस्कार छ । जयन्तीको अर्थ हो– सबैभन्दा उत्कृष्ट र विजयशालिनी । मंगलाको मतलब जन्म–मरणको बन्धन काटेर मोक्ष दिने । काली भनेको प्रलयकालमा सृष्टिलाई निल्ने । भद्रकाली अर्थात् आफ्ना भक्तलाई दिन भद्र, सुख वा मंगल स्वीकार गर्ने । कपालिनीको अर्थ हुन्छ– हातमा माला र गलामा मुण्डमाला धारण गर्ने । दुर्गा भनेको अष्टांगयोग र कर्मोपासनारूप कठोर साधनाले मात्र प्राप्त हुने । क्षमाको मतलब सम्पूर्ण जगत्की जननी हुनाले आफ्ना भक्त वा अन्यको पनि अपराध क्षमा गरिदिने । शिवा अर्थात् सबैको कल्याण गर्ने जगदम्बा । धात्री भनेको सबै प्रपञ्चलाई धारण गर्ने । स्वाहाको मतलब यज्ञभाग ग्रहण गरेर देवताहरूको पोषण गर्ने । स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकार गरेर पितृहरूलाई तृप्त गर्ने देवीलाई बुझ्नुपर्छ ।

दसैंमा पुजिने यस्ता देवीहरूको नाम र समूहमा भने विविधता पाइन्छ । दुर्गाहरू हजारौं छन् । तर पनि विशेष गरी एक, तीन, सात, आठ, नौ, एघार, सोह्र, बत्तीस आदिको स्वरूपमा तिनको पूजा गरिन्छ । यी दुर्गाहरूका जन्मार्थक र कर्मार्थक गरी दुई प्रकारका नाम हुन्छन् । अर्थात्, जन्मबाट प्रसिद्ध नामहरू र कर्मबाट प्रसिद्ध नामहरू । दुवै प्रकारका नामहरू दुर्गाहरूभित्रै पर्छन् । दुर्गाका समूहहरूमध्ये नवदुर्गा समूहको प्रसिद्धि ज्यादा छ र यिनीहरू पनि ठाउँ र समयअनुरूप फरक–फरक पाइन्छन् । भारतीय क्षेत्रमा पाइने नवदुर्गा र नेपाली क्षेत्रमा पाइने नवदुर्गाका नामहरूमा निकै विविधता छ । भारतमा नवदुर्गाका रूपमा पूजाआजा हुने दुर्गाहरूमा सप्तमातृकाहरू (ब्रह्मायणी, माहेश्वरी, कुमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा) मै काली र महिषासुरमर्दिनीलाई थपेर लिइन्छ । भारतमै पनि बंगाल र असम क्षेत्रमा नवदुर्गाका सूचीमा सप्तमातृकाहरूका साथमा चण्डी र कामाख्यालाई राखिन्छ । दक्षिण भारतमा नवदुर्गाको एक रूपमा भद्रकालीलाई पनि लिइन्छ भने राजस्थान, उडिसा, मध्यप्रदेशतिर नवदुर्गाका रूपमा सप्तमातृका, काली र दुर्गालाई लिइन्छ । नेपालभित्र पनि नवदुर्गाका नामहरूका समूहहरू फरक–फरक देखिन्छन् । भक्तपुरमा नवदुर्गा गणमा (नृत्यको अवसरमा) ब्रह्मायणी, माहेश्वरी, कुमारी, वैष्णवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरीलाई लिइन्छ अनि नवदुर्गा पूजासाथै नृत्य सम्पन्न गरिन्छ ।

दुर्गासप्तशतीमा नवदुर्गाका नाम यस प्रकार लिइएको छ— १) प्रेतमा चढ्ने चामुण्डा, २) राँगोमा चढ्ने वाराही, ३) ऐरावत हात्तीमा सवार गर्ने इन्द्राणी, ४) गरुड वाहन हुने वैष्णवी, ५) साँढेमा चढ्ने माहेश्वरी, ६) मयूर वाहन हुने कौमारी, ७) हातमा कमलको फूल लिएर कमलमा बस्ने विष्णुप्रिया लक्ष्मी, ८) श्वेतवर्ण र साँढे वाहन भएकी ईश्वरी, ९) अनेक आभूषण धारण गरेर हंसमा बस्ने ब्राह्मी ।यी नवदुर्गा देवीहरू समस्त योगले सम्पन्न छन् भनिएको छ । यसै ग्रन्थमा नवदुर्गाहरूको अर्को समूहमा तल उल्लिखित देवीहरूलाई पनि लिइएको छ र नेपालमा दसैंका अवसरमा नवरात्रिभर क्रमशः यिनै देवीहरूको पूजा गरिन्छ–

१) शैलपुत्री, २) ब्रह्मचारिणी, ३) चन्द्रघण्टा, ४) कुष्माण्डा, ५) स्कन्दमाता, ६) कात्यायनी, ७) कालरात्रि, ८) महागौरी, र ९) सिद्धमाता वा सिद्धिदात्री ।

अर्कातिर, अष्ठमातृका गणकी अधिष्ठात्री देवी त्रिपुरसुन्दरीलाई अष्टमातृका गणमा समावेश गरेर पनि नवदुर्गाका रूपमा लिइन्छ । नवदुर्गाअन्तर्गत कहिले महिषासुरमर्दिनी, वत्सलादेवी, जयवागेश्वरी र गुह्येश्वरीलाई समेत राखेर पूजा–उपासना गरिन्छ । अपराजितपृच्छा नामक ग्रन्थमा महालक्ष्मी, नन्दा, क्षेमंककरी, शिवदूती, महाचण्डा, भ्रमरी, सर्वमंगला, रेवती, हरसिद्धिलाई नवदुर्गाका नामका रूपमा प्रस्तुत गरिएको छ । आगमग्रन्थ अनुसार, नवदुर्गाका नाम हुन्– नीलकण्ठी, क्षेमंकरी, हरसिद्धि, रुद्रांशदुर्गा, वनदुर्गा, अग्निदुर्गा, जपदुर्गा, विन्ध्यवासिनी दुर्गा, रिपुमारी दुर्गा ।

ब्रह्मवैवर्त्तपुराणको प्रकृतिखण्डमा भगवान् विष्णुले नारद ऋषिलाई प्रकृतिकवचका रूपमा नवदिग्दुर्गाहरूले आ–आफ्ना दिशामा रहेर वरिपरिबाट सम्पूर्ण दिशाको रक्षा गरिरहेका हुन्छन् भन्दै ती अधिष्ठात्री देवीहरूका नाम यस प्रकार बताएका छन्— १) प्रकृति : पूर्व, २) चण्डिका : आग्नेयकोण, ३) भद्रकाली : दक्षिण, ४) महेश्वरी : नैर्ऋत्यकोण, ५) वाराही : पश्चिम, ६) सर्वमंगला : वायव्यकोण, ७) वैष्णवी : उत्तर, ८) शिवप्रिया : ईशानकोण र ९) जगदम्बिका : जल, थल र आकाश ।

तन्त्रप्रधान नवदुर्गागणको मूल चरित्र र गुप्त रूप महिषासुरमर्दिनी दुर्गा भवानी हो । यी गणको जन्म, जीवन र मरणको मूल स्रोत तलेजु भवानी हो र गुप्त रूपमा उपासित रहिआएकी तलेजु भवानीको मूल रूप महिषासुरमर्दिनी दुर्गा भवानी हो । दसैंका अवसरमा नेपालमा महिषासुरमर्दिनीस्वरूपा दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ । उपत्यकाका केही प्रमुख शक्तिपीठ महिषासुरमर्दिनीस्वरूपकै छन्, जुन हुन् पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती, नाला भगवती आदि । काठमाडौंमा नवरात्रिभर सरकार प्रमुखद्वारा नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिका (कालिकास्थान), शोभा भगवती, रक्तकाली, तलेजु भवानी, भद्रकाली र दक्षिणकाली देवीहरूको दर्शन गर्ने परम्परा छ । नवरात्रिमा गरिने देवीपूजामा दुई वर्षदेखि बाह्र वर्षसम्मका नौ कन्यालाई पनि नौ दिनसम्म पूजा गर्ने परम्परा छ । पहिलो दिनदेखि तिनको क्रम यस प्रकार छ– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, कालिका, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा ।माथि उल्लिखित विभिन्न स्वरूपमा रहेका देवीहरूलगायत अन्य स्थानीय, क्षेत्रीय, राष्ट्रिय स्तरमा देशैभरका विभिन्न शक्तिपीठमा दसैंको अवसरभरि विशेष पूजा–आराधना गरिन्छ । यसबाट जगत्को सृष्टि, पालन र संहारकर्ता देवीहरू नै हुन् र उनीहरूको कृपा र अनुकम्पाबिना देवताहरू पनि निरीह हुन्छन् भन्ने बुझिन्छ ।


Your Views
Related News