काठमाडाैँ –  झिसमिस साझँ पर्दै थियो । गाडीहरु जाममा परेका थिए ।  पैदल यात्रीको हतारो पनि त्यस्तै थियो। सबै आ–आफ्नो बास फर्किँदै थिए।साँझको साढे ६ बज्दै थियो, मंगलबजारबाट ग्वार्काे चोक पुग्नुभन्दा करिब ५०० मिटर अगाडि दुई पसल छन्। ठ्याक्कै एक अर्काको आमुन्ने सामुन्ने। पसलको सटर, छिर्ने ढोका अनि सटर बाहिरका केही भागमा भिन्न भिन्न आकृतिका चङ्गाहरु हल्लिरहेका थिए। अलि परबाट हेर्दा त चंगा चोकझैँ लाग्ने ठाउँ छ त्यो।कालोपत्रे बाटो पैदल यात्री अनि सवारी साधनको चापले साँघुरो लाग्छ। त्यही साँघुरो बाटोलाई छोउँला छोउँला जसरी लाइनै झुण्डिएका छन् टन्नै लट्टाई । तीनै लट्टाईको लाइनलाई पन्छाउँदै दुई युवा पसलमा पसे।एउटाको मुख हेलमेटले छोपिएको थियो भने, अर्काको चस्मा र मास्कले । पसलको छेवैमा राखिएको चङ्गाको चाङबाट एउटा चङ्गा लिएर ओल्टाइपल्टाइ हेरे। चित्त भरिएन, पसले दाईलाई अरु चङ्गा देखाउन आग्रह गरे। उनीहरुलाई सकेसम्म राम्रो चंगा लैजानु थियो। किनकी यो वर्ष उनीहरुका लागि विशेष थियो।यी दुई दाजुभाइ रहेछन्। दाजू राजिव शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अनि भाइ प्रसिम एमबिबिएस प्रथम वर्षका विद्यार्थी। राजिव पाटन अस्पतालको इमजेन्सी वार्डमा भर्खरै डिउटी सक्काएर आएका थिए, भोलिपल्ट बिदा थियो र दाजुभाइ चंगा उडाएर छुट्टी मनाउने सोचिरहेका थिए ।‘घर बालकुमारी हो, फर्किँदा चङ्गा पसल देखियो र किन्न आट्यौँ,’ डा. शर्माले भने।कार्यालयबाट काम सक्काएर घर फर्किँदा सायद उनले चङ्गा नकिनी पसल कटेर अगाडि जान सकेनन्। चङ्गासँग शर्मा दाजूभाइको बालापनको स्मृति जोडिएको छ अनि दुईको आत्मियता पनि । ‘यो वर्ष हामी धेरैपछि बिना पढाईको लोड दसैँ मनाउन पाउँदैछौँ,’ प्रसिमले भने, ‘सानो हुँदा सँगै चङ्गा उठाएका थियौँ, यो वर्ष बल्ल समय मिलेको छ। घरको छतबाट चङ्गा उडाउने योजना छ।’हिन्दु नेपालीहरुको महान चाड दसैँ धार्मिक हिसाबले त विशेष छ नै, तर सांस्कृतिक रुपमा पनि दसैँले विभिन्न कारणले टाढिएको तन अनि मन जोड्छ। कोभिड १९ को माहामारीले पनि दाजूभाइलाई पहिलाको समयमा फर्कने अवसर दियो। त्यसैले उनीहरु यो समयलाई अविस्मरणीय बनाउन चाहन्छन्। दुई भाइ चङ्गा कसको पर पुग्छ भनेर प्रतिस्पर्धा पनि गर्दैछन्।

डा.शर्मा बिरामी हेर्न भ्याई नभ्याई भएको थकानलाई चङ्गा जस्तै उडाउँन चाहन्छन्। उनी निकै उत्साहित देखिन्थे।‘डाक्टर भएपछि अफकोर्स काम बढी नै हुन्छ। पहिले दसैँको मुख्य दिनमा मात्रै फ्रि भइन्थ्यो अहिले कोरोनाका कारण अलि अगाडि फ्रि भइयो सो अहिले फ्रि टाइम भएकाले दुवै भाइ मिलेर चङ्गा उडाउने प्लान छ’ उनले भने।त्यही पसलमा चाङगाथलीका मंगलदास महर्जन पनि भेटिए, हेल्मेटबाट अलिकति देखिएको मुख पनि मास्कले छोपेको थियो। उनको अगाडि चङ्गाका खात लाग्दै थियो, उनी भन्दै थिए, ‘२०० ओटा जति लान्छु।’ चाङ्गाथलिमा उनको पसल रहेछ। चङ्गाको चाङलगाएर पसले साउजीसँग हिसाबकिताबमा जुटे। ‘हरेक वर्ष दसैँमा चङ्गा लैजान्छु, विषेशगरी बच्चाहरुका लागि’, उनले सुनाए।पसल सुरु गरेको करिब ७ वर्ष पुगेछ। यो वर्ष धमाधम चङ्गा बिक्री नभएको बताउने उनी आशावादी भने छन्।आकाशमा चङगा धेरै उडेको देखिए पनि बिक्री कम भएको छ’, उनले भने, ‘चङ्गा बिक्री हुने समयमा कोरोनाले गर्दा लकडाउन भयो। साउन महिना त खुल्यो। अहिलेसम्म २ सय चङ्गा बेचिसकेको छु। फेरि आज २ सय चङ्गा लाँदैछु।’विषेशगरी उनले बालबालिकाका लागि चङ्गा लैजाने गर्छन्। ‘अहिलेको अवस्थामा भिडभाड गरेर उडाउँन मिल्दैन। सबैले आ–आफ्नो कौशीबाट उडाइरहेका छन्’ उनले भने, सामान्य अवस्था भएको भए राम्रो व्यापार हुन्थ्यो। तर पनि कोरोनासँग लड्दै काम गइरहेका छौँ।’उनको हिसाब किताब मिल्यो, फोटोको लागि अनुहारबाट झिकेको मास्क उनले फेरि लगाए अनि आफ्नो मोटरसाइकलमा चङ्गा राखेर चाङ्गाथली हुईकिए।ग्राहकसँग डिल गरिरहेका बुद्ध श्रेष्ठ उनीहरुको कुरा सुनेर गजक्क फुलिरहेका थिए। मुद्रा प्रशन्न थियो। उनीहरु व्यापार पनि गर्दै थिए, अनि ग्राहकका अन्य कुरा सुन्दै पनि। बुद्धका दाजू .गोपाल श्रेठ अडाडि लट्टाईमा धागो भर्दै पनि थिए। पसलको एक भित्तामा उनको तस्बिर टाँगिएको थियो, हामीलाई देखाउँदै उनले भने,हरेक दिन नयाँ अनुहारसँग काम गर्ने उनी एकदमै गदगद थिए, खुशी हुनुको दुई कारण उनले बुझाए,

१ चङ्गाको व्यापार राम्रो

२ संस्कृतिले निरन्तरता पायो।

यो पसल अरु समयमा गिफ्ट पसल हो। तर जब दसैँको माहोल सुरु हुन थाल्छ तब पसलको स्वरुप फेरिन्छ। यो वर्ष कोरोना महामारी भएपछि थोरै मुस्किल भयो तर चङ्गा आयो।सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो। अत्यावश्यक बाहेकका सबै काम बन्द भए र घर–घरमा थुनिए। व्यापार व्यवसाय पनि ठप्प भए। साउन ६ गतेदेखि लकडाउन खोलेसँगै व्यापार व्यवसाय बिस्तारै सूचारु भए र सर्वसाधारण पनि आ–आफ्नो काममा निस्किए भने कतिपयले ‘वर्क फ्रम होम’ गर्न सुरु गरे।बुद्धको अनुभवमा विगतका वर्षहरुभन्दा मानिसहरु अलि फुर्सदिला पनि भए। दसैँ पनि नजिकियो, समय कटाउने र रमाउने राम्रो माध्यम चङ्गा बन्यो। त्यसैले यसवर्षको दसैँमा बालकदेखि वृद्धसम्म चङगामा रमाइरहेको उनी बताउँछन्।चङ्गा बेच्ने समय थोरै भए पनि यसबीचमा चङ्गा राम्रै बिक्री भएको उनले सुनाए। ‘बिक्री भएको संख्या धेरै भए पनि नाफा धेरे राम्रो छैन। ल्याउने झंन्झट छ। बरु चङ्गाभन्दा धागोमा फाइदा हुन्छ’ उनले भने।नेपालमा चङ्गा उत्पादन गर्दा आम्दानी राम्रो हुनुका साथै स्वदेशी पैसा विदेशिने थिएन। बिडम्बना, नेपालमा उत्पादन भएको चङ्गा महंगो हुने उनी बताउँछन्।‘नेपाली कागज महंगो हुन्छ। कच्चा प्रदार्थ पनि बाहिरबाट मगाउनुपर्छ’ उनले भने, ‘नेपालको तुलनामा भारतको सस्तो हुन्छ। मानिसहरु सस्तो छोडेर किन महंगो किन्छन्।’ उनको पसलमा भारतबाट आयात भएको चङगा १० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा किन्न पाइन्छ।तर श्रेष्ठले यो व्यवसायलाई नाफामुखीभन्दा पनि आफ्नो संस्कृति बचाउन थालिएको कदम भन्छन्। उनी र उनको परिवारले विगत ३० वर्षदेखि पसलमा चङ्गा बेच्न थालेको हो। उनले अन्य व्यवसायीहरुलाई पनि आफ्नो संस्कृति बचाउन आग्रह गरे।उनको यस व्यवसायमा उनका परिवारले पनि भरपुर साथ दिइरहेका छन्। सिजनका समयमा परिवारका ८/१० जना यही काममा खटिन्छन्। ‘सिजनका बेला हाम्रो परिवारले पनि काम गर्छन्। कसैले धागो बेर्ने, च्यातिएको चङ्गा जोड्ने, कसैले खाजा बनाउने काम हुन्छ’ उनले भने, ‘अफ सिजनका बेला अन्य व्यवसाय गछौँ।’


Your Views
Related News