काठमाडौं। भर्खरै कोरोनामुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति यति आक्रामक छन् कि उनी कोरोनाको नाम आयो कि चीनमाथि खनिइहाल्छन्। संसारभर महामारी फैलनुमा उनी चीनलाई दोषी ठान्छन्। उनले विश्वमञ्चमै कोरोनालाई ‘चिनियाँ भाइरस’ समेत भनिसकेका छन्। पछिल्लो निर्वाचन र्‍यालीलाई सम्बोधन गर्दै ‘चीनले जे गर्‍यो त्यो अमेरिकाले कहिल्यै नभुल्ने’ चेतावनी नै दिएका छन्।उनको दाबी छ, कोरोनाभाइरस चीनको वुहान ल्याबबाट संसारभर फैलिएको हो। अहिले जुन ढंगको त्रास संसारमा फैलिएको छ, त्यो सबै चीनका कारण भएको उनको जिकिर छ। र्‍यालीमा उनले भने, ‘‘चीनमा के भइरहेको छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। तर अमेरिकाले कोरोनाका कारण धेरैथोक गुमाएको छ। यो कसैले पनि सोचेको थिएन।’’महामारीले निकै असर गरिरहँदा पनि आफूले देशमा थुप्रै काम गरेको उनको दाबी थियो। अमेरिका कोरोनाबाट मुक्त हुँदै गएको पनि उनले बताए। तर, दुई लाख २० हजार मानिसको जीवन गुमेकोमा उनले दुःख पोखे।कोरोनाअघि अमेरिकाको अर्थव्यवस्था निकै मजबुत रहेको र अहिले कमजोर बनेको उनले बताए। उनले कोरोना संक्रमणलाई ‘कृत्रिम भयानक स्थिति’को संज्ञा दिए।अमेरिका प्रगतिपथमा तीव्र गतिमा अघि बढिरहेको समयमा अचानक कृत्रिम तथा भयानक अवस्था चीनका कारण आएको उनले आरोप लगाए। त्यही कारण सबथोक बिग्रिएको उनको भनाइ थियो। उत्तर क्यारोलाइनामाआयोजित चुनावी र्‍यालीमाउनले भने, ‘‘हामीले बेरोजगारीमाथि विजय पाइरहेका थियौं, चीनलाई यस सन्दर्भमा जितिरहेका थियौं, जुन काम पहिला कहिल्यै हुन सकेको थिएन। मैले चीनमाथि विभिन्न सामानमा भन्सार दर वृद्धि गरेको थिएँ। अरू थुप्रै काम गरिरहेको थिएँ।’’आफ्ना सारा योजना चीनका कारण पछि परेको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले धेरै समय चीनमाथि आक्रोश पोखेर बिताएका थिए।

READ MORE NEWS

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव

न्युज अफ नेपाल, काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको तेश्रो वर्ष पुरा भएकोमा नियमनकारी निकायहरु, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, अभिकर्ता, कर्मचारी तथा सञ्चारकर्मी एवम् सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको कम्पनीले जनाएको छ ।अहिलेको यस विष्म परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई तपाईंहरु सामु ल्याएको छ । सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नहुने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको छ ।हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।यसका साथै महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

‘साहित्य, सङ्गीत र कलाको साँध सीमाना हुँदैन’

आज म खुशीले भाव विह्वल बनेकी छु। मलाई नेपालको जगदम्बा-श्रीजस्तो गरिमामय पुरस्कारले सम्मानित गरिँदा मेरो दीर्घकालीन सङ्गीत यात्रा सार्थक भएको ठानेकी छु। यो मेरो जीवनको अत्यन्त स्मरणीय अनि ऐतिहासिक क्षण हो।गुठीद्वारा यो पुरस्कारको निम्ति मेरो नाम चयन भएको घोषणा हुनसाथ चारैतिरबाट सङ्गीत, साहित्य, कला आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू अनि असंख्य आत्मीयहरूबाट अपार खुशी व्यक्त गर्दै दिइएका बधाईका शब्दहरूले म अझै आनन्दविभोर बनें। अर्को कुरो, यो विशिष्ट पुरस्कार प्राप्तिसित नेपाली सुगम सङ्गीत इतिहासको पन्नामा मेरो पनि नाम दर्ता हुन गएकोमा मैले ठूलो गर्वको अनुभव गरेकी छु।सङ्गीत मेरो जीवनको अभिन्न अङ्ग बनेर रहेको छ। मलाई सानै उमेरदेखि नै गाउने लहड़ले छोएको थियो। सन् १९५५ देखि नै सङ्गीततर्फ मेरो झुकाउ रहेको हो। केही समयपछि यसले मलाई अझ बेसी प्रभाव पार्न थाल्यो अनि विभिन्न मञ्चहरूमा गायन प्रस्तुत गर्ने अवसर पाएँ। मैले सङ्गीतको महत्व बुझ्दै गएँ। तर, यस क्षेत्रमा ज्ञान र साधनाबिना अघि बढ़न नसकिने लागेर शास्त्रीय सङ्गीतको शिक्षा लिने मन बनाएँ अनि कलकत्ता रवीन्द्रभारती विश्वविद्यालयबाट कण्ठ सङ्गीतमा तीन वर्षीय डिप्लोमा लिएँ।यो अध्ययन सिद्धिएपछि लोक मनोञ्जन शाखा दार्जीलिङमा गायिकाको रूपमा केही समयको निम्ति कार्यरत रहें। मलाई खुशी लाग्छ महान गीतकार-सङ्गीतकार अम्बर गुरूङको शब्द सङ्गीतमा ‘सम्हालेर राख….’ जस्तो गीत गाउनु मेरो जीवनको महत्वपूर्ण पाटो नै भइदियो जुन मेरो निम्ति चिनारी गीत नै बनेर आजपर्यन्त रहेको छ। सन् १९६५ देखि मैले गायनसितै सङ्गीत रचना गर्नतर्फ पनि कदम बढ़ाएँ। मेरो पहिलो सङ्गीत रचना थियो शशि ठटालको शब्द रचनामा कवि भानुभक्त आचार्यमाथिको गीत।

सङ्गीत रचनाहरूमा सहभागी हुँदै जाँदा नेपाली चलचित्रहरूदेखि लिएर नाटक, नृत्य नाटिका, गीति नाटक, रेडियो रूपक, गद्य सङ्गीत आदिमा संलग्न हुँदै आएँ। दुईवटा नेपाली फिल्ममा सङ्गीत निर्देशन गर्ने अवसर पाएँ। दार्जीलिङ पहाड़ी भेकका कलाकारहरूको निम्ति ठूला ठूला अवसरहरू छैनन्। आफ्नै बलबुँतामा विभिन्न कार्यक्रमहरू र रेडियो प्रसारणका माध्यमहरूद्वारा नै उनीहरू अघाड़ि बढ्न सकेका कुरो सर्वविदित छ। मैले पनि रेडियोसित जोड़िँदै जाँदा वरिष्ठ गीतकार, गायक-गायिकाहरूसँग काम गर्ने सुयोग पाएँ।आकाशवाणीको अनुमोदित ‘कम्पोजर’-को भार ग्रहण गरेपछि सङ्गीतका विभिन्न विधामा धेरै कार्यहरू गर्ने अवसर प्राप्त भयो। यसैबीच कविवर ईश्वर वल्लभको अमर रचना ‘एउटा नीलो सूर्यास्त’ (गद्य सङ्गीत)-मा सङ्गीत रचना गर्ने पनि मौका पाएँ। चाकरीमा पनि म सङ्गीतसितै थिएँ। गान्तोकको देवराली स्थित केन्द्रीय विद्यालयमा सङ्गीत शिक्षिकाको रूपमा नियुक्ति पाएँ। दुइ वर्षजति कार्यरत रहेपछि सिक्किम सरकारको सांस्कृतिक विभागमा सहायक संस्कृति अधिकारीको पदमा नियुक्ति पाएँ अनि सोही विभागबाट सन् २००२ मा उप निर्देशक पदबाट अवकाश ग्रहण गरें।अवकाश ग्रहणपछि पनि सङ्गीत मेरो जीवनमा अभिन्न अङ्ग बनेर मसँगै निरन्तर हिँड़िरहेको छ। सङ्गीतलाई लिएर भारतका विभिन्न प्रान्त, नेपाल, भूटान, अन्दमान निकोवर द्वीपपुञ्ज आदि विविध स्थान र देशहरूको भ्रमण गर्ने सुयोग पाएकी हुँ। नेपालका विविध स्थानहरूमा आयोजित कार्यक्रमहरूमा सहभागी बनेर आफू लगायत अन्य कलाकारहरूको सहभागिताले भारत-नेपालको साङ्गीतिक सम्बन्धलाई अझ सुदृढ़ पार्ने अवसर मिलेको र एउटा सेतु निर्माण गर्न सक्षम भएको अनुभव गर्दछु।नेपालयले संचालन गर्दै आएका पलेंटी कार्यक्रममा पाँचपल्टसम्म सहभागी हुन सक्नु आफ्नो अहोभाग्य ठान्छु। यतिमात्र नभएर नेपाली सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने कलाकर्मीहरूलाई सम्मानित गर्दै आएका नेपाल राष्ट्रका अरू नामी संघ संस्थानहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। साहित्य, सङ्गीत र कलाको कुनै साँध सीमाना हुँदैन भन्ने कुरो अति अकाट्य र सत्य छ। यसै भनाइको प्रमाण बनेर म नेपालमा यो गरिमामय पुरस्कार ग्रहण गर्न उपस्थित हुन पाएकी छु।आज आएर थाहा पाउँछु सङ्गीत मेरो जीवन भइदिएको छ। जीवनका विभिन्न उतार चढ़ाउहरूबिच पनि सङ्गीतलाई मैले त्याग्न सकिनँ। सङ्गीत क्षेत्रमा लागिपर्दाको आनन्द अर्कै हुँदो रहेछ। भगवान श्रीकृष्णले गीतामा कर्म गर्नु फलको आशा नगर्नु भन्नुभएझैं मैले फलको आशा भने कहिल्यै गरिनँ। कर्म गर्नु पर्दो रहेछ फलले कहीँ कतै टाढ़ामा आफूलाई पर्खिरहेको हुँदो रहेछ।मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने यो गौरवशाली जगदम्बा-श्री पुरस्कार ग्रहण गर्न पाउँदा मैले यो अनुभव गरेकी छु। यो पुरस्कारद्वारा ममात्र सम्मानित भएकी छैन तर दार्जीलिङ तथा समग्र भारतका सबै गोर्खा-नेपाली सङ्गीत क्षेत्रका कलाकारहरू सम्मानित बनेका छौं।अन्त्यमा, ईश्वरको अनुग्रह, माता-पिताको आशीर्वाद, सङ्गीत प्रेमी र समस्त श्रोतावर्गको माया, विभिन्न कलाकार, साहित्यकार, लेखक, पत्रकारहरू, सङ्घ संस्थाहरूसितै आकाशवाणी र रेडियो नेपालको प्रेरणा, सहयोग र सद्भावनालाई कदर गर्दै सबै सबैमा म मेरो हृदयको अन्तर तहदेखि आभार व्यक्त गर्न चाहन्छु। मदन पुरस्कार गुठीमा मेरो अजस्र कृतज्ञता। हाम्रो भावी पिढ़ीलाई यो सम्मान कार्यले हौसला एवं प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।

हार्दिक धन्यवाद।

 


Your Views
Related News