कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । बरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने हुन्छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनको सुझाव छ । त्यस्तै बोइलर कुखुराको मासु धेरै नखानसमेत उनले सुझाव दिएका छन् । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको मासु उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले सुझाव दिए । दिनको एकदुई वटा कागतिको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उनको भनाई छ । त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले बताए । सादा खाना खान र शरीरभित्र कुनै पनि प्रकारको भार नपर्नेगरी खान पनि उनले सुझाव दिए । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने उनको भनाई छ । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत सरिरमा फाइदा पुग्ने र रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने डा. कोइरालाले बताए । योग, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । त्यस्तै भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनु पर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताए । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा उनले जोड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको सुझाव छ ।
READ MORE NEWS
भारतका केही राज्यमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी
भारतका पन्जाब, उत्तर प्रदेश, हिमान्चललगायत प्रदेशमा सोमबारदेखि विधालयहरु शसर्त खुल्दैछन्। उत्तर प्रदेश र पन्जाबमा कक्षा ९ देखि १२ सम्मका विधार्थीहरु विधालय आएर अध्ययन गर्नेछन्।उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइने छ। तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन। पन्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्ने छ। एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ।हिमान्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदै छ। यता सिक्किममा पनि सोमबारदेखि विद्यालयहरु खुल्दैछन्। त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदासमेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ।भारत सरकारले फिल्म हललगायत मानिसको भिडभाड हुने केही क्षेत्र खुला गरिसकेको छ। यसैगरी मुम्बई मेट्रो पनि सोमबारदेखि सञ्चालनमा आउँदै छ। ट्रेन बिहान साढे ८ देखि साँझ साढे ८ बजेसम्म चल्नेछन्। बालबालिका र ज्येष्ठ नागरिकलाई ट्रेनको यात्रा नगर्न सुझाव दिइएको छ।
ओम पुरीले ढाबामा भाडाँ माझ्थे
एजेन्सी, २ कात्तिक । बलिउडबाट हलिउडसम्म दमदार अभिनय गरेर देश तथा विदेशमा आफ्नो अभिनयले सबैको मन जितेका ओम पुरीको आज जन्मदिन हो । १९५० मा पटियालामा जन्मेका ओम पुरीको नाम ओम राजेश थियो । ३ वर्ष पहिले उनको निधन भएको थियो ।ओमपुरीले कलाकारको एक परिभाषा दिएर सिनेमालाई दुनियाँमा एक पहिचान कायम गरेका छन् । ओम पुरीको जीवन धेरै गरिबीमा गुज्रिएको थियो । उनले एक अन्र्तवार्तामा भनेका छन्, ६ वर्षको हुँदा एक ढावामा भाडाँ माझ्ने गर्थे ।अभिनेता ओम पुरीलाइ बाल्यकाल देखि नै फिल्म खेल्ने सोख थियो र उनले आफ्नो शुरुवाती पढाई पुरा गरेपछि अभिनय सिकाउने विद्यालयमा भर्ना भएका थिए । उनी नेशनल स्कुल अफ ड्रामामा भर्ना भएका थिए । ओमपुरीको संघर्ष यहि सकिएको थिएन् । उनले नेशनल स्कुलमा पढ्दा साथीहरुको तुलनामा आफ्नो अंग्रेजी कमजोर भएको महसुस गरेर निकै चिन्तित भए ।पछि विद्यालय परिर्वतन गरेर अंग्रेजी विषयमा दक्ष भए र २० भन्दा धेरै अंग्रेजी फिल्ममा काम गरे । उनले मराठी फिल्मबाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले धेरै फिल्मबाट दमदार अभिनयको कारण नेशनल अवार्डबाट समेत सम्मानित भएका छन् ।
नवरात्रीमा दुर्गा स्थापना : एक सेटको ४० हजारसम्ममा बिक्री
परासी । बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजाको तयारी गरिएको छ ।कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड गर्न रोक लगाएको छ । नेपाल–भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन । जिल्लामा मूर्तिको अभाव देखिएको छ ।नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने गरिन्छ । बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ । नेपालमा दक्ष कालिगड अभावका कारण बर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै आएको छ । यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको पाल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यले बताए । विगत १५ वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न मौर्यले दुई वर्षयता भने आफ्नै घरमा कालिगड मगाएर मूर्ति बनाउँदै आएका छन् । मूर्ति बेचेरै वार्षिक रु चार लाख बचत हुने गरेको उनी बताउछन् । चार स्थानीय कालिगड राखेर गत जेठदेखि नै मूर्ति बनाउन शुरु गरेको मौर्यको भनाइ छ । उनले भने, “एक सेट मूर्ति रु २० हजारदेखि रु ४० हजारसम्ममा बिक्री हुन्छ ।,” बनाएका मूर्ति सबै बिक्री भएकाले अन्य धेरै ठाउँबाट आएका ग्राहकलाई फर्काउनु परेको उनले बताए । यस्तै पाल्हीनन्दन–१ का अनिल कोंहारलाई पनि अहिले मूर्ति बेच्न भ्याइनभ्याई छ । पहिला भारतबाट आयात गरिने सस्तो मूर्तिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेकामा अहिले आफूले बनाएका मूर्ति धमाधम बिक्री भइरहेको उन बताउछन् ।“यस वर्ष मैले ३५ मूर्ति बनाएको थिएँ, सबै बिक्री भयो,” उनले भने । मूर्ति बेचेर उनले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । चार वर्षदेखि उनले घरमै मूर्ति बनाउँदै आएका छन् । यसैगरी मूर्तिको माग बढ्दै गएपछि पाल्हीनन्दन–५ का धर्मेन्द्र हरिजनले गत वर्षदेखि आफै मूर्ति बनाउन थालेका छन् । मूर्ति बनाउन आवश्यक माटो, बाँस तथा सजावटका सामान ल्याइ घरमा एक्लै मूर्ति बनाएर बेच्ने गरेको उनले बताए । गत वर्ष पाँच मूर्ति बनाउँदा सबै बिक्री भएपछि अहिले ११ मूर्ति बनाएको हरिजनले बताए । थोरै लागतमा मनग्य आम्दानी गर्न सकिने उन बताउछन् । पश्चिम नवलपरासीको हकुई, विष्णुपुरा, गेरमा, महेशपुर बड्की सुनरी, बेलाटारी, गुठिप्रसौनीलगायत स्थानमा व्यावसायिक रुपमा मूर्ति निर्माण गरिँदै आएको छ ।
Related News