विराटनगर : कोरोना संक्रमित विराटनगर महानगर–७ का ८२ वर्षीय वृद्धको आइतबार बिहान ९ बजे मृत्यु भयो। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएपछि परिवारले धार्मिक संस्कारअनुसार शव अन्त्येष्टि गर्ने इच्छा गरे। प्रशासनले दाहसंस्कारको तयारी थाल्न परिवारलाई भन्यो। शोकमा रहेका आफन्त र परिवारका सदस्यले सिंघिया घाट पुगेर चिता तयार गरे। नेपाली सेनाको ‘बडी’ व्यवस्थापन गर्ने विशेष टोलीले शवलाई दुई घण्टाभित्र घाटमा पु¥याउने आवश्वासन दिएको थियो। सोहीअनुसार बिहान साढे १० बजे घाटमा चिता तयार भयो तर शव भने साँझ ८ बजेसम्म पनि घाटमा पु¥याइएन। मृतकका छोराले भने, ‘सेनाले चाँडो शव ल्याइदिन्छौं भनेपछि हामीले दाउरा भेला पार्दै चिता तयार ग¥यौं, तर शव नआएपछि दिनभर चिता हेरेर रुँदै बस्नुको विकल्प रहेन।’ उनले बुवा गुमाउँदाको तनावसँगै दिनभर चिता रुँगेर बस्दा पीडा थपिएको सुनाए। साँझ घाटमा भेटिएका उनले शव व्यवस्थापन गर्न परिवारलाई नै दिनुभन्दा पनि प्रशासनले नमानेको र समयमै अन्त्येष्टि गर्ने वातावरण नबनाएको गुनासो पोखे। विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय कोरोना संक्रमित वृद्धको पनि नोबेल अस्पतालमै आइतबार बिहान ४ बजे मृत्यु भयो। उनको शव पनि ढिलोमा दिउँसो १२ बजेसम्म घाटमा पु¥याइने खबर सेनाले परिवारलाई दिएको थियो। परिवारका सदस्यले बिहान ११ बजेतिरै परोपकार घाटमा चिता तयार गरेका थिए। तर, अस्पतालबाट दिनभर शव उठेन। रातिसम्म पनि सेनाको टोली अस्पताल पुगेन।

आफन्त र परिवारका सदस्यलाई शव उठाउन ढिलो हुनुको कारण पनि खुलाइएन। ‘शव नआउने भए हामी फर्कन्छौं भनेर भनेपछि मात्रै सेनाले गाडी बिग्रिएर केही समय लाग्ने भयो भन्ने जानकारी दियो’, परोपकार घाटमा भेटिएका मृतकका नातिले भने, ‘हजुरबुवा गुमाउँदा परेको बज्रपात त छँदै छ, त्यहाँमाथि भोकै र तिर्खै दिनभर चिता रुँगेर बस्नु पर्दा अर्को पीडा थपियो।’ बनाइएको चितामा शव राखेर जलाइसकेपछि अरूलाई वा कुनै जनावरलाई छुन दिन नहुने धार्मिक मान्यता रहेकाले दिनभर रुँगेर बस्नु परेको उनको गुनासो छ। विराटनगर महानगरपालिका–४ जामुनगाछीका कोरोना संक्रमित ८५ वर्षीय वृद्धको पनि आइतबार बिहान १० बजे होम आइसोलेसनमा मृत्यु भयो। शव सेनाले ल्याइदिने बताएपछि परिवारका सदस्य र आफन्त पनि परोपकार घाटमै चिता बनाएर बसे। दिउँसो ४ बजेतिर चिता तयार गरेर बसेका आफन्त साँझसम्म शव नआएपछि अलमलमा परेका थिए। ७५ र ८५ वर्षीय वृद्धको शवको अन्त्येष्टि गर्न लगभग ३० मिटर दूरीमा दुईवटा चिता बनाइएको थियो। दुवै परिवारका सदस्य र आफन्त एकअर्कामा हेराहेर गर्दै चिता रुँगेर बसिरहे। संक्रमित नागरिकको शव व्यवस्थापनमा सेना र प्रशासनको व्यवहार गैरजिम्मेवार भएको भन्दै उनीहरू गुनासो गर्दै थिए। कोरोना संक्रमण पुष्टि भएर ज्यान गुमाउनेको संख्या हरेक दिन बढिरहेका बेला सेनाको टोलीले भने शव व्यवस्थापनमा यसरी नै ढिलासुस्ती गर्न थालेको छ। यस्तो व्यवहारले शोकमा रहेका परिवार र आफन्तलाई झनै पीडा थपिने नागरिक अगुवा उत्तम ढुंगेल बताउँछन्। ‘पछिल्लो समय संक्रमितको मृत्यु हुने क्रम बढेको छ। शव जतिसक्दो चाँडो व्यवस्थापनका लागि लैजानुपर्ने हुन्छ’, उनले भने, ‘राज्यको जिम्मेवारी बोकेर बसेका निकायले मानवीय संवेदनाको पनि ख्याल गर्नुपर्छ। संकटका बेला सरकारका निकायमा त्यो देखिएन र उनीहरूबीचमै तारतम्य नभएको पाइयो।’ शव व्यवस्थापनमा खटिने सेनाको टोली विराटनगरबाट करिब ८० किलोमिटर टाढा मोरङको टाँडीमा बस्ने गर्छ।

READ MORE NEWS

महामारीका बेला किन बढ्यो मोबाइल आयात?

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन/भदौ)मा मोबाइलको आयात बढेको छ।अघिल्लो वर्षको दुई महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा दुई अर्ब ४३ करोड रूपैयाँले मोबाइलको आयात बढेको हो।भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष नेपालले विदेशबाट सात अर्ब ९४ करोड २४ लाख रूपैयाँ बराबरको मोबाइल फोन आयात गरेको छ। उक्त रकममा ९ लाख ९५ हजार सेट मोबाइल फोन भित्रिएका छन्।ती मोबाइल भित्र्याउने क्रममा आयातकर्ताले १२ करोड ५७ लाख रूपैयाँ राजश्व तिरेका छन्।यस्तै, अघिल्लो वर्षको यही अवधिमा जम्मा पाँच अर्ब १० करोड रूपैयाँको मोबाइल फोन आयात भएको थियो। उक्त रकममा ११ लाख सेट फोन आयात भएको विभागको तथ्यांक छ।त्यसक्रममा व्यवसायीले ८ करोड रुपैयाँ राजश्व सरकारलाई तिरेका थिए।

किन बढ्यो मोबाइलको आयात ?

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि बन्द गरेपछि सबैजसो वस्तुको खपत र आयात घट्यो। तर, स्कुल तथा कलेजहरूले लकडाउनकै समयमा जुममार्फत् अनलाइन कक्षा सुरु गरे।अनलाइन कक्षा सुरु भएपछि लकडाउन खुकुलो भएदेखि नै मोबाइल तथा ल्यापटपको माग ह्वात्तै बढेको मोबाइल व्यवसायीहरू बताउँछन्।मोबाइल वितरक संघका अध्यक्ष जगत साउदका अनुसार चैतदेखि रोकिएको आयात दुई महिनामा एकैपटक आउँदा धेरै देखिएको हो। कोभिड-१९ महामारी अघि हरेकजसो महिनामा मोबाइल आयात हुने गर्थ्याे।“तर, लकडाउन र निषेधाज्ञाका कारण चार महिनासम्म मोबाइलको आयात भएन”, भने, “रोकिएको आयात साउन र भदौमा आउँदा धेरै देखिएको हो।”उनले व्यापारीसँग चैत अघि ल्याएको मोबाइलको मौज्दात पनि धेरै नभएकाले दुई महिनामा सबैले ल्याउनु परेको जानकारी दिए।“साथै, वैदेशिक रोजगारीमा जानेहरुले हरेक वर्ष १५/२० प्रतिशत मोबाइल आफैंले लिएर आउँछन्” उनले भने, “लकडाउनले यो पटक उनीहरू आउन पाएनन् र मोबाइल पनि आएन।”फलस्वरुप मोबाइलको आयात बढेको उनको भनाइ छ।

त्यसैगरी, मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लकडाउनमा अवैध आयात रोकिँदा मोबाइलको आयात बढेको देखिएको बताए।उनले हरेक वर्षमा ४० प्रतिशत मोबाइल अवैधमार्गबाट मोबाइल भित्रिने गरेको जानकारी दिए। महामारी अघिको समयमा तस्करहरूले भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै र दुवैबाट आउने नेपाली कामदारहरूमार्फत् अवैधरूपमा मोबाइल ल्याउँथे।भने, “यसपटक भारतसँगको खुला सिमाना कोरोनाका कारण बन्द जस्तै हुनु र दुवैबाट स्वदेश फर्किने कामदारहरू आउन नपाउनुले आयात बढेको हो।”साथै, महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा अन्य सबै वस्तुको खपत घट्दा आयात घटेको छ। तर, यही अवस्थामा अनलाइन कक्षाले माग बढेपछि मोबाइलको आयात निरन्तर भइरहेको छ।तर, यो समयमा अन्य प्रकारका वस्तुको खपत ह्वात्तै घटेको छ। खपत घटेपछि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, लत्ताकपडा लगायतका वस्तुको आयात पनि घटेको छ।जसकारण, यो वर्ष मोबाइल विदेशबाट नेपालमा भित्रिने वस्तुहरूमध्ये पहिलो नम्बरमा समेत पर्न सफल भएको व्यवसायीहरूको भनाइ छ।

कुन देशबाट कति मोबाइल भित्रियो ?

यस अवधिमा नेपालले चीनबाट सबैभन्दा बढी मोबाइल आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा चीनबाट पाँच अर्ब १२ करोड ३८ लाख रूपैयाँको ८ लाख सेट मोबाइल फोन आयात भएको छ।यस्तै, भारतबाट दुई अर्ब ५४ करोड ४६ लाख रूपैयाँ बराबरको एक लाख ७६ हजार सेट मोबाइल फोन आएको छ।त्यस्तै, भियतनामबाट नेपालले २६ करोड २५ लाख रूपैयाँको १२ हजार सेट मोबाइल फोन भित्रिएको विभागले जानकारी दिएको छ।योसँगै, अमेरिकाबाट ३६ लाखको, संयुक्त अरब इमिरेट्स (यूएई)बाट २७ लाख र हङकङबाट २० लाखको मोबाइल फोन भित्रिएको छ।त्यसबाहेक, अन्य १६ मुलुकबाट १० लाख रूपैयाँभन्दा कम परिमाणको मोबाइल फोन भित्रिएको तथ्यांकले देखाउँछ।


Your Views
Related News