नेपालगञ्ज उपमहानगरपालिकाका साथै बाँके जिल्लाभरि नै कोरोना संक्रमण दरमा वृद्धि भएपछि अतिआवश्यक सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुमा संक्रमणको जोखिम  बढ्दै गएको छ।  कोरोनाको जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा फोहोर व्यवस्थापनमा संलग्न कर्मचारीका लागि एक दिने कोरोना प्रतिकार्य सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। सरसफाइकर्मीलाई कार्यक्षेत्रमा हुने संक्रणको जोखिम र असरलाई न्यून पार्दै र नेपालगञ्ज उपमहानगरपालिकालाई दिगो रुपमा सफा र स्वच्छ सहर राख्नका  लागि उक्त्त कार्यक्रम सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताएका छन्। उक्त्त कार्यक्रममा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै सहभागीहरुलाई कोभिडको बारेमा जानकारी दिने, लक्षण, रोकथाम र बच्ने उपाय तथा फोहोर व्यवस्थापन गर्दा क्लोरिनको घोल बनाउने र प्रयोग गर्ने तरिका सिकाइएको थियो।उपमहानगरपालिकाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा सरसफाइ सुपरभाइजरहरुको सक्रिय सहभागिता रहेको थियो। उक्त्त कार्यकमको प्राविधिक सहयोग एमडिएम-फ्रान्स (विश्वका चिकित्सकहरु) नामक संस्थाले गरेको थियो भने आर्थिक सहयोग जिआइजेड नेपालले गरेको थियो।

READ MORE NEWS

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

ajaako_artha
हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु। एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए ।यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामाग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि  दलित घरधुरीलाई सहयोग गरिएको छ । सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमि, उवा, जौ, गहुँ लगायतका अन्नवालीलाई  कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा पुगेको छ । यसको निर्माण सामग्री र स्टेशनरीका सामाग्री सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरेका थिए ।

दशैं भत्ता फिर्ता गर्दै प्रकाशमानले भने : भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सांसदलाई बद्नाम गर्ने दुराशय राख्यो

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले दशैं भत्ता फिर्ता गरेका छन्। कोभिड महामारीका बेला भत्ता लिएको भन्दै सांसदहरुको आलोचना भइरहेका बेला प्रकाशमानले पनि फिर्ता गर्ने जानकारी गराएका हुन्।सोमबार विज्ञप्ति जारी गर्दै नेता सिंहले भत्ता फिर्ता पार्टीका सबै सांसदलाई आग्रहसमेत गरेका छन्।एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उनको भनाई छ।’आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ,’ उनले विज्ञप्तिमा भनेका छन्।महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्नेमा उनको जोड छ।

गोक्यो ताल जाने भिरालो क्षेत्रमा बाटो निर्माण

सोलुखुम्बु जिल्लामा रहेको विश्वको अदभूत मानिएको गोक्यो ताल जाँदा भिरबाट लडेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रदेश १ सरकारको ७० लाख र स्थानीय तहको २५ लाख लगानीमा लकडाउनको समयमा स्थानीयवासीले डरलाग्दो अक्करे भिरको घोडेटो बाटोमा फराकिलो सिँढीसहितको पाँच सय मिटर पक्की बाटो निर्माण गरेपछि गोक्यो ताल जाँदा अब भिरबाट लडेर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको हो ।  सोलुखुम्बुको उत्तरी क्षेत्रमा पर्ने ४७ सय मिटर उचाइ क्षेत्रको खुम्बुपासाङल्हामु गाउँपालिका– ४ मा रहेको गोक्यो हिमताल प्राकृतिक सौन्दर्यमा विश्वको अद्भुत ठाउँका रूपमा चर्चित छ । तर, सहज बाटो नहुँदा यस ताल जान खुम्बजुङदेखि एकदमै भिरालो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।तर, लकडाउनको समयमा स्थानीयवासी आफैँ जुटेर ९३ दिनमा पाँच सय मिटर पक्की बाटो निर्माण गर्न सफल भएको वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । निर्माण भएको बाटोमा भिरालो भिरमा एक सय ५० मिटर बारसहितको सिँढी पनि निर्माण गरिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको गोक्यो हिमताल जाने बाटो भिरालो र जटिल हुँदा बर्सेनि धेरै पर्यटक लडेर ज्यान गुमाउन बाध्य थिए । वडाध्यक्ष अधिकारीले भने, ‘तर, अब हामी स्थानीयहरू आफैँले लकडाउनमा बाटो निर्माण गर्न सफल भएपछि पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको छ ।’ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य गोक्यो तालसम्म पुग्ने सहज बाटो निर्माण गर्न लकडाउनको समयमा दैनिक ३८ जना स्थानीयवासी  ९३ दिनसम्म खटिएका थिए । लकडाउनको समयमा निर्माण कार्य गर्दा स्थानीयवासीलाई रोजगारी पनि प्राप्त भएको र काम पनि छिटो र भरपर्दो भएको जनप्रतिनिधिहरूको दाबी छ ।

स्थिर ब्याजदर कार्यान्वयन, यस्तो छ बैंकहरुको कर्जायोजना

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट १ वर्षभन्दा माथि अवधिका व्यक्तिगत प्रकृतिको आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्न दिएको निर्देशन बैंकहरुले कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले अहिले गरिरहेको परिवर्तनीय ब्याजदरभन्दा महँगो ब्याजदरमा दीर्घकालीन प्रकृतिका घर र गाडी कर्जाको स्थिर ब्याजदर निर्धारण गरेका हुन् । अधिकांश बैंकहरुको लामो अवधिको घर कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि छ । बैंकहरुले ब्याजदरमा हुनसक्ने उतारचढावको जोखिमलाई समेत जोडेर ब्याजदर निर्धारण गरेकोले स्थिर ब्याजदर महँगो पर्ने देखिन्छ । अहिले अधिकांश बैंकले परिवर्तित ब्याजदरमा सिंगल डिजिटमा कर्जा लगानी गरेका छन् । तर बैंकहरुले सार्वजनिक गरेको स्थिर ब्याजदर हेर्दा २-३ वर्षको कर्जामा केही बैंकमा सिंगल डिजिटको ब्याजरमा कर्जा पाउने अवस्था भए पनि अधिकांश बैंकमा दीर्घकालीन कर्जा महँगो देखिन्छ । यसले ग्राहकलाई स्थिर ब्याजदरभन्दा परिवर्तित ब्याजरमा नै बढी आकर्षण गर्ने देखिन्छ । राष्ट्र बैंकले कर्जा अवधिभरका लागि स्थिर ब्याजदर लागु गर्न निर्देशन दिँदा बैंकहरुले कर्जा अवधिभरको स्थिर ब्याजदर प्रभावकारी हुन नसक्ने बताउँदै आएका थिए । अहिले बैंकहरुले निर्धारण गरेको स्थिर ब्याजदरले पनि त्यस्तै देखाउँछ । बैंकर पनि २-४ वर्षसम्मको लागि स्थिर ब्याजदर प्रभावकारी भए पनि नेपालजस्तो सानो अर्थतन्त्र भएको र ब्याजदरमा उतारउचढाव अत्याधिक हुने देशमा कर्जा अवधिभरको लागि स्थिर ब्याजदर प्रभावकारी हुन नसक्ने बताउँछन् । राष्ट्र बैंकको निर्देशन पालन गर्न पनि बैंकहरुले स्थिर ब्याजदर निर्धारण गरेको तर यो त्यति प्रभावकारी हुने अवस्था नदेखिएको एक बैंकरले बताए । “ब्याजदरको सम्भावित उतारचढावले आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही थप प्रिमियम जोड्नुपर्ने हुन्छ । जसले गर्दा कर्जा तुलनात्मक रुपमा महँगो हुन जान्छ । त्यसलै ग्राहकले सहजै स्थिर ब्याजदरमा कर्जा लिन मान्‍ने अवस्था छैन,” उनले भने । यद्यपि राष्ट्र बैंकको नीति कार्यन्वयन गर्ने पर्ने भएकाले यस्तो गरिएको उनको भनाइ थियो । ४-५ वर्षको लागि मात्रै स्थिर ब्याजदर गरेको भए कार्यान्वयनमा सहज हुने ती बैंकरको बुझाइ छ ।

कुन बैंकको कति ब्याजदर ?

एनआईसी एशिया बैंक
बैंकले ५ देखि १५ वर्ष अवधिका विभिन्‍न स्थिर ब्याजदर भएको व्यक्तिगत आवधिक कर्जा योजना ल्याएको छ । जसमा बैंकले ८.५ प्रतिशत देखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले ७ वर्ष अवधिको विद्युतीय सवारी साधन कर्जा ८.५ प्रतिशत ब्याजदरमा नै दिने जनाएको छ । त्यसबाहेकका अन्य कर्जामा अवधि अनुसार ९ देखि ११ प्रतिशतसम्म तोकेको छ ।

नेपाल एसबीआई बैंक 
बैंकले पनि ३ वर्षभन्दा कम अवधि देखि १० वर्ष बढी अवधि रहेको कर्जाका लागि फरक-फरक ब्याजदर तोकेको छ । बैंकले १२.५ देखि १४.५ प्रतिशतसम्मको स्थिर ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार ३ वर्षभन्दा कम अवधि रहेको कर्जाको ब्याजदर १२.५ प्रतिशत, ३ देखि ५ वर्ष अवधि रहेको कर्जामा १३.५ प्रतिशत, ५ वर्ष देखि १० वर्षको कर्जामा १४ प्रतिशत र १० वर्षभन्दा माथि अवधि भएका कर्जाको लागि १४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी बैंक
बैंकले एक वर्षभन्दा कम अवधिदेखि १५ वर्ष अवधिका लागि फरक-फरक ब्याजदर तोकेको छ । दुई वर्षभन्दा कम अवधिको ब्याजदर कर्जाको प्रकारअनुसार ८.४९ देखि १०.९९ प्रतिशतसम्म छ । त्यस्तै एकदेखि दुई वर्ष अवधिका कर्जाका लागि ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याजदर छ । दुईदेखि तीन वर्षको कर्जामा ८.९९ देखि १३.४९ प्रतिशत, तीनदेखि पाँच वर्ष अवधिको कर्जामा ९.९९ देखि १४.४९ प्रतिशत, पाँचदेखि १० वर्ष अवधिको कर्जामा ११.९९ देखि १३.९९ प्रतिशत र १० देखि १५ वर्ष अवधिको कर्जामा १२.९९ देखि १४.४९ प्रतिशतसम्म कर्जाको प्रकारअनुसार ब्याजदर सार्वजनिक गरेको छ ।

नेपाल बंगलादेश बैंक
बैंकले पनि कर्जाको अवधिअनुसार न्यूनतम् ९.९९ देखि १२.९९ प्रतिशतसम्मको स्थिर ब्याजदर तोकेको छ । बैंकले पाँच वर्षभन्दा कम अवधिको घर र गाडी कर्जामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ भने ५ देखि १० वर्ष अवधिको शैक्षिक कर्जा र ३ देखि ५ वर्ष अवधिको व्यक्तिगत कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । १० देखि २० वर्षको हाउजिङ लोनमा भने ११.४९ प्रतिशत ब्याजदर तोकेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले पाँच वर्षभन्दा कम, पाँचदेखि १० वर्ष, १० वर्षभन्दा माथि अवधिको कर्जाका लागि फरक-फरक स्थिर ब्याजदर सार्वजनिक गरेको छ । बैंकले पाँच वर्षसम्मको घर कर्जामा ९.८९ प्रतिशत, गाडी तथा हायर पर्चेज कर्जामा ९.९९ प्रतिशत र अन्य रिटेल कर्जामा १०.२ प्रतिशत ब्याजदर लिने जनाएको छ । यस्तै  बैंकले एक वर्षदेखि १० वर्षसम्मको कर्जामा १०.८९ प्रतिशत, गाडी र हायर पर्चेज कर्जामा १०.९९ प्रतिशत र अन्य रिटेल कर्जामा ११.२४ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी १० वर्षभन्दा माथि अवधि रहने घर कर्जाको ब्याजदर ११.८९ प्रतिशत र अन्य रिटेल कर्जाका लागि १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंक
सानिमा बैंकले कर्जाको अवधि अनुसारै ८.२५ देखि १३ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १३ महिना अवधि रहेको कर्जा ८.२५ प्रतिशतमा नै दिने जनाएको छ । त्यस्तै दुई वर्षको कर्जालाई ९.५ प्रतिशत, ३ वर्ष अवधिको कर्जामा ११ प्रतिशत र तीन वर्षभन्दा माथिको कर्जाका लागि १३ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड  बैंक 
बैंकले कर्जाको अवधि र प्रकारअनुसार १०.७५ देखि १३.७५ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ । पाँच वर्ष अवधिको व्यक्तिगत कर्जा १३ प्रतिशतमा दिने बैंकले जनाएको छ । त्यस्तै १० वर्षभन्दा बढी अवधिको घर कर्जामा १३.७५ प्रतिशत र पाँच वर्षसम्मको घर र गाडी कर्जामा १०.७५ प्रतिशतमा दिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले तीन वर्षसम्मको कर्जा अवधिको लागि कर्जाअनुसार अहिलेको ब्याजदरमा थप ०.७५ प्रतिशत, पाँच वर्षसम्मको कर्जामा अहिलेको ब्याजदरमा थप १.५ प्रतिशत, १० वर्षसम्मको कर्जामा थप २.५ प्रतिशत र सोभन्दा माथिको कर्जामा थप ४ प्रतिशत रिक्स प्रिमियम जोड्ने जनाएको छ । १० वर्षभन्दा माथि अवधिको कर्जा लिन बैंकमा जाँदा स्थिर ब्याजदरको सम्झौता गरेमा अहिलेको भन्दा ४ प्रतिशतसम्म महँगो ब्याजदर पर्ने देखिन्छ ।

हिमालयन बैंक
बैंकले ९.४९ देखि १२.४९ प्रतिशतसम्मको स्थिर ब्याजदर सार्वजनिक गरेको छ । तीन वर्षको लागि व्यक्तिगत सवारीसाधन कर्जा लिँदा ९.४९ प्रतिशत ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ । यस्तै १० वर्षभन्दा माथिको घर कर्जामा १२.४९ प्रतिशत ब्याजदर पर्ने बैंकले जनाएको छ।

नबिल बैंक
नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जाको अवधि र प्रकारअनुसार ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । एक वर्ष अवधि रहेको कर्जाहरुमा कर्जाको प्रकारअनुसार ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यस्तै सात वर्षसम्म अवधि रहेको कर्जामा पनि कर्जाको प्रकारअनुसार १०.५ देखि ११.७५ प्रतिशत र १० वर्षसम्म अवधि रहेको कर्जामा १२.५ देख १३ प्रतिशत ब्याजदर तोकेको छ ।

सनराइज् बैंक
सनराइज् बैंकले समय अवधि हेरेर ब्याजदर १०.५ देखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्मको घर कर्जाको लागि साढे ११ प्रतिशत ब्याजदर लिने जनाएको छ । आठ वर्षसम्मको लागि गाडी खरिद गर्न बैंकले दिने र त्यसमा ११.५ प्रतिशत तोकिएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले कर्जाको अवधिअनुसार फरक ब्याजदर निर्धारण गरेको छ । बैंकले १० वर्षभन्दा माथि अवधिको घर कर्जा र पाँच वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले ९.४९ देखि १३.९९ प्रतिशतसम्म कर्जाको अवधि र प्रकारअनुसार स्थिर ब्याजदर कर्जा योजना ल्याएको छ । बैंकले पाँच वर्षसम्म अवधि रहेको कर्जामा कर्जाको प्रकारअनुसार १२.७४ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ । त्यस्तै पाँचदेखि १० वर्ष अवधि रहेको कर्जामा कर्जाको प्रकार अनुसार ९.९९ देखि १२.२४ प्रतिशत, १० देखि १५ वर्ष अवधि रहेको कर्जामा १०.७४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंक
बैंकले कर्जाको अवधि र प्रकारअनुसार ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ ।  त्यस्तै ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत छ ।

प्रभु बैंक
प्रभु बैंकले पनि कर्जाको अवधि र प्रकारअनुसार ब्याजदर कायम गरेको छ । बैंकले पाँचदेखि १० वर्ष अवधिको घर कर्जाका लागि १०.९९ प्रतिशत र गाडीका लागि ११.२४ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै पाँच वर्षसम्मको घरकर्जामा ९.९९ प्रतिशत र गाडी खरिदका लागि १०.२४ प्रतिशत ब्याजदर लिनेछ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सिय बैंकले कर्जाको अवधिअनुसार ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १० वर्षमाथिको घर कर्जा १२.७४ प्रतिशत, सात वर्षसम्मको निजी सवारी साधनको लागि १२.२४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्जाको अवधिअनुसार नौदेखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत र सात वर्षसम्मको गाडी कर्जा ९.५ प्रतिशत कायम गरेको छ ।

कृषि विकास बैंक
सरकारी लगानी रहेको कृषि विकास बैंकले ९.७५ प्रतिशतदेखि १२ प्रतिशत सम्मको स्थिर ब्याजदर निर्धारण गरेको छ । बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिद गर्न १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक
सरकारी लगानी रहेको नेपालकै पहिलो बैंक नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले घर कर्जा ९.८५ प्रतिशत, सवारी साधन कर्जा १०.८५ प्रतिशतमा दिनेछ । बैंकले कर्जाको अवधिअनुसार ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि १०.५ प्रतिशत देखि १२.५ प्रतिशतसम्म कर्जाको अवधिअनुसार ब्याजदर निर्धारण गरेको छ ।

सिभिल बैंक
सिभिल बैंकले कर्जाको अवधि र प्रकारअनुसार असार मसान्तको आधार ब्याजदरमा २.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने भएको छ । पाँच वर्षसम्मको घर कर्जा २.५ प्रतिशत प्रिमियम र १५ वर्षभन्दा माथिको घर कर्जामा ४ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ । त्यस्तै सात वर्षसम्मको गाडी कर्जा ३ प्रतिशत प्रिमियम थप गरेर लगानी गर्ने गरी बैंकले ब्याजदर निर्धारण गरेको छ ।

बैंक अफ काठमाण्डू
बैंकले ९.४९ देखि १२.९६ प्रतशतसम्मको स्थिर ब्याजदर निर्धारण गरेको छ । बैंकले १५ वर्षभन्दा माथिको घर कर्जा १२.९६ प्रतिशतमा लगानी गर्नेछ । ५ वर्षसम्मको शैक्षिक कर्जा भने ९.४९ प्रतिशतमा र पाँच वर्षसम्मको सवारी साधन कर्जा ९.९९ प्रतिशत र ५ वर्षभन्दा माथिको सवारीसाधन कर्जाको ब्याजदर ११.४९ प्रतिशत निर्धारण गरेको छ ।

कुमारी बैंक
बैंकले १ देखि ५ वर्षसम्मको सबै व्यक्तिगत प्रकृतिको आवाधिक कर्जा १०.५ प्रतिशत र ५ वर्षभन्दा माथिको कर्जामा ११ प्रतिशतमा लगानी गर्ने गरी ब्याजदर निर्धारण गरेको छ ।

मेगा बैंक
मेगा बैंकले १ वर्षभन्दा माथिको रिटेल आवधिक कर्जामा अहिलेको आधार ब्याजरमा ५ प्रतिशत प्रिमियम थप गरेर लगानी गर्ने जनाएको छ । बैंकको २०७७ भदौको आधार ब्याजदर ८.१० प्रतिशत छ । यसमा ५ प्रतिशत प्रिमियम थप गर्दा बैंकबाट स्थिर ब्याजदरमा व्यक्तिगत प्रकृतिको आवधिक कर्जा लिँदा १३.१० प्रतिशत ब्याजदर पर्ने देखिन्छ ।

सिटिजन्स् बैंक इन्टरनेसनल
बैंकले कर्जाको प्रकृति र अवधिअनुसार १०.५ देखि १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले १६ वर्षभन्दा बढी अवधिको घर कर्जाको ब्याजदर १२ प्रतिशत, ६ देखि १० वर्षको व्यक्तिगत सवारी साधन कर्जाको ब्याजदर ११ प्रतिशत निर्धारण गरेको छ ।


Your Views
Related News