बागलुङ — गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेन्डर पारेर राजस्व बुझाएका सिकारी आएनन् । कोरोना संक्रमणले संसारभर लकडाउन भएकाले बोलकबोल भइसकेर पनि सिकारी आउन नपाएपछि सिकारको टेन्डर रद्द भयो ।हरेक वर्ष ढोरपाटनमा चैत र कात्तिकमा दुई पल्ट सिकारका लागि टेन्डर खुल्छ । चालु आर्थिक वर्षको पहिलो सिजनको टेन्डर अहिले खुलेको छ । तर सिकारी आउने सम्भावना भने नभएको सहायक संरक्षण अधिकृत रमेश यादव बताउँछन् । सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरे पनि सिकारी आएर टेन्डर भर्ने सम्भावना नरहेको उनले बताए ।गत चैतका लागि ११ वटा नाउर र ३ वटा झारल सिकारको टेन्डर खुलेको थियो । उक्त सिजनमा सिकार नभएपछि त्यति नै संख्यामा पुनः टेन्डर खुल्यो । दुई सिजनमा गरी २६ नाउर र १० वटासम्म झारलको सिकार अनुमति दिने गरिन्थ्यो ।सिकारीले १५ देखि २१ दिनसम्म आरक्षमा बसेर सिकार गर्न पाउने व्यवस्था छ । उनीहरू ९ लाखदेखि १२ लाख रुपैयाँसम्मको बोलकबोल गरेर नाउर मार्न तयार हुन्थे । यसरी हरेक वर्ष ढोरपाटनमा २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको थियो । कोरोना महामारीसँगैको लकडाउनले राजस्व संकलनमा पनि असर परेको छ । अघिल्लो वर्षको दोस्रो सिजनमा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ राजस्व उठेको थियो ।
‘गत वर्षको रकम जस्तै राजस्व संकलन हुन्थ्यो, अहिले ठप्पै भयो,’ यादवले भने, ‘आगामी चैतमा मात्रै अव सिकार सम्भव होला जस्तो छ ।’ आरक्षले आसपासको बस्तीका मानिसलाई लक्षित गरेर सेनासँगको सहकार्यमा क्वारेन्टाइन पनि बनाएको थियो । सिकारी आएमा सुरक्षा प्रबन्ध मिलाउन आरक्षले काम गरेको हो ।अधिकांश सिकारीहरू युरोप र अमेरिकाका हुन्थे । उनीहरू हेलिकप्टर लिएर सिधै ढोरपाटन पुग्ने गर्दथे । गत भदौमा बाढीपहिरोले सडक बगाएपछि ढोरपाटनमा गाडी चढेर घुम्न जाने क्रम पनि ठप्पजस्तै छ । सिकारका लागि हिमालयन सफारी, ग्लोबल सफारी, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्र्याक एन्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ सफारीलगायतले सिकारी ल्याउने काम गरेकामा यो वर्ष उनीहरूका गतिविधि पनि ठप्प छन् । ढोरपाटनमा सात वटा सिकार ब्लक छन् । ढोरपाटन हिमाली क्षेत्र भएकाले चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो चोरी सिकार हुँदैन । तर छिटफुट रूपमा काठ र जंगली जनावर तस्कर गर्नेहरू यहाँ पनि सक्रिय छन् ।‘बन्दाबन्दीको समय भए पनि हामीले नियमित गस्ती गरिरहेका छौं,’ ढोरपाटनस्थित सुरक्षा गुल्मका एक सेनानीले भने, ‘घरसारको उपयोगबाहेक बिक्री गर्ने तस्कर भेटिएको छैन ।’ आरक्षको क्षेत्रभित्र बागलुङ, म्याग्दी र रुकुमका बस्तीहरू छन् । केही वर्षदेखि सेना बस्न थालेकाले चोरीसिकार हटेको हो । सात वटा ब्लकमा आरक्षले सेना र संरक्षणकर्मी खटाएको छ ।
READ MORE NEWS
ज्यान गुमाउन पनि टस !

अमेरिकामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’
पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका बन्द
