देश अहिले कोरोनाको महामारीबाट आक्रान्त छ। कोरोनाकै  कारण ज्यान गुमाउनेको संख्या सात सय नाघिसक्यो भने नयाँ संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। पछिल्ला दिनहरूमा सार्वजनिक सवारी साधन तथा पसलहरू पूर्ण रूपमा सञ्चालनमा आउनु र दसैं नजिकिँदै गर्दा सहर–बजारमा मानिसको भीडभाड बढ्दै जानु यसका मुख्य कारण बनेका छन्।अहिले धेरै मानिसमा लक्षण देखिन थालेकाले दैनिक पिसिआर जाँच गर्नेको संख्या पनि बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पतालमा मात्र दैनिक नमुना संकलन गर्न आउनेको संख्या चार सयको हाराहारीमा छ। यति धेरै मानिसको अव्यवस्थित खचाखच भीड देख्दा नमुना दिन आउने बिरामी झनै संक्रमित भएर फर्किनुपर्ने जोखिम बढेको छ। एकातिर बिरामीलाई व्यवस्थापन गर्न नसक्दा संक्रमण झनै बढ्ने डर छ भने अर्कोतिर बिरामीको चाप बढ्दै जाँदा समेत त्यही पुरानै क्षमताको पिसिआर मेसिन, परीक्षण गर्ने तरिका र पहिलेको जस्तै थोरै जनशक्ति भएकाले दिनमा ४–५ चरणमा जाँच गर्नुपर्ने बाध्यता रहेको छ। यसरी पिसिआरमा संलग्न चिकित्सक तथा प्रयोगशालाकर्मीहरूले भोक, निद्रा नभनी मध्यरातसम्म काम गर्नुपर्ने अवस्था कसले बुझिदिने?कोरानासँग लड्दाका सुरुवाती दिनदेखि नै नियमित रुपमा प्रयोगशालामा होसियारपूर्वक काम गर्दागर्दै पनि आफैं संक्रमित भएर “क्रिटिकल केयर युनिट” मा बस्नु पर्दासम्मका मेरा अनुभव संक्षिप्तमा सुनाउने प्रयत्न यस लेखमार्फत गरेको छु।सुरुवातमा त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डमा भर्ना भई उपचारार्थक एक बच्चालाई कोरोना भाइरस संक्रमण देखिँदा अस्पतालभरि नै भयावहको अवस्था सिर्जना भएको थियो। अस्पताल नै सिल गर्नुपर्छ भन्ने मनस्थितिमा सबै व्यवस्थापक पुगिसकेका थिए। कोही पनि त्यस वार्डमा जान मान्ने अवस्थामा थिएनन्। त्यहाँ भएका सम्पूर्ण बिरामी र कुरुवाको “कन्ट्याक्ट ट्रेसिङ” गर्नुपर्ने नै थियो। तर नमुना संकलन गर्न कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मी जान तयार देखिँदैनथे। त्यसपछि मनमा ठूलो त्रास हुँदाहुँदै पनि म स्वाब संकलन गर्न तयार भएँ। डा सुवास आचार्य, डा सन्तकुमार दास लगायत अन्य केही डाक्टरहरू सहित पिपिई लगाएर न्युरो वार्डमा रहेका सम्पूर्ण बिरामी र कुरुवाको नमुना संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। त्यतिबेला म पनि त्यहाँको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण गर्थेँ।त्यसपछि क्रमिक रूपमा देशभर कोरोना देखिन थालेपछि त्रिवि शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा पिसिआर मेसिन ल्याइयो र हामीले आफ्ना बिरामी तथा स्वास्थ्यकर्मीको परीक्षण आफ्नै अस्पतालमा गर्न पाउने भयौँ।
नमुना संकलनको लागि राष्ट्रिय आविष्कार केन्द्रले हामीलाई बुथ डोनेसन गरेको थियो। त्यतिबेला सबै कर्मचारी तथा स्वास्थ्यकर्मीमा झनै त्रास बढिरहेको थियो। नमुना संकलन तथा पिसिआर परीक्षणमा को–को खटिने भन्ने विवाद चलिरहेको थियो। त्यसैबखत, हामीले दस जनाको टिम बनाएर सधैँभरि त्यही टिमले काम गर्ने सहमति गरी नमुना संकलनमा खटिन थाल्यौँ।यसको व्यवस्थापनको जिम्मा म आफैँले लिएको थिएँ।नमुना संकलन तथा पिसिआर परीक्षण गर्दा पिपिई लगाए तापनि हजारौँ संक्रमितसँग प्रत्यक्ष सम्पर्क (डाइरेक्ट कन्ट्याक्ट) हुने हुँदा कतै न कतैबाट आफू पनि संक्रमित हुने सम्भावना थियो। त्यसै क्रममा म पनि संक्रमित हुन पुगेछु।सुरुवातमा लक्षण सामान्य थियो। कोरोना होइन होला, पिनास (साइनुसाइटिस) होला भन्ने लागेर औषधि खाँदै आफ्नो ड्युटीलाई निरन्तरता दिँदै गएँ। विस्तारै लक्षणहरू गम्भीर हुँदै गए। ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, मांसपेसी दुख्ने, पखाला लाग्ने, रुघा–खोकी र नाक बन्द हुने तथा स्वाद र गन्ध थाहा नपाउने जस्ता थुप्रै लक्षण देखिन थाले।लक्षण देखिन सुरू भएको पाँच दिनपछि ड्युटी गर्दागर्दै अचानक चक्कर लागेर इमर्जेन्सीमा भर्ना हुन पुगेँ। त्यहाँ  सलाइन र औषधि चढाउन थालियो साथै कोभिड जाँचको लागि नमुना संकलन गरेर पठाइएको थियो। रिपोर्ट आउनु अगावै मेरो अक्सिजन र रक्तचाप एक्कासि कम भएकाले मलाई त्रिवि शिक्षण अस्पतालको कोभिड आइसोलेसन क्रिटिकल केयर युनिटमा लगिएको थियो। बेलुका रिपोर्ट आउँदा पो थाहा भयो, मलाई कोरोना संक्रमण भएकाले यस्ता समस्या देखा परेका रहेछन्।त्यसपछि मलाई Ceftriaxone, Doxycycline, hydrocortisone, Remdesivir जस्ता औषधि नशाबाट दिन थालियो। करिब चौध दिनको उपचार तथा नर्सिङ केयरपछि म अहिले पूर्ण रूपमा निको भएको छु। मेरो उपचारमा खटिनुभएका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आफन्त, साथीभाइहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।साथै, सम्पूर्णमा म के आग्रह गर्न चाहन्छु भने, रुघाखोकी लागेमा यसलाई सामान्य हो भनेर हेलचेक्य्राइँ नगरौँ। हाम्रा प्रधानमन्त्रीले भन्नुभएजस्तो हाच्छ्युँ–साच्छ्युँ गर्दैमा, बेसारपानी खाँदैमा कोरोना जाने होइन रहेछ।चिकित्सक तथा विज्ञहरूको भनाइलाई मनन गर्दै सो अनुसारको कदम चाल्न म सरकारलाई पनि आग्रह गर्नुका साथै, सम्पूर्ण देशबासीलाई सामाजिक दूरी कायम गरी, भीडभाड नगरी चाडपर्व मनाउन अनुरोध गर्दछु। साथै लक्षण देखिएका संक्रमित सबैलाई बेलैमा उपचार गराउन आग्रह गर्दै सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना दिन चाहन्छु।

READ MORE NEWS

चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता ठगिँदै


Your Views
Related News