अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले हर्ड इम्युनिटीको रणनीतिलाई खारेज गरेका छन् । केही विशेषज्ञहरूले कम जोखिममा रहेका युवालाई भाइरसबाट संक्रमित हुन दिएर हर्ड इम्युनिटी बनाउनुपर्ने भनी यसअघि धारणा राखेका थिए ।तर ८० जना अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले कोभिड महामारीको सामना गर्न हर्ड इम्युनिटी खतरनाक अवधारणा भएको बताए । उनीहरूको पत्र मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको छ । हर्ड इम्युनिटीका पक्षधरहरूले यसलाई रणनीतिका रूपमा अंगीकार गरेर लकडाउन लगायतका प्रतिबन्धलाई अन्त्य गर्नुपर्ने भनी वकालत गरेका थिए । हजारौं विशेषज्ञ, चिकित्सक र सर्वसाधारणको हस्ताक्षर त्यसमा परेको बताइएको थियो । तर त्यसमा अनेकौं मानिसको हस्ताक्षर कीर्ते रहेको पाइयो ।ल्यान्सेटमा प्रकाशित नयाँ पत्रमा हर्ड इम्युनिटी सिद्धान्तको कुनै वैज्ञानिक आधार नरहेको भनी लेखिएको छ । यस पत्रमा हस्ताक्षर गर्नेहरू जनस्वास्थ्यविद्, भाइरस विज्ञान, सरुवा रोग र अन्य वैज्ञानिक क्षेत्रका मानिस छन् ।उनीहरूका अनुसार, युवाहरूमा कोभिड–१९ फैलिन दिने हो भने समग्र जनसंख्या खतरामा पर्न सक्छ । अनि कोभिडले कसलाई बढी प्रभावित पार्छ र कुन वर्ग सबभन्दा कम प्रभावित हुन्छ भन्ने कुरा पनि अहिल्यै बताउन सकिँदैन । युवा र स्वस्थ मानिसमा कोभिडका दीर्घकालीन लक्षणहरू देखिएको पनि उनीहरूले उल्लेख गरे । अनि कोभिडबाट प्राकृतिक रूपमा संक्रमित भएका मानिसमा दीर्घकालीन स्थायी इम्युनिटी उत्पन्न हुने कुनै ठोस प्रमाण नपाइएको पनि उनीहरूको कथन छ । त्यसैले धेरै मानिसहरूलाई संक्रमित हुन दिँदा महामारी अन्त्य नहुने बरू उल्टो बारम्बार महामारीहरू उत्पन्न हुने र स्वास्थ्यकर्मी तथा अर्थव्यवस्थामा अनावश्यक बोझ पर्ने उनीहरूको भनाइ छ ।

READ MORE NEWS

खरानीमाथि ठडिँदै दानबहादुरको नयाँ संसार

चितवन निकुञ्जका कर्मचारीहरुले हात्तीसहित आएर छाप्रोमा आगो लगाइदिए, बाली मासिदिए । कसुमखोला छोड्न चेतावनीसमेत दिए । तर अन्यत्र गएर बस्ने विकल्प नभेटेका पीडित दानबहादुरले खरानी र अँगार पन्छाएर त्यही ठाउँमा नयाँ छाप्रो बनाए । यहीं दुलही पनि भित्र्याए । उनले खरानीमाथि नै नयाँ संसार खडा गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले निषेध गरेको ठाउँमा बसोबास गरेको भन्दै तीन महिनाअघि कुसुमखोलाका घर र छाप्रामा आगजनी भयो । अन्यत्र बसोबासको विकल्प नभएका पीडित १० घरपरिवार अझै त्यहीं छन् । त्यसबेला तत्काल सुरक्षित ठाउँमा घर बनाएर उनीहरूलाई सार्ने प्रतिबद्धता धेरैले गरे । तर गाउँमा कोदो रोप्ने सुरसार हुँदै गर्दा भएको आगजनीको घटनापछि वाचा गर्नेहरूले अहिले तोरी उम्रँदै गर्दासम्म वाचा भुल्न थालेका छन् ।काजीमानका छोरा दानबहादुरसँग हालै मात्र बिहे गरेकी गीतामाया चेपाङ । निकुञ्जका कर्मचारीले जलाएपछि फेरि बनाएको छाप्रामा उनी बस्दै आएकी छन् निकुञ्जका कर्मचारीहरूले हात्तीसहित आएर छाप्रोमा आगो लगाउँदा दानबहादुर चेपाङको १० हजार रुपैयाँ र नागरिकता पनि जल्यो । उनी काजीमान चेपाङका छोरा हुन् । काजीमानले छाप्रो नजलाउन गरेको अनुरोध कर्मचारीले सुनेनन् । खरानी पन्छाएर त्यही ठाउँमा अहिले नयाँ छाप्रो तयार भएको छ । यहीं उनले नवदुलही गीतामाया प्रजा चेपाङलाई समेत भित्र्याए । दानबहादुरले खरानीमाथि नै नयाँ संसार खडा गरे ।वर्षायाम सकिएका कारण रिउ खोलामा पानी खासै छैन । भरतपुरबाट गाडीमा दुई घण्टामा माडीको पूर्वी बस्ती बगई पुगिन्छ । बगईबाट दक्षिण लाग्नुपर्छ कुसुमखोला जान । मोटरसाइकलहरू प्याउलीसम्म पुग्छन् । त्यहाँ पनि कुसुमखोलाबाटै झरेकाहरूको नयाँ बस्ती छ । बस्तीदेखि केही पर जंगल छिरेपछि मोटरसाइकल गुड्ने बाटो सकिन्छ । खोलामा पानी नभए पनि कुसुमखोलासम्म कुनै पनि सवारी साधन पुग्न सक्दैनन् । पैदल झन्डै डेढ घण्टा हिँडेपछि रिउ खोला छाडेर सानो पाखो उक्लनुपर्छ । लगत्तै सुकेको ठूलो सालको रुख भेटियो । फेँद काटेका कारण रुख सुक्दै गएर अग्राख बनेको छ । यहाँ यस्ता रुख प्रशस्तै देखिन्छन् । रुखमा एउटा फलामे हलो, खेत जोतेपछि सम्याउने र झार निकाल्ने दाँते, अनि जुवा अड्याइएको थियो । नयाँ खेतीको तयारी सुरु भएको छनक यसैले दिन्थ्यो ।

यो त्यही ठाउँ हो, जहाँ गएको साउन ३ मा निषेधित क्षेत्रमा घर बनाएर बसेको र खेती पनि गरेको भनेर कारबाही गर्न निकुञ्जका कर्मचारी र सेना हात्ती चढेर गएका थिए । भाँच्न तयार भएको मकै हात्ती लगाएर नोक्सान गरे । १० घर बस्दै आएको ठाउँमा दुई वटा छाप्रामा आगो पनि लगाए । हलो जुवा अड्याएको रुखभन्दा केही तल त्यो बेला आगोले खाएको दीपबहादुर चेपाङको घर छ ।त्यसबेला पोलिएको खाँबोमा नै दीपबहादुरले बलो, डाँडा, भाटा जोडेर छाप्रो बनाएका छन् । छानो भने हरियो त्रिपालको छ, जुन मक्किन थालेको छ । चुलो उही पुरानै छ, जहाँ खरानी भसक्कै थुप्रिएको देखिन्छ । पहेंलो भएर छिप्पिएका ससाना चारवटा फर्सी आडैमा छन् । बारबेर सामान्य छ । मान्छे बस्न मिल्ने बाँसको सानो टाँड बनाएका छन् । तर त्यो टाँडमा मान्छे बसेकोझैं लाग्दैन ।आडैमा नयाँ छाप्रो बनेको छ, जहाँ अग्लो टाँड छ । त्यहाँ झुल, सामान्य खालका बिस्तारा र ओढ्ने थिए । घरमा कोही भेटिएनन् । त्यहाँ उभिएर हेर्दा जमिन धेरै ठाउँ जोतेको देखिन्थ्यो । केही पर छ काजीमानको घर । उनको घरको आडको बारी पनि जोतिएको छ । त्यहाँ तोरी भरर उम्रेको छ । सुंगुरका तीन वटा पाठा बारीमा देखिन्छन् । अल्लि पर कोदो पहेंलै भएको छ । हिउँदे मकै सग्लाएको छैन तर घोगा लागेको छ ।साउन ३ मा जलेको खाँबोमा दीपबहादुरले जस्तै काजीमानले पनि डाँडा–भाटा जोडे । खरले राम्रोसँग छाए । अग्लो टाँड बनाए । छोरा दानबहादुरले दुलही ल्याउँदै थिए । त्यसैले अलि बस्न मिल्ने छाप्रो बनाउनु थियो । अरू पाखो ह्वाङ्गै छ । दक्षिणी पाखो भने सामान्य बारबेर गरेका छन् । धेरै बस्न पाइने होइन, कहिले जानुपर्ने हो । त्यसैले किन बलियो बनाउने भन्ने सोचले कामचलाउ छाप्रामै उनका छोरा बुहारी बस्न थालेका हुन् ।तर बर्खा सकियो । खर्च जुटाउन भन्दै दानबहादुर काम गर्न मुग्लिन गएका छन् । त्यो कमजोर छाप्रामा भर्खर बिहे गरेर भित्रिएकी गीतामाया बस्छिन् । त्यो बेला नजलेको अर्को छाप्रामा ससुरा काजीमान, उनकी श्रीमती र छोरी सुत्छन् । यस्तो एकान्तमा एक्लै बस्दा डर नलाग्ने होइन । ‘उहाँले भन्नुभएको छ, ससुराले पनि भन्नुहुन्छ, हामीलाई सरकारले चाँडै तल नयाँ घर दिन्छ रे,’ गीतामायाको आशावादी स्वर सुनियो ।

उम्रियो तोरी, फाल्न आउलान् कि फेरि ?

गीतामायासँगै थिइन्, कविता चेपाङ । गाउँका पाँच जनाबाहेक सबै राहत लिन भन्दै बजार झरेको उनले बताइन् । साउनमा घटना भएको सार्वजनिक भएपछि उनीहरूले राहत धमाधम बुझे । ‘साउनभरि राहत आयो,’ कविता भन्छिन् । १० बोरा अर्थात् तीन क्विन्टल चामल पाएको उनले बताइन् । तर साउनपछि एकैचोटि कात्तिकमा राहत आएको छ । ‘राहत त सधैं आउँदैन । त्यसैले खेती लगायौं,’ कविताले भनिन् । साउनमा पाकेको मकैमा हात्ती चराउँदै, घर जलाउँदै गर्दा निकुञ्जका कर्मचारीहरूले हप्ता–१० दिनभित्र बस्ती खाली गर्न चेतावनी दिएको उनले भुलेकी छैनन् । तर उनीहरूको बस्ने प्रबन्ध नै हुन सकेन । कविता प्रश्न गर्छिन्, ‘अनि कसरी तल झर्ने ?’ यसअघि कोदो लगाए, अहिले तोरी छरेका छन् । निकुञ्जबाट आएर फाले फालिहाल्लान्, नभए खान पाइएला भन्ने आश छ उनलाई ।राहत बुझेर फर्कंदै गर्दा प्याउलीमा भेटिए दीपबहादुर । ‘उता नयाँ ठाउँमा हामी बस्न पाएका छैनौं । अनि पुरानो ठाउँमा बसेर मात्रै त भएन । रोपेपछि फल्यो भने खान देलान् भनेर रोपेका हौं,’ उनले भने । कविताका अनुसार खेती लगाए पहिलाको झैं हात्ती लगाएर मासिदिने चेतावनी गाउँलेले पटक–पटक पाएका छन् । त्यसैले पुरानै घटना दोहोरिने हो कि भन्ने त्रासमा छन् गाउँले ।

किन बनेनन् घर ?

आगजनीको चर्को विरोध भयो । निकुञ्जले सुरुमा कुनै आगजनी नभएको बतायो । पछि वनमन्त्री शक्ति बस्नेतले घरमा नभई गोठ र बाँदर कुर्ने मचान जलेको बताए । निकुञ्जले पनि मन्त्रीको बोलीसँग मिल्ने फोटोहरू सार्वजनिक गर्‍यो । तर बस्दै आएको घरमै निकुञ्जको टोलीले आगो लगाएको काजीमान र दीपबहादुरले बताउँदै आए । यो घटनापछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत नै सरुवा भए ।कुसुमखोला निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि झन्डै २० वर्षअघि त्यहाँ मकवानपुर, तनहुँ र चितवनको पहाडी क्षेत्रबाट भूमिहीनहरू गएर बस्न थालेका थिए । खोला आडमा बाढी र अन्यत्र जंगली जनावरको दुःख भोग्नुपरेपछि माडी नगरपालिकाले उनीहरूलाई अन्यत्रै सार्न थालेको थियो । तर परोई खोला र राईडाँडा उनीहरूका लागि बस्ती बसाउँदै गर्दा विरोध सुरु भयो ।निकुञ्जको मध्यवर्ती क्षेत्रमा मान्यता प्राप्त निकायको निर्णय र स्वीकृतिबेगर सालका रुख काटेर अवैधानिक काम गरेको भन्दै माडी नगरपालिका, चितवन निकुञ्ज र निकुञ्जमा तैनाथ सेनाविरुद्ध उजुरी परेपछि घर बनाउने काम रोकियो । कुसुम खोलामा १६० घरपरिवार थिए । अन्यले नयाँ ठाउँमा बस्ने घर पाए । तर उजुरीपछि घर बन्न नपाउँदा १० घरपरिवार अलपत्र जस्तै परे । उनीहरू कुसुम खोला फर्के । निकुञ्जले पनि उनीहरूकै छाप्रामा आगो लगायो ।आगो लगाएपछि अनेक टोलीहरू पुगे । संसद् सदस्य र सरकारी समितिहरूले कुसुम खोलावासीलाई भेटेका थिए । ‘खै मैले अरू त चिनिनँ, रेनुका दाहाल (भरतपुर महानगर प्रमुख रेनु दाहाल) र माडीका मेयर ठाकुर ढकाल आएका हुन् । उहाँहरूले तत्कालै घर बनाएर तपाईंहरूलाई सार्छौं भन्नु भएको हो । तर अहिलेसम्म नयाँ घरको अत्तोपत्तो छैन,’ काजीमानले त्यसबेला गरिएको वाचा सम्झिए ।कुसुम खोलाको बस्ती सार्ने काममा माडी नगरपालिका नै अग्रसर भएको थियो । नगर प्रमुख ढकाल बाँकी रहेका घरलाई पनि सुरक्षित ठाउँमा ल्याएर व्यवस्थित रूपमा नै राख्ने बताउँछन् । ‘६० वटा घर बनाउन प्रदेश सरकारले ३ करोड रुपैयाँ दिएको छ । छिमेक विकास बैंक र माडी नगरपालिकाको साझेदारीमा ८० घर बन्नेछन् । घर त बन्छन् । बजेटको समेत व्यवस्था छ,’ ढकालले भने ।साउन १९ मै बाँकी घर बनाउने काम सुरु गर्ने उनले घोषणा गरेका थिए । तर अहिलेसम्म त्यसको सुरसार छैन । नगरपालिकाले घर बनाउन थालेको ठाउँको वैधानिकतामाथि नै प्रश्न खडा भएपछि काम अगाडि बढ्न नसकेको हो । ‘मैले निकुञ्ज विभागका महानिर्देशकसँग कुरा गरें, वनमन्त्री र पार्टी अध्यक्ष तथा यस क्षेत्रका सांसद पुष्पकमल दाहालसँग पनि कुरा गरें । केही निकास चाँडै आउँछ,’ उनले भने ।दसैंपछि नगरपालिका, चितवन निकुञ्ज कार्यालय, मध्यवर्ती समिति र राजनीतिक दलका प्रतिनिधि बसेर सहमतिमा एउटा खाका बनाउने उनले योजना सुनाए ।


Your Views
Related News