काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित कार्यालयबाट खसीबोका बिक्री गर्न लागेको हो । कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ६० रुपैयाँ निर्धारण गरेको छ । जसमा प्रतिकेजी १० रुपैयाँ छुट गरेर उपभोक्तालाई प्रतिकेजी ५ सय ५० रुपैयाँ बिक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।खाद्य व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । नेपालीको महान्चाड दसैंको समयमा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगून् भन्ने उद्देश्यले सरकारी स्वामित्वमा रहेको कम्पनीले दसैं खसीबोका बिक्री गर्दै आएको हो ।व्यापार कम्पनीले यो दसैंका लागि १ हजार ६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भएपनि १ हजार खसीबोका मात्र बिक्री गर्ने भएको छ ।खाद्य व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले यो वर्षमा किसानको गोठमा नै च्याग्राको मूल्य महँगो पर्ने भएकाले यो दसैंमा कम्पनीले च्यांग्रा बिक्री गर्ने कार्यक्रम स्थगित गरेर खसीबोका मात्र बिक्री गर्ने बताइन् ।सूचना अधिकारी सुवेदीले किसानको गोठमै प्रतिकेजी च्यांग्राका मूल्य ७ सय रुपैयाँभन्दा बढी पर्दा काठमाडौं आइपुग्दा धेरै नै महँगो पर्ने भएपनि कम्पनीले यो दसैंमा च्यांग्रा बिक्री गर्ने कार्यक्रम नै स्थगित गरेको बताइन् ।

सूचना अधिकारी सुवेदीका अनुसार कम्पनीले यो दसैका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्र्रा ल्याउन बजेट छुट्याएको थियो । १६ सयवटा खसीबोका ल्याउने योजना बताएको थियो भने १४ सय च्याग्रा ल्याउने योजना बताएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सयवटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।यसैगरी, गतवर्ष कम्पनीको दसैंका लागि कम्पनीले ५ करोड ५१ लाख ९२ हजारमा ३ हजार खसीबोका र च्यांग्रा ल्याएको थियो । ४ करोड ५१ लाख २ हजारमा च्यांग्रा ल्याएको थियो भने खसीबोका १ करोड ४६ लाख ८० हजार रुपैयाँमा ल्याएको थियो । गत वर्षको दसैका लागि कम्पनीले १८ सय च्यांग्रा र ११ सय खासीबोका ल्याएको थियो ।थापाथलीस्थित कार्यालयका प्रमुख पवित्र गौतमले यसवर्ष दसैंका लागि खाद्य कम्पनीका १ हजार खसीबोका मात्र बिक्री गर्ने बताए । उनले दसैंमा कम्पनीको खसीबोका च्यांग्रा दुवै बिक्री गर्ने योजना भएपनि कम्पनीले च्यांग्रा ल्याउन नसकेपछि खसीबोका मात्र बिक्री गर्न लागेको बताए ।१ हजार खसीबोकामध्येमा ४ सय ५ वटा खसीबोका काठमाडौंको थापाथलीस्थित कार्यालयमा आइपुगेको उनले बताए । बाँकीबाटोमा ल्याउने क्रम रहेको उनले बताए । उनले विभिन्न ठाउँका संकलन गरेर ल्याएका खसीबोकामध्ये अहिलेसम्म काठमाडौं आइपुगेका धेरैजस्तो खसी भएको बताए । ४ सय ५ वटामध्ये बोका जम्मा २० देखि २५ वटा मात्र रहेको बताए कार्यालय प्रमुख गौतमले बताए ।

READ MORE NEWS

जब दशैँ नजिकिन्छ, झुन्डिएको भित्तेपात्रोको याद आउँछ

हातको नाडीमा घडी लगाएर, साथमा मोबाइल बोकेर आफूलाई सर्वेसर्वा सम्झने विश्व जगत नै तरङ्ले भ्रमण गर्न सक्ने र एउटै कोठामा बसेर संसार हेर्न सक्ने, आधुनिकताको कुरा गर्ने अहिलेको जमातभन्दा घाम हरेर वा बर-पीपलको चौतारोमा बसेर घाम, छायाले समय पत्ता लगाउने र हातको नाडी समाएका भरमा मृत्युको समय किटान गर्ने सक्ने हाम्रा पूर्खाहरु नै कडा जस्तो लाग्छ।अनुभवको पाटोलाई हेर्दा विगतका क्रियाकल्प सम्झना र भविष्यका योजनाले नै जीवन चलेको छ। जीवनका उकाली ओराली पार गर्दै जाँदा सबैभन्दा हाइ ढुक्कको जीवन र जीवनको बेग्लै रस बाल्यकाल नै हो। मैले यहाँ आफ्नो अनुभव लेख्दै गर्दा यो हरेकसँग हैन तर धेरै-थोरैसँग भने पक्कै मिल्छ।मेरो बाल्यकाल पूर्वी पहाडको गाउँले परिवेशमा जन्मदै त्यही वातावरणमा म हुर्केर साधारण शिक्षा त्यहीबाट पूरा गर्दै आफ्नो बाल्यावस्थाको समय बिताएको थिएँ। यसरी नै आफ्नो ती समयका क्षणहरु अहिले सम्झदा पनि मननै फुरुङ्ग भएर आउँछ। अहिले सबै ती घटना र परिघटनाहरु एउटा कथा जस्तो मात्र भएका छन्।

मानिसको स्वभाव अनुसार नै जीवन र जगतलाई हेर्ने दृष्टिकोण आफैमा भर पर्छ। यसरी तुलना गर्दा भविष्यका कल्पनाका योजनासँगै विगतका दिनका सम्झनाहरु वर्तमानमा गर्ने कर्मले नै जीवनका चलेको हुन्छ। यसरी नै मेरो गाउँले परिवेशको घर अनि घरको दलानमा रहेको एउटा काट्टीमा पुस्तक जस्तो देखिने तर अङ्कहरुले ढाकीएको भित्तेपात्रो झुन्डाइएको हुन्थ्यो।हरेक वर्षको वैशाख पहिल्लो हप्तामा मेरा बाले फेर्नु हुन्थ्यो। जब नयाँ पात्रो राखिन्थ्यो, सुरुमै मैले सबैभन्दा बढी रातो रङ्ग भएको पाना कतिऔँ नम्बरमा छ भनेर पानाहरु पलटाउथेँ। यसरी पाना पल्टाउदा मेरी आमाले मलाई भन्नु हुन्थ्यो- ‘किन चलाएको पात्रो, च्यात्नलाई’ भनेर गाली गर्नु हुन्थ्यो। मैले आमालाई ‘दशैँ हेरेको’ भनेर उत्तर दिन्थेँ र हरेक पाना गनेर दिन काट्थेँ।समय बित्दै जान्थ्यो। हरेक महिनामा १/२ चोटि मेरा आँखा त्यसमा पर्थ्यो र दशैँको प्रतिक्षामा रातो अङ्क भरिएको पानाको पर्खाइमा समय बित्ने गर्थे। यसरी जीवनको खुसी र हर्षोल्लास लाग्ने दशैँको महत्त्व आज पनि उत्तिकै छ। दशैँको आगमनसँगै हाम्रो घरको तला माटो र ढुङ्गाले बनेको र घर रङ्गाउने काममा दाजु दिदीलाई भन्दा मलाई हत्तार हुन्थ्यो।किनभने साथीहरूका अगाडि या छिमेकीको घरभन्दा आफ्नो घर राम्रो देखियोस् भन्ने लाग्थ्यो। त्यसैले सकी-नसकी भित्तामा भर्याङ अड्याएर दाइसँगै कुच्चोले चुना र रातो माटोलाई छाँट मिलाइ मिलाइ लगाउँथेँ। सोह्र श्राद्धबाटै घर शुद्ध र सफा सुग्घर राख्नु पर्छ भन्नु हुन्थ्यो ममीले। दिदीहरु घरआँगनको सरसफाइमा, कपडा धुन र चिउरा कुट्ने काममा समेत ममीलाई सघाउनु हुन्थ्यो र मलाई यो सबै गर्न र देख्न पाउँदा खुब आन्नद आउथ्यो।यस्तै गरेर घर गाउको चलन चिउरा कुट्ने काममा भने मलाई साह्रै रमाइलो लाग्थ्यो। बारीमा पाकेको काँक्रोको गालेको अचारसँग पोलेको, भुटेको मकै खाँदै पालोपालोसँग आधा रातसम्म ढिकी घरमा रमाइलो गर्दै चिउरा कुट्थ्यौँ। घर नजिकै चिउरा मिल पनि नभएको र ममीले पनि ढिकीमै कुटेको चिउरा मन पराउने भएकाले घरमै बनाउँथ्यौँ।

त्यस्तो चिउराको स्वाद अहिले कहाँ पाउनु?सायद घरेलु परेकाले पनि होला, दशैँका लागि चाहिने केरा लिनलाई अलि तलको गाउँमा मेरा दाइ (थापा) सँग थुन्चे बोकेर तल्लो गाउँमा गएर कोला बोकेर ल्याउदाको पल अझैँ पनि मेरा मन मस्तिष्कमा उत्तिकै ताजा छ।यसरी नै दशैँको नौ रथा अर्थात् नवरात्रीको सातौँ दिनमा घरमा फूलपाति भित्र्याउने तथा घरको इष्ट देउतासँगै रहने देउताको भक्तिपूर्वक नियमित तथा विशेष ढङ्गबाट दाजुभाइको उपस्थितमा पञ्चबली सहितको पुजा गर्ने कार्यक्रम हुने हुँदै यस दिन मेरा लागि हामी सबैलाई विशेष र सबैसँग भेटघाट हुने हुँदा परिवारिक खुसीयाली रहन्थ्यो।आठौँ दिनमा पनि विशेष नवदुर्गा देवीका प्रतिक हात हतियारलाई सजाएर भक्ति भावले पुजा गर्ने परम्परा रहेको छ। १० औँ दिन पनि विशेष पुजाकै बीचमा मान्यजनबाट टिका लगाउने तथा आफ्ना दाजुभाइ, दिदी-बहिनी सबै माइती, मावली, ससुराली जाने आउने प्रकृयामा दशैँका पल बित्ने गर्थे।दशैँमा उसबेला अर्को महत्त्वपूर्ण खुसीको पाटो, वर्षमा एकैपटक दुई जोर कपडा पाउने दशैँ कहिले आउला झैँ हुन्थ्यो। स्कुलको ड्रेस र टिकाको दिनमा लगाउने, मामाघर जाने र पिङ खेल्ने अति नै यादकर र रमाञ्चक हुने गर्थे। कुनै-कुनै वर्ष बाबाले स्कुल ड्रेस नयाँ नै छ, अहिलेलाई यसैले चलाउनु। नयाँ किन्नु पर्दैन भन्नु भयो भने बुबासँग डराउने म आमासँग भने रोइकराइ गरेर भए पनि नयाँ स्कुल ड्रेस किन्न लगाएरै छाड्थेँ।किनभने दशैँको बिदापछि स्कुल जाँदा सबै साथीहरूका नयाँ जुत्ता, नयाँ ड्रेस देखाउने होडबाजी चल्थ्यो। अनि त आफूमात्रै कसरी पुरानो लगाएर जानु भनेर रुन्थेँ। यसरी बाबा-आमाले इच्छाहरु पूरा गर्दा पनि इच्छा बढ्थ्यो। अहिले यी पलहरु उमेरसँगै सम्झनामा मात्र रहेका छन्। यसरी जीवन संघर्ष भनौँ या जिम्मेवारीले, आज प्रदेशमा ल्याएको छ।यसको प्रतिकुलता भन्ने कि भाग्यको खेल, अहिले पनि दिनसँगै महिना गनेर रातो टिकामा जमरासँगै दशैँ आउछ तर स्पर्श नगरी जान्छ। बिडम्बना, यसरी नै दिन महिना गन्तीको पर्खाइमा आउने दशैँको बाल्यकालको छापसँगै सम्झना रहे तर महत्व भने आज पनि छदै छ। तर पनि अनुभवबाट हुर्किएका जटिलता र परिस्थितिसगै अमलिएका पलमा आज प्रदेशमा भोक लाग्छ, भोजनमा स्वाद नभए सरी। तीर्खा लाग्छ, पानीमा धित मर्दैन।यस्तै दशैँ आउँछ, उल्लास छैन तर पनि दशैँ निजिकिदै गर्दा ती भित्तामा झुन्डिएको पात्रोको याद आउँछ जसले बाल्यकालको दशैँको अनुभवका वृतान्तलाई यादकर बनाईदिन्छ। यसरी नै उमेरको उकालीसँगै प्रदेशमा हरेक वर्षका दशैँ आउदै जाँदै गरेका छन्। अन्ततः सबैमा बडा दशैँ २०७७ को मंगलमय शुभकामना।


Your Views
Related News